10 months ago
April 18, 2024
दिल तामाङ
नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन ।
यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा राष्ट्रिय स्तरका प्रतिस्पर्धा भयो । राष्ट्रिय महिला टोलीले २०८० घरेलु भुमिमा आयोजना भएको काभा महिला भलिबल च्यालेन्ज कपसँगै चीनको हाङ्चाउमा आयोजना भएको १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनायो । महिला टोलीले पहिलोपटक एसियाडमा सहभागिता जनाएको हो ।
सेन्ट्रल जोनकै निरन्तरतामा रहेको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल यसपल्ट फाइनल पुग्न असफल रह्यो । यसअघि सेन्ट्रल जोनको नामबाट आयोजना हुँदा दुवैपटक च्याम्पियन बनेको थियो । यसपटक भारतसहित बलियो टोलीको सहभागिता रह्यो । नेपाल तेस्रो बन्यो ।
पुरुषतर्फ नेपालली टोलीले १९औं एसियाड, काभा नेसन्स लिग (किर्गिस्तान), काभा पुरुष भलिबल च्यालेन्ज कप (श्रीलंका) र यु–२३ टोलीले बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन यु–२३ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन अपेक्षाकृत हुन सकेन ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाध्यक्षमा निर्विरोध निर्वाचित भए । सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय क्लब लिगमा आर्मीका खेलाडीले संयमता गुमाउँदा निराशाजनक घटना भयो । आक्रोशमा आएर आर्मीका खेलाडीले अनुशासन तोड्दै समर्थकलाई नै हातपात गरे । सोही घट्नाका कारण खेलाडीले केहि खेलाडीले ६ महिना लामो प्रतिबन्ध समेत खेप्नुपर्यो ।
२०८० मा नेपालका ४ जना एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट टहल सिंह थापा मगर, विजय केसी, विकास गुरुङ र पूर्ण प्रसाद चौलागाईं पूर्ण रुपमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री बन्न सफल भए । जेठमा नेपालमा आयोजना भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा मुख्य रेफ्रीको भूमिकामा दुई अन्तर्राष्ट्रिय खेल खेलाएसँगै नेपालका ४ इन्टरनेसनल रेफ्री क्यान्डिडेट पूर्ण रुपमा अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका हुन् ।
योसँगै अब नेपालमा ७ जना इन्टरनेसनल भलिबल रेफ्री भएका छन् । यसअघि गौतम प्रसाद लासिवा, कुल बहादुर राना र चन्द्र वदना राई अन्तर्राष्ट्रिय भलिबल रेफ्री थिए ।
२०८० मा राष्ट्रिय पुरुष टोलीले २ कप्तान पायो । नियमित कप्तान इम बहादुर राना राष्ट्रिय टोलीमा सहभागी भएनन् । त्यसपछि भलिबल संघले हरि हजुर थापालाई कप्तानमा नियुक्त गर्यो । उनको कप्तानीमा नेपालले काभा नेसन्स लिग खेलेको थियो ।
असारमा काठमाडौंमा भएको सातौं एनभिए प्रधानमन्त्री कप दौरान दर्शकलाई हातपात गरेपछि उनलाई संघले कप्तानको जिम्मेवारीबाट हटायो । त्यसपछि मान बहादुर श्रेष्ठ नेपाली टोलीका नयाँ कप्तान बनाइए । उनको नेतृत्वमा नेपालले एसियाड र सेन्ट्रल जोन खेलेको थियो । मानबहादुर नेपाली पुरुष टोलीका ११औं कप्तान हुन् ।
वर्ष २०८० बाट नै महिला र पुरुष राष्ट्रिय टोलीका खेलाडीले मासिक पारिश्रमिक पाउने थालनी भयो । वर्तमान राष्ट्रिय टोलीमा रहेका समान १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले पारिश्रमिक पाउने भएका हुन् । अमेरिकामा रहेका पूर्व राष्ट्रिय खेलाडी राम श्रेष्ठको समन्वयमा राष्ट्रिय खेलाडी र बिजनेश इन्टरप्रेनियरको सहयोगमा उक्त मासिक तलब दिने सहमति भएको हो ।
विदेशी खेलाडीको सहभागिताले घरेलु भलिबल प्रतियोगिताका केही खेलहरु निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बने । २०८० मा दुईपटक नेपाल आएका पाकिस्तानी अलराउन्डर फकर उद्धिन दुईपटक नै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । झन्डै ४ वर्षपछि ढोरपाटन महिला भलिबल भलिबल आयोजना भयो ।
२०८० भलिबलले दुखद् खबर पनि आत्मसात गर्यो । उदियमान खेलाडी मनोज कुमार श्रेष्ठ र शान्ता सुनार मृत अवस्थामा फेला परे । गण्डकी प्रदेश तथा पछिल्लो समय एपिएफबाट खेलिरहेका सन्तोष थापा मगरको सडक दुर्घटनामा मृत्यु भयो ।
वर्षको अन्त्यतिर राष्ट्रिय टोलीमा स्थान बनाउने सम्भावना बोकेका गण्डकी प्रदेशका स्पाइकर रवि केसीसँगै झन्डै १२ वर्ष लामो समय साविक पश्चिमाञ्चल र पछिल्लो समय गण्डकीबाट खेलिसकेका धन बहादुर चौधरी (घनश्याम) सुरक्षित भविष्यका लागि विदेश पलायनको भए ।
विदेशी भुमिमा पनि नेपाली समुदायबीच भलिबल आयोजनाले निरन्तरता पायो । हङकङ, जापान, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स (युएई), पोर्चुगललगायतका देशमा भलिबल प्रतियोगिताले आयोजना भयो । त्यस्ता प्रतियोगितामा नेपालमा चर्चित रहेका खेलाडीहरुलाई बोलाउने कामले निरन्तरता पायो । त्यस्ता प्रतियोगिता खेल्दा खेलाडीको आम्दानी पनि राम्रै हुन गरेको बताइन्छ ।
महिलातर्फ भएका ९ वटा राष्ट्रिय स्तरको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबको वर्चश्व रह्यो । सुरुवाती चार प्रतियोगिता जितेको पुलिसले जित्यो । सुरुवाती चारमध्ये तीन फाइनल गुमाएको एपिएफले हेटौंडामा भएको केशवलाल स्मृति कपको उपाधि जित्दै च्याम्पियनको खडेरी तोड्यो । त्यसपछि पनि एपिएफ लगातार तीन प्रतियोगितामा च्याम्पियन बन्न सफल भयो ।
वर्षको अन्त्यतिर बुटवलको एभरेस्ट भलिबल क्लब आठौं आरबीबी एनभिए क्लब च्याम्पियनसिपको च्याम्पियन बन्दै घरेलु भलिबलमा नयाँ शक्तिको रुपमा उदय भयो । राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाही र भारतीय राष्ट्रिय टोलीका तीन स्टार सम्मिलित एभरेस्ट राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट च्याम्पियन बनेको हो । चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम उपाधिबाट विमुख रह्यो । प्रथम लुम्बिनी कपमा न्यु डायमण्डका खेलाडी सम्मिलित बागमतीको फाइनलसहित ५ वटा फाइनल खेलेको डायमण्डको उपाधियात्रामा ४ पटक एपिएफ र १ पटक पुलिस बाधक रह्यो ।
टोलीकी कप्तान प्रतिभा मालीको चोट बल्झिदा डायमण्डले च्याम्पियन बन्न असफल रह्यो । आर्मीको महिला टोलीको प्रदर्शन उतारचढावपूर्ण रह्यो ।
पुरुषतर्फ १५ वटा राष्ट्रिय स्तरको प्रतियोगिता हुँदा उपाधि होड मिश्रित रह्यो । कुनै पनि क्लबले एकल प्रभुत्व जमाउन सकेन । ३ विभागसँगै गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि बाँडे ।
च्याम्पियनको हैसियतमा एपिएफ क्लब सफल रह्यो । उसले ६ वटा फाइनल खेल्दा सर्वाधिक ४ पटक च्याम्पियन बन्यो । विदेशी खेलाडीसहित मैदान उत्रको हेल्प नेपालले खेलेका तीनै प्रतियोगितामा च्याम्पियन बन्यो । गण्डकी प्रदेशले ३ विभागलाई चुनौतीलाई चिर्दै ७ वटा फाइनल खेल्दा ३ पटक च्याम्पियन बन्न सफल भयो ।
राष्ट्रिय खेलाडीले बाहुल्यता रहेको आर्मीको प्रदर्शन बिर्सनलायक रह्यो । आर्मीको प्रदर्शन एकनासको हुनै सकेन । आर्मीले ५ वटा फाइनल खेल्दा ३ वटा उपाधि जित्यो । वर्षको अन्त्यतिर भएको आठौं आरभिभी एनभिए क्लब च्याम्पियनसिपको फाइनल खेलमा बाहेक आर्मीले आफ्नो स्वभाविक खेल अन्य प्रतियोगितामा देखाउन सकेन ।
असारमा भएको सातौं प्रधानमन्त्री एनभिए क्लब लिग च्याम्पियनसिपदेखि नै आर्मीको प्रदर्शन फितलो बन्न पुगेको थियो । त्यो बेला समर्थकलाई मुक्का प्रहार गरेपछि धन बहादुर भट्टसहित राजेन्द्र विष्ट, धनपति कुँवर र नियमित सेटर हरिहजुर थापा कारवाहीमा परेपछि आर्मीले स्वभाविक प्रदर्शन गर्न सकेन ।
अर्काे विभागीय टोली पुलिस क्लबको प्रदर्शन पनि यस्तै रह्यो । गण्डकीसँगै सर्वाधिक फाइनल पुग्ने टोली बनेको पुलिसले २ वटा मात्रै उपाधिमा सन्तोष गर्नुपर्यो । भरपर्दा ओपन स्पाइकर विशाल बहादुर बिक नहुँदा पनि पुलिसमा सन्तुलन देखिएन ।
हेल्प नेपाल र आर्मीबीचको त्यो फाइनल..
ओहो त्यो फाइनल ! कसरी बिर्सनु ? वर्षको अन्तिम प्रतियोगिताको रुपमा रहेको आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिप चैत १० गते भएको पुरुषतर्फको हेल्प नेपाल र आर्मीबीचको त्यो रोमान्चक फाइनल खेललाई लामो समय सम्झनामा रहनेछ । गर्मी सिजन सुरुवात भइसकेपनि मौसम बदलीका कारण मौसम चिसो थियो । तर, भलिबलको सरगर्मी कभर्डहलमा सुरु भइसकेको थियो ।
नेपाल भेटेनरी एसोसिएसनले आयोजना गरेको चौथो राइट टु प्रोटिन हाफ म्याराथनले शनिबार बिहानैदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला वरपरको माहोल खेलमय थियो । हाफ म्याराथनले पुरुषमा आर्मीका दीपक अधिकारी र महिलामा बागमतीकी सन्तोषी श्रेष्ठलाई च्याम्पियन पाइसकेको थियो । दीपक र सन्तोषी पछिल्लो समय देश भित्र भाग लिएको सबै प्रतियोगितामा च्याम्पियन बने ।
हाफ म्याराथनपछि आठौं आरबीबी एनभिए च्याम्पियनसिपले महिला र पुरुषमा च्याम्पियन तथा पुरुष तेस्रो हुने टोली पाउँदै थियो । गण्डकीलाई सोझो सेटमा हराउँदै पुलिस तेस्रो भयो ।
महिलाको फाइनलमा पुलिस र एभरेस्ट तथा पुरुषमा आर्मी र हेल्प नेपालबीच भिडन्त तय थियो ।
कम क्षमताको कभर्डहलमा आफ्नो सिट सुरक्षित गर्न समर्थकहरु बिहानैदेख कभर्डहलमा जम्मा भइसकेका थिए । नभन्दै पुलिस र एभरेस्टबीचको फाइनलमा नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल समर्थकले खचाखच थियो । पुलिसलाई ३–१ ले पराजित गर्दै एभरेस्ट पहिलोपल्ट च्याम्पियन बन्न सफल भयो ।
त्यसपछि हेल्प नेपाल र आर्मीबीचको फाइनल दिउँसो ३ बजेका लागि तय थियो । कभर्डहलमा खुट्टा टेक्ने ठाँउसम्म थिएन । तर, भलिबल संघले टिकट बिक्री गर्न छाडेको थिएन । यो फाइनललाई भलिबल समर्थकले नेपाल र पाकिस्तानबीचको खेलको रुपमा समेत हेरेका थिए ।
पाकिस्तानी राष्ट्रिय टोलीका उस्मन फरयाद अली, फखरउद्धिन र कासिफ नाभिद हेल्प नेपालमा थिए । आर्मीमा नेपाली टोलीका कप्तान मानबहादुर श्रेष्ठसँगै धनबहादुर भट्ट क्षेत्री, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का र दुर्गा महतो थिए ।
नेपालमा आधिकारिक रुपमा फुटबल र क्रिकेटबाहेक अन्य खेलहरु निर्धारित समयमा हुन नसकेको थुप्रै उदाहारण छन् । यसमा भलिबल अछुतो छैन । भलिबलको नाम सबैभन्दा अगाडि आउने गर्दछ । नभन्दै फाइनल निर्धारित समयभन्दा एक घन्टापछि सुरु भयो ।
आर्मीको यसअघि विभिन्न प्रतियोगितामा गरेको प्रदर्शन हेर्दा फाइनल सोझै हेल्प नेपालले जित्ने सबैको अनुमान थियो । तर, त्यसको विपरित युरोपियन लिग खेलिसकेका उस्मान फरयाद अली र फखर उद्धिनलाई चल्नै नदिदा फरक स्वभावमा कोर्टमा उत्रिएको आर्मीले अलराउन्डर प्रदर्शन गर्दा पहिलो सेट २५–२० ले सहजै आफ्नो पक्षमा पार्दा खेल रोमाञ्चक बन्ने देखियो । उस्मान र फखरलाई चल्न नदिदा हेल्प नेपालको प्रदर्शन अपेक्षाभन्दा फरक रह्यो ।
दोस्रो सेटमा पनि त्यही अलराउन्ड प्रदर्शनलाई निरन्तरता दिदा आर्मीले एक समय १४–९ को अग्रता कायम गर्यो । त्यसपछि प्रशिक्षक उत्सव खड्काले अलराउन्डर फखर र सेटर कासिफ नाभिदलाई बाहिर राख्ने जोखिम मोले । केही समयको विश्रामपछि कोर्टमा फर्किएक यि दुई जोडी जम्न थालेपछि हेल्प नेपालले १८–२२ को स्थितिमा लगातार ५ अंक बटुल्दै २३–२२ ले अग्रता लिदै जितफर्त अघि बढ्यो । २५–२५ को बराबरीपछि हेल्प नेपालले लगातार दुई अंक बटुल्दै सेटलाई २७–२५ ले जित्न सफल भयो ।
तेस्रो सेटमा हेल्प नेपाल अग्रतामा रहेपनि आर्मीले पूनरागमन जित निकाल्यो । १३–१७ ले पछि परेको स्थितिबाट आर्मीले २३–२० को अग्रता लिदै २५–२३ ले सेट जित्यो । चौथो सेटको सुरुवातमा हेल्प नेपालले सानदार सुरुवात गर्दा ८–० को आरामदायी अग्रता लिन सफल भयो । तर, आर्मीको उत्कृष्ट प्रदर्शन गर्दै खेललाई २२–२२ को बराबरीमा ल्याउन सफल भए ।
त्यसपछि हेल्प नेपाल २४–२२ को स्थितिमा रहँदा आर्मीले अंक बटुल्दै खेललाई पुनः २५–२५ को बराबरीमा ल्याए । त्यसपछि हेल्प नेपालले पाँच म्याच प्वइन्टमा सेट २९–२७ ले जित्दै खेललाई २–२ सेटको बराबरीमा ल्याउदा खेल पाँचौं सेटमा लम्बियो ।
१५ अंकमा सकिनु पर्ने पाँचौं सेटमा त झनै उच्च प्रतिस्पर्धा भयो । खेल २०–२० को बराबरीमा पुग्दा कुनैपनि टोली हार मान्न तयार थिएनन् ।
निर्णायक तथा अन्तिम सेटमा यस किसिमको प्रतिस्पर्धा घरेलु भलिबलमा बिरलै देख्न पाइन्छ । १४–१३ मा फखरले अंक दिलाउन नसक्दा खेल लम्बिन पुग्यो । त्यसपछि मान बहादुर श्रेष्ठले स्पाइक र फखरको स्पाइकलाई ब्लक गरेपछि आर्मी म्याच प्वाइन्टमा पुगेको थियो ।
१६–१६ को बराबरीको स्थितिमा आर्मीका राजेन्द्र विष्टको स्पाइकलाई चिरन खड्काले एकल ब्लक गरेपछि हेल्प नेपाललाई जितको टर्निङ प्वाइन्ट बन्न पुग्यो । १९–१९ को स्थितिमा आर्मी (दुर्गा बहादुर खड्का) ले नेट टच गर्न पुगेपछि हेल्प नेपालले पुनः अग्रता बनायो ।
२०–२० को बराबरीमा उस्मानले वाइडबाट लगातार दुई अंक बटुलेपछि हेल्प नेपालले रोमाञ्चक र प्रतिर्धात्मक जित निकाल्दै उपाधि रक्षा गर्न सफल भयो । हेल्प नेपालले उपाधि जित्दा आर्मीले मन जित्ने प्रदर्शन देखायो । फाइनलमा हार बेहोरपनि आर्मीका स्पाइकर मान बहादुरले यो फाइनल घरेलु भलिबल इतिहासकै एक उत्कृष्ट फाइनल रहेको बताएका थिए ।
‘अन्तिममा कसले जित्छ भन्न सकिने स्थिति थिएन । यो खेल साँच्चिकै फाइनल जस्तो खेल भयो । हेल्प नेपालमा तीन अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो । प्रतिस्पर्धा सबैले देख्नुभयो । तर, हामीले उपविजेतामा चित्त बुझाउनुपर्छ ,’ मान बहादुरले का थिए ।
यो फाइनल यस्तो रह्यो कि कसले जित्ला भन्ने कसैले पनि अनुमान लगाउन सकेनन् । कभर्डहलमा झन्डै २ हजार ५ सय जना र हाम्रो खेलकुदडटकमको डिजिटल प्लेटफर्म युट्युव च्यानलमा एकै समय ६२ हजार १ सय ९३ जनाले प्रत्यक्ष हेरेको यो फाइनललाई कसैले बिर्सने छैन । घरेलु भलिबलको प्रत्यक्ष प्रसारणमा यो सबैभन्दा बढी हेरिएको कीर्तिमानी भ्युज हो । घरेलु क्रिकेट, घरेलु फुटबलमा पनि यति धेरैले एकपटक हेरेको इतिहास छैन ।
पोखरामा भएको चौथो संस्करण टाइगर कप, सर्खेतमा भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल र महेन्द्रनगरमा भएको मुख्यमन्त्री कपमा उपस्थित हजारौं दर्शकको उपस्थितिले नेपालमा भलिबलको लोकप्रियतालाई थप पुष्टी गरेको छ ।
बि.स. २०८० मा राष्ट्रिय स्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता र सर्वाेत्कृष्ट खेलाडी
महिलातर्फ
पुलिस – ललितपुर मेयर कप (दोस्रो – एपीएफ) ललितपुर, लक्ष्मी चन्द
पुलिस – कोशी प्रदेश मुख्यमन्त्री कप (दोस्रो – एपीएफ) झापा, पुनम चन्द
पुलिस – सातौं प्रधानमन्त्री एनभिए क्लब लिग (दोस्रो – एपीएफ) काठमाडौं, पुनम चन्द
पुलिस – लामाचौर कप (दोस्रो – न्यु डायमण्ड) पोखरा, लक्ष्मी चन्द
एपीएफ – केशवलाल स्मृति (दोस्रो – न्यु डायमण्ड) हेटौंडा, निरुता ठगुन्ना
एपीएफ – चौथो टाइगर कप (दोस्रो – न्यु डायमण्ड) पोखरा, निरुता ठगुन्ना
एपीएफ – १६औं ढोरपाटन डबल लिग (दोस्रो – न्यु डायमण्ड) काठमाडौं, निरुता ठगुन्ना
एपीएफ – प्रथम लुम्बिनी कप (दोस्रो बागमती) रामपुर, पाल्पा, सरस्वती चौधरी
एभरेस्ट – आठौं आरबीबी एनभिए क्लब च्याम्पियनसिप (दोस्रो पुलिस) काठमाडौं, केपी अनुश्री
पुरुषतर्फ
एपीएफ – प्रथम पोष्टबहादुर (दोस्रो – पुलिस) काठमाडौं, टेकराज अवस्थी
आर्मी – ललितपुर मेयर कप (दोस्रो – पुलिस) जावलाखेल, मानबहादुर श्रेष्ठ
गण्डकी – मुख्यमन्त्री प्रदेश स्तरीय (दोस्रो – कोशी) कोशी, रवि केसी
एपीएफ – केशवलाल मेमोरियल खुल्ला भलिबल (दोस्रो – आर्मी) हेटौंडा, विजय थापा
हेल्प नेपाल – सातौं प्रधानमन्त्री एनभिए क्लब लिग (दोस्रो – पुलिस) काठमाडौं, ऐमल खान
गण्डकी – लामाचौर कप (दोस्रो – पुलिस) पोखरा, रवि केसी
गण्डकी – विरजङ स्मृति कप (दोस्रो – पुलिस) काठमाडौं, रवि केसी
आर्मी – बुकी कप (दोस्रो – पुलिस) गल्कोट, बागलुङ, मान बहादुर श्रेष्ठ
पुलिस – ३४औं राष्ट्रिय भलिबल (दोस्रो – एपीएफ) सुर्खेत, रविन चन्द
हेल्प नेपाल – चौथो टाईगर कप (दोस्रो – गण्डकी) पोखरा, फखर उद्दिन
एपीएफ – तेस्रो मुख्यमन्त्री कप (दोस्रो – गण्डकी) महेन्द्रनगर, विजय थापा
आर्मी – नवौं मणि मुकुन्द राष्ट्रिय भलिबल (दोस्रो – गण्डकी) बुटवल, मानबहादुर श्रेष्ठ
पुलिस – प्रथम जिएम कप (दोस्रो – एपीएफ) नवलपुर, रविन चन्द
एपीएफ –मुख्यमन्त्री कप (दोस्रो – गण्डकी) खाँदबारी संखुवासभा, विजय थापा
हेल्प नेपाल – आठौं आरबीबी एनभिए क्लब च्याम्पियनसिप (दोस्रो आर्मी) काठमाडौं, फखर उद्दिन
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]