6 years ago
August 25, 2018
दीपक न्यौपाने
जकार्ता- १८ औं एसियाली खेलकुदमा नेपालले पदकविहिन यात्रा कायम रहेको छ । कराँतेकी चन्चला दनुवारले एकल काँता तर्फ कांस्य पदकका लागि भएको खेलमा थाइल्याण्डकि तारात्तानाकुल मोनिशासँग ५-० ले पराजित भएपछि नेपालको खाता खुल्न सकेन ।
प्रतियोगिताको क्वाटरफाइनलमा मकाउकी सौ सोइलामसँग ५-० ले पराजित भएपनि चन्चलाले रेपेचेजबाट पदकसम्म पुग्ने मौका पाएकी थिइन् । उनले रेपेचेज फाइनलमा उत्तर कोरियाकी काङ जी उइलाई ३-२ ले पराजित गर्दै पदकको आशा दिलाएकी थिइन् । ३१ वर्षीय चन्चलाले थाई प्रतिद्वन्द्वी मोनिशासँग ५-० ले पराजित भइन् ।
नेपालले १८ औं एसियाडमा कुनै पदक जित्न सकेको छैन । पदकको आशा गरिएका उसु र तेक्वान्दो खाली हात फर्केपछि खालि हात हुने डर बढेको छ । कराँतेका खेल आजबाट सुरु भएको हो । कराँतेकै पुरुष एकल काँतातर्फ नेपालका परशुराम बास्तोला पहिलो चरणमा कतारका हाशेम आधामसँग ५-० ले पराजित भए ।