7 years ago
October 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा अर्काे सातादेखि आयोजना हुने विश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।
विश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिप असोज २५ देखि कार्तिक ५ गते सम्म आयोजना हुदैछ । उक्त च्याम्पियनसिपमा सहभागी हुन जाने ९ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले शुक्रबार बिदाई गरे । टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । खेलाडीहरुमा प्रफुल महर्जन, पविन लिन्थेप, रुकेश महर्जन, रशिला महर्जन, जेशिका गुरुङ र सुनैना मुखिया रहेका छन् । यस्तै टोली नेतामा संघका सदस्य जगत खड्का, टिम ब्यवस्थापकमा छविलाल शाही र प्रशिक्षकमा रजनी मैया जोशी रहेका छन् ।
च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले पुरुष एकल र जोडी, महिला एकल र जोडी, महिला र पुरुष टिम र मिक्स जोडीमा प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए । प्रफुल, रशिला र जेशिका हाल म्यानमारमा जारी एशियन यु – १५ र यु–१७ ब्याडमिन्टन प्रतियोगितामा सहभागी भईरहेकाले उतैबाट ईन्डोनेसिया जाने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए ।