6 years ago
November 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्रको महिला फुटबलको छनोट चरणको प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले समूहको दोस्रो खेलमा आयोजक म्यानमारसँग १-१ को बराबरी खेलेको छ । यस नतिजासँगै नेपाल अंक तालिकामा तेस्रो भएपनि छनोटको सम्भावना जीवित रहेको छ ।
फिफा वरियतामा नेपालभन्दा ६४ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले खेलको सुरुवाती समयमै अग्रता लिएको थियो । नेपालको लागि खेलको दोस्रो मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । खेल सुरु भएको ४३ सेकेन्डमै म्यानमारकी डिफेन्डर वाई वाई औङले सावित्रलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । तर खिन मो वाईले १३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याइन । वाईले प्रहार गरेको कर्नर नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले रोक्ने प्रयास गर्दा सिधै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको ५९ औं मिनेटमा नेपालले पुन अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । काउन्टर अट्याकमा अगाडी बढेको नेपालका लागि सावित्रा भण्डारी र सरु लिम्बूले राम्रो वन-टु पास खेल्दै डिफेन्स लाइन छिचोलेका थिए । तर सरुले उपलब्ध गराएको अन्तिम पासमा सावित्राले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा गोल गर्न सकिनन् । त्यसअघि पनि नेपालले राम्रो मुभ सिर्जना गरेपनि डिफेन्स लाइन भने कटाउन सकेको थिएन ।
६५ औं मिनेटमा म्यानमारले पनि गोल गर्ने सुवर्ण अवसर चुकायो । वन भर्सेस वनको स्थितिमा गोलरक्षक एन्जिलाले उत्कृष्ट बचाउ गरिन् भने रिबाउन्डमा गीता रानाले गोललाइन बाट क्लियर गर्दै खेल १-१ को स्थितिमा कायम राखिन् । ७८ औं मिनेटमा पुनम जर्घा मगरको हेडर क्रसबारमा लाग्दै बहिरिंदा नेपाल अग्रता लिनबाट चुकेको थियो ।
त्यसअघि भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । भारतका लागि बालादेवीले ४, कमला देवीले २ तथा संजुले १ गोल गरिन् । बंगलादेशको लागि कृष्णा रानीले सान्त्वना गोल गरेकी थिईन । नेपालले पहिलो खेलमा भारतसँग १-१ को बराबरी खेलेको थियो । बंगलादेश भने म्यानमारसँग पहिलो खेलमा ५-० ले पराजित भएको थियो ।
यस नतिजासँगै नेपाल अंक तालिकामा २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा छ । भारत र म्यानमारको समान २ खेलमा ४-४ अंक छ भने अंकविहिन बंगलादेश पुछारमा रहेको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेर भारत र म्यानमारको खेल गोलरहित बराबरी भएमा नेपाल समूह विजेता हुनेछ । तर भारत र म्यानमारको खेलमा जित-हारको नतिजा आएर नेपालले बंगलादेशलाई हराएमा नेपाल समूहमा दोस्रो हुनेछ । दोस्रो भएको अवस्थामा छनोटका लागि भने नेपालले अन्य समुहको नतिजा पनि हेर्नुपर्नेछ ।
सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।
दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]