default_image

2 years ago

February 16, 2023

स्वर्णधारी हजाम आनन्द जब अन्तिम सेकेन्डमा स्तब्ध बने

312 views

0 Bookmark

भुपेन्द्र जि.सी.काठमाडौं

भनिन्छ एक सेकेन्डको महत्व कति हुन्छ खेलमा हार्ने खेलाडीलाई सोध्नु । अन्तिम सेकेन्डसम्म नतिजा जता पनि जानसक्छ । त्यसैले खेलाडीको लागि हरेक सेकेन्ड निकै महत्त्वपूर्ण हुन्छ । एक सेकेन्डको कारण विश्व खेलकुदमा हारेका थुप्रै उदाहरण छन् ।

गत शुक्रबार दोस्रो कृष्णप्रसाद भट्टाई स्मृति राष्ट्रिय प्रतियोगिता ५० केजी तौल समूहमा सुदूरपश्चिमका आनन्द कामी क्वाटरफाइनल खेलमा बागमतीका साइमन श्रेष्ठसँग अन्तिम सेकेन्डको किकका कारण हार्न पुगे । नवौं राष्ट्रिय खेलकुदका स्वर्णधारी २२ वर्षीय आनन्द बागमतीका १५ वर्षीय साइमनसँग अविश्वसनीय हार भोग्दै प्रतियोगिताबाट नै बाहिरिए ।

खेल सकिन एक सेकेन्ड बाँकी हुँदा आनन्द ११ र साइमन ९ अंकमा थिए । सुदूरका प्रशिक्षकले एक सेकेन्डको समय रहँदा भिडियो रिप्ले (भिआर) माग गरे, तर त्यसमा आनन्दले अंक प्राप्त गर्न सकेनन् । उता सुदूरका खेलाडी जितको खुशीयाली मनाउन थालिसकेका थिए । तर अन्तिम सेकेन्डमा साइमन इप्पन जोड्दै अविश्वसनीय रुपमा १२–११ ले विजयी भए ।

खेल सकिन ४१ सेकेन्ड बाँकी रहँदा आनन्दको बायाँ खुट्टामा चोट लागेको थियो । त्यो समय उनी ११–८ ले अघि थिए । त्यसपछि उनले अंक जोड्न सकेनन् । पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलेका साइमन भने फाइनलमा पुलिसका साजन मोक्तानसँग ६–४ ले पराजित हुन पुगे ।

‘खेलमा तीन मिनेट खेल्दा हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ । हार जित जसले राम्रो खेल्यो त्यसले हुने हो । म पहिला घाइते भएँ। त्यसपछि अन्तिम सम्म टिक्न गाह्रो भएको थियो । हार भने सोचेको थिइनँ’, आनन्दले भने ।

खेलको अन्त्यमा भने आफूलाई गाह्रो हुने अनुमान गरेको उनले बताए । ‘हारको कल्पना गरेको थिएन । खुट्टाले साथ दिएन । टेक्नै गाह्रो भयो । एक सेकेन्ड बाँकी थियो, आफू पछाडि गएपछि खुट्टा गाह्रो हुन्छ भन्ने सोचे आयो । उनको किकमा पछाडी जान र ब्लक दुवै गर्न सकिएन’, उनले निराश हुँदै सुनाए ।

‘एक सेकेन्ड बाँकी रहँदा मेरो दिमाग नै घुमिसकेको थियो । खुट्टाको दुखाई लास्टै धेरै भएको थियो । उचाल्न सकिरहेको थिइनँ । प्रतियोगिता राम्रो खेलुला भनेको थिएँ तर सबै सपना चकनाचुर भयो’, उनले भने ।

त्यसो त आनन्दले आफैंले पनि पहिलो चरणमा नेपाल एपिएफ क्लबका विरबहादुरमाथि अन्तिम ६ सेकेन्डमा रोमान्चक जित हात पारेका थिए । ६ सेकेन्ड बाँकी रहँदा २-० ले पछि रहेको अवस्थाबाट त्यसको दुई सेकेन्डपछि लगातार इप्पनका साथ ६ अंक जोड्दै खेल पल्टाएका थिए ।

‘साइमन पनि राम्रो खेलेको हो । अन्तिममा मलाई खुट्टाले साथ दिएन । हारें भनेर धेरै निराश हुन पनि भएन । जितें भनेर धेरै उफ्रन पनि भएन । हार-जित खेलेपछि हुने कुरा हो । राम्रो खेल्ने हो । अन्तिममा खुट्टाले साथ दिएन’, उनले भने ।

यसअघि आनन्दले गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक खेल्दै स्वर्ण जितेका थिए ।

सुदूरपश्चिमको कैलाली गोदावरी नगरपालिका-१२ का आनन्दले कराँते खेल्न थालेको १३ वर्ष भएको छ । राष्ट्रिय प्रतियोगिता नवौंमा डेब्यू गर्दै स्वर्ण जितेका थिए । उनले सानै उमेरमा बाबालाई गुमाए । बच्चामा उनी मामा घरमा बसेर पढे । आफू चार कक्षासम्म मामा घरमा बस्दा आमा भने सुकुम्बासी बस्तीमा बसेकी थिइन् ।

निकै गरिव परिवारबाट बाल्यकालमा संघर्ष बिताएका उनी ७ वर्षको हुँदा सुकुम्बासी बस्ती छाडे । आमा अहिले भारतमा रोजगारीको कारण छिन् । उनका दुई दाई र एक बहिनी छन् । उनले ९ वर्षको उमेरदेखि खेल्न सुरु गरेका हुन् ।

खेल छाडेर भारत

आनन्दको घरको आर्थिक अवस्था निकै कमजोर छ । खेलेर मात्रै हुँदैन । पैसा आउँदैन । अनि आनन्द पनि अब केहि हुँदैन भनेर खेल छाडेर डेढ वर्षअघि भारत लागेका थिए । तर उनका गुरु सन्तोष विकले उनलाई भारतबाट खेल्न बोलाएपछि पुन फर्केका थिए । सन्तोषले आनन्दलाई नै डोजो सम्हाल्ने जिम्मेवारी दिए ।

‘गुरुले मलाई भारत देखि बोलाएर तैले गर्न सक्छस् भनेर विश्वास दिलाउनु भयो । गुरुले अहिले यहाँसम्म पुर्याउनु भयो । अहिले गुरुलाई हारें भन्न अप्ठ्यारो लागेको छ’, खेलपछि उनले भने । आनन्दले विवाह गरिसकेका छन् । आमा अहिले पनि रोजगारीको कारण भारतमै छिन् ।

हजाम स्वर्णधारी

त्यसैपनि नेपाली खेलकुदमा पैसा कम छ । क्रिकेट र फुटबललाई छाड्ने हो भने अन्य खेलकुदमा पैसा कमाउने खेलाडी विरलै छन् । आनन्द आर्थिक अवस्था धान्न हजाम (कपाल काट्ने) को काम गर्छन् । गाउँमा उनको आफ्नै कपाल काट्ने पसल छ । जहाँबाट उनको जीविकोपार्जन हुन्छ । विहान देखि दिउँसो ३ बजेसम्म उनी पसलमा काम गर्छन् । त्यसपछि अभ्यास गर्न थाल्छन् । कराँतेमा किक हान्ने उनी घर खर्च चलाउन भने कैची चलाउँछन् । उनको त्यो बाध्यता हो ।

भारत जाुनअघि उनले डेढ वर्ष त्यहि काम गरेका थिए । भारतबाट फर्केपछि पनि पुन: सोही कामलाई निरन्तरता दिएका छन् । उनी कपाल काटेर घरखर्च चल्ने बताउँछन् । कतै बाहिर जानु परे आमा वा दाइसँग सहयोग माग्छन् मान्छन् । उनको अबको मुख्य लक्ष्य एसियन गेम्स छनोटमा राम्रो गर्दै खेल्नेछ । नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका उनी एसियाली खेलकुदमा नेपालको झन्डा बोक्ने साना बुनिरहेका छन् ।

‘मान्छेको भाग्यमा नसोचेको पनि हुन्छ । नसोचेको खोलाले बगाउन सक्छ । एसियन गेम्स खेल्न र जित्न पाउँ । यो खेलेर पैसा कमाउला त्यो गरौंला भन्ने त केहि छैन । गुरुले दाइले जस्तै साथ र सहयोग गर्नु भएको छ । सायद वहाँ नभएको भए म यो ठाउँमा हुने थिएन’, उनले भने ।

आनन्दका लागि एक सेकेन्डको हार पीडादायी रह्यो, तर यो सही समयमा आएको छ । जितको एक सेकेन्ड नजिक पुगेर पनि बन्चित भएका उनले एसियाली खेलकुदको छनोटमा थप सजग हुनेछन् ।

Success

Thank you for your time.