default_image

5 years ago

November 28, 2019

नेपाली कराँतेका ‘विश्व च्याम्पियन’ सारथि

190 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

पाँच पटक कराँतेका विश्व च्याम्पियन रहिसकेका एन्जेलो स्पाटारो बिहीबार विहान गौशालास्थित शिवम प्लाजा होटेलको कन्फेरेन्स हलमा नेपाली राष्ट्रिय कराँते टोलीका खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका थिए । नेपाली कराँते नजिकबाट नियाल्नेका लागि स्पाटारो नयाँ अनुहार होइनन् । पछिल्लो २५ वर्षदेखि नेपाली कराँतेका लागि आफूलाई नियमित समर्पित गर्दै आएका उनको हालको परिचय भने कराँतेभन्दा बाहिरको छ ।

 

स्पाटारो हाल मोनाकोमा राष्ट्रिय तेक्वान्दो महासंघको निर्देशकका रुपमा कार्यरत छन् । उनी विश्व तेक्वान्दोको पनि प्राविधिक समितिको सदस्यमा छन् । लामो समय कराँतेमा बिताएका ५८ वर्षीय स्पाटारोले खेलमा विवाद बढ्न थालेपछि चटक्कै छाडेर तेक्वान्दोतर्फ जिन्दगी नै मोडे । तर हरेक वर्ष कम्तिमा एकपटक नेपाल आउने गरेका उनी यहाँ आएपछि भने कराँतेकै ‘गी’ मा देखिन्छन् । उनले कराँतेलाई छोड्ने निर्णय लिएपनि नेपालमा आएपछि उनी कराँतेबिना सायदै टाढा रहेका छन् ।

नेपाली कराँतेमा दीपक श्रेष्ठ एक सफल खेलाडी सँगसँगै कुशल प्रशिक्षकका रुपमा परिचित छन् । खेलाडी हुँदा सागमा स्वर्ण पदकको ह्याट्रिकनजिक पुगेका दीपकको खेल जीवनको सुरुवाती दिनदेखि नै स्पाटारो प्रशिक्षकका रुपमा रहेका छन् । अहिले दीपक राष्ट्रिय टोलीका प्रशिक्षक रहँदा उनै स्पाटारो स्वयंसेवक प्रशिक्षकका रुपमा नेपाल आएर ठूला प्रतियोगिताको पूर्वसन्ध्यामा टोलीसँग व्यस्त रहन्छन् । उनको प्रशिक्षण शैली र प्रेरणादायी सोचले खेलाडी मात्र होइन झन्डै दर्जन संख्यामा रहेका प्रशिक्षक टोली पनि प्रभावित हुने दीपक बताउँछन् ।

‘वहाँले नेपाली कराँतेको लागि निकै योगदान गर्नुभएको छ । आफ्नो जमानाको विश्व च्याम्पियन खेलाडी प्रशिक्षकका रुपमा पनि उत्तिकै सफल हुनुहुन्थ्यो । नेपालले सन् १९९४ को हिरोसिमा एसियन गेम्सदेखि वहाँको प्रशिक्षण पाएका थियौं । अहिले सन् २०१९ सम्म पनि वहाँ आफ्नै इच्छाले नेपालको टोलीको लागि भनेर उपस्थित हुनहुन्छ,’ दीपकले भने, ‘ नेपालले सन् १९९९ को साफमा ऐतिहासिक प्रदर्शन गर्दा वहाँ नै विदेशी प्रशिक्षकको रुपमा हुनुहुन्थ्यो । म आफैं खेलाडी हुँदा पनि वहाँबाट धेरै सिकेको छु । त्यसबेला अन्तर्राष्ट्रिय कराँतेमा आएको नयाँ टेक्निक र शैली हामीले वहाँबाट नै सिकेका थियौं ।’

स्पाटारो पछिल्लो डेढ दशकयता भने कराँतेलाई चटक्कै छाडेर तेक्वान्दोतर्फ लागेका छन् । विश्व कराँतेमा विवाद बढ्न थालेपछि उनले निराश भएर तेक्वान्दोमा मोडिने निर्णय लिएका थिए । तेक्वान्दोमा पनि उनले पाराग्वे, मोनाको लगायत देशको मुख्य प्रशिक्षकको रुपमा काम गरे । उनी अहिले मोनाकोकै निर्देशकका रुपमा कार्यरत छन् । एक समय नेपालको कराँतेमा निकै सक्रिय रहेका स्पाटारो विश्व संगठनझैं नेपाली कराँतेमा पनि विवाद आउन थालेपछि व्यक्तिगत तवरबाट नै नेपालसँग सम्बन्ध गाँसीरहेका छन् ।

स्पाटारो आफैं नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेका कारण हरेक वर्ष यहाँ नआई चित्त नबुझ्ने बताउँछन् । ‘ मेरो नेपालसँग बेग्लै सम्बन्ध छ । मुटुको सम्बन्ध । म यहाँ आएको २५ वर्ष भईसक्यो र अझैपनि आउंछु । हरेक वर्ष कम्तिमा एकपटक त आउँछु नै । किन भन्ने प्रश्न नै गर्न पर्दैन,’ उनले भने । बेलाबखत संघकै नियुक्तिमा विदेशी प्रशिक्षकको भूमिकामा आउने गरेका स्पाटारो धेरै पटक आफ्नै खुसीले नेपाल आउने गरेका छन् ।

स्पाटारोले साढे दुई दशक नेपाली कराँतेलाई नजिकबाट नियाल्दा सकारात्मक प्रगति भएको देखेका छन् । ‘ विश्व कराँतेसंगै नेपाली कराँतेले पनि प्रगतिको पथमा हिडेको छ । विगतभन्दा पक्कै कराँतेमा सुधार भएको छ । अहिले टोलीमा रहेका खेलाडी युवा छन् र आशा गर्ने ठाउँ देखेको छु । सागको लागि पनि तयारी राम्रो रहेको पाएको छु,’ उनले भने । स्पाटारोले नेपाली खेलाडीले पदक ल्याउनेमा आफू विश्वस्त रहेको समेत बताए ।

प्रशिक्षक श्रेष्ठको अनुसार स्पाटारो एक प्रशिक्षक मात्र नभएर खेलकुद दार्शनिक पनि हुन् । ‘ मैले वहाँबाट खेलका क्रममा प्रयोग गर्ने स्किल र टेक्निक मात्र होइन धेरै बाहिरी कुरा पनि सिकेको छु । खेलाडी हुँदा सिकेको कुरा अझैपनि याद आउँछ । अहिले पनि वहाँले खेलाडीलाई प्रशिक्षणका क्रममा बोल्दा गर्ने कुराहरुले हामीलाई प्रभाव पार्छ, खेलाडीलाई त फाइदा हुने नै भयो । वहाँको साथ पाउनु नेपाली कराँतेको इतिहासमा नै महत्त्वपूर्ण पाटो हो ,’ श्रेष्ठले थपे ।

अग्ला कदका स्पाटारो सागलाई लक्षित गर्दै नेपाल आइपुगेका हुन् । नेपालले खेल्ने हरेक ठूलो प्रतियोगिताअघि उनी आफ्नो नियमित कार्य थाँती राखेरै भएपनि नेपाल आइपुग्छन् । उनको नेपाली कराँतेप्रतिको लगाव र मायाले कराँते विकासमा निकै सहयोग पुगेको जगजाहेर छ । विश्व कराँते र तेक्वान्दोमै आफ्नो बेग्लै पहिचान कायम गरेका स्पाटारोलाई नेपालप्रतिको प्रगाढ प्रेमले आउने वर्षमा पनि यहाँ डोर्याउनेमा दुइमत छैन । तर विश्व कराँतेबाट निराश भएर बाटो मोडेका उनलाई नेपाली कराँतेको लम्बिँदो विवादले भने कठोर निर्णय लिन बाध्य नबनाओस, खेलाडी प्रशिक्षक र खेलप्रेमीको त्यहि चाहना हुनेछ ।

Success

Thank you for your time.