default_image

7 years ago

March 17, 2018

फुल कन्ट्याक्ट करातेमा सनी र मन्जु च्याम्पियन

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय सनीसिंह सुनार र मन्जु विक १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा च्याम्पियन बनेका छन् । सनी पुरुषमा र मञ्जु महिलामा च्याम्पियन बनेको हो ।

full contact karate

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले प्रदेश नं. ४ का मदन क्षेत्रीलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । प्रदेश नं. ४ का गोविन्द रोका र दीपक महतोले कास्य हात पारे ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिला खुलमा च्याम्पियन बनेकी मन्जुले प्रतिद्वन्द्वी प्रदेश नं. ४ की ममता राईबाट वाक ओभर पाइन् । ममता ‘मेडिकल्ली डिस्क्वालिफाई’ भएपछि मन्जुलाई स्वर्ण जित्न प्रतिस्पर्धा गर्नु परेन । प्रदेश नं. ५ की लक्ष्मी मल्ल ठकुरी तेश्रो स्थानमा रहिन् ।

आर्मीले प्रतियोगितामा सर्वाधिक ३ स्वर्ण जित्यो । बाँकी १ एक स्वर्ण पुरुष ६५ केजीमुनि मनोज थपलियाले जिते । उनले उपाधि भिडन्तमा प्रदेश नं. ४ का गोपीराम स्याङतानलाई हराए । आर्मीका चोपबहादुर बुढाथोकी तेश्रो तथा प्रदेश नं. ५ का थोमस खड्का चौथो भए । पुरुष ५५ केजीमुनि फाइनलमा प्रदेश नं. ३ का महेश भुजेलले प्रदेश नं. ५ का सन्देश सुनारलाई पाखा लगाउदै पहिलो भए । प्रदेश नं. ४ का अजय राई तेश्रो र प्रदेश नं. ३ का सुजन दनुवार चौथो भए । चारै स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार २ सय नगद पुरस्कार हात पारे । एकल कातामा प्रदेश नं. ५ का सन्तोष साउद पहिलो, प्रदेश नं. ३ का महेश भुजेल दोश्रो र आर्मीका सुनील नगरकोटी तेश्रो भए । सन्तोषले ४२.५, महेशले ४२ तथा सुनीलले ४०.५ अंक जोडे । शीर्ष स्थानमा रहनेले क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार २ सय नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन र वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धरले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय ५ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Success

Thank you for your time.