default_image

2 weeks ago

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

2532 views

0 Bookmark

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

यसक्रममा वैभवले ११ औं ओभरको दोस्रो बलमा वर्तमान विश्व क्रिकेटका उत्कृष्ट स्पिनर राशिद खानलाई मिडविकेटमा छक्का हान्दै ३५ बलमा शतक पुर्याए । टि२० क्रिकेटमा सवैभन्दा कम उमेरमा (१४ वर्ष ३२ दिन) दिनमा शतक हान्न उनले मोहम्मद शिराज, प्रसिद्ध कृष्णा र राशिद खान जस्ता बलरविरुद्ध आक्रामक प्रदर्शन गरेका थिए । उनी अघि टी२० मा कम उमेरमा शतक २०१३ मा महाराष्ट्रका विय जोलले मुम्बईविरुद्ध १८ वर्ष ११८ दिनमा हानेका थिए ।

क्रिस गेलको सन् २०१३ मा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलपछि यो आईपिएल इतिहासकै छिटो शतक हो । युसुफ पठानको १५ वर्षदेखि कायम (राजस्थानबाट मुम्बईविरुद्ध २०१० मा ३७ बलमा) भारतबाट सर्वाधिक छिटो शतक हान्ने आईपीएल कीर्तिमान पनि भ ङ्ग गरे । मनिष पाण्डेको बेंगलोरबाट डेक्सन चाजर्सविरुद्ध २००९ मा १९ वर्ष २५३ दिनमा हानेको शतकलाई पछि पार्दै कम उमेरका शतकधारी पनि बने ।

पछिल्ला पाँच खेलमा जित विहीन राजस्थान यस खेल हार्दा प्लेअफ दौडबाट बाहिरिने पक्का थियो । अझ पछिल्ला तीन खेलमा दिल्लीसँग सुपर ओभर, लखनऊविरुद्ध २ रन र बेंगलुरुसँग ११ रनको पिडा भुल्न सहज थिएन । किनभने सबै जिति सकेको अवस्थाबाट राजस्थानले हार्दा प्लेअफ यात्रा निकै कठिन बनेको थियो । त्यसैले दुई मध्य एक ओपनरले ठूलो इनिङ खेल्नु पर्दथ्यो ।

यस सिजनमा पावर प्लेमा उत्कृष्ट प्रभाव जमाउँदै आएका तीव्र गतिका बलर मोहम्मद शिराजले पहिलो ओभरको दोस्रो बलमा लगातार दुई वाडपछि डट राखेका थिए । लेन्थको उत्कृष्ट बलमा बिट भएका उनले अर्को बललाई सिधा छक्का हान्दै खाता खोलेका थिए । त्यसपछि पाँच बलमा दुई रन बटुले ।

चौथो ओभरमा भारतका अनुभवी बलर ईशान्त शर्मालाई तीन छक्का र दुई चौकासहित २८ रनको ओभर बनाए । त्यसपछि राजस्थान र गुजरात दुवै तर्फका खेलाडी उनको ब्याटिङ हेरेको हेर्यै भए । बलर फेरिए । तर उनको खेल्ने शैली फेरिएन ।

कलिलो उमेरमा उनले जयपुरको पिचमा देखाएको ब्याटिङ शैली, निडरपन र सटहरुमा विपक्षी बलरमा जवाफ नै थिएन । अझ भर्खर नै आइपीएल खेल्न थालेको हुँदा कमजोरी र बलियो पक्ष धेरै टोलीलाई नै थाहा छैन ।

अर्को ओभरमा स्पिनर वासिन्टन सुन्दरले दुई छक्का भेटे । त्यसै पाँचौं ओभरको अन्तिम बलमा सुन्दरलाई चौका हान्दै मात्रै १७ बलमा आफ्नो आईपीएल करिअरको अर्धशतक पूरा गरे । लखनऊ सुपर जायन्ट्सका निकोलस पुरनको १८ बलमो अर्धशतकलाई पछि पार्दै यस सिजनमा सर्वाधिक छिटो हान्ने खेलाडी बने ।

त्यसपछि प्रसिद्ध कृष्णा र राशिद खानको छैटौं र सातौं ओभरमा केहि सम्हालिएर खेल्न खोजे । उता टोलीले ७ ओभरमा कुनै विकेट नगुमाई ९१ रन बनाउँदै ड्रिम सुरुवात गरेको थियो । आठौं ओभरको अन्तिम बलमा प्रसिद्ध कृष्णालाई लङ अफमा छक्का हाने ।

डेब्यू गरेका अफगानिस्तानका मध्यगतिका बलर करिम जनतलाई उनी भारी मात्रै बनेनन् । पहिलो ओभरमै भविष्य जोखिममा पार्दिए । किनभने उनले जन्नतको डेब्यू दबाबको फाइदा उठाउँदै १० औं ओभरमा चार छक्का र दुई चौकासहित एकै ओभरमा ३० रन बटुले । त्यसपछि उनी ३४ बलमा ९४ मा पुग्दै शतक नजिक पुगे । ११ औ ओभरको दोस्रो बलमा राशिद खानलाई छक्का हान्दै आइपीएल इतिहासकै कम उमेरमा शतक हान्ने खेलाडी बने ।

उनको प्रदर्शन यतिसम्म उत्कृष्ट थियो की गुजरातका खेलाडी, समर्थक र शुभचिन्तकले समेत सम्मान गरेका थिए । राजस्थानको माहोल त फरक नै हुने भयो । ड्रेसिङ रुममा सबैले उठेर तालीका साथ सम्मान गरेका थिए । त्यस्मा मुख्य प्रशिक्षक राहुल द्रविड ह्वीचेयरबाट नै उठेर ताली बजाएका थिए । युवा खेलाडीलाई बनाउन द्रविड माहिर प्रशिक्षक हुन् । वैभवमाथि उनले गरेको विश्वास र लगानीको प्रतिफल पाउँदा मुस्कानमा चमकनै फरक थियो ।

१२ औं ओभरको पाँचौं बलमा प्रसिद्धको बलमा बोल्ड भएपछि उनको धुवादार ब्याटिङ त्यही अन्त्य भएको थियो । तर टोली भने १६६-२ को मजबुत अवस्थामा थियो । कलिलो ठिटोले मजबुत बलिङ आक्रामणविरुद्ध देखाएको निडरपन, खेल्ने स्वभाव, सट टेक्निक जति तारिफ गर्दापनि कम हुन्छ । उनी आउट भएपछि गुजरातकै खेलाडीले सम्मान गरेका थिए । गुजरातको डगआउटले पनि उठेर सम्मान गरेको थियो ।

खेलपछि उनले विपक्षी बलर भन्दापनि बल हेरेर खेल्ने बताए । ‘पछिल्लो ५,६ महिनादेखि यस्तै प्रदर्शनलाई मिहिनेत गरेको थिए । शतकको सपना हुँदा खुसी छु । म विपक्षी बलर भन्दापनि बल हेरेर खेल्न मन पराउछु’, प्लेयर अफ द म्याच जितेपछि उनले भने ।

आईपीएलमा उनको यो मात्रै तेस्रो इनिङ थियो । नियमित कप्तान सञ्जु स्यामन चोटका कारण यस सिजन खेल्न नसक्ने भएपछि अघिल्लो सातामात्रै लखनऊविरुद्ध जयपुरमा डेब्यू गरेका थिए । उनले डेब्यू खेलको पहिलो बलमा नै शार्दुल ठाकुरलाई छक्का हान्दै छनक देखाएका थिए ।

२० बलमा ३ छक्का र २ चौकासहित ३४ रन जोड्दै टोलीमा ठूलो आशा देखाएका थिए । एडेन मारक्रमको बलमा अघि बढेर खेल्ने धुनमा स्टम्पिङ आउट भएका थिए । बेंगलोरविरुद्ध भुवनेश्वर कुमारलाई दुई छक्का हान्दै १६ रन जोडेका थिए । तेस्रो खेलमा गुजरातविरुद्ध ड्रिम र विश्वकीर्तिमानी शतक ठोके । अर्कोतर्फ अक्सनमा आफूलाई करोड किन खर्चेको जवाफ पनि थियो ।

वैभव सूर्यवंशीको क्रिकेट यात्रा

वैभवको जन्म सन् २०११ मार्च २७ मा बिहारको ताजपुर गाउँमा भएको थियो । उनी जन्मेको पाँच दिनपछि भारतले एकदिवसीय विश्वकप २०११ को फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । मध्यम परिवारमा जन्मिएका उनले चार वर्षकै उमेरमा क्रिकेट यात्रा थालेका थिए ।

छोरा क्रिकेट खेल्न थालेपछि सञ्जीवले घरछेऊमै सानो मैदान र अभ्यास गर्ने नेट बनाइदिए । छोरा ९ वर्षको भएपछि नजिकैको समस्तीपुर शहरको एकेडेमीमा भनाए गर्दिए । त्यसपछि छोरालाई ल्याउने लैजाने काम उनको भयो । जहाँ प्रतियोगिता खेल्न जान्थे त्यहाँ बुबाले नै छाड्नु पर्दथ्यो ।

समय र खर्च दुवै बढ्दै गयो । छोराको पछि लाग्दा बुबा बेरोजगार जस्तै बने । छोरालाई क्रिकेटर नै बनाउन उनले मोतीपुरमा रहेको खेत नै बेचिदिएका थिए । त्यसपछि उनले बिहान बेलुका उनलाई प्रशिक्षण गराउथे । जतिबेला छोरालाई खेल्न मन लाग्यो त्यतिबेला उनी तयार हुन्थे । पानीमा समेत ब्याटि ङ गर्ने गराएको उनी बताउँछन् ।

वैभव १२ वर्षको हुँदा विनोद मकांड ट्रफी (यू१९) प्रतियोगितामा पाँच खेलमा ४ सय रन बनाए । त्यसपछि नी बिहार हुँदै भारत बी को यू१९ टोलीमा २०२३ मा परेका थिए । नोभेम्बरमा चार टोली (भारत ए, बी, बंगलादेश र इंग्ल्यान्ड यू१९) विरुद्ध सिरिजमा भारत बी मा स्थान बनाएका थिए । आईसीसी यू१९ विश्वकप २०२४ अघि भारतको टोली छनोटको रुपमा हेरिएको उक्त सिरिजमा उनले इंग्ल्यान्डविरुद्ध ५३ र ४१, बंगलादेशविरुद्ध ० र फाइनलमा भारत ए विरुद्ध ८ रनमा आउट भएका थिए ।

त्यसपछि बिहारको यू२३ हुँदै रणजी ट्रफी टोलीमा परे । १२ वर्ष २८४ दिनमा उनले रणजी ट्रफीमा मुम्बईविरुद्ध २०२४ जनवरी ५ मा डेब्यू गर्दै १९ र १२ रन जोडेका थिए । सेप्टेम्बरमा अष्ट्रेलियाविरुद्ध युथ टेस्टको पहिलो खेलमा चेन्नईविरुद्ध ६२ बलमा १४ चौका र ४ छक्कासहित १०४ रन बनाएका थिए । उनले कम उमेरमा ( १३ वर्ष १ सय ८८ दिन) प्रतिस्पर्धात्मक क्रिकेटमा शतक हान्ने खेलाडी बने । उनले बंगलादेशका नाज्मुल हसन सान्टोले २०१३ मा श्रीलंकाविरुद्ध १४ वर्ष २४१ दिनमा हानेको शतकको कीर्तिमान तोडेका थिए ।

नोभेम्बर २४ र २५ मा साउदी अरेवियामा भएको मेगा अक्सनमा सूर्यवंशीले आफ्नो नाम न्यूनतम ३० लाख भारुमा दर्ता गराएका थिए । उनलाई किन्न दिल्ली र राजस्थानबीच प्रतिस्पर्धा भएको थियो । अक्सन अघि नै राजस्थानले आफ्नो एकेडेमी नागपुरमा वैभवलाई बोलाएर हेरेको थियो । एकेडेमीमा उनको प्रदर्शनबाट प्रभावित भएपछि टोलीमा राजस्थानले राख्ने लगभग पक्का थियो । तर त्यो कुरा दिल्लीले पनि थाहा पाइसकेको थियो । त्यसैले अक्सनमा दिल्ली र राजस्थानबीच प्रतिस्पर्धा चल्यो ।

दिल्लीले उनको नाम अक्सनमा आउँदा २५ कोटामा १८ र राजस्थानले १६ खेलाडी किनेका थिए । राजस्थानसँग खर्च गर्न पाउने रकम ४ करोड र दिल्लीसँग २ करोड ७५ लाख थियो । करोडमा मूल्य पुगेपछि अन्य खेलाडी किन्न पैसा नपुग्ने हुँदा दिल्लीले छाडेपछि राजस्थानले १ करोड १० लाखमा उनलाई टोलीमा अनुबन्ध गरेको थियो । अक्सनमा उनले पाएको मूल्यलाई लिएर राम्रो चर्चा भएको थियो ।

त्यसपछि २०२४ नोभेम्बर अन्तिम देखि दुबईमा सुरु भएकोे यू१९ एसिया कपमा उनी भारतको टोलीमा परेका थिए । उनी पाकिस्तानसँग १, जापानविरुद्ध २३, यूएईविरुद्ध ४३ बलमा ३ चौका र ६ छक्कासहित ७६, श्रीलंकाविरुद्ध सेमिफाइनलमा ३६ बलमा ६ चौका र ५ छक्कासहित ६७ रन जोड्दै प्लेयर अफ द म्याच र फाइनलमा बंगलादेशविरुद्ध ९ रन बनाएका थिए ।

एसिया कपमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनी यू१९ विश्वकप टोलीमा परेनन् । एसिया कप खेलेर आएको तीन सातापछि उनी विजय हजारे ट्रफी( भारतको एकदिवसीय घरेलु प्रतियोगिता) खेल्ने बिहारको टोलीमा परे । बरोडविरुद्ध ७१ रन बाहेक अन्य खेलहरुमा निरन्तर मौका पाएपनि राम्रो प्रदर्शन गर्न सकेनन् । विजय हजारेमा राम्रो नगरेपछि उनलाई केही दबाब परेको थियो ।

तर राजस्थान रोयल्समा राहुल द्रविड र कुमार संगाकारा जस्ता उत्कृष्ट प्रशिक्षकको अन्डरमा आफ्नो कमजोरीमा सुधार गरे । सुरुवातमा बेन्चमा रहेका उनलाई कप्तान सञ्जु स्यामसन घाइते बन्नु अवसर बन्यो । त्यसै अवसरको सुरुवातमा दमदार प्रदर्शन विश्वलाई देखाउन सफल भए ।

एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति

May 14, 2025

ब्वाइज युनियन विजयी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]

May 13, 2025

राष्ट्रिय कराते टोलीलाई ट्रयाक सुट वितरण

काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]

May 11, 2025

अस्ट्रेलियामा पूर्व कराते खेलाडीको एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]

Success

Thank you for your time.