default_image

4 years ago

September 3, 2021

स्याबास पलेशा, क्याबात पारा तेक्वान्दो

448 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने तेक्वान्दो खेलले नेपालीलाई निराश पारेको छैन । सधैं आशा दिलाएको छ । चाहे एसियाली खेलकुदमा व्यक्तिगत तर्फको सबै भन्दा ठूलो पदक होस् वा छनोट पार गरेरै ओलम्पिक खेल्ने इतिहास, यो सबै सफलताका गाथा तेक्वान्दो खेलाडीले नै रचेका छन् ।

सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सबिता राजभण्डारीले रजत पदक जितिन् । नेपालले व्यक्तिगत खेलमा जितेको त्यो अहिले सम्मकै ठूलो पदक हो । त्यसअघि संगिना बैद्यले तेक्वान्दोको एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।

सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो र कराते पहिलो पटक समावेश भए । दुवै खेलका अधिकांश खेलले लगभग सबैले स्वर्ण पदक जिते । तेक्वान्दोले सफलताका एकपछि अर्को खुड्किलो चढ्दै गयो । एसियाको छनोट चरण पार गरेर संगिनाले २००४ को एथेन्स ओलम्पिक खेलिन् ।

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी पहिलो नेपाली बनिन् । त्यसकै निरन्तरताका रुपमा एसियाडमा दुई पटक कास्य पदक जितिसकेका दीपक विष्टले २००८ को बेजिङ ओलम्पिकमा छनोट चरण पार गरेर प्रतिस्पर्धा गरे । यद्दपी संगिना र दीपक दुवैले ओलम्पिकमा भने अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन् ।

ओलम्पिक पछि पनि दीपकले अर्को स्वर्ण पदक जित्दै सागमा चार संस्करणमा स्वर्ण पदक जित्ने तेक्वान्दोका मात्र नभई नेपालकै पहिलो खेलाडी बने । तेक्वान्दो त्यस्तो खेल हो । जसले नेपालमा एक सय एक खेलाडी जन्मायो । साग र एसियाडमा जित्ने अधिकांश खेलाडी अहिले विदेशमा छन् ।

तुलानात्मक रुपमा अन्य संघ भन्दा नेपाल तेक्वान्दो संघ व्यवस्थित पनि मानिन्छ । यद्दपी त्यहाँभित्र गुनासो नभएकै भने होइनन् । त्यसका वावजुद पनि संघ सञ्चालन प्रणालीको विकास गरेको खेल संघ हो तेक्वान्दो ।

यसपटक तेक्वान्दोले फेरि देशवासीको शिर गर्वले उचो पारेको छ । जापानमा जारी प्यारालिम्पिकको तेक्वान्दोमा शुक्रबार पलेशा गोवर्द्धनले गर्व गर्न लायक प्रदर्शन गरेकी छन् । कास्य पदक जित्दै नेपाली खेलकुदमा इतिहास रच्नबाट थोरैले चुकेपनि उनको प्रदर्शनलाई नेपाली खेलकुदले सधै स्मरण गर्नेछ ।

कुनै पनि ओलम्पिकमा दुई फाइट जित्ने पलेशा पहिलो नेपाली बनेकी छिन् । पहिलो खेलमै बेलायतकी खेलाडीसँग पराजित भएपनि उनले रेपेचेजमा कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने मौका पाइन् । त्यसमा लगातार दुई खेल जित्दै उनी रेपेचेजको फाइनलमा पुगिन् । चीनकी खेलाडीलाई कडा टक्कर दिएकी पलेशाले अन्तमा १२–९ को अन्तरमा खेल गुमाउँदै पदकबाट बञ्चित भइन् ।

पलेशाले कास्य पदकको लागि भएको प्रतिस्पर्धाको पहिलो राउन्डमा अग्रता लिएकी थिइन् । दोस्रो राउन्डमा केहि कमजोर रहेकी उनले तेस्रो राउन्डमा पुनरागमन गर्दै खेल बराबरी पनि ल्याइन् । तर अन्तिम सेकेन्डमा अंक गुमाएपछि उनी पदकविहीन बन्न पुगिन् । निकै नजिक पुगेर पनि पलेशा पदक जित्न असफल रहिन् ।

पलेशको त्यहाँसम्मको यात्रालाई पनि नेपालले ठूलो उपलब्धि मान्नुपर्छ । सामान्य खेलमा त सरकारको पर्याप्त लगानी हुन नसकेको देशमा पारा खेलाडीका लागि त्यो अपेक्षा गर्नु मुर्खता नै हुन सक्छ । तर, फरक क्षमता भएका खेलाडी पनि उत्तिकै सक्षम छन् भन्ने पलेशाले फेरि एक पटक प्रमाणित गरेकी छिन् । पहिलो पटक पारालिम्पिकमा समावेश तेक्वान्दोमा पलेशाको यो प्रदर्शन स्मरणीय बनेको छ । उनले पदक जितेको भए पारा खेलको महत्वलाई सम्बन्धित निकायका साथै सरकारलाई बुझाउन अझै सहज हुन्थ्यो । त्यो एउटा अवसर भने पारा तेक्वान्दोले गुमाएको छ ।

पारा तेक्वान्दोले निकै अगाडि सम्म जान सक्ने सम्भावना देखाएको केहि वर्ष भयो । पारा तेक्वान्दोका एसियाली च्याम्पियनसिपमा पलेशासहित अन्य खेलाडीले पदक जितेका छन् । विश्व च्याम्पियनसिपमा पनि बलियो उपस्थिति देखाइसकेका छन् । तर, पारा तेक्वान्दोको खेलाडीको क्षमता बढाउन वा यो खेलको विकासका लागि सरकारी निकायको ध्यान भने अझै पुगेको छैन ।

तेक्वान्दो संघ अन्तर्गत रहेर गठन भएको पारा तेक्वान्दो कमिटीको सिमित साधान श्रोतका वावजुद यति सफलता मिलेको छ । संघका कोषाध्यक्ष रहेका कसिम मियाँ पारा तेक्वान्दोका संयोजक हुन् भने ओलम्पिक दीपक विष्ट सचिव । पारा समितिले सहयोगी र प्रायोजकहरुलाई आग्रह गरेरै खेललाई यहाँ सम्म डोर्याएको छ भन्दा फरक पर्दैन ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा बेला बखत केहि आर्थिक सहयोग गर्ने बाहेक सरकारले पारा तेक्वान्दोका लागि कुनै लगानी गरेको छैन । थोरै सहयोग गर्दा पनि पारा खेलाडीले विश्वमञ्चमा सफलता दिलाउन सक्ने सम्भावना पलेशाले देखाइसकेकी छिन् । पलेशाजस्ता थुप्रै प्रतिभावान खेलाडी पारामा छन् । त्यसतर्फ सरकारी खेल निकायको ध्यान जान आवश्यक छ ।

पलेशाले कास्य पदक जितेको भए नेपाल सरकारको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को अनुरुप उनले ५० लाख रुपैयाँ प्राप्त गर्ने थिइन् । प्रशिक्षकलाई ४ लाख ५० हजार र संघलाई ९ लाख दिने प्रावधान रहेको छ । सरकारको कुनै लगानीबिना पनि पलेशा कास्य पदक नजिक पुगिन् । सायद केहि सेकेन्डको अन्तरले पलेशाको हातमा कास्य पदक हुन पनि सक्थ्यो ।

सरकारले पुरस्कारलाई भन्दा तयारीलाई जोड दिएको भए सायद पलेशाजस्ता अन्य धेरै खेलाडीले नेपालका लागि पदक जित्ने सम्भावना बुन्थे । पदक जितेपछिको लगानीभन्दा पदक जित्न आधार तय गर्ने हो भने त्यसले राष्ट्रका लागि धेरै फाइदा दिन्छ । केहि सिमित व्यक्तिहरुको प्रयासले भएपनि यसपटक तेक्वान्दोले यो सफलता हासिल गरेको छ ।

झण्डै सात वर्षदेखि समिति आफ्नै प्रयासमा उभिने प्रयास गर्दै आएको छ । ठूलो सपना देखेर समितिले पलेशा र रन्जना धामीलाई पारा ओलम्पिक छनोटका लागि तयार पारेको थियो । कोरोनाका कारण छनोट खेल्न जान नसकेपछि वाइल्ड कार्ड प्राप्त गरेर पलेशाले पारालिम्पिक खेल्ने अवसर पाएकी थिइन् । पदक जित्नबाट थोरै चुकेपनि उनले नेपाली खेलाडीमा रहेको सम्भावनालाई विश्व सामू देखाएकी छिन् ।

स्याबास पलेशा । क्याबात पारा तेक्वान्दो ।

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

March 1, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते- दोस्रो दिन पुलिसलाई ६ स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो ।‌ दुई दिनमा १२ वटा स्वर्ण‌ पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]

Success

Thank you for your time.