default_image

3 hours ago

September 21, 2024

स्ट्याग ग्लोबल टेबलटेनिस लिगमा ३ सह प्रायोजक

10 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रा.लि. को आयोजनामा हुने स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ का लागि सह–प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।

आयोजक एकेडेमी र तीन सह–प्रायोजकबीच शनिवार सम्झौता भयो । नौ पटककी टेबलटेनिस राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ आयोजक एकेडेमीकी प्रबन्ध निर्देशक हुन्।

निर्देशक श्रेष्ठ तथा अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशी र नेपाली घर होटल प्रा.लि., ठमेलका महाप्रबन्धक राजीव श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उपाध्यक्ष खड्गीले प्रतियोगिताको कुल बजेट १९ लाख ५५ हजार मध्ये २० प्रतिशत ३ लाख ९१ हजार रुपैयाँ उपलब्ध गराउने छन् । मेटल सेपरले ट्रफी व्यवस्थापन गर्ने छ ।

आतिथ्य सोझेदारका रुपमा रहेको नेपाली घरले प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीको खाना र बसोवासको व्यवस्थापन गर्ने छ।

मुख्य प्रायोजक तथा इक्विप्मेन्ट पार्टनरमा भारतको‌ स्ट्याग ग्लोबल रहेको बताइएको छ । स्ट्यागले प्रतियोगितालाई आवश्यक पर्ने टेबलटेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किटलगायत प्रदान गर्ने प्रबन्ध निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

प्रतियोगितामा ७ टिमको सहभागिता रहने छ । सहभागी टिमहरुमा नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, ज्ञान भैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्ट्याग रहेका छन् । प्रहरी, एपीएफ र स्ट्यागले समान १–१ पुरुष/महिला विदेशी खेलाडी पनि अनुबन्ध गरेको जानकारी दिइयो ।

सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । एक टिमले समान २/२ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ खेल खेल्नु पर्ने हुन्छ ।

विजेता टोलीले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सेमिफाइनलमा पराजित हुने दुई टिमलाई समान ५० हजार रुपैयाँ प्रदान गरिने छ ।

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने बताए । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

Success

Thank you for your time.