6 years ago
November 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन २ स्ट्रोकको अग्रता कायम गरेका छन् । रोयल नेपाल गल्फ कोर्समा मंगलबार शिवरामले ६ अन्डर ६२ स्कोर जोडे ।
फ्रन्ट नाइनमा २ अन्डर ३२ जोडेका शिवरामले ब्याक नाइनमा ४ अन्डर ३० लेखाउँदै शीर्षस्थानमा स्थान पक्का गरे । दोस्रो स्थानमा ४ अन्डर ६४ स्कोर जोडेका भुवन नगरकोटी र एमेच्योर टंकबहादुर कार्की रहेका छन् । संयुक्त चौथो स्थानमा धनबहादुर थापा र रामे मगर ३ अन्डर ६५ स्कोरका साथ छन् । विकास अधिकारी २ अन्डर ६६ स्कोर लिएर छैटौंमा छन् ।
कुल ४१ गल्फरको सहभागिता रहेको प्रतियोगितामा ३३ व्यवसायिक र ८ एमेच्योर छन् । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजना र सूर्य नेपाल प्रालीको प्रयोजनमा जारी प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ५१ हजार रुपैयाँ रहेको छ । शीर्ष तीन स्थानमा आउने खेलाडीले क्रमश: ९५, ६५ र ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।