1 year ago
October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले आफ्नो वाचा १० दिनमा नै पूरा गरेका छन् । चीनमा सम्पन्न १९ औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड) का पदक जित्ने खेलाडीलाई व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेका थिए ।
एसियाड सकेर करातेलगायतको नेपाली खेलाडी स्वदेश फर्कदा वैद्य एसियाडकी ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो वाचा अनुसारको रकम हस्तान्तरण गर्न चाहान्थे । तर, एक मित्रले उनलाई एउटा कार्यक्रममार्फत रकम दिदा उपयुक्त हुने सल्लाह दिएपछि सोही अनुसार वैद्यले सोमबार कार्यक्रमार्फत एरिकालाई २ लाख रुपैयाँसहित सम्मान गरे ।
एसियाडको कराते टोलीका व्यवस्थापक समेत रहेका वैद्य नेपाल कराते महासंघका सल्लाहकार पनि हुन् । सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गर्न खेलाडीले महिनौं कुर्नुपर्ने अवस्था छ । तर, वैद्यले पाटनस्थित अशोक हलमा आयोजित कार्यक्रममा पूर्व घोषणा बमोजिम एरिकालाई घोषणा गरेको पुरस्कार दुई साता नबित्दै पूरा गरेका छन् ।
एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि रजत पदक जितेकी थिइन् । एसियाडमा नेपालले करातेमा पहिलोपटक रजत पदक जितेको हो । यसपटक एसियाडमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।
एरिकाले सेमिफाइनलमा हङकङकी यानकाई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । फाइनलमा भने एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् । त्यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् ।
एसियाडको इतिहासमा एरिकाकोसहित नेपालको समग्रमा तेस्रो रजत हो । एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाएकी थिइन् । सविताले सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोमा रजत जितेकी थिइन् । त्यस्तै इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको प्याराग्लाइडिङमा नेपाली पुरुष टोलीले टिम स्पर्धामा रजत जितेको थियो । एसियाडको कारतेमा एरिकाअघि समरबहादुर गोले, सीताकुमारी राई र विमला तामाङले कांस्य जितेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र वैद्यले एरिकालाई सम्मान गरेका थिए । सोही अवसरमा एसियाडको करातेमा सहभागी खेलाडी र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।
राखेप सदस्य–सचिव घिसिङले यो सम्मान सुरुआत मात्र भएको बताउदै सरकारले दिने नगद पुरस्कार पनि छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाए । ‘आजको यो सम्मान सुरुआत मात्र हो । व्यवस्थापकबाटै सुरुआत भएको छ । यसलाई शुभ मान्नु पर्छ । एसियाडमा रजत जित्ने खेलाडीलाई कानूनमा व्यवस्था भए बमोजिमको १९ लाख ५० हजार नगद पुरस्कार पनि सरकारबाट छिट्टै एरिकाले पाउनु हुनेछ ’ सदस्य–सचिव घिसिङले भने, ‘पुरस्कारले खेलाडीलाई उर्जा त थप्छ नै । खेलाडीले पुरस्कारलाई उर्जाका साथै जिम्मेवारी पनि थपिएको छ भन्ने महसुस गर्नु पर्छ ।’
सांसद महर्जनले एरिकाले हासिल गरेको सफलताले सिंगो राष्ट्रलाई खुसी तुल्याएको धारणा व्यक्त गरे । कराते महासंघका अध्यक्ष लामाले यदि थप सफलता हासिल गर्ने हो भने २० औं एसियाली खेलकुदको तयारीका लागि अहिलेदेखि तयारीमा जुट्नु पर्नेमा जोड दिए ।
ऐतिहासिक रजत विजेता १९ वर्षीया एरिकाले सम्मानित भएपछि भनिन्, ‘मैलै जितेको पदक मेरो भन्दा पनि पहिले राष्ट्रको हो । राखेपको हो । कराते महासंघको हो । सारा नेपालीको हो । मेरो टिमको हो । अनि त्यसपछि मात्र मेरो पदक हो । सहयोगका लागि राखेप र कराते महासंघलाई धन्यवाद । मैले यसलाई सम्मान भन्दा पनि हौसला हो भन्ने बुझेको छु । ’
एरिकाले व्यवस्थापकका रुपमा वैद्यको सहयोगको पनि खुलेरै प्रशंसा गरिन् । उनले भनिन्, ‘त्यो सानो काम जस्तो लाग्न सक्छ । तर हामी खेलाडीले महसुस गरेका छौं । हाम्रो डाएटको लागि कति सचते हुनुहुन्थ्यो । त्यो अहिले पनि मिस हुन्छ ।’
वैद्यले एरिकाको सफलताले नयाँ खेलाडीलाई पनि खेलमा लाग्न अभिप्रेरित गर्ने बताउदै नेपाली खेलाडीले पनि अवसर पाए सफलता हासिल गर्न सक्छन् भन्ने उदहारण एरिकाले प्रस्तुत गरेको बताए । उनले राखेप र महासंघको नेतृत्वलाई नेपाली प्रशिक्षकलाई वैदेशिक प्रशिक्षणको व्यवस्था गरेर वा विदेशी प्रशिक्षकलाई नेपाल ल्याएर प्रशिक्षण दिन आफूले सुझाव दिने बताए ।
कराते महासंघका अध्यक्ष लामाले अब सन् २०२६ को एसियाडका लागि करातेले आफ्नो तयारी सुरु गर्ने बताए । उनले एरिकालाई कर्पोरेट हाउसहरुले पनि सम्मान गर्न पर्नेमा जोड दिए । राखेपलाई सुझाव दिने क्रममा खेललाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्ने सुझाव दिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]