2 years ago
February 12, 2023
भुपेन्द्र जि.सी,काठमाडौं
चन्चला दनुवार नेपाली करातेकी सदाबहार खेलाडी हुन् । डेढ दशक लामो सक्रिय खेलाडी जीवन बिताइसकेकी चन्चलाले करिअरमा थुप्रै सफलता हासिल गरेकी छिन् । देशको प्रतिनिधित्व गर्दै ऐतिहासिक पदक समेत जितेकी चन्चलाको सफल खेल जीवनमा केहि अविस्मरणीय क्षण छन् । कुनै भन्नेबितिक्कै सम्झना आइहाल्ने, त कुनै बिर्सन चाहेर पनि नसकिने ।
नेपालमै तीन वर्ष अघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा चन्चला करातेतर्फ पदक दिलाउने पहिलो नेपाली खेलाडी बनिन् । चन्चलाले सातदोबाटोस्थित कराते एकेडेमीको हलमा एकल कातातर्फ स्वर्णका लागि पाकिस्तानकी शाहिदीसँग प्रतिस्पर्धामा थिइन् । तर फाइनलमा थोरै अन्तरले पराजित भएपछि उनी रजत पदकमा सिमित हुनुपरेको थियो । स्वर्ण जित्ने आशासहित चन्चलाले उत्कृष्ट प्रदर्शनसाथ फाइनलमा २४.६२ अंक ल्याएपनि शाहिदीले २५.२८ प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरिन् ।
घरेलु प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्ने चन्चलाका लागि १३ औं साग आयोजना भएकै हलमा यो साता भने फरक माहोल थियो । दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय प्रतियोगिताको पहिलो दिन विहीबार एकल र टिम काता दुवैमा चन्चला स्वर्ण पदक जित्न सफल भइन् । दोहोरो स्वर्ण जितेपनि चन्चलाको अनुहारमा खासै खुसी थिएन ।
घरेलु प्रतियोगितामा लगातार सफल भएकी उनीसँग तीन वर्षअघि त्यहि स्थानमा करिअरको सबैभन्दा ठूलो सपना पूरा गर्नबाट चुकेको पीडा कतै न कतै लुकेको थियो । दोस्रो स्वर्ण जितेपछि आफ्नो गी परिवर्तन गरेर आएकी उनी सागको प्रसंग निकाल्ने बितिक्कै केही गम्भीर बनिन् ।
अनुहार मलिन बनाउँदै उनले भनिन्,’त्यो त एकदमै पीडादायी क्षण थियो । आफ्नै देशमा हुँदा पनि जित्न सकिएन । मैले सागमा स्वर्ण जित्ने लक्ष्यका साथ धेरै मिहिनेत गरेको थिए । यतिधेरै खेल खेलेपछि देशका लागि एउटा स्वर्ण जित्ने सपना थियो । साग सकिएपछि अझ पीडा भयो । कति दिन त सुत्न पनि सकिएन ।’
‘अभ्यास त राम्रो भएको थियो । स्वदेशमा स्वर्ण नै जित्छु जस्तो लागेको थियो । दुर्भाग्यवस सकिएन । अहिले पनि त्यो दिन सम्झियो भने धेरै गाह्रो हुन्छ । त्यो हारपछि त अहिले खेल पनि के खेल्नु जस्तो लाग्छ । त्यति धेरै मिहिनेत गर्दापनि स्वर्ण जित्न सकिनँ । एक मनले त अब खेल्नै छाडौंजस्तो भएको थियो’, रसाएको आँखा पुछ्दै उनले सुनाइन् ।
त्यसो त चन्चलाले देशको प्रतिनिधित्व गर्ने क्रममा सामना कठिन समय यो पहिलो थिएन । सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा खेल स्थल पुगेर पनि खेल्न नपाइ फर्कनुपरेको थियो ।
हरेक खेलाडीको सपना देशका लागि पदक जित्ने हुन्छ । जित्ने स्तर नहुँदा कम्तिमा पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने हुन्छ । तर छनोट चरण पार गरेर नियमित प्रशिक्षण पश्चात खेल स्थलमा गएर खेल्ने नपाइ फर्कनुपर्ने कल्पना कसैले गर्दैनन् । त्यो खेलाडीका लागि दुख भन्दापनि समग्र खेल जगतकै लागि अपमान सरह हुन्छ । चन्चलाले त्यसबेला सोही नियतिको सामना गर्नुपर्यो ।
त्यसबेला नेपालको करातेमा आन्तरिक विवाद हुँदा त्यसको प्रत्यक्ष असर खेलाडीमा परेको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मान्यता प्राप्त संघको विवाद चल्दा चन्चला छनोट भएर पनि नखेली फर्कनुपरेको थियो । त्यसबेला अन्तिम समयमा उनको स्थानमा अर्को खेलाडीले खेलेकी थिइन् । सागको स्वर्ण जित्न नसकेको पीडा भुलाउन उनले त्यहि क्षणको सहारा लिइन् । पीडा भुलाउनका लागि उनले आफ्नै भोगाइलाई सहारा बनाइन् ।
चन्चला र गंगा अधिकारी छनोट हुँदै अन्य खेलाडीका साथ कोरिया पुगेका थिए । तर एनओसीले गंगाको स्थानमा अनुपमा मगर र चन्चलाको विधामा विमला तामाङलाई कोरिया लग्यो । कोरिया पुगेपछि आयोजकले दिने एक्रेडीटेसन कार्ड अर्कैलाई दिएपछि चन्चला यसै स्वेदश फर्किइन् ।
‘सागभन्दा अघि २०१४ को एसियन गेम्समा नेपालबाट छनोट भएर गएपनि त्यहाँ गएर खेल्न पाइनँ । आफ्नो ठाउँमा अरुले खेले । त्यतिबेला पनि अब खेल्न छोड्छु भन्ने सोच आएको थियो’, उनले भनिन्, ‘तर श्रीमान, गुरु, दाइ, साथीभाई सबैले यो एउटा खेल मात्रै होइन । फेरि आउँछ भनेर सम्झाएपछि पुन खेल्ने निर्णय लिएँ ।’
एक मनले त चन्चालाले नखेल्ने नै निर्णय लिएकी थिइन् । तर कराते नशा बनिसकेको थियो । जब उनले रिङ र म्याटमा गि (कराते खेलाडीले खेल्दा लगाउने पोशाक) लगाएको देख्थिन्, त्यसपछि मनले नखेली बस्न मान्दैन थियो ।
चन्चला ६ वर्षअघि आमा बनेकी थिइन् । महिलाले बच्चा जन्माएपछि पनि खेल्न सक्छन् भन्ने उनी उदाहरण हुन् । चन्चला उमेरले ३७ वर्ष पुगिसकिन्, तर रिङमा उनको जोश र जाँगर युवा खेलाडीको भन्दा कम छैन । उनीसँग करातेमा होमिएका धेरैले कराते छोडीसके । कराते छोड्न नसक्ने केही रेफ्री त केही प्रशिक्षकका रुपमा खेलकर्म अघि बढाइरहेका छन् । तर तातामीमा पसेपछि उनको प्रदर्शन हेर्दा करातेमा चिरायु चन्चला अहिले नै रोकिने सोचमा छैनन् ।
चन्चलाले करातेको आधारभूत प्रशिक्षण बुबाबाट सिकेकी हुन् । त्यसपछि उनले धुलिखेलमा रहँदा विजय र बनेपामा ओम, सुरेश, गंगाराम महर्जन , हिरा डंगोल, राजेन्द्र कपाली गुरुसँग थप प्रशिक्षण लिँदै आफूलाई निखारिन् । त्यसपछि पुलिसमा आवद्धपछि भएसँगै योगेन्द्र, राजेश, केदार, गणेश, पर्शुराम बस्नेत र मन्डेकाजी श्रेष्ठबाट सिकेकी थिइन् ।
चन्चलाको बाल्यकाल
चन्चलाको जन्म काभ्रेको पाँचखाल तामाघाटमा बुबा झटक र आमा ठूली दनुवारको कोखबाट २०४३ साल कात्तिक ११ गते पहिलो सन्तानको रुपमा भएको थियो । उनका तीन बहिनी र एक भाई छन् । गाउँघरमा अझैपनि खेलेर के हुन्छ भन्ने मान्यता भएको अवस्थामा ३० वर्षअघि गाउँ समाजबाट अघि बढ्दै चन्चलाले खेललाई आफ्नो करिअर बनाउने निर्णय लिइन् ।
ग्रामिण भेगमा छोरी मान्छे घरको काममा मात्रै सिमित हुनुपर्छ भन्ने मान्यता थियो । अर्काको घर जाने मान्छे खेल्नु हुँदैन भन्थे । त्यो मानसिकता भएको समाजबाट उनको छर छिमेक पनि अछुतो थिएन । गाउँलेको कुरा सुनेर आमाले गाली मात्र होइन कहिले काहिँ हात नै उठाएको सम्झना छ । तर बुवा काका कराते खेल्ने भएकाले चन्चलामा पनि सानो उमेरदेखि नै करातेप्रति आकर्षण बढ्यो ।
बुवाको प्रेरणाले नै करातेमा लागेको चन्चला बताउँछिन् । गाउँमा ६ महिना मात्र प्रशिक्षण गर्न मिल्थ्यो । वर्षायाममा खेल्ने सम्भावना थिएन । सामान्य प्रशिक्षणमा पनि उनी विस्तारै राम्रो खेल्न थालिन् । २०६५ मा काठमाडौंमा भएकको पाँचौं राष्ट्रिय प्रतियोगितादेखि उनले राष्ट्रिय प्रतियोगितामा भाग लिन सुरु गरिन् । प्रभावशाली खेलाडी भएकाले उनलाई पुलिसले त्यसै वर्ष क्लबमा आवद्ध गरायो ।
तातामी हुँदै जीवनमा श्रीमानको साथ
चन्चलाका श्रीमान् नारायणकाजी राई करातेका पूर्व खेलाडी र वर्तमान समयका रेफ्री हुन् । खेलकै क्रममा चन्चलाको नारायणसँग प्रेम बस्यो । करातेको तातामीले जोडेको सम्बन्ध विवाहमा परिणत भयो । श्रीमान् पनि करातेकै खेलाडी भएकाले उनलाई विवाहपछि पनि खेलमै लाग्न थप सहज भयो । श्रीमानको साथ र हौसलाले उनी लगातार खेल्दै आएकी छिन् ।
‘श्रीमान पनि करातेमा भएकाले सहज हुने रहेछ । उहाँले बुझ्ने भएकाले अहिलेसम्म निस्फिक्री खेल्न पाएकी छु । सन्तान भएपछि नखेल भनेको भए सायद मैले त्यसमा फरक मत राख्ने थिइनँ । तर वहाँले सबै काममा सहयोग गर्नुहुन्छ । श्रीमानको साथले नै अहिलेसम्म फिट छु’, उनले सुनाइन् ।
मातृत्वपछिको खेल करिअर
छोरा निशान्त कात्तिकमाा ७ वर्ष पूरा भए । नेपालमा मात्रै होईन विश्व खेलकुदमै सन्तान जन्माएपछि महिला खेलाडीको शरीरले पुरानै अवस्थामा साथ दिदैन भन्ने सोच छ । त्यसैले पनि महिला खेलाडी निकै ढिलो विवाह गर्दछन् । सक्रिय खेलाडी जीवनमा विवाह गर्ने कमै खेलाडी हुन्छन् । तर चन्चला आमा बनेर खेल्न सकिन्छ भन्ने राम्रो उदाहरण हुन् ।
कराते यसैपनि शारीरिक रुपमा नियमित फिटनेस कायम राख्नुपर्ने खेल हो । अझ कातामा हरेक समय आफ्नो शरीरलाई एकै स्तरमा राख्नुपर्छ । सामान्य घरपरिवारकी उनले शल्यक्रियापछि आफ्नो घरपरिवारसँगै करातेलाई निरन्तर अघि बढाउन देखाएको साहस र क्षमताको कदर गर्नैपर्छ । उनको भोगाइ र वर्तमान अवस्था हेर्दा साँच्चै उनको जन्म त कराते खेल्न नै भएको रहेछ भन्दा फरक नपर्ला ।
सामान्यतया सुत्केरी अवस्थाबाट पूर्ण रुपमा प्रदर्शनका लागि तयार हुन झन्डै एक वर्ष लाग्छ । अझ शल्यक्रिया गरेको अवस्थामा थप सजग हुनुपर्छ । तर चन्चला आमा बनेको साढे तीन महिनामै अभ्यासमा फर्केकी थिइन् । आमा बनेको १० महिनापछि उनले राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक नै जितिन् ।
शल्यक्रियाअघि पनि खेलकै पिर
सुत्केरी हुँदा उनको टिचिङ अस्पतालमा शल्यक्रिया गर्नुपर्यो । उक्त निर्णय लिँदा चिकित्सकसमक्ष चन्चलाको पहिलो प्रश्न नै शल्यक्रियापछि खेल्न सकिन्छ कि सकिँदैन भन्ने थियो । ‘म शल्यक्रिया गर्न लागेको ठाँउबाट बाहिर निस्केर एकछिन रोएँ । मैले श्रीमानलाई शल्यक्रिया गरेपछि खेल्न सक्दिन कि भनेर सोधेको थिएँ । उहाँले चिकित्सकसँग कुरा गर्दिनु भयो । मैले आफैं पनि कुरा गरें । ६–७ महिना विश्रामपछि खेल्न सक्ने चिकित्सकले बताउनुभयो। त्यसपछि मलाई विश्वास लाग्यो । तर मैले साढे तीन महिनामै अभ्यास सुरु गरें । त्यो मेरो विश्वास नै हो’, चन्चलाले भनिन् ।
बच्चा छाडेर अभ्यासमा
चन्चलाले साढे तीन महिनामै बच्चा छाडेर अभ्यास गर्न थालिन् । जुन समय बच्चाले आफ्नो आमा भन्दा अरुसँग बस्न नै मान्दैन, अरुलाई चिन्न पनि कठिन हुन्छ, त्यसबेला चन्चला प्रशिक्षण गरिरहेकी हुन्थिन् । यसै वर्षको सुरुवातबाट मात्रै उनले बच्चा आफूसँगै राख्न थालेकी छन् । त्यसअघि उनले कहिले माइती त कहिले माइली बहिनीकोमा छाड्थिन् । धेरै समय छोरा मामाघरमै हुर्किए । बच्चा १६ महिनाको हुँदा एसियन गेम्सको प्रशिक्षणका लागि पोखरा जानु पर्यो । त्यसपछि उनले छोरालाई माइतीमा छाडिन्।
दुधे बालकबाट उनी झन्डै पाँच महिना टाढा भइन् । १८ औं एसियन गेम्सको लागि उने दुधे बालक आफूदेखि टाढा गरेकी थिइन् । सुरुको दिन माइतमा बच्चाले रोएर मान्दै मानेन् । उनका श्रीमानले लगेर बच्चा छोडेका थिए । पहिलो दिन बच्चा धेरै रोयो । कसैले फकाउन सकेनन् । माइतीलाई पनि लागेको थियो अझै बच्चा छाड्ने समय भएको छैन । एक दुई दिन बाटो हेरेर फर्काइदिनु पर्छ । तर दोस्रो दिनबाट सबैलाई आश्चर्य पार्दै बच्चाले आमा खोजेर रुन छाड्यो । त्यसैले पनि उनलाई कराते खेल्न सहज भयो ।
खेल हुने दिन विहान उनलाई छोराले फोन गरेर शुभकामना दिने गरेको सुनाउँछिन् । त्यो शुभकामनाले गर्दा उनमा प्रतिस्पर्धाको लागि झनै जोश र जागँर आउँछ । ‘एक पटक छनोट खेलमा मैले उसलाई लिएर आएको छु । स्कुल हुँदा खेल्ने ठाउँमा लग्न मिल्दैन । खेल हुने दिन विहान फोन गरेर शुभकामना दिन्छ । छोराको बोली सुन्दा नै जित्नै पर्छ भन्ने लाग्छ । छोराले मलाई भनेको छ उसको लागि भएपनि जित्नुपर्छ भन्ने लाग्छ । त्यसैले गर्दा खेलमा झन् उर्जा र जोश आउँछ’, उनले भनिन् ।
चन्चला खेलको दौरानमा जति पीडा सामना गरे पनि कराते खेलेकोमा कुनै पछुतो नलागेको बताउँछिन् । ‘पीडाका क्षण त छन् । तर मलाई कहिल्यै पछुतो लागेन । खेलले गर्दा आज मलाई चन्चला दनुवार भनेर पहिचान दिएको छ । ११ औं साफ, एसियन गेम्समा फर्किएर आउँदा धेरै पीडा भयो । त्यो समय सामना गर्न निकै कठिन भयो, तर पछुतो कहिल्यै लागेन’, उनले भनिन् ।
चन्चलाको अबको लक्ष्य एसियाली खेलकुदमा पदक जित्नु हो । त्यसको लागि छनोट खेलका दौरान हुने प्रदर्शनमा भर पर्ने उनी बताउँछिन् । समग्र खेलकुदकै लागि चन्चला उदाहरणीय खेलाडी र आमा हुन् । पटक पटक हण्डरको सामना गरेपनि उनको नियमित प्रशिक्षणको मिहिनेत र खेलप्रतिको लगाव एक सच्चा खेल साधकको प्रतिक हो ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]