default_image

3 years ago

May 29, 2022

तीर्थ र पुर्णिमायालाई एभरेष्ट म्याराथन उपाधि

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीर्थबहादुर तामाङ र पुर्णिमाया राईले १७औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् ।

तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक उचाईको म्याराथनमा तामाङले ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डको टाइमिङका साथ उपाधिमा कव्जा जमाएका हुन् ।

सगरमाथा आधार सिविरबाट सुरु भएर नाम्चे बजारमा आएर सम्पन्न हुने म्याराथनमा नेपालकै राजकुमार राजभण्डारी ३ घण्टा ५१ मिनेट ३९ सेकेन्डसहित दोस्रो भए । ३ घण्टा ५३ मिनेट १० सेकेन्डमा निर्धारित दुरी तय गरेका नेपालकै सुमन कुलुङले तेस्रो भए ।

विदेशीतर्फ स्विट्जरल्यान्डका बर्नहाड जिन्जरले ५ घण्टा ५१ मिनेट ३७ सेकेन्डमा दुरी पूरा गर्दै पहिलो भए । रोमानियाका डार्गोस मुन्टियानुले ६ घण्टा १ मिनेट २० सेकेन्ड तथा बेलायतका बेन्जामिन सिन्क्लेयरले ६ घण्टा २१ मिनेट ११ सेकेन्डमा निर्धारित दुरी पार गरेर क्रमशः दोस्रो तथा तेस्रो भए ।

महिलातर्फ खुल्ला म्याराथनमा नेपालकी पुर्णिमाया राईले ५ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै पहिलो भएकी हुन् । नेपालकै अमलधानी राई ५ घण्टा ३९ मिनेट ०१ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो तथा नेपालकै सेविका राईले ५ घण्टा ४४ मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो स्थान हासिल गरिन ।

त्यस्तै खुल्ला हाफ म्याराथनमा जर्मनीकी भेरिना स्लिमेइरर ३ घण्टा ६ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी तय गर्दै पहिलो हुँदा रोमानियाकी एलिना फेर्तु ३ घण्टा २८ मिनेट १७ सेकेन्डसहित दोस्रो भइन । यही विधामा तेस्रो स्थान भने जर्मनीका पुरुष धावक डाइटमार स्टुवले हासिल गरे । उनले ३ घण्टा ३० मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।

एभरेष्ट एक्सटिङ ६० किलोमिटर अल्ट्रा दौडको शीर्ष तीन स्थान नेपाली धावकले हासिल गरे । अर्जुन राई कुलुङ ७ घण्टा चार मिनेट ३५ सेकेन्डको टाइमिङका साथ च्याम्पियन हुँदा गोपाल तामाङले ७ घण्टा ३९ मिनेट ३२ सेकेन्डमा निर्धारित दुरी तय गर्दै दोस्रो भए । त्यस्तै दूर्गाराज बुढाले ७ घण्टा २९ मिनेट ३३ सेकेन्डको टाइमिङका साथ तेस्रो स्थान हासिल गरे ।

एक्सट्रिम अल्ट्रा ६० किलोमिटर दौड, खुल्ला म्याराथन र महिला खुल्ला म्याराथनका विजेताले समान एक लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँका दरले पाए । यसैगरी विदेशीतर्फको म्याराथन र हाफ म्याराथनका विजेताले जनही ५० हजार, उपविजेताले जनही ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँका दरले पुरस्कार हासिल गरे ।

मुख्य विधा एभरेष्ट म्याराथनको उपाधि जितेका तिर्थ तामाङले विश्वको सबभन्दा बढि उचाईमा हुने म्याराथन भएकाले सहभागिता जनाउँदै आफू निक्कै उत्साहित रहेको बताए । ‘विश्वकै सबभन्दा उचाईमा हुने भएकाले यहाँ दौडिनु निक्कै कठिन थियो । तथापि यहाँ दौडिँदा मैले रमाइलो महशुष गरेँ,’ उनले भने, ‘उपाधि जित्न सक्दा म झन खुसी छु ।’

विदेशीतर्फका विजेता जिन्जरले पनि रुट अत्यन्तै कठिन भए पनि आफूले त्यसको भरपुर मज्जा लिएको प्रतिक्रिया दिए । यसैगरी हाफ म्याराथनकी च्याम्पियन भेरेनाले फुल म्याराथन दौडिने चाहना भए पनि हाफ म्याराथनमात्र दौडिएको बताइन । उनले एउटा उत्कृष्ट प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै विजेता बन्दा गौरवान्वित बनेको बताइन ।

विदेशीतर्फका उपविजेता ड्रागोस मुन्टेनाउले अहिलेसम्म सहभागिता जनाएकामध्ये यो सबभन्दा कठिन म्याराथन भएको बताए । ‘मैले यहाँ दोस्रो हुन सक्छु भन्ने ठानेको थिइँन, तर भएँ, खुसी छु,’ उनले भने । १२७ विदेशी तथा ६६ नेपाली गरी कुल १९३ जना धावकको सहभागिता रहेको प्रतियोगितामा सबभन्दा धेरै बेलायतबाट ३३ तथा अमेरिकाबाट १८ धावकले भाग लिएका थिए । सहभागीमध्ये १३ वर्षका भारतीय किशोर साई सुधिर काउडे पनि थिए । त्यसै गरि फुल म्याराथनमा १ सय ५४ जना, एक्सट्रिम अल्ट्रामा १५ जना र हाफ म्याराथनमा २१ जनाको सहभागीता थियो ।

प्रतियोगिता जलवायु परिवर्तनविरुद्ध तथा कस्तुरी मृग संरक्षणको अभियानका लागि गरिएको आयोजक हिमालय एक्सपिडिसनका प्रमूख एवं एभरेष्ट म्याराथनका परिकल्पनाकार विक्रम पाँडे काजीले जानकारी गराए । ‘माओवादी द्वन्द्वका बेला नेपाली पर्यटन ओरालो लागिरहेको बेला खेलकुदमार्फत पर्यटनको पुनस्थापनका लागि हामीले यो प्रयास थालेका थियौं ।

अहिले पनि कोभिड १९ को महामारीबाट थलिएको पर्यटनलाई पुरानै लयमा फर्काउन यो म्याराथनले अहम भूमिका निर्वाह गर्ने हामीले विश्वास लिएका छौं,’ पाँडे काजीले भने, ‘नेपालमा शाहसिक पर्यटनको प्रवद्र्धनमा मानक बनिसकेको यो प्रतियोगिताले विश्व मानचित्रमा देशलाई चिनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।’

कार्यक्रममा अतिथिहरु नेपालका लागि बेलायती राजदुत निकोला पोलिट, अमेरिकी दुताबासका डेपुटी चिफ अफ दी मिसन म्यानुअल पी मिकालर जुनियर, अस्ट्रेलियन हिमालयन फाउन्डेसनका निर्देशक पिटर कन्सेललगायतले प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्नुका साथै वातावरण प्रवद्र्धनका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज परिसरमा गुराँसका विरुवा गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.