default_image

1 year ago

December 11, 2023

च्याम्पियन बुबाका कीर्तिमानी छोरा

455 views

0 Bookmark

भुपेन्द्र जि.सी, काठमाडौं

नेपाली गल्फ वृत्तमा दीपक आचार्यलाई नचिन्ने सायदै होलान् । उनले नेपाली गल्फमा एक दशक खेलाडीको रुपमा राज गरेका थिए । सन् १९९८ देखि २००९ सम्म राष्ट्रिय स्तरको प्रतियोगितामा अधिकांश उपाधि उनकै नाममा रहने गर्थ्यो । सक्रिय खेल जिवनपछि उनले गल्फको विभिन्न पदमा रहेर नेतृत्व र व्यवसाय सम्हाल्दै आएका छन् ।

नेपाली गल्फलाई विभिन्न क्षमतामा रहेर गति दिइरहेका दीपकको च्याम्पियन पथलाई उनको छोरा सद्भाव आचार्यले पनि अंगालेका छन् । कलिलो उमेरदेखि गल्फ सुरु गरेका सद्भाव वर्तमान अवस्थामा नेपाली गल्फको सबैभन्दा आशालाग्दो प्रतिभाको रुपमा उदाएका छन् । उनको पछिल्लो उपलब्धिले त उनलाई नेपालकै गल्फलाई अर्को स्तरमा पुर्याउन सक्ने कडीको रुपमा हेरिएको छ ।

सद्भावले १७ वर्षकै उमेरमा नेपाली गल्फमा दुई दुर्लभ कीर्तिमान रचेका छन् । ८ महिनाअघि रोयल नेपाल गल्फ क्लबमा भएको सूर्य नेपाल च्यालेन्ज जितेर सद्भाव प्रतिष्ठित सूर्य नेपाल गल्फ टुरको सबैभन्दा कान्छो च्याम्पियन बनेका थिए । टिनएज एमेच्योर सद्भावले नेपालका शीर्ष व्यावसायिक गल्फरलाई पछि पार्दै उपाधि जितेका थिए ।

सद्भाव उक्त उपाधि जित्दा १६ वर्ष १० महिनाका थिए । १३ औं एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सुभाष तामाङले १६ वर्ष ११ महिनाको उमेरमा उपाधि जितेको कीर्तिमान सद्भावले भङ्ग गरेका थिए ।

तीन साता अघि सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भए । त्योसँगै सद्भाव कम उमेरमा दुई उपाधि जित्ने नेपाली गल्फर बने । उनले यसपटक पनि सुभाषले २० वर्षको उमेरमा दुई उपाधि जितेको कीर्तिमान तोडे ।

बुबाको साथ, प्रेरणा, प्रशिक्षण र हौसलाले छोटो समयमै अपेक्षा भन्दा बढी प्रभाव छाडेका छन् । तर सद्भाव आफैं भने यस उपलब्धिबाट पूर्ण रुपमा सन्तुष्ट छैनन् । उनलाई यो भन्दा राम्रो गर्न सक्ने आत्मविश्वास छ ।

‘कीर्तिमान बन्दा र सुन्दा पक्कै पनि राम्रो लाग्छ । तर मैले यो भन्दा अझै राम्रो गर्न सक्थें जस्तो लाग्छ । अहिलेसम्म चार उपाधि जित्न सक्थें । दुई प्रतियोगितामा अग्रतामा आएर पनि हारे । एउटामा तेस्रो दिन खेल बिग्रिएको थियो अनि अर्कोमा अन्तिम दिन’, सद्भावले भने ।

बुबा दीपक छोराको च्याम्पियन बनेको क्षण अनुभूत गर्न पाउँदा गर्व लाग्ने बताउँछन् । ‘सद्भावले जित्दा हामीलाई त एकदमै गर्व लाग्छ । उसले जुन स्कोरले जितेको छ । यो उमेरमा एकदमै राम्रो छ । उनको जति सेवा सुविधा पनि पाएका छैनन् होला । तर सद्भावले यो उमेरमा नै लामो हान्न सकेको छ । त्यसले गर्दा पनि विश्वस्तरमै राम्रो गर्ने सम्भावना देखिन्छ’, नेपाल गल्फ संघका विकास निर्देशक समेत रहेका आचार्यले भने ।

त्यसैमा थपे, ‘पिजिएमा हेर्ने हो भने लामो हान्न सक्ने खेलाडी नै सफल भएको इतिहास छ । हाम्रो नेपाली खेलाडीमा त्यो कमी छ । एक कुराको विकास भएर मात्रै पनि हुँदैन । शारीरिक र प्राविधिक रुपमा पनि सबै पक्ष विकास हुनुपर्छ । केहि ज्ञान मसँग छ । मसँग नभएको ज्ञान हामीसँग उपलब्ध उत्कृष्ट विज्ञसँग लिएर सिकाउने गरेका छौं ।’

बुबासँग सिक्न सबैभन्दा बढी सहज हुने सद्भावको अनुभव छ । ‘सानो उमेरदेखि बुबासँगै आधारभूत गल्फ सिकेर होला । बुबासँग सिक्न जति सजिलो हुन्छ अरु कसैसँग पनि हुँदैन । मैले बाहिरको प्रशिक्षकसँग पनि सिकेको छु । तर बुबासँग कुनैपनि कुरा खुलेर राख्न सकिन्छ’, उनले भने ।

प्राय अभिभावकलाई आफूले पूरा गर्न नसकेको सपना छोराछोरीले गर्दियोस् भन्ने हुन्छ । तर दीपकले त्यो कहिल्यै सोचेनन् । गल्फनै खेल्न कुनै किसिमको दबाब दिएनन् । छोराले आफ्नो इच्छा अनुसार गरोस भन्ने नै उनको सोच थियो । सुरुमा फुटबल र बास्केटबल खेलेका सद्भावले अन्तमा बुबाको पथ नै रोजे ।

‘सानोमा छोरालाई म यस्तो र उस्तो बनाउछु भनेर कहिल्यै भनिन । उसको व्यक्तिगत निर्णय नै थियो । मलाई छोरा डाक्टर, इन्जिनियर, गल्फर वा कुनै कुरामा यहि बनाउनु पर्छ भन्ने कहिल्यै थिएन । मेरो श्रीमतीमा पनि त्यो सोच थिएन । उसले जीवनमा जे गरेपनि समाजमा नाम राखोस र सफल होस् भन्ने मात्रै थियो’, उनले भने ।

सद्भावको जन्म बाल्यकाल

बुबा दीपक र आमा स्मृतिको कोखबाट सद्भावको जन्म २०६३ जेठ १२ काठमाडौंमा भएको हो । उनको परिवार नै गल्फरमय थियो । बुबा मात्रै होईन, आमा, हजुरबुबा र काकाहरु पनि गल्फ खेल्थे ।

उनी आमा स्मृतिसँग सानोमा रोयल नेपाल गल्फ एरपोर्टमा जान्थे । सद्भाव बुबासँग जान चाहन्थे । तर दीपक लान चाहँदैनन् थिए । त्यसको मुख्य कारण छोराको गल्फप्रतिको रुची, आर्कषण, मिहिनेत र संघर्ष बुझुस भन्ने थियो । बच्चा हुँदा आमासँग जान्थे । लामो प्रहार गर्न नसकेपनि निकै रमाएर खेल्थे ।

‘सानोमा मैले गोकर्ण ल्याइन । गोकर्णमा कोर्ष पनि लामो । सानै कोर्षमा सिकोस् भन्ने मेरो सोच थियो । अर्कोतर्फ सानोमा सबै कुरा एकै पटक पायो भने धेरै इच्छा नगर्न पनि सक्छ भन्ने मलाई लाग्थ्यो । सबै कुरा मान्छेले एकै पटक पायो भने त्यसको महत्त्व नबुझ्न सक्छ । गोकर्णमा धेरै कुरा उच्च स्तरको छ । त्यसैले मैले यहाँ ल्याइन । खेलमै लाग्ने इच्छा देखायो भने मात्रै ल्याउने सोच थियो’, दीपकले विगत सम्झंदै भने ।

सद्भाव ९-१० बर्षको हुँदा एकदिन बुबासँग गोकर्ण गए । छोरालाई अभ्यासमा छाडेर दीपक २ बजे मिटिङमा लागे । मिटिङ लामो समयसम्म चल्यो । त्यो धुनमा उनले छोरालाई सम्झिने समय पाएनन् । ७ बजे सकियो । तब उनी झसङ्ग भए । आज त मेरो छोरा पनि आएको थियो । अहिले सम्म कहाँ गयो होला भनेर बाहिर खोज्न थाले ।

जहाँ छाडेका गएका थिए सद्भाव त्यहि स्थानमा अभ्यासमा व्यस्त थिए । सद्भावले त्यो दिन १२ सय बल अभ्यास गरेछन् । ९‍-१० वर्षको बच्चाले १२ सय भन्दा बढी बल अभ्यास गरेको सुनेपछि दीपक अचम्ममा परे । त्यो कुनै चानचुने कुरा थिए । प्रो गल्फरलाई नै त्यति धेरै बल खेल्न कठिन पर्दछ ।

त्यसको लागि धैर्यता, लगनशिलता र मिहिनेत चाहिन्छ । त्यो दिनपछि बल्ल दीपकलाई लाग्यो छोराले गल्फ खेल्न सक्छ । छोराको लगाव देखेपछि दिर्घकालिन योजनाको सोच राखे । तर एकै पटक भने सिकाएनन् ।

एकै पटक सिकाउँदा प्राविधिक पक्ष मात्रै बढ्ने डर उनलाई थियो । आफ्नै प्राकृतिक खेल विकास गरोस् भन्ने उनी चाहन्थे । धेरै भन्दा धेरै आधारभूत पक्षमा ध्यान दिए । गल्फको स्वींग भन्दा पनि मिहिनेत कसरी गर्ने, लगनशीलता, ध्यान कसरी दिने, अनुशासन लगायतका कुरा सिकाए ।

सद्भाव बुबाकै खेल हेरेर सिकेका खेलाडी हुन् । बुबाको सक्रिय खेलाडी जीवन भने उनले देख्न पाएनन् । बुबाले लामो सट खेल्दा निकै रामाइलो मानेर उनले हेर्थे ।

बच्चा हुँदा सद्भावले पनि लामो कसरी हान्ने बुबाको देखेर सिके । स्कुल पढ्दा उनी फुटबल र बास्केटबल पनि खेल्थे । १३ वर्षको उमेरपछि उनले अन्य खेलमा भन्दा गल्फमै राम्रो सम्भावना देखे । त्यसपछि उनी गल्फमा केन्द्रित भए ।

गल्फ यात्रा

रोयल नेपाल गल्फ क्लबमा २०१७ मा ओपलम्पिक डे मा उनले पहिलो पटक जुनियर प्रतियोगिता खेले । त्यो समय उनी तेस्रो भएका थिए । उक्त जुनियर प्रतियोगितामा उनी सबैभन्दा कम उमेरमा थिए । त्यसैले उनलाई अब मैले पनि सक्छु भन्ने विश्वास बढ्यो ।

‘बाबाले सधैं साथ र सहयोग दिनुहुन्छ । खराब खेल्दा कहिलेकाहीँ रिस पनि उठ्छ । नराम्रो खेल्दा एकदमै तनावमा हुन्छ । अभ्यास गर्न पनि मन लाग्दैन । नराम्रो सोच आउँछ । त्यो बेला बुबाले सम्झाउनु हुन्छ । यसरी हुँदैन बाबु, च्याम्पियन बन्नु छ भने अभ्यास गर्नुपर्छ । अरु भन्दा फरक हुनुपर्छ । अनि पुन: मिहिनेत गर्न मन लाग्छ’, सद्भावले भने ।

दीपकले छोरालाई च्याम्पियन कसरी हुने भनेर सिकाएका छन् । ‘म उसलाई च्याम्पियन हुन सिकाएको छु । म आफैं पनि खेलाडी हुँदा मलाई केही कुराको अनुभव छ । पक्कैपनि म त्यो स्तरको सफल खेलाडी थिइनँ जुन हामीले सद्भावबाट अपेक्षा गरेका छौं । मैले नेपालमा राज गरे पनि विदेशमा खासै राम्रो रकर्ड थिएन । किनभने मैले काम र खेललाई एकै पटक अघि बढाउनुपर्ने बाध्यता थियो । खेलमा मात्रै ध्यान दिन पाइन । उसलाई त अहिले खेले मात्रै पुग्छ । त्यसैले केहि गर्छकी भन्ने आशा छ’, दीपकले भने ।

सद्भावको आगामी लक्ष्य

सद्भावले हालसम्म विदेशमा गएर १२ प्रतियोगिता खेलेका छन् । तर कुनैपनि उपाधि जित्न सकेका छैनन् । उनको अबको मुख्य लक्ष्य विदेशमा गएर उपाधि जित्ने हो ।

‘५–६ वर्षको लक्ष्यमा नजाउँ । यो वर्ष सकेसम्म बाहिर गएर एउटा प्रतियोगिता जित्ने लक्ष्य छ । सहभागी अन्य प्रतियोगितामा कम्तिमा शीर्ष १० मा अन्त्य गर्नेछ । नेपालमा भने सबै प्रतियोगिता जित्ने नै सोच छ’, उनले भने ।

एकै पटक ठूलो सपना देख्न नहुने दीपक बताउँछन् । ‘एकै पटक ठूलो सपना देखेर हुँदैन । उ १७ वर्षको खेलाडी हो । अमेरिकामा पनि यो उमेरका खेलाडी जुनियर गल्फ खेल्छन् । सिनियरतर्फ यसपटक एसियन गेम्समा जितोस भन्ने राष्ट्रको अपेक्षा थियो । एकै पटक यो स्तरमा पुगोस् भन्ने छैन । अहिले सम्म नेपाली गल्फर एसियन, युरोप र अमेरिका टुरमा सफल भएका छैनन् । त्यहाँ गएर सफल हुने उ पहिलो नेपाली खेलाडी हुनसक्छ कि भन्ने आशा छ’, उनले भने ।

त्यसैमा थपे, ‘हाम्रो सपना त पिजिए खेलोस भन्ने छ । तर सोचेजस्तो हुँदैन भन्ने बुझेका छौं । संसारभर कति गल्फर छन् । केहि कुरा भाग्यमा पनि हुनुपर्छ । सपना त विश्वकै शीर्ष गल्फरमा गनियोस् भन्ने छ । तर नतिजामा भन्दा पनि मिहिनेतमा ध्यान दिनुपर्छ । उसले के ध्यान दिनुपर्यो भने विश्वको नम्बर वान खेलाडीले आज जति मिहिनेत गर्छ । नम्बर वान हुन त्यो भन्दा बढी आफूले मिहिनेत गर्न आवश्यक पर्छ । किनभने नम्बर वा यतिकै भइदैन । क्षमता र भाग्य दुवै चाहिन्छ ।’

छोरालाई बुबाको सुझाव

दीपक छोरालाई आफ्नो तालिकामा विश्वास गर्न सुझाव दिन्छन् । ‘सद्भाव खराब खेरेर आएपछि मिहिनेत गर्न मन लगाउदैन । नराम्रो खेल्दा मानसिक रुपमा डाउन जो पनि हुन्छ । तर यदि च्याम्पियन बन्न छ भने जुनसुकै परिस्थीतिमा पनि आफ्नो तालिका नछोडोस् । सबैभन्दा राम्रो खेल्दा होस् वा नराम्रो ।’

‘आफ्नो तालिका छाडेन भने सफल हुन्छ । खराबसँग आतिनु हुँदैन । आज पानी पर्यो भनेर भएन । भोली त घाम लाग्छ । यहिँ कुरा हर दिन म सिकाउँछु । उसले आफ्नो तालिकामा विश्वास गरोस । अनि सफल हुन्छ’, उनले थपे ।

अमेरिकामा प्रशिक्षणको सम्भावना

सद्भावको परिवार आइतबार एक महिना अमेरिका भ्रमणमा जाँदैछन् । सद्भावको बुबा आमा बाहेक उनका अन्य धेरै आफन्त अमेरिकामा छन् । पारिवारिक भेटसँगै अमेरिकामा सद्भावले कुनै एक विश्वविद्यालय पढ्ने सम्भावना छ । गल्फको राम्रो युनिभसिर्टीमा उनी त्यहाँ पुगेर भर्ना हुने सोच छ ।

त्यहाँ विश्वस्तरिय गल्फर र प्रशिक्षकसँग सिक्ने उनको सोच छ । त्यसैको कारण उनले नेपालको खेल बाहेक अन्य अब केहि समय अमेरिकाबाट खेल्दै निखार ल्याउन सक्छन् । राष्ट्रको लागि खेल्न भने विश्वको जहाँ भएपनि आउनले दीपक बताउँछन् ।

‘अमेरिकामा हामी एक महिना बिदामा जाँदैछौं । त्यहाँ विश्वका शीर्ष कोर्षमा खेल्नेछौं । अमेरिकामा गल्फ खेल्ने विश्वविद्यालय हेर्नेछौं । विश्वको शीर्ष कोर्षमा खेल्दाको अनुभव पनि हुनेछ । म कहाँ छु भन्ने निर्क्यौल पनि हुनेछ । टिभीमा शीर्ष खेलाडीले खेलेको हेर्दा सजिलो लाग्छ । तर गएर खेल्दा मात्रै थाहा हुन्छ । यसले पक्कैपनि मेरो करिअरमा धेरै फरक पार्नेछ’, सद्भावले भने ।

सद्भाव उमेरले पनि कलिलै छन् । आगामी दिनमा उमेर बढ्दै जादा खेलको अनुभव पनि बढी पाउनेछन् । त्यसले उनको क्षमतामा झनै निखारपन ल्याउनेछ । अर्कोतर्फ उनलाई परिवारको राम्रो साथ र सहयोग छ । अन्य खेलाडीले गल्फमा नेपालमा बिरलै यस किसिमको साथ पाउँछन् ।

पाएको अवसर र सेवा सुविधालाई उनले कसरी सदुपयोग गर्छन् त्यसले नै आगामी सफलताको उडान कहाँसम्म पुग्छ भने निर्णय गर्नेछ । आफ्नो पथमा अघि बढ्न जिम्मेवारी र कडा मिहिनेतलाई निरन्तरता दिँदै बुबाको सुझावलाई राम्रोसँग ग्रहण गर्न सके एकदिन नेपाली गल्फकै पहिचान बदल्न सक्ने खुबी भने उनीमा देखिन्छ । उनले आगामी दिनमा देखाउने लगनशीलता, मिहिनेत, धैर्यता र अनुशासनमा भर पर्नेछ ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

Success

Thank you for your time.