4 years ago
May 1, 2021
एजेन्सी – अलराउन्डर काइरन पोलार्डको विष्फोटक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्सले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
मुम्बईलाई जितको लागि अन्तिम ओभरमा १६ रन चाहिँएको थियो । पोलार्डले अन्तिम बलमा रन बटुल्दै जित पक्का गराएका थिए । पहिलो बल पोलार्डलाई लुन्गी एनगिडीले डट राखे । पोलार्डले दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका थिए । चौथो बल डट राखे । पाँचौं बलमा पोलार्डले छक्का प्रहार गर्दै जित सहज बनाएका थिए ।
अन्तिम बलमा दुई रन बटुल्दै जित पक्का गराए । काइरन पोलार्ड ३४ बलमा ६ चौका र ८ छक्का सहित ८७ रनमा अविजित रहे । पोलार्डले १७ बलमै अर्धशतक पूरा गरेका थिए । पोलार्डले १८ औं ओभरको पाँचौ बलमा लङअनमा फाफ डु प्लेसिसले क्याच ड्रप गर्दा ब्यक्तिगत ६८ रनमा जीवनदान पाएका थिए । जुन चेन्नईलाई ठूलो भारी पर्यो ।
चौथो विकेटका लागि पोलार्ड र क्रुनाल पान्ड्याले ४४ बलमा ८९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । क्रुनालले २३ बलमा २ चौका र २ छक्का ३२ रनको योगदान दिए । साम करनले १७ औं ओभरको तेस्रो बलमा क्रुनाललाई एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए ।
मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ७.४ ओभरमा ७१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर शादूल ठाकुरको बलमा ठूलो सट खेलेका रोहित ऋतुराज गायकवाडबाट ३५ रनमा क्याच आउट हुन पुगेका थिए । रोहितले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
एक ओभर पछि स्पिनर रविन्द्र जडेजाको बलमा इनसाइड एज लागेर विकेटकिपर महेन्द्रसिंह धोनीबाट सूर्यकुमार यादव ३ रनमा आउट हुन पुगेका थिए । त्यसको एक ओभरपछि रविन्द्र जडेजाले ओपनर क्विन्टन डी ककलाई ३८ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । डि ककले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
त्यसपछि पोलार्डले विष्फोटक ब्याटिङका साथ खेललाई रोमाञ्चक बनाएका थिए । हार्दिक पान्ड्या ७ बलमा २ छक्का सहित १६ रनमा आउट भए । साम करनले १९ औं ओभरमा हार्दिक पान्ड्या र जेम्स निसमलाई आउट गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । चेन्नईका साम करनले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । शार्दूल ठाकुर, रविन्द्र जडेजा र मोईन अलीले १–१ विकेट लिए ।
त्यसअघि अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । अम्बाती रायुडूले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ७२ रनमा अविजित रहे । रायुडूले मात्र २० बलमा अर्धशतक पूरा गरेका थिए । मोईन अलीले ३६ बलमा ५ चौका र ५ छक्का सहित ५८ रनको योगदान दिए । फाफ डु प्लेसिसले पनि अर्धशतकीय इनिङ खेले ।
तीव्र गतिका बलर ट्रेन्ट बोल्टले पहिलो ओभरको चौथो बलमा ओपनर ऋतुराज गायकवाडलाई ४ रनमा हार्दिक पान्ड्याबाट प्वाइन्टमा क्याच गराउँदै मुम्बईलाई पहिलो सफलता दिलाएका थिए । तर त्यसपछि दोस्रो विकेटका लागि मोईन अली र फाफ डु प्लेसिसले १ सय ८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।
तीव्र गतिका बलर जस्प्रित बुमराहले ११ औं ओभरको पाँचौं बलमा अलीलाई क्विन्टन डी ककबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । चेन्नईले मात्र चार रन जोड्न तीन विकेट गुमाएपछि रनको गतिमा केहि कमि आएको थियो । लगत्तै अर्को ओभरको पाँचौ बलमा फाफ डु प्लेसिसलाई काइरन पोलार्डले जस्प्रित बुमराहबाट ५० रनमा क्याच आउट हुन पुगेका थिए । स्कुप सट खेलेका डु प्लेसिस फाइन लेगमा समातिन पुगेका थिए ।
डु प्लेसिसले २८ बलमा २ चौका र ४ छक्का प्रहार गरे । डु प्लेसिसको जारी आइपिएलमा यो लगातार चौथो अर्धशतक हो । लगत्तै अर्को बलमा सुरेश रैना ठूलो सट खेल्नेधुनमा डीप मिडविकेटमा क्रुनाल पान्ड्याबाट २ रनमा समातिन पुगे । पाँचौं विकेटका लागि रायुडू र रविन्द्र जडेजाले ४९ बलमा १ सय २ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि चेन्नईले विशाल योगफल तयार पारेको हो । जडेजा २२ बलमा २ चौका सहित २२ रनमा अविजित रहे ।
मुम्बईका काइरन पोलार्डले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । बुमराहको आइपिएल इतिहासकै खराब प्रदर्शन हो । ट्रेन्ट बोल्टको नाममा १ विकेट रह्यो ।
अंक तालिका
चेन्नई सुपर किंग्स ७ खेलमा ५ जित र २ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ७ खेलमा ३ मा हार र ४ मा जित सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।
पन्जाब ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै पाँचौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । मुम्बईले अव मंगलबार हैदराबादसँग खेल्ने छ । चेन्नईले बुधबार राजस्थान रोयल्ससँग खेल्ने छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]