default_image

4 years ago

April 1, 2021

जुडो टोली किर्गिस्तान प्रस्थान

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिया ओसेनिया जुडो च्याम्पियनसिपमा सहभागिता जनाउन चार खेलाडीसहित ८ सदस्यीय नेपाली जुडो टोली किर्गिस्तान प्रस्थान गर्ने भएको छ । सँगै जुडो युनियन अफ एसियाको कंग्रेसमा पनि पदाधिकारी सहभागी हुनेछन् ।

यो प्रतियोगिता टोकियो ओलम्पिकका लागि वरियताको प्रतियोगिता भएकाले जुडो खेलबाट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको छात्रवृत्तिमा परेका खेलाडी इन्द्र बहादुर श्रेष्ठ र नेपालबाट ओलम्पिक वरियतामा सबैभन्दा धेरै अंक रहेकी सोनिया भट्ट र गत वर्ष नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्णधारी देविका खड्का र पुनम श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् । ३६ अंक रहेको इन्द्र विश्व वरियतामा २५९औं स्थानमा रहँदा ११२ अंक जोडेकी सोनिया ११७औं स्थानमा छिन् ।

यस प्रतियोगितामा १ बाउट जित्दा खेलाडीले २० अंक, दुई बाउट जित्दा ४० र तीन बाउट जित्दा ६० अंक प्राप्त गर्नेछन् । इन्द्रले ६६ केजीमुनि, सोनियाले ४८ केजीमुनि, देविकाले ५७ केजीमुनि र पुनमले ७० केजीमुनि आफ्नो चुनौती पेश गर्नेछन् । ४ देखि १० अप्रिलसम्म हुने च्याम्पियनसिपमा ३१ राष्ट्रका १२३ पुरुष र ९८ महिला गरी कुल २१८ खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

पदाधिकारीमा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष ब्रजाचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, स्पोर्ट्स निर्देशक सुप्रसिद्ध श्रेष्ठ र प्रशिक्षकमा ऋषिराम प्रधान रहेका छन् । त्यसअघि २ अप्रिलदेखि जुडो युनियन अफ एसियाको कंग्रेस हुदैछ । उक्त कंग्रेसका लागि यसअघि नै संघका अध्यक्ष किर्गिस्तान प्रस्थान गरिसकेका छन् ।

प्रतियोगिताले संघका महासचिव धर्म कुमार श्रेष्ठलाई निर्णायक र र स्पोर्ट्स डाइरेक्टर सुप्रसिद्ध ताम्रकारलाई आइटीमा मनोनित गरेको छ । यस प्रतियोगितामा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि र नेपाल जुडो संघले सहयोग गरेको छ ।

Success

Thank you for your time.