1 day ago
March 23, 2025
भूपेन्द्र जिसी
राष्ट्रिय प्रतियोगिताको फाइनल, अनि स्वर्ण पदकका लागि दिदीबहिनीको प्रतिस्पर्धा । सुन्दा अचम्म लाग्ला तर यो दृश्य भर्खरै सम्पन्न कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय प्रतियोगिताको चौथो संस्करणमा देखियो । महिला कातातर्फ दिदी सानुमाया थिङ र एलिना थिङले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरे । स्वर्ण दिदीले हात पारिन् तर उनको भनाइ मान्ने हो भने यो दुवैले जितेको स्वर्ण थियो ।
प्रतियोगिता सुरु हुनुभन्दा २ दिनअघि दिदीबहिनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए । पशुपति पुगेर बहिनीले कम्तिमा पदक जितौं भनेर भगवानसँग मागिन् । मन्दिरबाट फर्केपछि बहिनीले उक्त कुरा दिदीलाई सुनाइन् । दिदीबहिनीले एकै इभेन्टमा प्रतिस्पर्धा गर्दै थिए । त्यसैले २३ वर्षीय सानुमाया बहिनी एलिनाको पोलमा सबै प्रदेश टोली परुन् भन्ने चाहन्थिन् ।
नभन्दै खेल तालिका सार्वजनिक गर्दा भयो त्यहि, आर्मीबाट खेल्ने सानुमायाको पोलमा तीनै विभागीय टोली पुलिस र एपिएफका खेलाडी परे । अर्कोतर्फ बहिनी एलिनाको पोलमा प्रदेशका खेलाडी मात्र थिए । सानुमायाले घरमा रहेकी बहिनीलाई फोन गरेर जसरी पनि फाइनल पुग्ने हिसाबले खेल्न भनिन् ।
सानुमायाको पहिलो प्रतिद्वन्द्वी नेपालबाट एसियाली खेलकुद खेल्नुका साथै लगातारकी च्याम्पियन एलिसा रासकोटी मगर थिइन् । एलिसासँग सानुमायाले छनोट र अन्य प्रतियोगिता गरेर लगातार चार पटक हारेकी थिइन् । तर यसपटक सानुमायाको लक्ष्य प्रष्ट थियो, बहिनीसँग फाइनल खेल्ने । उनले पहिलो कातामै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गरिन् । सानुमायाले ४२.३ र एलिसाले ४१.६ अंक जोडे ।
एलिसाविरुद्ध खेल्दा नतिजा भन्दापनि आफ्नो प्रदर्शनमा ध्यान दिएका कारण सफल भएको सानुमाया भन्छिन् । ‘हार जित आफ्नो ठाउँमा छ । तर म आफ्नो उत्कृष्ट दिन्छु भन्ने थियो । मलाई अलिकति पनि डर लागेको थिएन । हार नखाएपछि सकिने रहेछ’, एलिसालाई पराजित बारे उनले भनिन् ।
एलिसालाई हराएपछि दिदी खुसीले गदगद थिइन् । सेलेब्रेसन नै फरक थियो । दिदीले त्यो खेल जित्दा आफ्नो स्पर्धाको तयारी गरिरहेकी बहिनीको आँखा पनि रसाए । अब उनलाई मात्र आफ्नो खेल राम्रो गर्नु थियो । र गरिन् पनि । एलिनाले आफ्नो स्पर्धामा कर्णाली प्रदेशकी एलिसा थापा मगरलाई पराजित गरिन् ।
सेमिफाइनलमा सानुमायाले एपिएफकी मिरा खातीलाई हराउँदै फाइनलमा स्थान पक्का गरिन् । एलिनाले दोस्रो सेमिफाइनलमा वर्षा साउदको चुनौती पन्छाउँदै दिदीसँगको फाइनल भेट पूरा गरिन् ।
दिदीबहिनी चाहेको फाइनल सम्भव भयो । फाइनलमा दिदीले स्वर्ण जितिन्, तर उनीहरुको जित सेमिफाइनलको जितपछि नै भइसकेको थियो । फाइनल कसले जित्छ भन्ने त मात्र औपचारिकता मात्र थियो ।
सानो हुँदा एलिनालाई सानुमायाले आफैंले डोर्याएर डोजोसम्म पुयाउँदै कराते सिकाएकी थिइन् । तिनै बहिनीसँग फाइनलमा प्रतिस्पर्धा गर्नु साँच्चिकै अविष्मरणीय क्षण थियो । त्यतिमात्रै होइन उनीहरुलाई सिकाउने गुरुको पनि त्यो चाहना थियो ।
इट्टाभट्टामा हुर्किएका यी दुई दिदीबहिनीलाई करातेमा ल्याउने संघरत्न महर्जन हुन् । चन्द्रागिरीमा डोजो नै स्थापना गरेर प्रशिक्षण दिइरहेका उनले सानुमायालाई कराते सिक्न आउन भने । उनले नै सानुमायाको खेल करिअर अघि बढ्दै जाँदा आवश्यक सामाग्री र अवसर जुटाइदिए ।
त्यसमा बेसिक लर्निङ विद्यालयका संस्थापक चारकाजी महर्जनले पनि निकै सहयोग गरेको सानुमायाले बताइन् । इँटाभट्टामा बित्ने गरेको उनीहरुको दिनचर्यालाई कराते हुँदै करिअर नै स्थापना गर्न आफ्नो गुरुको ठूलो भूमिका रहेको सानुमायाले सुनाइन् ।
सानुमायाको जन्म २०५८ सालमा हेटौंडामा भएको हो । दुई वर्षपछि उनी बुवाआमासँग काठमाडौं आइन । उनका बुबा डकर्मी थिए । बहिनीको भने २०६५ सालमा काठमाडौंमा जन्म भयो । चन्द्रागिरीको बोसिगाउँमा उनको बाल्यकाल बित्यो ।
सानोमा उनले कराते खासै सुनेकी थिइनन् । सानुमाया ४-५ कक्षा पढ्दा नै जेठी दिदीको विवाह भयो । आफू ७ कक्षा पढ्दा मात्र कराते सुरु गरेको उनले सुनाइन् । घर नजिकैको मैदानमा छिमेकका अन्य बच्चासँग स्थानीय खेल खेल्न जान्थे ।
फिल्मसमेत खेलेका गुरु महर्जन देखेर स्थानीय बालबालिका तर्सन्थे पनि । टाढाबाट नै महर्जन भिआर बाइकमा आउँदा सानुमाया र उनका साथीहरु गुण्डा आयो भनेर डराउँथे । एकदिन महर्जनले सानुमायालाई मैदानमा खेलेको देखे र करातेमा जोडिन भने ।
‘हाम्रो यात्रा एकदमै नराम्रो भन्ने की राम्रो । इँटाभट्टा आएका मान्छे हौं । सानैदेखि दुःख गरेको मान्छे हुँदा शारीरिक र मानसिक दुवै रुपमा हामी बलियो हुन्छौं भनेर गुरुले स्कुलसम्म पुगेर करातेमा ल्याउनु भएको हो’, सानुमायाले पुराना दिन सम्झदै भनिन् ।
उनीहरुसँग खेल्न आउँदा लगाउने जुत्ता हुँदैन थियो । त्यो पनि महर्जन नै दिन्थे । करातेमा लाग्न आफ्नो परिवार भन्दा बढी समर्थन र साथ गुरुले दिएको सानुमाया बताउँछिन् ।
‘गुरुले आफ्नो खल्तीबाट जुता किन्न पैसा दिनुहुन्थ्यो । वहाँले मलाई यति गर्नुभयो की मेरो बाबा आमाले पनि त्यति गर्नुभएको छैन । उहाँको त्यो साथ र सहयोगले यहाँ आएको हो, सानुमायाले भनिन्’, त्यसैमा थपिन् ।
‘संघर्षको समयमा कति दिन रोएर बिते । कति अभाव र भोक सहँदै धेरै चरण पार गरेर यहाँसम्म आईपुगेका हौं । त्यसैले दिदीबहिनी फाइनल खेल्दा खुसी छौं । कसले जित्ने भन्ने हामीलाई अहिले महत्त्वपूर्ण छैन,’ दिदी सानुमायाले सुनाइन् ।
एसईईको बिहान परिक्षा दिएर बेलुका प्रशिक्षण गर्ने जान्थे । चिसोमा हातखुट्टा पटपटी फुट्दा समेत कहिल्यै खेल छाडेनन् । उनीहरुको अनुशासन पनि सफलता एक कारण हो ।
सुरुवातमा सानुमायाले ५-६ वर्ष कुमिते (फाइट) खेलेकी थिइन् । तर सानो उमेरदेखिनै उनको कातामा बेसिक राम्रो थियो । दुई वर्षअघि भएको एसियाली खेलकुदको छनोटसम्म पनि उनले फाइटमै प्रतिस्पर्धा गरेकी थिइन् । तर साथीभाइ र गुरुहरुले काता राम्रो हुँदा त्यसमा प्रतिस्पर्धा गर्न भने ।
सानुमायाले २०७३ मा भएको सातौं राष्ट्रिय खेलकुद बागमतीबाट खेलेकी थिइन् । त्यसपछि केही साना ठूला प्रतियोगिता खेल्दै गर्दा कोरोना महामारीले करिअरमा असर पर्यो । पोखरामा २०७९ सालमा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगिता भने त्रिभुवन आर्मी क्लबबाट खेलिन् । आर्मीको टिम काता टोलीमा रहेकी उनले स्वर्ण जितिन् । व्यक्तिगत कातामा भने उनी भन्दा सिनियर संगिता मगरले प्रतिस्पर्धा गरेकी थिइन् ।
यता बहिनी एलिना स्कुलपछि फुर्सदिलो थिइन् । शारिरीक उचाई पनि राम्रो हुँदा उनको रहर नहुँदा नहुँदै पनि कराते लैजान थालिन् । निराशा वा रिसमा बेलाबखत उनी दिदीलाई गाली पनि गर्छिन् । तर फाइनलपछि बोल्न खोज्दा एलिनाको बोली नै फुटेन ।
सायद खुसीले गर्दा होला, बोल्न खोज्दाखोज्दै उनको आखाँ रसाउन थाल्यो । सँगै बसेकी दिदीले पनि आफूलाई रोक्न सकिनन् । दुवै एक अर्कालाई हेर्दै रोइरहे । केहीबेरपछि आफूलाई सम्हाल्दै एलिनाले दिदीसँग फाइनल खेल्न पाउँदा खुसी लागेको बताइन् ।
‘एकदम खुसी छु । दिदीले आफ्नो खेलमा मात्र ध्यान दिनु त भन्नुभएको थियो । सेमिफाइनल जितेपछि विश्वास भएन,’ आँशु पुस्दै एलिनाले भनिन्, ‘दिदीसँग फाइनल खेल्छु त सोचेकै थिएन । यो सबै दिदीकै कारण सम्भव भएको हो ।’
एलिनालाई बोल्न कठिन भएपछि सानुमायाले विगतका दिन सुनाउन थालिन् । ‘हामी एक अर्कालाई हेरेर गल्ती पत्ता लगाउँथ्यौं । घरमा भएको सानो दराजको ऐनामा खेल देखाउँदै एक अर्काको कमजोरी भन्न थाल्यौं । मैले उसलाई भन्दापनि हामीले एक अर्कालाई सुधार गरेका छौं ।’
२०२६ मा जापानमा हुने एसियाली खेलकुदका लागि यसै प्रतियोगिताको नतिजालाई आधार मानेर टोली छनोट हुँदैछ । फाइनलमा प्रतिस्पर्धा गरेका दिदीबहिनी अब राष्ट्रिय टोलीको क्याम्पमा समावेश हुनेछन् । एकल कातामा एक मात्र स्थान रहेकाले अब दिदीबहिनीमा एक जनामात्र अन्तिम छनोटमा पर्न सक्नेछन् । त्यसका लागि राष्ट्रिय टोलीमा रहेकी एलिसासँग पनि प्रतिस्पर्धा छ ।
‘राष्ट्रिय टोलीमा पर्ने वा नपर्ने हाम्रो हातमा छैन । हामीले निरन्तर मिहिनेत गर्नेछौं । राष्ट्रिय टोलीसम्म आउने सपना थियो । त्यो पूरा हुने बाटोमा छ । यो भन्दा अझै बढी कडा मिहिनेत गरेर माथि जान चाहन्छु,’ सानुमायाले सुनाइन् ।
बहिनी एलिनाले अघिल्लो वर्ष भुटानमा गएर जुनियर साफ गेम्सको कुमितेमा स्वर्ण जितेकी थिइन् । सानो उमेरमा नै एलिनासँग दुई साफ जुनियर प्रतियोगिता खेलेको अनुभव छ । दिदीजस्तै बहिनी पनि सुरुमा फाइट खेल्थिन् । तर बहिनीको खेल हेर्दा कातामा झनै राम्रो गर्न सक्ने सम्भावना देखिन् । त्यसैले फाइट छोड्न लगाएर कातामा लगाइन् ।
एलिना कातामा आएको एक वर्षमै ठूलो परिवर्तन र सफलता हात पार्न थालेकी छिन् । उनले यसको सम्पूर्ण श्रेय दिदीलाई दिइन् । ‘ घरमा परिवारको नभएपनि दिदीको धेरै साथ छ । अहिले कातामा बढी रमाउछु’, एलिनाले भावुक हुँदै भनिन् ।
सानुमाया पछिल्लो केही वर्षयता आर्मीमा जागिरे भएपछि ब्यारेकमै बस्दै आएकी छिन् । विहान प्रशिक्षण र दिउँसो विभागीय ड्युटी उनको दिनचर्या बनेको छ । बहिनीको खेल र पढाइ अघि बढाउन उनले बहिनीलाई कोठा लिएर राखेकी छिन् । बहिनीको कलेज र प्रशिक्षणको सबै जिम्मेवारी उनले नै लिएकी छिन् । बिदाको दिन बहिनी भेट्दा दुईजनाको कुरा नै कराते हुन्छ ।
नेपाली खेलकुदमा जीविकोपार्जन गर्न विभागीय टोलीमा आवद्ध हुनुको विकल्प खासै छैन । दिदी सानुमाया त्यसैले आर्मीमा जागिरे छिन् । तर बहिनीलाई भने विभागमा जानु छैन । टिनएजमै रहेकी उनी ‘अब कुन विभाग रोज्ने?’ भन्ने प्रश्नमा पुन: भावुक भइन् । टिलपिल आँशु पुछ्दै उनले भनिन्, ‘मलाई विभाग जान मन छैन । धेरै कारणहरु छन् । तर विभाग जान मन लाग्दैन ।’
एलिनाले यसो भनिरहँदा दिदी सानुमायाले केही भन्न सकिनन् । विभागको जागिरकै भरमा आफ्नो परिवारलाई साथ दिनुका साथै आफ्नो र बहिनीको खेल करिअर अघि बढाइरहेकी उनलाई बहिनी कुनै दिन विभाग जानुपर्छ भन्ने सायद थाहा छ । भावुक बहिनीको अघि उनले त्यहाँ केही बोलिनन् र मौन रहिन् ।
दिदीबहिनी अवको सपना भनेको राष्ट्रिय टोलीमा सँगै खेल्ने हो । तर व्यक्तिगत इभेन्टमा एक मात्र खेलाडी छनोट हुने कारण त्यो सम्भव हुँदैन । तर एकअर्कासँग फाइनल खेल्ने सपना पूरा गरेका दिदीबहिनीमा अब जो राष्ट्रिय टिम परेपनि सपना दुवैको पूरा हुनेछ ।