4 years ago
July 29, 2020
सुबास हुमागाईं, काठमाडौं
रमेशकुमार सिलवालले गतवर्ष राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्त भएपछि पद तथा गोपनियताको सपथ ग्रहण गर्ने क्रममा आफ्नो मुख्य लक्ष्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) समयमै गर्नु मुख्य चुनौती रहेको बताएका थिए ।
सिलवालले त्यसबेला प्रण गरे अनुसारनै नेपालले भव्यताका साथ साग आयोजना मात्र गरेन, सिलवालकै दावी अनुसार ऐतिहासिक ५१ स्वर्ण पदक पनि हात पार्यो । आयोजनाका दृष्टीकोणले मात्र होइन २ सय ७ पदक जित्दै नेपालले १३ औं सागलाई एतिहासिक बनायो । सफलताका लागि सबैको भूमिका आ आफ्नो ठाँउमा रहेपछि नेतृत्वकर्ताका हिसाबले सबैभन्दा ठूलो जस सिलवालले नै पाए ।
सागको सफल आयोजनापछि दिर्घकालिन योजनाका रुपमा रहेका देशभरका भौतिक पूर्वाधारका विकास तथा नयाँ योजनासँगै अन्य काममा व्यस्त रहेका सिलवालले नयाँ ऐन लागु भएसँगै पद छाड्नुपर्ला भन्ने अनुमान पनि गरेका थिएनन् । कारण उनलाई मन्त्रीले राखेपका तत्कालिन पदाधिकारी र सदस्य भने यथावत रहने सार्वजनिक रुपमै भनेका थिए । तर त्यस्तो भएन ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएसँगै अन्यौतालका बीच सिलवाल पदमुक्त भए । अघिल्लो दिनसम्म कार्यालयमा नियमित पुगेका सिलवाल एकाएक पदमुक्त हुँदा ऐनको व्याख्या गर्न न मन्त्रालयले सक्यो, न सिलवाल आफूले ।
नयाँ ऐनसँगै राखेपको नेतृत्व चयन गर्ने पद्दति फेरियो । मुख्यत: सबैको चासो सदस्य सचिव नियुक्तिको मापदण्ड र त्यसको प्रक्रिया नै थियो । पछिल्लो एक महिना सिलवाल पदमुक्त भएदेखि सदस्य सचिवको दरखास्त आवेदन, सिफारिस प्रक्रिया र नियुक्ति वरपर नै नेपाली खेलकुद घुमिरह्यो । कोरोनाका कारण खेलकुद जगत शून्यप्राय रहँदा राखेपको नेतृत्व चयन भने चर्चामा रहनु स्वभाविक थियो ।
सिलवालले सुरुवातमा अर्को नेतृत्व चयन नहुँदासम्म आफू सदस्य सचिव रहने बताए भने मन्त्री सुनारले मन्त्रालयबाट निमित्त सदस्य सचिवका रुपमा खेलकुद महाशाखाका प्रमुखलाई खटाए । मन्त्रालयको यस कदमलाई सिलवालले सहर्ष स्वीकार्दै सदस्य सचिव आवेदन प्रक्रिया नै रोजे । नयाँ ऐनमा निवर्तमान नेतृत्व र नयाँ नेतृत्व सम्बन्धि कुनै कुरा उल्लेख नहुँदा अलमल देखिनु स्वभाविक थियो ।
सदस्य सचिवका लागि खुला दरखास्तमा २७ जनाले आवेदन दिएकोमा २५ जना योग्य थिए । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा इन्दिरा निरौला र रिम रानाभाट सम्मिलित तीन सदस्यीय सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाएको थियो । जसमध्य सिलवालसहित भलिबलका पूर्व उपाध्यक्ष लीलबहादुर थापा र भलिबलकै पूर्वकप्तान अन्जु श्रेष्ठको नाम थियो ।
त्यसो त सिलवालको नियुक्ति खेलकुदमा चासो राख्नेका लागि नयाँ विषय थिएन । सिलवालको बहिर्गमनसँगै उनले आवेदन दिएको खण्डमा उनै दोहोरिने विश्वास धेरैले गरेका थिए । यहाँसम्म की सदस्य सचिव पदमा दरखास्त दिन तयार रहेका कतिले सिलवालले आवेदन दिएपछि नै पछि हटेका थिए । एक वर्ष सदस्य सचिव पदमा रहँदा उनले गरेको कार्यशैलीसँगै राजनीतिक पहुँचका कारण पनि उनी पदका लागि सबैभन्दा बलियो दाबेदार थिए नै ।
सिलवालले पछिल्लो पटक सपथ ग्रहण गर्दा साग आयोजनालाई आफ्नो मुख्य लक्ष्य बनाएका थिए । त्यसमा उनी सफल भए । साग आयोजानापश्चात उनले पूर्वाधार खेलकुद संघको दर्ता र नवीकरण प्रक्रिया, खेलाडी प्रशिक्षणमा प्राथमिकताको आधारमा अवसर दिने, खेलकुद र खेलाडीको अनुसन्धानको पक्षलाई अझ जोड दिनुपर्ने कार्यमा काम अगाडि बढाए । विविध कार्ययोजना सहित अगाडि बढेका सिलवालको कार्यअवधि एक वर्ष नपुग्दै रोकिएपछि राखेपमा अन्यौल छाएको थियो ।
बुधबार दोस्रो पटक सदस्य सचिव नियुक्त भएसँगै सिलवालले अघिल्लो पटकजसो केहि बोल्न चाहेनन् । उनले पदबहाली गरेपछि मात्र विस्तृत रुपमा बोल्ने बताए । मन्त्रालयमा सपथ ग्रहण गरेपछि राखेपमा पद बहाली गरेसँगै उनले आफ्नो धारणा खुलेर राखे । सागको सफल आयोजना र आफ्नो पुराना योजना अब अगाडि बढ्ने उल्लेख गर्दै उनले अहिलेको अवस्थामा कोरोनासँग जुध्नु मुख्य चुनौती रहेको बताए ।
आफ्नो अघिल्लो कार्यकालमा नै प्रशिक्षण सुरु गर्नेबारे योजना बनाएको जनाउँदै उनले अब केहि दिनमै विस्तृत छलफल गरेर मैदानमा खेलाडी फर्काउने योजना रहेको सुनाए । उनले प्रशिक्षण सुचारु नहुँदा विभागीय टोलीका खेलाडी विभागीय ड्युटीमा जानुपरेको अवस्था औंल्यउँदै खेलाडीलाई सकेसम्म मैदानमा नै खटाउने प्रयास गर्नेमा जोड दिए । सिलवालले खेलकुद विकासका लागि खेलकुदका पूर्वाधार महत्त्वपूर्ण रहेको बताउँदै कम्तिमा पनि प्रत्यक खेल संघको आफ्नै खेल्ने ठाउँ हुनुपर्नेलाई आफुले प्राथमिकतामा राखेको बताए ।
सिलवालले पछिल्लो कार्यकालमा साग आयोजना गर्न जति कठिन थियो त्यति नवौं राष्ट्रिय खेलकुद आयोजनामा नहुने भएपनि कोरोनाका कारण केहि भन्न नसकिने बताए । ‘हामीले साग आयोजना गर्न जति मिहिनेत गरेका थियौं, नवौं राष्ट्रिय खेलकुद आयोजना गर्न त्यति पर्दैन । २-३ महिनाको कामले पनि आयोजना गर्न सकिन्छ । भौतिक पूर्वाधार लगभग सबै तयार छ । पौडी र सुटिङबाहेक अहिले नै खेल्न सकिने अवस्था रहेको छ । तर मुख्य समस्या कोरोनाले कस्तो मोड लिन्छ भन्ने हो । हाम्रो तर्फबाट तोकिएको समयमा गर्न कुनै समस्या छैन,’ उनले भने । यसअघि नवौं राष्ट्रिय खेलकुद २०७७ फाल्गुनमा हुने भनिएपनि सिलवालले यकिन मिति तोक्न भने बाँकी रहेको बताए ।
सिलवालले प्रदेश र स्थानीय तहसँग पनि राखेपले सहकार्य गर्दै अगाडि बढ्ने प्रष्ट पारे । उनले अब केन्द्र आफैंले सबैतिर हेर्ने भन्दापनि सम्भव भएसम्म प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै अघि बढ्ने बताए । उनले नयाँ खेलकुद ऐनमा केहि समस्या रहेपनि काम गर्दै जाँदा त्यसमा सुधार गर्न सकिने विश्वास व्यक्त गरे । सिलवालले आफू आर्थिक पक्षमा प्रष्ट रहकाले कुनै अख्तियार र मुद्दा मामिलामा अल्झनु नपर्नेमा विश्वस्त रहन आग्रह गरे ।
यसअघि सदस्य सचिव कार्यकरी क्रममा केहि शक्तिशाली रहने भएपनि नयाँ ऐनअनुसार ७ सदस्यीय समितिले राखेपबाट मन्त्रालयसँग समन्वय गर्नुपर्ने छ । सिलवालले यसलाई सामान्य रुपमा लिनुपर्ने बताउँदै प्रक्रियागत रुपमा अगाडि बढ्दा कठिनाइ नहुने बताए । उनले खेलकुद विकासका लागि नै सबै एकजुट हुने भएकाले फरक तर्क भएपनि सबैको लक्ष्य एक रहेको प्रष्ट पारे ।
सिलवालले वर्तमान अवस्थामा कोरोना भाइरस संक्रमणका कारण नेपाली खेलकुद कसरी सुचारु गर्न सकिन्छ भन्ने मुख्य विषय रहेको बताए । सम्बन्धित संघसँग समन्वय गरेर उनले प्रशिक्षण सुरु गर्नेबारे राखेपले तयारी थाल्ने पनि जानकारी दिए । सिलवालले हाललाई अक्टोबर-नोभेम्बरमा फुटबलको विश्वकप छनोट र क्रिकेटको सेप्टेम्बरमा नामिबियामा हुने सम्भावना रहेको ट्राइ-सिरिजबारे छलफल चलिरहेको जानकारी दिए । यसबाहेक कोरोना संक्रमण साम्य भएको अवस्थामा राखेपले सन् २०२१ मा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरिरहेको पनि सिलवालले बताए ।
पछिल्लो कार्यकालमा एक वर्ष समय बिताएपनि सिलवालले अनुभव भने धेरै बटुल्ने अवसर पाए । अघिल्ला सदस्य सचिवहरुले आफ्नो कार्यकालको सुरुवाती समय खेलकुद बुझ्न खर्चनुपर्ने अवस्था थियो । नेपाल क्रिकेट संघ (क्यान) का विभिन्न जिम्मेवारीमा रहेर खेलकुदलाई नजिक बाट विगतमै नियालेका सिलवालले आफ्नो पहिलो कार्यकाल नै एक वर्ष हुँदापनि आशलाग्दा काम गरेका थिए । दोस्रो कार्यकालमा सुरुवात गर्दा सिलवालसँग भरपुर अनुभव त छ नै, सँगै उनका सामु थुप्रै अवसर पनि छन् ।
पहिलो कार्यकाल सफलतापूर्वक निभाएका उनले दोस्रो कार्यकालमा कस्तो गर्लान्, त्यो त समयले बताउने नै छ । नयाँ ऐन प्रति उनको दृष्टिकोण, त्यसको कार्यान्वयनमा उनले देखाएको तदारुकता र उनको कार्यशैलीले सिलवालले आफ्नो पुरानै कार्यकालको निरन्तरताका रुपमा दोस्रो कार्यकाल अगाडि बढाउने सम्भावना रहेको अनुमान गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस : सपथमा छाएका खेलकुद मन्त्रालयका सचिव थपलिया
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रवार सार्वजनिक गरिएको छ । माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबिच प्रतिस्पर्धा हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने एनकेएलको पहिलो सिजन फ्रेन्चाइज अवधारणमा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले […]
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक गल्फर सदभाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शुक्रवार ८-ओभर ८० को निराशाजनक प्रदर्शन गरे। यो स्कोरमा ५४ होलको खेल सकिंदा समग्रमा २-ओभर २१८ सहित चार स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहे। तर उनले ३६ होलको समाप्तिमा बनाएको ८ स्ट्रोकको सानदार अग्रतालाई जोगाउन सकेनन्। सदभावले बंगलादेशका मोहम्मद […]
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विकेको जोडीले बिहीवार इभन-पार २८८ स्कोर गर्दै स्वर्ण जितेका हुन। बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपालले प्रभावशाली जित निकालेको हो। सदभावले लगातार दोस्रो दिन ३-अन्डर ६९ को स्कोर […]