5 months ago
August 26, 2024
एजेन्सी – मकाउमा आयोजना भएको ग्रेटर बे कप अन्तर्राष्ट्रिय तेक्वान्दो सिरिजमा नेपालका असिम श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
क्याडेटको पुरुष ३६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका असिमले रजत पदक जिते पनि समग्रमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । प्रतियोगितामा सिनियरतर्फको ह्यान्ड ब्रेकिङमा डेनिड विकले पहिलो स्थान हात पारेका छन् । यस्तै सिनियर पुरुष ८० केजीमुनिको तौल समूहमा सुरज कार्की, ६८ केजीमा विमल रोकायाले रजत पदक जिते ।
यस्तै सिनियर महिला ७३ केजीमाथि मुना खवास मगरले पनि रजत पदक जितिन् । पुरुष क्याडेट ४९ केजीमुनि प्रवलविक्रम बानियाँ र नियोल गुरुङले कांस्य पदकमा चित्त बुझाउँदा महिला क्याडेट ४२ केजीमुनि विनिशा प्रधान र ५३ केजीमा अञ्जली लामाले रजत पदक पक्का गरे ।
महिला क्याडेटको व्यक्तिगत पुम्सेमा अनुजा राईले तेस्रो स्थान हात पारिन् ।
प्रतियोगितामा सहभागी हुन मकाउ पुगेका नेपाली टोलीलाई स्थानीय ब्रदरहुड संस्थाले तीन हजार हङकङ डलर (नेपाली ५० हजार) रुपैयाँ सहयोग गरेको थियो ।
यस्तै पावरफोर्स सेक्युरिटी एन्ड क्लिनिङ म्यानेजमेन्ट ग्रुपले खेलाडीलाई एक लाख रुपैयाँ र टिम व्यवस्थापक अमरबहादुर श्रेष्ठ र टोली नेता तथा अन्तर्राष्ट्रिय निर्णायक कुमार लामा घिसिङलाई जनही ५० हजार रुपैयाँ सहयोग गरेको छ । पाकिस्तानका अली बटले सो कम्पनीमार्फत नेपाली टोलीलाई सहयोग गरेका हुन् ।