default_image

3 years ago

September 16, 2021

अन्धकार र आर्थिक अभावमा ऋण लिएर एसियन च्याम्पियनसिप खेल्दै

353 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

अन्धकार र आर्थिक अभावका बीच नेपाली राष्ट्रिय टेबल टेनिस टोली यसै महिना कतारमा हुने एसियन च्याम्पियनसिपको तयारीमा जुटेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा छनोट भएका खेलाडी प्रशिक्षणमा भन्दा पनि सहभागिता जनाउनका लागि आर्थिक स्रोतको जोहो गर्नबारे चिन्तित छन् ।

त्यसो त टोलीले प्रशिक्षण गर्न पाएको स्थानले नै टोलीको मनोबल कस्तो स्थितिमा छ भन्ने आँकलन गर्न सकिन्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दौरान पुनर्निर्माण गरिएको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस हलमा पर्याप्त प्रकाश नहुँदा प्रशिक्षणमा प्रत्यक्ष असर परेको छ । आर्थिक अभावका कारण संघले बन्द प्रशिक्षणको व्यवस्था गर्न सकेको छैन । बत्ती मर्मतका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पटक पटक सूचना गएपनि महिनौं बित्दासम्म काम भएको छैन ।

अझ खेलाडी आफैंले प्रशिक्षणको सबै डाइट खर्च र सहभागिता जनाउन लाग्ने सम्पूर्ण खर्च बेहोर्नुपर्ने अवस्था छ । च्याम्पियनसिपबाट फर्केपछि प्रतियोगिता खेल्दा लाग्ने खर्च भने फिर्ता पाउने आश्वासन भने राखेपबाट खेलाडीले पाएका छन् । हाललाई कतार जान लाग्ने हवाई खर्च र त्यहाँ क्वारेन्टिनमा लाग्ने दैनिक १ सय ५० अमेरिकी डलर आफैले बेहोर्न संघले खेलाडीलाई भनेको छ ।

प्रशिक्षणमा अन्धकार र तयारीका लागि आर्थिक अभावका बीच पनि खेलाडीबाट थोरै आशा गर्ने ठाउँ भने छ । एसियन च्याम्पियनसिप नेपाली खेलाडीका लागि आफ्नो खेल सुधार्ने र अनुभव बटुल्ने थलो हो । दुई वर्षअघि सम्पन्न १३ औं सागमा ऐतिहासिक नतिजा निकालेको टेबल टेनिसमा युवा खेलाडीको आगमन बढ्दो छ । यसपटक टोलीमा १३ वर्षकी इभाना थापामगर पनि कतार जाँदैछिन् । हालसम्म राष्ट्रिय प्रतियोगिता नखेलेकी उनी संघले आयोजना गरेको छनोट प्रतियोगितामा उत्कृष्ट नतिजासहित छनोट हुन सफल भइन् ।

स्कुले विद्यार्थी इभानालाई पहिलो प्रतियोगिता खेल्न जान आर्थिक रुपमा निकै कठिन छ । एभिएम स्कुलकी विद्यार्थी उनले टेबल टेनिस खेल्न थालेको ४ वर्ष भयो । यसबीचमा स्थानीय प्रतियोगितामा आफ्नो स्तर देखाएकी उनी सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीमा पर्ने कीर्तिमान रच्दैछिन् । संघ र राखेपबाट उनलाई सहभागी हुन जाने खर्च बेहोर्ने आश्वासन आएको छ, तर विश्वास गर्नुबाहेक विकल्प पनि छैन । यसैपनि कोरोनाका कारण आर्थिक अवस्था जटिल भएको बेलामा इभानासँगै सहभागी खेलाडीलाई प्रशिक्षण भन्दा खर्च जुटाउने चिन्ता छ ।

छनोटमा शीर्ष वरियता प्राप्त गरेकी खेलाडी सिक्का सुवालले एसियन च्याम्पियनसिप खेल्न आफूले ऋण नै लिएको बताइन् । ‘एसियन च्याम्पियनसिप खेल्ने अवसर आएको छ । यसै छोड्न पनि मिलेन,’ उनले भनिन्, ‘सामान्य अवस्था हुँदा स्कुलमा प्रशिक्षण दिएर पनि केहि पैसा हुन्थ्यो । कोरोनाले गर्दा दुई वर्ष भयो केहि कमाइ छैन । त्यसैले ऋण खोजेर भएपनि कतार जाने खर्च जुटाएको छु ।’

राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ पनि प्रशिक्षण गर्नुपर्ने समयमा यस्तो कुरा सुन्दा मनोबल कमजोर हुने बताउँछन् । ‘एक त प्रशिक्षण राम्रोसँग गर्ने अवस्था छैन । अझ खर्च पनि आफैं जुटाउनुपर्ने, कसरी प्रशिक्षण गर्ने मनोबल आउँछ,’ उनले भने, ‘राखेप सदस्य सचिवले फर्केपछि पैसा फिर्ता आउने भन्नुभएको छ रे । अब विश्वास गर्नै पर्यो ।’

एसियन च्याम्पियनसिपकै तयारीमा रहेका विनेश खनियाँ पर्याप्त बत्ती नहुँदा खेल्न गाह्रो भएको बताउँछन् । ‘प्रशिक्षणमा नै कठिन छ । उता प्रतियोगितामा त राम्रो बत्ती हुन्छ, तर यहाँ नै राम्रो तयारी गर्न नपाउँदा निकै कठिन छ,’ उनले भने,’ आफ्नै खर्चमा तयारी गर्दा पनि साफजस्तो हुन सकेको छैन ।’

छनोट प्रतियोगिता पार गरेर देशको प्रतिनिधित्व गर्ने अवसर पाएका खेलाडीले खेलमा दक्षता र कौशलसँगै अब आर्थिक रुपमा पनि सबल हुनुपर्ने अवस्था आएको छ । यसले सम्बन्धित खेल संघ र राखेपलाई नै गिज्याएको छ । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले राखेपसँग टिकटका लागि संघले सिफारिस गरेको बताए ।

‘हामीले राखेपमा लेखेर पठाएका छौं । सदस्य सचिवले दिने प्रतिवद्धता पनि जाहेर गर्नुभएको छ,’ उनले भने, ‘तर रकम निकासाका लागि केहि समय लाग्ने भएकोले पछि श्रोत भर्ना दिने भन्नुभएको छ । संघको आफ्नो श्रोत नभएकोले खेलाडीलाई पछि दिने गरि खर्च जुटाउन भनेका छौं । ’

स्यान्टुले प्रशिक्षण गर्ने स्थानमा बत्ती मर्मत नहुँदा पनि निकै समस्या भएको गुनासो पोखे । ‘हामीलाई प्रशिक्षण गर्नपनि निकै समस्या छ । हलमा राम्रोसँग बल देखिदैन । बल्लतल्ल सागमा बनेको हलमा समस्या आएको छ,’ उनले भने, ‘ अन्तर्राष्ट्रिय प्रतियोगिताको तुलनमा यसैपनि सागमा पनि बत्ती कमजोर नै थियो । अझ पछिल्लो केहि महिनायता भएका बत्ती पनि चलेका छैनन् । प्रशिक्षणमा निकै समस्या परेको छ ।’

पर्याप्त प्रकाश नभएको संघका अध्यक्ष राजवैद्यले पनि स्वीकार गरेका छन् । ‘बत्तीको लागि पनि राखेपलाई भनेका छौं,’ उनले भने, ‘प्रशिक्षणका लागि बत्ती पुग्दैन । २४ वटा बत्तीमा ४/५ वटा मात्र बल्छ । संघले गर्न सक्ने अवस्था छैन । राखेपले निरिक्षण पनि गरिसकेको छ । छिट्टै होला भन्ने आशा गरौं । ’

झन्डै डेढ दशकयता नेपाली टेबलटेनिसमा रहेर विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी अमरलाल मल्ल पनि यो अवस्था देख्दा निराश छन् । ‘सबै खेलाडी आर्थिक रुपमा सबल हुन्छन् भन्ने हुँदैन । अझ यसपटक सानो उमेरका खेलाडी पनि छन् । संघले केहि व्यवस्था गरिदिए सहज हुने थियो,’ उनले भने । छनोटबाट ६ खेलाडीले एसियन च्याम्पियनसिप खेल्दैछन् । पुरुषतर्फ स्यान्टु, अमरलाल र विनेश तथा महिला तर्फ सिक्का, इभाना र एलिना महर्जनले खेल्नेछन् ।

एकातर्फ फुटबल, क्रिकेट र भलिबलमा संघका नियमित प्रतियोगितासँगै फ्रेन्चाइज लिगको आगमनले खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन सँगै आर्थिक रुपमा पनि राम्रो कमाइ गरिरहेका छन् । केहि संस्थाले अन्य खेलमा पनि यस्ता प्रतियोगिता गर्ने प्रयास गरिरहेका छन् । खेल व्यावसायिक बन्दै गइरहेको अवस्थामा राष्ट्रको प्रतिनिधित्व गर्न एसियन च्याम्पियनसिपजस्तो प्रतिष्ठित प्रतियोगिताका लागि पनि खेलाडीले आफैं खर्च गर्नुपर्ने अवस्था पक्कै राम्रो होइन । राखेप र संघले बेलैमा तयारी गरेर खेलाडीलाई राम्रो प्रशिक्षण व्यवस्था गरेमात्र प्रतियोगिताबाट सुखद नतिजा आशा गर्न सकिन्छ ।

भिडियो रिपोर्ट :

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.