default_image

1 year ago

November 30, 2023

फुटबलर मणी शाहले नेपालको झण्डा बोकेको त्यो एसियाड

501 views

0 Bookmark

सुवर्ण क्षेत्री

सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १० औं एसियाड खेलकुद मेरा लागि सम्झनालायक छ । मेरा लागि मात्र किन, नेपालकै खेल इतिहासमै त्यो अविस्मरणीय क्षण थियो । जुन खेलकुदमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा पदक जितेको थियो । मेरा लागि किनभने म सेफ डी मिसन भएर खेलाडी लिएर सोल गएको थिएँ । सेफ डी मिसन फ्रेन्च शब्द हो । त्यसले टिम लिडरको अर्थ राख्दछ । एथलेटिक्स, फुटबल, भलिबल, मार्सल आर्ट्ससहितका १ सय ४५ खेलाडी, अफिसियलसहितको टिमको मैले नेतृत्व गरेको थिएँ ।

उत्तर कोरियासँगको द्वन्द्वले दक्षिण कोरियाले सन् १९७० मै पाइसकेको छैटौं एसियाड आयोजनाको अवसर गुमाएको थियो । त्यतिबेला उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध कडा चेतावनी दिएपछि सुरक्षाको कारण देखाएर असमर्थता जनाएको थियो । त्यसको ठिक १६ वर्षपछि सन् १९८६ मा भने सोलमा दसौं एसियाड भव्यताका साथ सम्पन्न गरिएको थियो ।

त्यो प्रतियोगितालाई नेपालले खास महत्व दिएको थियो । त्यसैले तयारी पनि खास गरिएको थियो । त्यसअघि नेपालले एसियाडमा एउटा पनि पदक जितेको थिएन । नेपालले सन् १९५१ देखिको एसियाडमा भाग लिँदै आइरहेको थियो । तर, अन्तर्राष्ट्रिय मैदानमा नेपालका ३५ वर्ष पदकविहीन थिए । सोल एसियाडलाई सम्झनलायक बनाउन सदस्य–सचिव शरदचन्द्र शाह पूरै खटिएर लागेका थिए । खेलाडीलाई दुई वर्षदेखि नै तालिम दिन थालिएको थियो ।

एसियाडमा २७ देशका ४ हजार ८ सय ३९ एथलिटले भाग लिएका थिए । नेपालले १ सय ४५ सदस्यीय टोली पठाएको थियो । तीमध्ये १९ महिला थिए । नेपालले एथलेटिक्स, बक्सिङ, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, तेक्वान्दो, भारत्तोलन, जुडो, फुटबल, पौडी, सुटिङ र टेनिस गरी १२ खेलमा सहभागिता जनाएको थियो ।

सुखद संयोग नै मान्नुपर्छ, दसौं एसियाडको पहिलो मार्चपास नेपालले गरेको थियो । त्यो हाम्रा लागि चुनौतीभन्दा ज्यादा अवसर थियो । त्यसैले प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि १९ सेप्टेम्बरमा एसियाड भिलेजमा झन्डोत्तोलनसहित पूजा गरिएको थियो । झन्डोत्तोलनमा सोलका मेयर सानी याङ गक पनि उपस्थित थिए । हामीले एकापसमा उपहार पनि साटासाट गरेका थियौं ।

उद्घाटनको माहोल खुसी र उल्लासले भरिए पनि मौसम भने रिसाएको थियो । आकाशमा बादल मडारिएको थियो । जसै मार्चपास सुरु भयो,पानीका छिटा पर्न थालिसकेका थिए । त्यसैबीच कोरियाली धुन तथा स्काउट टोलीका साथ नेपाली खेलाडीले मार्चपास सुरु गर्यो । नेपालको झन्डा फुटबलर मणिविक्रम शाहले बोकेका थिए । नेपाली खेलाडी दौरासुरुवाल र गुन्यूचोलीमा सजिएका थिए ।

मार्चपास सुरु भएको केहीबेरमै रङ्गशालामा मुसलधारे पानी पर्न थाल्यो । तर, हाम्रा खेलाडीले धैर्यतापूर्वक अनुशासित भएर मार्चपास पूरा गरे । अरु देशका खेलाडी पानीले तितरबितर हुँदा पनि नेपाली खेलाडीले मैदान छाडेनन् । त्यो देखेर ओलम्पिक कमिटीका उपाध्यक्ष किम उन योङले उठेर राखेपका सदस्य–सचिव शरदचन्द्र शाहलाई बधाई भन्दै हात मिलाएका थिए ।

यसरी मार्चपासले पहिलो दिन नै सोल एसियाडमा नेपालले एउटा मिठो छाप छाडेको थियो । सोल एसियाडलाई हामीले पदक जित्ने अवसरका रूपमा लिएका थियौं । त्यसैले सबै पदाधिकारीलाई बिहानै खेलग्राममा उपस्थित हुन भनिएको थियो । हामीले नेपाली खेलाडीलाई खेलबाहिर पनि अनुशासित भएर हिड्न भनेका थियौं ।

भिलेजमा हिड्दा पनि नेपाली पोसाक वा नेपाल लेखिएको ट्र्याक सुट मात्र लगाउने निर्देशन दिइएको थियो । त्यसको एउटै उद्देश्य थियो, २७ देशका खेलाडीमाझ नेपाललाई परिचित बनाउने । अनुशासित छवि प्रस्तुत गर्ने । तेक्वान्दोको खेल सुरु नहुँदासम्म १० दिन नेपाल पदकविहीन भयो ।

सहरमा नेपाली खेलाडीको अनुशासनको चर्चा भए पनि पदक नजित्दा हामी निराश थियौं । ५० केजीभन्दा कम तौल समूह फिनवेटमा विधान लामाले कास्य जितेपछि बल्लखुसीको उमङ्गसुरु भयो । त्यो नै एसियाडमा नेपालको पहिलो पदक बन्न पुग्यो । हामीले एसियाडमा पदक जित्ने सपना पूरा भएको महसुस गरेका थियौं ।

विधानले खाता खोलेपछि एसियाडमा एकपछि अर्को पदक हात परे । तेक्वान्दोमा थप ३ र बक्सिङमा ४ गरी नेपालले ८ पदक जितेको थियो । विधानले पदक जितेको भोलिपल्ट राजकुमार गच्छेले ५८ केजी बेन्टमवेट स्पर्धामा कास्य जिते । तेस्रो कास्य राजकुमार राईले भित्र्याए । नेपालका लागि चौथो कास्य राजकुमार बुचेले जिते ।

एसियाड सम्पन्न हुनु एक दिनअघि ४ अक्टोबरमा बक्सिङतर्फ एकै दिन नेपालले ४ कास्य जितेर सनसनी मच्चायो । यहाँ ६३ केजी लाइटवेटमा दलबहादुर रानामगर, ९१ केजी माथि तुलबहादुर थापा, ७५ केजी मिडल वेटमा सुशील पोखरेल र ६३ केजी लाइटवेल्टर वेटमा मनोजबहादुर श्रेष्ठले कास्य जिते ।

दसौं एसियाडमा नेपाल १० औं ठूलो टोलीको रूपमा सहभागी थियो । एसियाडमा सहभागिताको ३५ वर्षपछि नेपालले पदकमा सफलता पाएको थियो । राखेपका संरक्षक तथा अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाहले खेलाडीलाई भेटेरै बधाई दिएका थिए ।

सोलमा एउटा ठूलो अन्तर्राष्ट्रिय खेलकुद मेला थियो । त्यसअघिका एसियाडमा नेपाल रित्तो हात फर्किन्थ्यो । तर, सोलबाट हामीले देशका लागि आठ पदक लिएर फर्किएका थियौं । हाम्रा खेलाडीले बक्सिङमा चार र तेक्वान्दोमा चार कास्य जितेका थिए । त्यसैले त्यो सिंगो मुलुकका लागि नै खुसीको क्षण थियो । नेपाली खेलकुदले पहिलोपटक अन्तर्राष्ट्रिय मैदानमा पदक जितेर देशबासीलाई खुसी दिलाएको थियो ।

नेपालले विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिप र स्पर्धामा त्यसअघि पनि पदक जितेको थियो । तर, एसियाडमै पदक जितेको पहिलोपटक थियो । त्यसैले नेपाली खेलकुदका लागि त्यो एउटा कोशेढुङ्गा बन्न पुगेको थियो । टिम लिएर गएको एउटा लिडरका रूपमा व्यक्तिगत रूपमा मलाई त्यो क्षण सम्झिँदा सधैं गौरवबोध हुन्छ ।

अन्तर्राष्ट्रिय मैदानमा सफलता हासिल होस् वा नहोस्, एकखाले राष्ट्रिय भावना भने अवश्य उत्पन्न हुन्छ । ठूलो सङ्ख्यामा खेलाडी र अफिसियल लिएर जाँदा सोल रङ्गशाला नेपाली राष्ट्रिय झन्डाले रङ्गिएको थियो । नेपालले अन्तर्राष्ट्रिय मैदानमा सङ्ख्यात्मक हिसाबले पनि महङ्खवपूर्ण उपस्थिति देखाएको थियो । हातहातमा राष्ट्रिय झन्डा लिएर मार्चपास गर्दा साँच्चै गज्जबको अनुभूति भएको थियो । त्यस्तो माहोल विरलै देख्न पाइन्थ्यो ।

म सम्झिन्छु, पदक वितरण समारोहमा पदक जित्ने देशका झन्डाहरू राखिएका थिए । खेलाडीलाई बोलाउँदा सम्बन्धित देशको झन्डा सरर् माथि जान्थ्यो । त्यो क्षण साँच्चै गौरव महसुस हुन्थ्यो । नेपाली खेलाडीले पोडियममा गएर पदक लिँदा मलाई बेग्लै सुखानुभूति भयो ।

म सेफ डी मिसन भए पनि मेरो टिममा विधागत अरु टिम लिडरहरू पनि थिए । भलिबलको नेतृत्व गर्दै राजेन्द्रबहादुर सिंह गएका थिए । उनी नेपाल प्रहरीको एआईजीबाट अवकाश प्राप्त भइसकेका छन् । त्यस्तै, एथलेटिक्सको टिम लिडर थिए, ध्रुवबहादुर प्रधान । उनी नेपाल प्रहरीको आईजीपी भईअवकाश प्राप्त गरे । भर्खरै उनी नवलपुरबाट चुनाव जितेर प्रतिनिधिसभा सदस्य छन् । फुटबलको टिम लिएर सोल पुगेका अच्युतकृष्ण खरेल पनि नेपाल प्रहरीमा आईजीपी भएर सेवानिवृत्त भइसकेका छन् । फुटबलका गणेश थापालाई सम्झिन्छु ।

हाम्रो सीमित साधनस्रोतबीच खेलाडीले आफ्नै लगन, मिहिनेत र सीपमा पदक हासिल गरेका थिए । तत्कालीन शिक्षा तथा खेलकुदमन्त्री केशरबहादुर विष्ट खेलाडीलाई हौसला प्रदान गर्न सोल पुगेका थिए । खेलका माध्यमबाट हामीलाई एकता र राष्ट्रिय भावनाले देशको झन्डामा गोलबद्ध बनाएको थियो । त्यसैले मलाई लाग्छ, नेपालीलाई एकतामा बाँध्नसक्ने एउटा महत्वपूर्ण कडी खेलकुदनै हो ।

सोलमा जितेको पदकको खुसी र सम्मान खेलाडीले स्वदेशमा झन् धेरै पाए । सरकारका तर्फबाट नगद पुरस्कार दिइयो । राजाको जन्मोत्सवमा तक्मासहित सम्मान गरियो । एक हिसाबले सिङ्गो देशमै खेलकुदको सफलताले उत्साह जगाएको थियो ।

नेपालको खेलकुद इतिहासमा त्यो एउटा कोशेढुङ्गा नै बन्यो । त्यसले हाम्रो अन्तर्राष्ट्रिय चिनारी पनि बनायो । नेपाली खेलकुदको कुरा गर्दा अहिले पनि दक्षिण कोरियाको त्यो एसियाडको सम्झना हुन्छ ।

अन्तर्राष्ट्रिय खेलकुदमा खेलाडी पठाउँदा जहिलेसुकै जम्बो टोली पठाइयो भनेर सधै आलोचना हुने गरेको छ । तर, मैले बुझेसम्म तोकेको कोटाभन्दा धेरै त चाहेर पनि पठाउन सकिन्न । खेलाडीबाहेक जाने भनेको कोच, म्यानेजर, डाक्टरसहित अफिसियल मात्र न हो ।

केही वर्षअघि एक मन्त्रीले खेलाडीको कोटामा आफ्नै छोरा पठाएको सुनियो । अर्को, एउटा खेलमा बुवा कोच, आमा म्यानेजर र छोरा खेलाडी भएर गएको चर्चा पनि मैले सुनें । यस्तो बेथिति चाहिँ हामी खेलकुदमा हुँदा सम्भव थिएन । त्यसैले गैरखेलाडी, असम्बन्धित व्यक्ति गए भन्ने कहिल्यै सुनिएन ।

कतिपय मानिसहरू नजितिने खेलमा खेलाडी पठाएर खर्च मात्र भइरहेकोभन्दै चिन्ता र गुनासो गर्छन् । जस्तो, त्यतिबेला पनि फुटबलमा नेपालको सम्भावना छैन, किन टोली पठाउने भनिन्थ्यो । तर, त्यसरी सोचियो भने त नेपाल कहिल्यै माथि आउँदैन । नेपाली खेलाडीले कहिल्यै अवसर पाउँदैनन्। हाम्रा खेलाडी अन्तर्राष्ट्रिय मैदानमा उत्रिनुपर्छ । खेल चुनौतीको सामना गर्नुपर्छ र सफलताको कोसिस गरिरहनुपर्छ ।

खेल अफिसियल त झन जानै पर्छ । म आफैं धेरैपटक गएको छु । त्यहाँ ओलम्पिक काउन्सिल अफ एसियाको बैठक बस्छ । त्यसमा भाग लिन जानैपर्यो । ओलम्पिक कमिटीमा जानै पर्यो । कोच र रेफ्री कमिटीका बैठक हुन्छन्, त्यसमा पनि पठाउनै पर्यो । झट्ट हेर्दा विदेश जानेको सङ्ख्या ठूलो देखिएला । तर, त्यसले देशलाई फाइदा नै गरेको हुन्छ । विदेशमा देशको प्रतिनिधित्व गराइरहेको हुन्छ ।

सुरुमै कोही पनि सफल हुँदैन । आज सक्षम देखिएको खेलाडी पनि सुरुबाटै सफल थियो भन्न सकिन्न । प्रतियोगितामा भाग लिँदै जाँदा क्षमता पनि वृद्धि हुँदै जाने हो । खेलाडी वा जोकोही एकैपटकमा सफल भइहाल्ने भन्ने हुँदैन । निरन्तरको अभ्यासले खेलाडीलाई तिखार्छ, निखार्छ । बारम्बारको कोसिसले मात्र एउटा खेलाडी सफल हुन्छ । अरु पेसा व्यवसायको हकमा पनि हुने त्यही हो ।

सोल एसियाडमा मैले सेभ द मिसनको जिम्मेवारी पाएको थिएँ । खेलकुदमा सेभ डी मिसन वास्तवमै ज्यादै महत्त्वपूर्ण जिम्मेवारी हो । सिङ्गो टिमको नेतृत्व र उनीहरूको सही व्यवस्थापन गर्नुपर्छ । कहिलेकाहीँ कठोर निर्णय पनि लिनुपर्ने हुनसक्छ । सन् १९८२ को दिल्ली एसियाडमा कठोर निर्णय लिनुपर्ने स्थिति आयो । स्विमिङका दुई जना खेलाडीलाई हामीले नखेलाएरै घर फर्काउनुपरेको थियो ।

दिल्ली एसियाडको सेभ डी मिसन कमल थापा थिए, म उनको डिपुटी भएर गएको थिएँ । भयो के भने, हामीले सबै खेलाडीलाई राती साढे ९ देखि १० बजेभित्र आ–आफ्नो कोठामा जान निर्देशन दिएका थियौं । अझ भोलिपल्ट खेल भएका खेलाडीलाई चाँडै आराम गर्न भनेका थियौं । भोलिपल्ट पौडीको प्रतियोगिता थियो । खेलाडीलाई एउटा भिलेजमा राखिएको थियो । हामीले स्थानीय सुरक्षाकर्मीसँग समन्वय गरेर खेलाडीको निगरानी गरिरहेका थियौं । दिल्लीमा खेलसँगै मनोरञ्जनको पनि माहोल थियो । तर, हामीले हाम्रा खेलाडीलाई अनुशासित हुन र दिइएको निर्देशन पालना गर्न अनिवार्य गरेका थियौं ।

निगरानी गर्ने क्रममा राती ११ बजेतिर एउटा डान्स रेस्टुरेन्टमा स्विमिङका खेलाडीहरू भेटिए । उनीहरू जोडी बाँधेर नाचिरहेका थिए । एकातर्फ उनीहरूले दिइएको निर्देशन उल्लङ्घन गरेर अबेर रातीसम्म डान्स गरिरहेका थिए । अर्कोतर्फ भोलिपल्टै बिहान उनीहरूको खेल थियो । हामी रमाइलो गर्न त गएका थिएनौं। रातभर नाचेको व्यक्तिले अर्को दिन पौडिएर पदक जित्ला भन्ने के आशा गर्नु? उनीहरूमा खेलप्रति पटक्कै गम्भीरता देखिएन । घुमफिर गर्न गएकोजस्तो व्यवहार देखाएका थिए ।

त्यो राती हामीले उनीहरूलाई सचेत गराएर भोलिपल्ट बिहान भेट्न आउन भन्यौं । उनीहरू बिहान ‘सरी’भन्दै आए । तर, हामीले उनीहरूबाट अब कुनै पदकको आशा गर्नु निरर्थक थियो । रातभर थाकेका खेलाडीले पदक जित्दैनन् भन्नेमा हामी निश्चिन्त थियौं । त्यसैले हामीले उनीहरूलाई प्रतियोगितामा भाग लिन नपाउने निर्णय सुनायौं । र, घर फिर्ता पठाइदियौं ।

सेभ द मिसन थापा भए पनि त्यो कारबाही मेरा कारणले भएको भन्ने बुझाइ खेलाडी माझ भएछ । कारण, यस्ता कुरामा ल ठिकै छ भन्न हुन्न भन्नेमा म दृढ थिएँ ।

स्विमिङ खेलाडीमाथिको त्यो कारबाहीपछि खेलकुदमा सुवर्ण क्षेत्री भनेपछि खेलाडीहरू सतर्क हुने स्थिति बनेको थियो । दिल्ली र दक्षिण कोरियापछि पनि म बक्सिङ टोली लिएर इन्डोनेसिया गएँ । एथलेटिक्स टोली लिएर रसिया र फुटबल टोली लिएर मलेसिया पुगेँ । म जहाँ गएँ,दिल्लीमा पौडी खेलाडीले जस्तो अनुशासन उल्लङ्घन गर्ने हिम्मत कसैले गरेनन् । त्यसपछि कुनै खेलाडीलाई त्यसरी कारबाही गर्नुपरेन ।

खेलकुदसँग अरु पनि मेरा तीतामिठा संस्मरणहरू छन् । मैले ग्रिकको ओलम्पिया पुगेर विश्व ओलम्पिक कमिटीको एकेडेमिक कोर्स लिएको छु । १४ दिनको कोर्सले मूलतः ओलम्पिक भावना सिकाउँछ । खेलकुदमार्फत विश्व बन्धुत्वको विकास कसरी गर्ने भन्ने बुझाउँछ ।

ओलम्पिक कमिटी निकै व्यवस्थित छ । त्यसको संरचना एक हिसाबले संयुक्त राष्ट्रसङ्घको जस्तै छ । ओलम्पिक कमिटीले दिने एकेडेमिक कोर्समा युवा परिचालन र एकअर्को देशबीचको सम्बन्ध विस्तारमा जोड दिइएको हुन्छ । म जाँदा नेपाल ओलम्पिक कमिटीमा दिगम्बर सुवाल थिए । मैले बुझेसम्म त्यो कोर्स लिनेमा अनुपशमशेर राणापछि म दोस्रो थिएँ । एकेडेमिक कोर्स पूरा गरेपछि मैले खेलकुदलाई अझ गहन रूपमा बुझ्ने मौका पाएँ । खेल संस्कृतिको अन्तर्राष्ट्रिय भावना, मर्म र महत्व महसुस गरें ।

खेलकुदमा यति लामो संलग्नता रहे पनि एउटा कुरामा भने मलाई सधैँ थकथकी लागिरहन्छ । म धेरै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिमको नेतृत्व गर्दै पुगँ । दुर्भाग्यवश भनौँ, ओलम्पिकमा सहभागी हुने मौका भने कहिल्यै जुरेन । खेलकुदको सपना भनेकै ओलम्पिक हो । हरेक खेलाडी वा खेलकर्मीको सपना हुन्छ, एकपटक ओलम्पिक जाने । तर, पटकपटक त्यो अवसर नजिकै आएर पनि मलाई जुरेन ।

रसियामा ओलम्पिक हुँदा म अमेरिकी संस्था यूएसआईएसमा काम गर्थें । त्यतिबेला अमेरिका र रसियाबीचको सम्बन्ध खराब थियो । मैले मेरा अरु खेल र सामाजिक कामबारे मेरो अफिसलाई जानकारी गराउँथेँ, अनुमति लिन्थेँ । ओलम्पिकमा भाग लिन रसिया जान मैले अफिससँग अनुमति मागेको थिएँ । तर, अमेरिका–रसियाबीच बिग्रेको सम्बन्धलाई कारण देखाएर यूएसआईएसले मलाई ओलम्पिकमा सहभागी हुने अनुमति दिएन ।

अर्को पटक ओलम्पिकमा जाने समयमा पनि त्यस्तै भयो । म भर्खर ओलम्पिक एकेडेमी कोर्सका लागि १५ दिन बिदा लिइसकेको थिएँ । लगत्तै, ओलम्पिक खेलकुद हुँदै थियो । त्यसका लागि मैले अफिससँग अनुमति र बिदा माग्नुपर्ने थियो । एउटा बिदा सकिनासाथ अर्को बिदा लिने साहस मैले गर्न सकिनँ । यसरी मैले ओलम्पिकमा सहभागी हुने मौका पटक–पटक गुमाएँ ।

(राखेपका पूर्वसदस्य सुवर्ण क्षेत्रीको संस्मरणात्मक पुस्तक सपना, विश्वास र अठोटको पुस्तक अंश । क्रियटिभ बुक्सले प्रकाशित गरेको यो पुस्तक बिहिबार काठमाडौँमा लोकार्पण हुँदैछ ।)

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.