default_image

4 years ago

December 18, 2020

पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाईस अवार्डको मनोनयमा यसपटक महिला खेलाडीको बाहुल्यता रहेको छ । मनोनयमा परेका ५ मध्ये ४ महिला खेलाडी छन् ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उच्च प्रदर्शन गरेका र वर्षभर चर्चामा रहेको मध्येबाट ५ खेलाडीको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार गरेको छ ।

यस पटक १३ औं सागमा ४ स्वर्ण पदक जितेकी गौरिका सिंह, दोहोरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ रहेका छन् । भलिबलकी कप्तान अरुणा शाही, बास्केबलकी कप्तान सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी पिपल्स च्वाइसको मनोनयमा परेका छन् । गौरिका र मण्डेकाजी व्यक्तिगत, अरुणा, सदिना र सावित्रा भने समूहगत खेलका हुन् ।

अरुणाको कप्तानीमा नेपालले गत वर्ष एभिसी सेन्ट्रेल जोनमा स्वर्ण पदक र १३ औं सागमा रजत पदक जितेको थियो । त्यस्तै सदिनाको नेतृत्वमा नेपालले १३ औं सागमा महिला बास्केटबलमा रजत पदक जितेको थियो । रजत पदक जितेको महिला फुटबल टोलीकी सदस्य सावित्राले गत वर्ष सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सागका दौरान सावित्राले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमानलाई भंग गरेकी थिइन् । सावित्राको नाममा ३८ गोल रहेकी छिन् ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा हुनेछ । भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ । भोटिङलाइन शुक्रबार बाट सुरु भई पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने बताइएको छ ।

मञ्चका अनुसार विगतमा भन्दा भोटिङ प्रक्रिया यसपटक फरक छ । यसअघि मोबाइलबाट एसएमएस भोटिङ गरिदै आएकोमा यसपाली ई–सेवामार्फत गरिने लागेको हो ।

ई–सेवा भोटिङको मतभार ५० प्रतिशत रहनेछ । त्यस्तै फेसबुक लाइकको २५ प्रतिशत तथा खेलकुद पत्रकार र मुख्य प्रशिक्षकको भोटको मतभार समान साढे १२ प्रतिशत रहने बताइएको छ ।फेसबुकमा भोटका लागि मञ्चको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाइक गर्न सकिने जनाइएको छ । मञ्चले आजै ई सेवासँग सम्झौता गरेको थियो ।

पुस २८ गते आयोजना हुने पल्सर स्पोर्टस अवार्डकै दौरानमा पिपल्स च्वाई अवार्डको विजेताको घोषणा गरिनेछ । पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिने मञ्चले यसअघि नै सर्वाजनिक गरेको थियो ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने बताइएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्ड पनि कार्यक्रमको दिन पुस २८ गते नै गरिनेछ । यसपटक पनि एक अन्तर्राष्ट्रिय खेलपत्रकारलाई पनि सम्मान गरिने बताइएको छ ।

विगतमा जस्तै उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गर्नेछौं । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ । भोटिङ गर्ने एक भाग्यमानी विजेतालाई पनि आर्कषक उपहार प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा हुने कार्यक्रमका अन्य प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, ई–सेवा, केल्मी, टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउनप्लाजा, इमेजिङ रहेका छन् भने राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी सहयोगी संस्थाका रुपमा रहेको मञ्चले जनाएको छ ।

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधा

यस विधाको मनोनयनमा परेका खेलाडीले वर्ष २०७६ मा पाएको सफलताको सक्षिप्त विवरण ः

गौरिका सिंह– पौडी

एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा एक नेपाली खेलाडीबाट चारवटा स्वर्ण पदक बिरलै कल्पना गर्न सकिन्छ । पौडीकी गौरिका सिंह, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा यस्तो इतिहास रच्ने खेलाडी हुन् । १३औं सागमा उनले १ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइल तथा २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । उनले ४ स्वर्ण, २ रजत र २ कांस्य गरी कुल ८ पदक जितिन्, जुन साग गेम्सको इतिहासमा नेपाली खेलाडीको अनुपम कीर्तिमान हो । आठौं राष्ट्रिय खेलकुदमा पनि गौरिकाले सहभागी १२ वटै स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् ।

२. अरुणा शाही– भलिबल

१३ औं सागमा समूहगत खेलमा कुनै खेलले निकै चर्चा पायो भने त्यो महिला भलिबल हो । त्यसकी कप्तान हुन् अरुणा शाही । सागको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको महिला भलिबल टोली दुई सेटको अग्रता बचाउन नसक्दा स्वर्ण पदक जित्न असफल भएको थियो । नेपाललाई फाइनलको यात्रासम्म पुर्याउनमा कप्तान शाहीको भूमिका उल्लेखनीय रह्यो। त्यसअघि बंगलादेशको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउँदा शाहीले नै कप्तानी भूमिका निभाएकी थिइन् ।

३. मण्डेकाजी श्रेष्ठ– कराते

करातेका मण्डेकाजी श्रेष्ठ १३ औं सागको पहिलो दिन टिम काता र एकल काताबाट २ स्वर्ण पदक जितेर इतिहास रच्ने खेलाडी हुन् । सागमा एकै संस्करणमा कराते खेलाडीबाट दुई स्वर्ण पदक जित्ने इतिहास उनको नाममा रह्यो । सागअगाडि बंगलादेशको ढाकामा सम्पन्न साफ च्याम्पियनसिप करातेमा उनले टिमले कातामा स्वर्ण जितेको थियो भने नवौं थाइल्यान्ड ओपन च्याम्पियनसिपको कातामा पनि रजत जितेको थियो ।

४. सदिना श्रेष्ठ– बास्केटबल

१३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकको भिडमा थुप्रै पदकहरू छाया“मा परेका छन् । त्यो छायाँबाट उम्कदै चर्चामा आइन् महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ । सागमा महिला बास्केटबल टोलीले फाइनल यात्रा तय गर्दै रजत पदक जित्दा सदिनाको योगदान निकै महत्त्वपूर्ण बनेको थियो । सदिनाले समृद्धि गुरिल्लाजको नेतृत्व गर्दै एनबीएल महिला बास्केटबल लिगमा पनि टोलीलाई रजत दिलाएकी थिइन् ।

५. सावित्रा भण्डारी– फुटबल

स्ट्राइकर सावित्रा भण्डारीले गत वर्ष भारतमा सम्पन्न इन्डियन वुमेन्स लिगको दुई सिजनमा तहल्का मच्चाइन् । उनले गोकुलम केरलालाई च्याम्पियन बनाउने क्रममा सर्वाधिक गोल मात्र गरिनन्, फाइनलमा निर्णायक गोल गरिन् । सन् २०१८ र १९ को सिजनमा पनि सेथु एफसीबाट खेल्दा पनि उनले टिमलाई च्याम्पियन बनाइन् । १३औं सागमा नेपाललाई रजत पदक दिलाएकी उनले नादेझ्दा कपमा टोलीलाई उपविजेता बनाउन मुख्य भूमिका खेलिन् ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.