3 years ago
August 12, 2021
भुपेन्द्र जिसी, काठमाडौं
प्यूठान खेलकुदमा राम्रो सम्भावना बोकेको जिल्ला हो । विशेषत क्रिकेट र भलिबलमा । कुनैपनि ठूला खेलकुद संघमा प्यूठान जिल्लाको सदस्यता छैन । जिल्ला खेलकुद विकास सिमित त छ, तर निष्क्रिय अवस्थामा।
जिल्लाको खेलकुद विकास समितिको नाममा एक भवन र एक कर्मचारी छन् । खेलकुद विकास गर्न प्यूठानमा हरेक वर्ष सरकारबाट वार्षिक लाखौं रुपैयाँ बजेट आउँछ । तर खेलकुदको अवस्था जहाँको त्यहिँ छ । लुम्बिनी प्रदेशको राजधानी भालुबाङबाट प्यूठानको सिमाना भौतिक रुपमा १० किलोमिटर मात्र टाढा छ । तर खेलकुद विकासको तुलना गर्ने हो भने यो दुरी निकै फराकिलो हुन आउँछ ।
नेपालमा व्यावसायिक खेलकुद फस्टाउँदै गर्दा प्युठानमा भने खेलकुद रहर र समय काट्ने माध्यमको रुपमा मात्र सिमित छ । कहिलेकाहीँ हुने जिल्ला स्तरिय प्रतियोगिता स्थानिय क्लबमा बढी निर्भर छ । जिल्ला खेलकुद विकास समिति कार्यालयकी प्रमुख गिता केसी भने कोरोनाका कारण केहि गर्न नसकेको बताउँछिन् । यद्यपि जिल्लाले कोरोना अघि पनि सक्रिय रुपमा काम गर्न सकेको उदाहरण छैन ।
प्यूठान खेलकुद सुनसान हुनुको पछाडि प्रशिक्षकको कमी र विभिन्न खेलकुदका जिल्ला संघहरु नहुनु केसी बताउँछिन् । गत वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जिल्ला खेलकुद विकास समितिलाई ३० लाख रुपैयाँ पठाएको थियो । उक्त रकममध्य १० लाख प्यूठानको चर्चित बजार विजुवारमा रहेको गणात्रान्तिक खेल मैदानमा, ८ लाख स्वर्गद्वारी नगरपालिकामा र बाँकी १२ लाख झिमरुक गाउँपालिका वडा नम्बर तीनमा खेलकुद मैदान निर्माणमा खर्च भएको थियो । यो वर्ष कति रकम आएको केसीलाई अहिलेसम्म जानकारी छैन ।
सामाजिक समन्वय डिभिजन कार्यालय प्यूठानले भने राष्ट्रपति रनिङ शिल्ड, मुख्यमन्त्री कप साथै केहि सीपमूलक तालिम कार्यक्रमका लागि यो वर्ष २० लाख रुपैयाँ बिनियोजन भएको जनाएको छ ।
प्यूठान खेलकुद विकास समितिमा कार्यालय कतिबेला खुल्ने र बन्द हुने कसैलाई थाहा हुँदैन । कार्यालय प्रमुख केसी नै कार्यालयमा एक्लो कर्मचारी हुन् । अन्य कुनैपनि कर्मचारी छैनन् । छेउमै स्वर्गद्वारी क्याम्पस र एउटा कभर्डहल छ ।
केसीले एक्लै भएपछि कार्यालय संचालनमा धेरै गाह्रो हुने बताइन् । ‘खेल्न कसिएको छ । तर प्रशिक्षक छैन । एक्लै सबै कुरा मिलाउनु पर्ने हुन्छ’, केसीले भनिन्, ‘सम्बन्धित खेलका जिल्ला संघ भएको भए केहि सहज हुने थियो । बाहिर कुनै खेलाडी वा टोली खेल्न जान परे व्यक्तिगत खर्चमा जानुपर्ने बाध्यता छ । खेलाडी खोज्दा प्रशिक्षक भेटिदैनन् । प्रशिक्षक भेटिँदा खेलाडी ।’
क्रिकेट र भलिबल सर्वाधिक लोकप्रिय
भलिबल र क्रिकेट जिल्लामा अत्याधिक खेलिन्छन् । भलिबल र क्रिकेट गाउँघरको कुना काप्चादेखि खोला बगरसम्म खेलेको र रमाएको देख्न सकिन्छ । झिमरुक गाउँपालि दिहाल्नामा लालिगुरास रंगशाला निर्माण छ । दिहाल्ना क्रिकेट प्रतियोगिता जिल्ला प्रसिद्ध मैदान हो । फुटबल प्यूठानमा खेलेको बिरलै भेटिन्छ । विद्यालय स्तरका अन्य खेलहरु बढी हुन्छन् । कराते, टेबलटेनिस, ब्याडमिन्टन र एथ्लेटिक्सका खेलहरु प्यूठानमा खेलिन्छन् । तर भलिबल र क्रिकेट वर्षभरी सबै गाउँपालिका र गाउँटोलमा खेलेको देख्न सकिन्छ । यी दुई खेलमा जोश अत्याधिक छ ।
चाडपर्वमा उत्सव र खुसीयालीको रुपमा क्रिकेट र भलिबलमा ठूला ठूला धनराशीसहित प्रतियोगिता हुन्छन् । यी दुई प्रतियोगिता खोसी बोका कपपनि त्यतिनै चर्चित छन् । प्यूठानका अधिकांश युवा रोजगारका लागि भारतमा निर्भर छन् । भारतबाट छुट्टीमा आउने लाहुरेका कारण क्रिकेट अझ बढी विकास र लोकप्रिय हुँदै गएको छ । पछिल्लो समय क्रिकेट मैदान निर्माणका लागि सबै गाउँपालिकाले विशेष प्राथमिकतामा राख्दै आएका छन् । भलिबल हरेक स्कुल र टोलमा देख्न र हेर्न सकिन्छ ।
दुई वर्षदेखि अध्यक्ष विहिन
जिल्ला खेलकुद विकास समित दुई वर्षदेखि अध्यक्ष विहिन छ । निवर्तमान अध्यक्ष श्याम थापाको कार्यकाल २०७६ साउनमै सकिएको थियो । अध्यक्षको कार्यकाल सकिएको दुई वर्ष हुँदा समेत परिषद्ले नयाँ जिल्ला खेलकुद विकास समिति गठन गर्न सकेको छैन । त्यसको सबैभन्दा असर जिल्ला खेलकुद गतिविधिमा परेको छ । खेलकुद क्षेत्रमा योगदान दिएका खेलाडी, प्रशिक्षक, रेफ्रि, खेलकुद पदाधिकारी वा खेलकुद विज्ञहरु मध्यबाट दुई जना महिला सहित चार जना गठन हुने गर्दछ । परिषद् जिल्ला गठनमा अझै गरिएको छैन । देश प्रदेश संरचना गएसँगै प्रदेश, जिल्ला हुँदै स्थानियतहमा खेलकुद विकास समिति गठन गर्नुपर्ने हुन्छ ।
गतवर्ष सामाजिक समन्वय डिभिजन कार्यालय प्यूठानले प्रशिक्षकको भूमिकामा भगवती अधिकारीलाई एक वर्षको लागि पठाएको थियो । अधिकारीको कार्यकाल गत पुषमा सकिएको थियो । सामाजिक समन्वयका सूचना अधिकारी हुतराज भट्टाईले यो वर्ष प्रशिक्षक पठाउन नसकिने बताउँछन् ।
एक प्रशिक्षकले सबै खेलकुद हेर्नुपर्ने हुन्छ । यो बाध्यता प्यूठानको मात्र भने होईन । खेलकुदमा पछि परेका धेरै जिल्लाको समस्या यस्तै छ । एकै प्रशिक्षकले दुई जिल्ला र त्यहाँका सबै खेल हेरेको पनि उदाहरण छन् । त्यसैको कारण क्षमतावान् खेलाडी उत्पादन सुरुवातमै सहि पहिचान हुन सक्दैन । ग्रास रुट र स्थानिय तह विकास नेपालको निकै कमजोर छ ।
उदाहरणलाई कराते प्रशिक्षकले भलिबल र क्रिकेट खेलाडीलाई कस्तो प्रशिक्षण देला ? हो प्यूठान सहित थुप्रै जिल्लाको समस्या यस्तै छ । एउट विधाका प्रशिक्षकले सबैलाई सिकाउनु पर्ने हुन्छ । अहिले त त्यो पनि छैन । अन्य जिल्ला र सहरमा दक्ष प्रशिक्षक मार्फत आधुनिक उपकरणद्वारा एकेडेमीमार्फत खेलाडीलाई प्रशिक्षण दिएर निखारता ल्याइन्छ । प्यूठानको लागि सामान्य प्रशिक्षकक पाउनु नै ठूला सपना हो । जतिपनि खेल खेलिन्छन् ती सबै आफ्नो जोश र रुचिले । खेल्दै जाँदा केहि आफ्नो गल्ती त केहि ठूला खेलाडी त केहि इन्टरनेटको सहयोगले नयाँ कुरा सिकिन्छ ।
जिल्लामा सिमित खेलकुद
गाउँ, टोल र स्थायिन स्तरमा जतिपनि खेल र खेलाडीहरु छन् ती जिल्लाभन्दा माथि उठ्न सकेका छैनन् । त्यसको असर सम्भावना र राम्रो प्रतिभा बोकेका खेलाडीमा परेको छ । जिल्ला बाहिर गएर आफ्नो खेललाई निखार ल्याउन सिक्न परिवारको साथ हुँदैन । आर्थिक अवस्थाले पनि साथ दिँदैन । निकै कम खेलाडी छन् जुन जिल्ला बाहिर गएर खेल्न सक्छन् ।
दाङ र बुटवल यहाँका खेलाडीहरुका लागि नजिकका विकल्प हुन् । राष्ट्रिय स्तरसम्म कसरी पुग्ने अधिकांश खेलाडीलाई थाहा छैन । अभिभावकलाई खेलमा लागे बिग्रिन्छ भन्ने डर उत्तिकै छ । संघ र त्यस अन्तर्गत प्रतियोगिता नहुँदा जिल्ला बाहिर गएर खेल्ने अवसर बिरलै आउँछ ।
क्रिकेटमा देखिएको नयाँ आशा
क्रिकेट प्यूठानको लोकप्रिय र पूरानो खेल हो । सबै गाउँपालिकामा क्रिकेटका लागि मैदान निर्माणधिन छन् । यसो भनिरहँदा प्यूठानमा ड्युज बलको अनुभव लगभग शून्य छ । जतिपनि जिल्लामा खेल र प्रतियोगिता हुन्छन् ती सबै टेनिस बलका । पछिल्लो समय यसमा भने केहि आशा गर्ने ठाउँ छ ।
गतवर्ष प्यूठानले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत दाङसँग समन्वय गर्दै छनोटको लागि तीन अभ्यास खेलेको थियो । जुन केहि व्यक्ति र नेपाली खेलकुद समर्थक समाज प्यूठान शाखा (एनसिएसएस) पहलमा सम्भव भएको थियो । तर मागेको ब्याट, प्याड, हेलमेट र पहिलो पटक ड्युज बलको अनुभवले अपेक्षा र राम्रो सम्भावना भएका खेलाडीबाटै राम्रो प्रदर्शन हुन सकेन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी रहेको दाङविरुद्ध प्यूठानका खेलाडी सिकाई भने राम्रो बनेको थियो ।
गत चैतमा प्यूठानको यू१६ टोलीले लुम्बिनी स्तरिय बलियो नेपाल प्रतियोगिता खेलेको थियो । टेनिस बलबाट निखारिएका धेरै राम्रा खेलाडी छन् । तर ड्युजमा भने शून्य । राम्रो ब्याट र ड्युज बल किन्न सक्ने आर्थिक क्षमता निकै कममा छ । जिल्लामा अहिले नेपाल क्रिकेट संघ (क्यान) को तदर्थ समिति गठनको प्रक्रियामा छ । नेपाली क्रिकेट समर्थक समाज प्यूठान शाखाले पनि पछिल्लो समय सक्रिय रुपमा काम गर्दै केन्द्र र सम्बन्धित जिम्मेवार संस्थालाई दबाब दिँदै आएको छ ।
शाखा अध्यक्ष तथा सञ्चारकर्मी टुआर क्षेत्री (रिखिराम जि.सी.) जिल्ला खेलकुद विकास समितिमा दर्ता बाहेक अन्य कुनै काम नभएको बताउँछन् । ‘केन्द्र र प्रदेशबाट खेलकुद विकासमा आउने अधिकांश बजेट फ्रिज हुन्छन् । सरकारमा उतारचढाव हुँदा प्यूठानमात्र होईन लामो समय देखि धेरै जिल्ला अध्यक्ष विहिन छन् । एक कर्मचारीले कार्यालय धानेको अवस्था छ,’ उनले भने ।
‘जिल्लाबाट दर्ता प्रक्रिया बाहेक अन्य काम केहि भएको छैन । आगामी दिनमा जनशक्ति, प्रशिक्षक र स्थायिन तहसँग समन्वय गर्न सके खेलकुद विकास चाँडै हुन्छ’, क्षेत्रीले भने ।
त्यसैमा उनले थपे ‘खेलकुदमा एक्लै गरेर सम्भव हुँदैन । त्यसको लागि सबै सँग समन्वय र हातेमालो गर्न सक्नुपर्छ । साँच्चै भन्ने हो भने प्यूठानमा सुविधा सम्पन्न खेलकुद मैदान छैन । खेलकुद सामग्री महँगा छन् । एक्लै खेलाडीले खेल्छु भनेर मात्र हुँदैन । सम्भावना नै नभएर खेलकुद राम्रो छैन भनेर परिवारले साथ पनि दिएको देखिदैन ।’
प्यूठानमा खेलकुद विकास गर्न थुप्रै चुनौति छन् । यी चुनौती पार गर्न जिल्ला खेलकुद विकास समितिबाट सुरुवात गर्न आवश्यक छ । खेलकुद विकास गर्न सक्रिय रुपमा काम गर्नुपर्छ । नाममा मात्र सिमिति हुनु हुँदैन । नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति, संस्था र संघको आवश्यक छ । गाउँपालिका र वडाले खेलकुद प्रतियोगिता, तालिम र पूर्वधार विकासको लागि बजेट विनियोजन गर्दै आएका छन् । जिल्ला खेलकुद विकास समितिले सबै स्थानिय तहसँग राम्रो समन्वय र सहकार्य गर्न सक्नुपर्छ ।
खेलाडी पहिचान र उत्पादन हुने पहिलो क्षेत्र र पाइला नै विद्यालय हो । जिल्लाका सबै विद्यालयसँग राम्रो सहकार्य र समन्वय गर्न सकेमात्र भविष्यमा ठूलो फड्को मार्ने आशा राख्न सकिन्छ । अर्कोतफ हरेक खेलका सम्बन्धित व्यक्ति र सरोकारवालासँग सक्रिय रुपमा निरन्तर पहल गर्न आवश्यक देखिन्छ । प्यूठानको खेलकुद विकासका लागि स्थानीय स्तरबाट नै कदम चाल्नुपर्छ । यसका लागि सबै मिलेर एकअर्कासँग हातेमालो गर्न आवश्यक देखिन्छ ।
December 18, 2024
एजेन्सी – भारत र अस्ट्रेलियाबीचको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको तेस्रो टेस्टमा बराबरीमा सकिएको छ । तेस्रो टेस्टमा अस्ट्रेलियाले जितका लागि दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं तथा अन्तिम दिन बुधवारको खेल वर्षाका कारण हुन सम्भव भएन । पहिलो इनिङमा अस्ट्रेलियाले भारतविरुद्ध १ सय ८५ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा ८९ […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]