default_image

7 years ago

January 20, 2018

रत्नजित र नङ्सललाई स्वर्ण

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका तामाङ दिदीभाई नङ्शल तामाङ र रत्नजित तामाङले सुदूरपश्चिमाञ्चलमा भएको राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फ स्वर्ण जितेका छन् ।

रत्नजित तामाङ ।

टिम ईभेन्टसको एकल प्रतिस्पर्धामा एपिएफका दिपेश धामीसँग हार व्यहोरेका रत्नजितले व्यक्तिगत स्पर्धामा दिपेशलाई पराजित गर्दै उपाधिको दाबेदारीता प्रस्तुत गरे । पहिलो सेटमा १९–२१ ले पछि परेका रत्नले दोश्रो सेटको खेलमा दिपेशलाई लगातार ११ अंक सम्म कुनै मौका प्रदान गरेनन् । त्यसपछि लयमा फर्कन खोजेका दिपेशलाई ६ अंकमा रोक्दै रत्नले खेल १–१ को बराबरीमा ल्याए । तेश्रो सेटमा २१–१२ को जित निकाल्दै रत्नले उपाधि कब्जा गरे । यस उपाधिसहित रत्नले लगातार चौथो उपाधि उचालेका हुन् ।

महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फको खेलमा सेनाकी नङ्शलले एपिएफकी शिक्षा श्रेष्ठलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधि जोगाएकी हुन् । नङ्शलको यो लगातार तेस्रो उपाधि हो । विभगिय टोलीको दबदबा रहेको प्रतियोगिताको पुरुष डबल्सतर्फ पनि सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले जित निकाले ।

तामाङ र श्रेष्ठको जोडीले एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई २१–१९, २१–१४ पराजित गर्दै स्वर्ण हात पारे । धामी र थापामगरको जोडीले टिम ईभेन्ट्को पुरुष जोडी तर्फको खेलमा पराजित गर्न सफल भएका थिए । पुरुष टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पारेको थियो ।

महिला जोडी तर्फको प्रतिस्पर्धामा पनि सेनाले जित निकाल्यो । सेनाका नङ्गशल र अनुमाया राईको जोडीले एपिएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९, २१–१५ ले पाखा लगाए । मिक्स डबल्स तर्फ पनि सेनाले नै बाजी मार्‍यो । सेनाका तामाङ दिदिभाईले एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीलाई १६–२१, २१–१९ र २१–१० ले पराजित गर्दै सेनाको लागि थप स्वर्ण जोडे ।

सेनाले यस प्रतियोगितामा सात मध्ये ६ स्वर्ण आफ्नो पोल्टामा पार्न सफल भयो । पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको प्रतियोगितामा पुरुष-महिला एकल तथा जोडी, मिक्स जोडी र पुरुष-महिला टिम ईभेन्टस गरि ७ स्वर्णका लागि पाँच विकास क्षेत्र र तीन विभगिय टोलीबाट ७ पुरुष र ५ महिला गरि ५६ पुरुष र ३५ महिला खेलाडीहरुको सहभागिता जनाएका थिए ।

विजयी खेलाडीहरुलाई प्रतिनिधि सभाका सांसद डा. दीपक प्रकास भट्ट, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरिक्षक राजेन्द्र शाक्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यष शेरबहादुर चन्द लगायतले पुरस्कार वितरण गरेका थिए ।

Success

Thank you for your time.