8 years ago
July 31, 2016
काठमाडौं, साउन १६ – बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमसी) ले आफु केन्द्रमा अभ्यास गर्दै आएकी फुपुल्हामु खत्रीलाई रियो ओलम्पिकको लागि शुभकामना दिदै विदाई गरेको छ ।
एमएमएसीमा फुपुले आठ वर्षअघि १३ वर्षको उमेरमा जुडो क्यारियर सुरु गरेकी थिइन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २१ वर्षीया फुपु आइतबार ब्राजिल प्रस्थान गरेकी छन् । रियो ओलम्पिकको मार्च पासमा उनले नेपाली राष्ट्रिय झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले यसअघि नै घोषणा गरिसकेको छ ।
फुपुलाई नयाँ बजारस्थित एमएमएसीको हातामा एमएमएसीका सञ्चालकद्वय लक्ष्मीरत्न तुलाधर र धर्म महर्जन, नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ, प्रहरी निरीक्षकद्वय उमेश लम्साल र सुरज कार्की, काठमाडौं महानगरपालिका वडा नं. १६ का प्रशासन प्रमुख बलराम त्रिपाठी, खेलाडीलगायतले बिदाइ गरे । सो अवसरमा फुपुलाई ट्रयाकसुट प्रदान गरिएको थियो ।