7 years ago
October 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – म्यानमारमा जारी ब्याडमिन्टन एशिया यु १५ र यु १७ प्रतियोगितामा नेपाली खेलाडीहरु प्रफुल महर्जन, प्रिन्स दाहाल र रशिला महर्जन दोस्रो चरणमा पराजित भएका छन् । तीनै खेलाडी ईन्डोनेशियाका खेलाडीहरुसँग दोश्रो चरणमा पराजित भएका हुन् ।
बिहिबार बिहान सम्पन्न प्रतियोगिताको यु १७ पुरुष एकलमा प्रफुल महर्जन मोहम्मद युसुफ मौलानासँग २१–१०, २१–११ ले पराजित भए । पहिलो चरणमा उनले लत क्या लेनलाई २१–१६, २१–५ ले पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेका थिए । यस्तै यु १५ पुरुष एकलमा प्रिन्स दाहाल पनि मोहम्मद सुलतान नुराविरुसंग डिसाईडिङ्ग खेलमा पराजित भए । पहिलो सेट २१–१२ ले जितेका प्रिन्स दोश्रो र तेश्रोमा १५–२१ र १६–२१ ले गुमाउंदै पराजित हुन पुगे ।
महिला एकल तर्फ रशिला महर्जन विदजाजा स्टेफेन संग २१–११ र २१–३ ले पराजित भईन् । यु १७ तर्फको महिला एकलमा जेसिका गुरुङ्ग इन्डोनेसियाकी देवी के संग २१–६ र २१–८ ले पराजित भएको नेपाल ब्याडमिन्टन संघका सचिव समिर बहादुर सिंहले म्यानमारबाट जानकारी गराएका छन् । अव नेपाली खेलाडीहरुले मिस्क डबल्स मात्र प्रतिस्पर्धा गर्न बाँकी रहेको समेत सिंहले बताए ।