3 days ago
March 30, 2025
भुपेन्द्र जि.सी
गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् ।
सुदूरपश्चिमबाट २ वर्षअघि पिएम कप खेल्न प्रस्थान गर्दा उनको मानसिकता प्रष्ट थियो, ‘यो अवसरलाई जसरी पनि सदुपयोग गर्नुपर्छ । या त सकिन्छु वा पिएमकपको प्रदर्शनबाट सबैले चिन्छन् । डोमिनेट गरेर नै फर्किन्छु । किनभने मैले पाउनुपर्ने असफलता अरु केही बाँकी थिएन ।’
नभन्दै गत संस्करणको पिएम कपमा राम्रो प्रदर्शन गर्दै २ सय ८४ रनसहित छैटौं उत्कृष्ट ब्याटर बने । त्यसपछि नेपाल ए हुँदै नेपाल प्रिमियर लिगमा पनि खेले । यस पटकको पिएम कपमा त उनले झनै गज्जबको ब्याटिङ गरे । फलत: उनले सिनियर टोलीमा स्थान पनि बनाए ।
लुम्बिनीमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा दुई शतक हान्ने उनी एक्लो ब्याटर रहे । कुल ५ शतक बनेको प्रतियोगितामा गण्डकी प्रदेशका अर्जुन कुमाल, त्रिभुवन आर्मी क्लबका तृतराज दास र बागमती प्रदेशका इशान पाण्डेले पनि शतक बनाए । किरणले चौथो र छैटौं नम्बरमा आएर शतक प्रहार गरेका हुन् भने अन्य ३ खेलाडी ओपनर हुन् ।
नेपालबाट खेल्ने पहिलो रोजाइका अधिकांश ब्याटरले रन बनाउन संघर्ष गर्दा अनक्याप्ड क्रिकेटरको ब्याट मज्जाले चलेको छ । किरणले ९ इनिङमा २ शतकसहित ३२ चौका र १४ छक्काको मद्दतमा ३ सय ३७ रनका जोडे । उनीभन्दा ४ ब्याटरले मात्र बढी रन जोडे ।
किरणले गण्डकी प्रदेशविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै १०१ बलमा ९ चौका र ६ छक्कासहित १ सय २१ अविजित तथा कोशीविरुद्ध ९१ बलमा १२ चौका र ४ छक्कासहित १ सय १५ रनको अर्को विजयी शतकीय इनिङ खेले ।
किरण गण्डकीविरुद्धको शतक विशेष क्षण बताउँछन् । ‘राष्ट्रिय प्रतियोगितामा पहिलो शतक हुँदा त्यो क्षण विशेष थियो । अहिलेसम्म दुःख गरेको नै यस्तै प्रदर्शनलाई हो । शतक बनाउन मैले सक्छु भन्ने विश्वास चाहिने रहेछ । मेरा अहिलेसम्मका सबै असफलता याद गर्दा यो प्रतियोगिता राम्रो भयो ।’
गत वर्षको आत्माविश्वासले आफ्नो खेलमा सहयोग गरेको उनी बताउँछन् । ‘एउटा योजनाको साथ खेल्न राम्रो प्रदर्शन हुने रहेछ । अहिले र पहिलेमा मैले सक्छु भन्ने आत्माविश्वासको मात्रै फरक हो’, उनले भने ।
मध्यगतिका बलरबाट करिअर सुरुवात गरेका किरणले पछिल्लो दुई वर्षमा आफूलाई मध्यक्रमका ब्याटरको रुपमा स्थापित गर्न धेरै संघर्ष गरेका छन् ।
को हुन् किरण ठगुन्ना ?
बुबा प्रेमसिंह र आमा माया ठगुन्नाको कोखबाट पहिलो सन्तानको रुपमा उनको जन्म २०५४ सालमा बैतडीको कुलादामा भएको थियो । उनी ६,७ वर्षको हुँदा कन्ञनपुरको मझगाउँमा झरेका थिए । उनको घरदेखि महेन्द्रनगर कभर्डहल मैदान ३-४ किलोमिटर मात्रै टाढा छ ।
सानैदेखि उनी टेनिस बलले क्रिकेट खेले । भीम सार्की, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी लगायतका खेलाडीसँगै खेलेर हुर्किएका हुन् । सानोमा भीम र उनी १०,१२ किलोमिटर लामो यात्रा एउटै साइकलमा गर्दथे ।
सुरुमा किरण तीव्र गतिका बलिङ अलराउण्डर हुँदा ब्याटिङमा कम अवसर पाउथे । नेपालले २०१४ को टी-२० विश्वकप खेलेपछि मात्रै उनले ड्युज बलको सुरुवात गरेको उनी बताउँछन् । पहिलो संस्करणको प्रधानमन्त्री कप २०१७ मा सुदूरपश्चिमञ्चल विकास क्षेत्रको टोलीमा पर्दै दुई खेलमा तीन जोडे । त्यसपछिका दुई संस्करण भने चोटसँग संघर्ष गर्दा गुमाउनु पुगे ।
किरणले २०१६ देखि २०१९ सम्म कुनैपनि फ्रेन्चाइज लिग खेल्न नपाउनुको मुख्य कारण यहि नै थियो । स्थानीय लिग, कलेज र प्रतियोगितामा राम्रो छाप छोडेपनि डिपिएलमा कुनैपनि फ्रेन्चाइजले उनलाई विश्वास गरेनन् ।
२०२१ मा प्रधानमन्त्री कपमा पहिलो खेलमा बागमतीविरुद्ध २४ र त्यसपछिका तीन खेलमा ५ रन जोड्दै कुल २९ रनका साथ प्रतियोगिता अन्त्य गरे । कोरोना महामारीको कारण लकडाउनमा उनले पुन: प्रशिक्षण गर्न पाएनन् । दायाँ खुट्टा ह्याम्स्ट्रिङमा चोट लागेपछि उनी पूर्ण विश्राममा रहे । त्यसपछि बलिङ नगर्ने निर्णय लिए ।
ब्याटिङमा राम्रो गर्न उनले बलिङ मेसिन आफैं किनेर प्रशिक्षण गर्ने निर्णय लिए । बलिङ मेसिनको मूल्य झण्डै तीन लाख पर्थ्यो । भाग्यले त्यसै समयमा बुबा प्रेमसिंह नेपाल आर्मीको सेकेण्ड लेप्टिनेन्डबाट सेनावृत्त (रिटायर्ड) हुँदा लगभग १५ लाख रुपैयाँ पाएका थिए । उक्त पैसा मध्य बुबासँग १० लाख रुपैयाँ मागे ।
आफूले क्रिकेट नबुझेपनि छोराको रहरलाई उनले कहिल्यै नकारेका थिएनन् । यस पटक पनि केही नबोली उक्त पैसा दिए । घरमै (कञ्चनपुरको मझगाउँ) इन्डोर नेट्स बनाए । जहाँ बलिङ मेसिन र लाइट जडान गरे । दिउँसो मात्र नभएर रातको समयमा पनि खेल्ने सम्मको व्यवस्था घरमै मिलाए ।
२०२२ मा प्रदेश छनोटमा सर्वाधिक रनकर्ता बनेका उनलाई दुई दिनको प्रशिक्षणमा राम्रो नगरेको भन्दै सुदूरपश्चिमकै टोलीमा राखेनन् । प्रदेश छनोटको राजनीतिमा खेलाडीमाथि कतिसम्म खेलवाड गरिन्छ यो एउटा राम्रो उदाहरण हो ।
घरमै सुविधासम्पन्न इन्डोर । तर प्रदेशकै टोलीमा नपर्नु । त्यसपछि क्रिकेट खेल्नलाई किरणका घरकाले पैसा दिन आनाकानी गर्नथाले । बरु विवाह गर्न निरन्तर दबाब दिए । वा पसल गर्न सुझाव दिन्थे । उनीसँगैका साथीहरु घरजम गरेर बसिरहेको हुँदा त्यो दबाब स्वभाविक थियो ।
तर किरणलाई क्रिकेटमा आफूले केही गर्न सक्छु भन्ने पूर्ण विश्वास थियो । नेपालमा पिएमकपमा परे पनि पाउने तीन चार खेल नै हो । त्यसपछि खेल नै हुँदैन थियो । राम्रो प्रशिक्षण, खेल र टर्फ विकेटमा अभ्यास गर्न उनी ६ महिना दिल्ली र ३ महिना पन्जाब गए । भारतबाट फर्केपछि किरणले फेरि मौका पाउने वा नपाउने सोच्नु परेको छैन ।
२०२३ नोभेम्बरमा केपी ओली कप टि२० कपमा पुलिस क्लबलाई ४ विकेटले हराउन सुदूरपश्चिमले १५९ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४६-५ को अवस्थाबाट ५१ रनको विजयी इनिङ खेलेका थिए ।
टर्निङ प्वाइन्ट बनेको २०२४ पिएमकप
यस पटक राम्रो नगरे अन्तिम हुने उनलाई स्पष्ट रुपमै प्रदेशबाट भनिएको थियो । त्यसैले किरण आफ्नो दबदबा बनाउन चाहन्थे । पहिलो खेलमा लुम्बिनीसँग १६ रनमा आउट भएका उनले त्यसपछि कर्णालीविरुद्ध ३५ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दै दुर्भाग्य रन आउट भए ।
गण्डकीविरुद्ध ७३ बलमा ५ चौकासहित ६० रन बनाउँदै लगातार दोस्रो अर्धशतक हाने । सोमपाल कामी, जितेन्द्र मुखिया र साहब आलम जस्ता बलर सम्मिलित आर्मीविरुद्ध ७४ बलमा ६ चौका र ३ छक्कासहित ६८ रन जोडेपछि छनोटकर्ताको नजरमा परेका थिए ।
२०२४ मा ८ इनिङमा २७ चौका र ११ छक्कासहित २ सय ८४ रनका साथ छैटौं स्थानमा अन्त्य गरे । पिएमकपमा राम्रो गर्ने सबै क्रिकेटरलाई फेब्रुअरीमा क्यानडासँग नेपाल ए मा समेटिएको थियो । उनले क्यानडा ए विरुद्ध अन्तिम दुई खेलमा अवसर पाउँदा मुलपानी मैदानमा १३ र २५ रन जोडेका थिए ।
पिएमकपमा राम्रो गरेका हुँदा एनपीएलमा उनलाई किन्न अक्सनमा फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा चल्यो । अधिकतम १० लाख मूल्यमा घरेलु टोली सुदूर र पोखरा भिड्दा गोलाप्रथामा पोखरा पुगेका थिए । पहिलो खेलमै चितवनसँग १ रनमा आउट भए ।
त्यसपछि अन्तिम खेलमा मौका पाएका उनले सुदूरपश्चिमविरुद्ध २८ बलमा ३२ रन बनाएका थिए । पोखरामा चेन्नई सुपर किंग्सका राजिव कुमार पनि हुँदा ब्याटिङ अझ सिक्न पाए । अघिल्लो महिना मोन्टी देशाईले नेपाल छाड्नुअघि ब्याटिङ क्लिनिकको रुपमा केही दिन प्रशिक्षण दिएका थिए ।
‘एनपिएल, नेपाल ए र ब्याटिङ क्लिनिकबाट धेरै सिक्न र अनुभव बटुल्न पाए । विशेषगरी आफ्नो कमजोरीमा काम गर्न पाउँदा राम्रो भयो । अनुभव एकैपटक आउँदैन । खेल्दै गएपछि आउने हो । हरेक कुराबाट सानो सानो सिकेको छु । क्रिकेटर भनेको यात्रा र अनुभव रहेछ’, उनले भने ।
नेपालमा खेल नहुँदा उनी छिमेकी देश भारत जान्छन् । ५,६ किलोमिटर यात्रापछि भारतको सिमाना आउँछ । सीमना पारी क्रिकेट बढी हुँदा त्यहाँबाट खेलको एक्सपोजर बढाएका छन् ।
‘अब जुनपनि खेल खेल्न मिल्छ त्यसमा राम्रो गर्ने हो । कसरी हुन्छ आफ्नो टिमलाई जिताउन प्रयास गर्दछु । नेपालको टोली सम्झिएर नै अहिलेसम्म खेलेको हो । नेपालको जर्सी लगाउने सपना छ । त्यसको लागि निरन्तर राम्रो गर्नुपर्छ’, त्यसैमा थपे,’म कुन स्तरमा खेल्छु त्यसको मतलब नै छैन । क्रिकेट खेल्न पाउनु नै ठूलो कुरा र खुसी हो ।’
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]