4 years ago
March 15, 2021
अर्जुन कार्की, बागलुङ
कोरोना महामारीको कारण १ वर्षसम्म सम्पूर्ण खेलकुद प्रतियोगिता ठप्प भएको बागलुङमा पछिल्लो समय फुटबल, भलिबल र क्रिकेट प्रतियोगिताहरु संचालन हुन थालेका छन् ।
मेला, महोत्सव र चाडपर्वहरुमा बागलुङमा धेरै भलिबल खेलहरु हुँदै आएपनि पछिल्लो समय फुटबल खेलले पनि आफ्नो प्रभुत्व जमाउँदै गएको छ । अखिल नेपाल फुटबल संघको वार्षिक क्यालेन्डर अन्तर्गतका खेलहरु र वर्षमा १-२ वटा प्रतियोगिताहरु संचालन हुँदै आएको बागलुङमा पछिल्लो समय शहर बजार र ग्रामिण भेगहरुमा समेत सेभेन ए साइड फुटबल प्रतियोगिताहरु संचालन हुन थालेका छन् ।
फुटबलमा सामान्यता ११ जना खेल्ने खेल भनिएपनि खेल मैदानहरु साना भएका क्षेत्रमाहरुमा पछिल्लो समय फाइभ ए साइड र सेभेन ए साइड फुटबल प्रतियोगिताहरु संचालन हुँदै आएका छन् । बागलुङमा ११ जना खेल्न मिल्ने एक मात्र बाङ्गेचौर खेलमैदान हो । पहाडी जिल्ला बागलुङका गाउँ गाउँमा साना साना मैदानका कारण भलिबल खेलिने गरिएपनि पछिल्लो समय भलिबल मैदान र अन्य साना मैदानमा सेभेन र फाइभ ए साइडका फुटबल प्रतियोगिताहरु संचालन हुन थालेका छन् ।
कोरोना महामारीको कारण १ वर्षसम्म कुनै प्रतियोगिता संचालन नभएको स्थितिमा मंसिर महिनामा बाङ्गेचौर खेलमैदानमा पावर फिटनेश सेन्टरले फाइभ ए साइड फुटबल प्रतियोगिता गर्दै खेलकुदको गतिविधिलाई सुचारु गरेको थियो । त्यसयता बागलुङमा आधा दर्जन बढि सेभेन र फाइभ ए साइड फुटबल प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
बागलुङमा फुटबलको लोकप्रियता बढिरहेको र पछिल्लो समय सानो खेलहरु पनि खेल्न मिल्ने भएपछि स्थानिय तहहरुमा फाइभ र सेभेन ए साइड फुटबल प्रतियोगिताहरु बढिरहेको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताए । बागलुङ पहाडी जिल्ला भएकोले यहाँ ठूला मैदानको व्यवस्थापन नहुँदा सेभेन र फाइभ ए साइड फुटबल प्रतियोगिता प्रति खेलाडीहरु र आयोजकको लोकप्रियता बढेको उनको बुझाइ छ ।
‘हामीले एन्फाको क्यालेन्डर अनुसार प्रतियोगिताहरु संचालन गरिरहेका छौं,’ अध्यक्ष गुरुङले भने, ‘पहिले क्लबहरु कम थिए, त्यसैले क्लबहरुले प्रतियोगिताहरु पनि संचालन गर्दैन थिए अहिले स्थानिय तहहरुमा पनि क्लबहरुले सेभेन र फाइभ ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्दा खेलाडी उत्पादनमा सहयोग पुगेको छ ।’ अध्यक्ष गुरुङले आयोजकहरुले प्रतियोगिताको लागि समन्वयन गरिदिन आग्रह गरेमा बल लगायत खेल सामाग्रीहरु सहयोग गर्ने र नियमको बारे र रेफ्रिको लागि समन्वय गरिदिने गरेको जानकारी दिए ।
बागलुङमा फुटबलका कम प्रतियोगिता हुनुमा प्रायोजकहरुको अभाव रहेको अध्यक्ष गुरुङको भनाइ छ । ‘प्रतियोगिता गर्नको लागि प्रायोजकको आवश्यकता पर्दछ,’ अध्यक्ष गुरुङले थपे,‘बागलुङमा प्रायोजकहरुको अभावको कारण एक वर्ष प्रतियोगिताको आयोजना गरिएपनि अर्को वर्ष हुन गाह्रो हुने देखिएको छ ।’
गाउँ गाउँमा फुटबलको लोकप्रियता बढेसँगै बजार मुखी रहेको खेलाडी उत्पादन गाउँ गाउँमा हुने देखिएको छ । अध्यक्ष गुरुङले पनि गाउँ–गाउँमा क्षमता भएका खेलाडीहरु रहेको बताए । उनले अहिले धेरै प्रतियोगिता हुँदा प्रशिक्षण भएमा अझै राम्रो गर्न सक्ने क्षमता युक्त खेलाडीहरु देखिएको अभिव्यक्ति दिए । अध्यक्ष गुरुङले प्रतियोगिता बढि भएमा खेलाडीहरुलाई आर्थिक राहत पुग्ने बताउँछन् ।
‘जिल्लामा एक, दुई खेल हुँदा आर्थिक अभावको कारण खेलमा भविश्य नरहेको भन्दै खेल्नै छोड्ने युवाहरुको संख्या बढि हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘प्रतियोगिताहरु बढ्दा पुरस्कार र राम्रो खेल्ने खेलाडीहरुलाई क्लबले पनि आर्थिक रकम उपलब्ध गराउने भएकाले खेलाडीको हौसला प्रदान गरेको छ ।’
ठूलो प्रतियोगिताहरु नहुँदा साना प्रतियोगिता खेलेर केहि राहतको महसुस गर्नुपरेको खेलाडी रोशन लामिछानेले बताउँछन् । उनले वर्षमा २, ३ वटा सम्म लिगका खेलहरु भएमा जिल्लामा फुटबलको विकास हुने र खेलाडीहरु पनि माथिल्लो लेबलमा पुग्न सहयोग हुने विचार राखे ।
‘आर्थिक समस्याको कारण नै बागलुङमा ठूला प्रतियोगिताहरु कम हुने गरेका छन्,’ रोशनले भने, ‘जिल्ला फुटबल संघ बागलुङले अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक क्यालेन्डर अन्तरगतको लिग र अन्य प्रतियोगिताहरु पनि आयोजना गरेमा खेलाडी उत्पादनमा सहयोग पुग्नुको साथै खेलाडीहरुको प्रदर्शनमा सुधार आउने थियो ।’
रोशनले पछिल्लो समय गाउँ गाउँमा पनि फुटबलको लोकप्रियता बढेको र प्रतियोगिताहरु आयोजना हुँदा खेलाडीहरुको आर्थिक सुधारमा केहि राहत मिलेको बताउँछन् । ‘अहिले राम्रो खेल्ने खेलाडीहरु र साथीभाइ मिलेर फाइभ र सेभेन ए साइड फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाउने गरेका छौं,’ उनले थपे,‘उपाधि जितेमा उक्त पुरस्कार राशि बाढ्ने र केहि क्लबले खेलाडीहरुलाई थप तलबको व्यवस्था पनि गर्छन त्यसले गर्दा खाली बस्नुभन्दा केहि राहत मिलेको छ ।’
रोशनले जिल्लामा कम प्रतियोगिता हुँदा खेलाडी उत्पादन नहुनुको साथै खेलीरहेका खेलाडीहरु पनि पलायन भइरहेको गुनासो पोख्छन् । उनले घरबाट समेत सधैं खेल्न हिड्ने तर खेलेर भविष्य नरहेको भनिरहेपनि आफूहरु रहरले खेलिरहेको बताए । ‘बागलुङमा क्लबहरु पनि व्यवसायिक छैनन्’ लामिछानेले भने,‘क्लब व्यवसायिक बनेर जिल्लामा लिग लगायत गोल्डकप प्रतियोगिताहरु वार्षिक २-३ वटासम्म भएमा खेलाडीहरुलाई आर्थिक पाटोमा सहयोग पुग्ने थियो ।’
उनले जिल्लामा कम प्रतियोगिता भएको कारण नै माथिल्लो स्तरमा खेल्ने खेलाडीहरुको कमि रहेको बताए । ‘हाम्रो जिल्लाबाट ए डिभिजन लिग र बि डिभिजन लिगमा २-२ जना खेलाडीले मात्र खेलेका छन्,’ लामिछानेले प्रष्ट्याए, ‘अहिले त जिल्लामा ठूला प्रतियोगिता नहुँदा खेलाडी उत्पादन भएको पनि छैन र एन्फा एकेडेमिमा पनि पहिले धेरै खेलाडीहरु हुने गरेपनि अहिले एक, दुई जना मात्र रहेका छन् ।’
रोशनले जिल्लामा साना प्रतियोगिता भन्दा ठूलो प्रतियोगिताहरु नै हुनुपर्नेमा जोड दिए । उनले साना प्रतियोगिताले गर्दा घाईते बढि हुने र खेल्नै शैली नै छुट्टै हुने भएकाले ठूला प्रतियोगितामा खेल्न गाह्रो हुने बताए ।
जिल्ला फुटबल संघका प्रशिक्षक भिम बोहोराले फाइभ ए साइडलाई फुटसलको रुपमा फिफा र एएफसिले मान्यता दिएपनि सेभेन ए साइड फुटबललाई मान्यता नरहेको बताए । उनले फाइभ ए साइड प्रतियोगिताले फुटसलको लागि खेलाडी उत्पादनमा सहयोग पुग्ने भएपनि सेभेन ए साइड फुटबल रहरको लागि मात्र रहेको प्रष्ट पारे ।
‘जिल्लामा ठूला प्रतियोगिताहरु बढि भएमा मात्र खेलाडी उत्पादनमा सहयोग पुग्ने थियो,’ प्रशिक्षक बोहोराले भने, ‘ग्रामिण भेगमा फुटबल प्रतियोगिता हुनु सुखद पक्ष हो तर तिनी प्रतियोगतामा खेल्ने शैली र ठूलो प्रतियोगितामा खेल्ने शैली फरक हुँदा माथिल्लो स्तरको खेलको लागि खेलाडीहरुलाई केहि फाइदा हुँदैन ।’
November 28, 2024
एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ । बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ […]
November 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सहयोगमा पुननिर्माण हुन लागेको सानो गौचरन मैदानको शिलान्यास भएको छ । महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले बिहीवार मैदान पुनर्निर्माणको शिलान्यास गरिन् । शिलान्याससँगै मैदान पुनर्निर्माणको काम आजबाट सुरु भएको छ । शुभ कन्स्ट्रक्सनले पुर्निर्माणको १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा जिम्मेवारी पाएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता […]
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]