3 years ago
November 8, 2021
प्रकाश तिमल्सिना, काठमाडौं
विष्णु गुरुङको जीवन फुटबल वरिपरि नै घुमेको छ । नियमित आम्दानीका लागि फरक व्यवसायमा पनि हात हालेको विष्णुको पहिलो प्राथमिकता भने फुटबल नै रहने गरेको छ । फरक यति हो फुटबलमा उमेर अनुसार जिम्मेवारी भने बदलिएको छ ।
खेलाडीको रुपमा राष्ट्रिय फुटबल टोलीको जर्सी लगाउने सपना पूरा नभएपनि जति पनि उनको परिचय बनेको छ त्यो फुटबलकै कारण बनेको हो । त्यसमा भने उनलाई गर्व छ । सहारा एकेडेमीको पहिलो ब्याचका रुपमा फुटबलको गुण सिकेका विष्णु अहिले विस्तारै फुटबल प्रशिक्षकका रुपमा स्थापित हुने क्रममा छन् ।
बेला बेखत मौका आउँदा कलेज, सि डिभिजन छनोट र थ्री स्टार क्लबको युवा टोलीलाई प्रशिक्षण दिएका ३६ वर्षे विष्णुले प्रशिक्षककै रुपमा पहिलो औपचारिक नियुक्ती भने सहारा एकेडेमीको प्रशिक्षकका रुपमा लिए । आफूले जहाँ फुटबल सिकेको त्यहिको प्रशिक्षकका रुपमा फर्कनु संयोग मात्र त हुन सक्दैन । त्यसका लागि आफूले पनि मेहनत र क्षमता प्रदर्शन त गर्ने पर्ने हुन्छ । थ्री स्टार क्लबमा लामो समय आबद्ध रहेका विष्णुको पछिल्लो नाता भने संकटाका रुपमा जोडिएको थियो ।
सहिद स्मारक ए डिभिजन लिगमा संकटाले दोस्रो स्थान हासिल गर्दाका टोलीका महत्वपूर्ण सदस्य रहेका विष्णु अहिले भने फरक भूमिकामा फर्केका छन् । यसपटक संकटाले उनकै प्रशिक्षणमा ए डिभिजन लिगमा चुनौती पेश गर्ने तयारीमा छ । खेलाडीका रुपमा उनले सोचे जति मैदानमा बिताउँन पाएनन् । तर, फुटबलबाट टाढा जान मन उनलाई छैन । त्यसका लागि विकल्प भनेको उमेर र अनुभवका आधारमा प्रशिक्षण पेशा उनका लागि उत्तम विकल्प लाग्यो ।
सी लाइसेन्स लिइसकेपछि बनेपा ब्वाइज क्लब (बिबिसी) को सी डिभिजन छनोट, आइडिएल कपमा कलेज टोली हुँदै ललित स्मृतिमा थ्री स्टारको युवा टोलीलाई प्रशिक्षण दिएका थिए । सी लिएको केहि समयमै एसियाली फुटबल महासंघ (एएफसी) ले उनलाई बी लाइसेन्स कोर्षका लागि छनोट गर्यो । उनले राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निर्वाह गरे । छोटो अवधिमै उनले राष्ट्रिय टोली तयार पारेर एसियन कप छनोटमा टोलीको प्रशिक्षण सम्हाले ।
बी लाइसेन्स प्राप्त गरेपछि भने उनी प्रशिक्षकका रुपमा सहारा फर्किए । सहाराले दिएको जिम्मेवारीलाई उनले अवसरका रुपमा लिएका छन् । अहिले पनि उनी सहराको प्रशिक्षकका रुपमा कार्यरत छन् । समय समयमा आउने अन्य जिम्मेवारी निर्वाह गर्ने क्रममा भने सहाराले पनि उनलाई साथ दिँदै आएको छ । हाल एकेडेमीको नाम क्लबलाई लामो समयदेखि सहयिग गर्दै आएका प्रायोजकको सम्झनामा सूर्य बहादुर केसी स्मृति सहारा एकेडेमी राखिएको छ । यसवापत केसी परिवारले क्लबलाई वार्षिक १५ लाख सहयोग पनि गरेको छ ।
सहाराका २४ अनाथ बालकहरुलाई प्रशिक्षण दिनु उनको दैनिकी हो । फरक फरक उमेरमा खेलाडी एकेडेमीमा रहेका छन् । त्यसमध्ये ३ खेलाडी त्रिभुवन आर्मी क्लबको प्रशिक्षणमा सामेल भएका छन् । अन्य केहि दुई तीन खेलाडी क्लबबाट खेल्नका लागि तयार भइसकेका छन् । आफ्ना चेलाहरु अब व्यवसायिक फुटबल खेलाडीका रुपमा यात्रा सुरु गर्ने क्रममा लाग्दा विष्णु पनि उनीहरु जत्तिकै उत्साहित छन् ।
एकेडेमीमा भएका खेलाडीलाई सुरुमा त फुटबलको गुण नै सिकाउनुपर्यो । त्यसपछि मात्र प्रतिस्पर्धाका लागि तयार पार्नु पर्ने विष्णुको अनुभव छ । ‘सिनियर खेलाडीलाई प्रशिक्षण दिनु र जुनियर खेलाडीलाई सिकाएर प्रतिस्पर्धाका लागि तयार पार्नु फरक विषय हो’, विष्णु भन्छन्, ‘एकेडेमीमा खेलाडीको विकास क्रम देखि उनको क्षमता चिन्नुपर्ने हुन्छ । क्लब फुटबलमा आइसक्दा उनीहरुले लामो यात्रा तय गरिसकेका हुन्छन् । उनीहरुलाई टिममा सेट गराउने र योजना अनुसार प्रदर्शनका लागि प्रेरित गर्ने हो ।’
संकटालाई त्यसका पूर्व खेलाडी सल्यान खड्गीले प्रशिक्षण दिदै आएका थिए । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को बुटवलस्थित टेक्निकल सेन्टरमा प्रशिक्षकका रुपमा नियुक्त भएपछि संकटाले विष्णुलाई नयाँ प्रशिक्षक नियुक्त गरेको थियो । ‘सल्यान दाई र क्लबलाई मेरो बारेमा राम्रो जानकारी थियो’, उनले भने, ‘खेलाडीका रुपमा मेरो व्यवहार, व्यवस्थापनमा सहयोग र फुटबल प्रतिको मेरो लगाव देखेर नै मलाई प्रस्ताव गर्नुभएको होला ।’
विष्णुले गत साता मात्र एएफसीको ए लाइसेन्स प्राप्त गरेका छन् । सहारामा हुँदा हुँदै यो वर्ष उनले दुई वटा अर्को जिम्मेवारी पनि पूरा गरे । आफै समेत सेयर होल्डर रहेको स्पोर्ट्स कासललाई विष्णुले गत महिना पहिलो ए डिभजन लिग फुटसल च्याम्पियन बनाए । त्यसको केहि दिनपछि आरसी ३२ टोलीलाई सी डिभिजनमा छनोट गराए । त्यसमा प्राविधिक पक्षमा निशान श्रेष्ठ र विष्णुले क्लबको योजना तयार पार्थे ।
आरसी ३२ मा भने उनले पूरा समय दिन पाएनन् । तर क्लबले उनको प्रशिक्षण र योजनामा अघि बढ्नका लागि झण्डै ३ साता पोखरामै अभ्यास राखेको थियो । ‘रविन्द्र चन्दले हाम्रो सल्लाहमा टोलीको प्रशिक्षण पोखरामा राख्नुभयो । त्यो म माथिको विश्वास पनि हो’, उनले भने, ‘फुटबलमा सामूहिक प्रयासबाट मात्र नतिजा निकाल्न सकिन्छ । हामी सबैले आ आफ्नो जिम्मेवारीलाई इमान्दारी पूर्वक निर्वाह गर्नुपर्ने हुन्छ ।’
तनहुँ बन्दीपुर गाउँपालिका वडा नं ६ जन्मेका विष्णुको कर्मभूमि भने पोखरा हो । अहिले पनि उनको परिवार पोखरा सिमलचौर रत्न चोक बस्दै आएको छ । उनले केहि वर्षअघि पोखराको मालेपाटनमा आफैले एकेडेमी सञ्चालन गरेका थिए । त्यहाँ तयार भएका खेलाडी अहिले एन्फाको बुटबल एकेडेमीमा छन् ।
‘मैले राष्ट्रिय टोलीको जर्सी लगाउन पाइन । यू १९ मा छनोट हुँदा पनि आर्थिक कारणले पासपोर्ट बनाउन सकिन’, उनले स्मरण गरे, ‘त्यो मेरो विगत भयो । अब आफूले उत्पादन गरेका खेलाडीले कुनै दिन राष्ट्रिय टोलीको जर्सीमा खेले भने मेरो लागि सबैभन्दा खुसीको क्षण त्यहि हुन्छ ।’
प्रशिक्षकका रुपमा संकटा फर्कदाको उनले चुनौती, दबाब सबैको आँकलन गरेका छन् । ‘प्रशिक्षक सधैं सफल हुन्छ भन्ने छैन । अहिले सँगै खेलेका साथीहरु पनि संकटामा छन्’, उनले भने, ‘मैले आफ्नो नयाँ भूमिकाका बारेमा उनीहरुलाई भनिसकेको छु । खेलाडी हुँदा र प्रशिक्षक हुँदाको जिम्मेवारीका हिसाबले पनि व्यवहारमा अन्तर हुन्छ नै ।’
आफू असफल हुनका लागि नडराएको बताउने विष्णु भन्छन्, ‘असफलताले झन् बढी मेहनत गर्न सिक्न बाँकी रहेछ भन्ने बुझ्नुपर्यो र आफूलाई तयार पार्नुपर्यो । संकटा फर्कदा विगतमा भन्दा राम्रो नतिजा होस् भन्ने अपेक्षा म बाट गरिएको छ । त्यो स्वभाविक पनि हो ।’
‘टोलीको योजना तयार पार्नु र त्यो योजनामा खेल्नु दुई फरक विषय हुन् । खेलाडी र प्रशिक्षक फरक छ । खेलाडी सिपाही हो । प्रशिक्षक कमाण्डर जस्तो हो । दबाब पनि बढी हुन्छ’, उनले सुनाए, ‘प्रशिक्षकले सधै विकल्पको बारेमा पनि सोच्नु पर्ने हुन्छ । एउटा आफ्नो योजना । त्यसमा सफल नभएपछि अर्को योजना पनि तयार हुन्छ । त्यसमा सफलता मिल्छ भन्ने छैन । आफ्नो तर्फबाट भने कोशिस जारी राख्नुपर्छ भन्ने ठान्छु ।’
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]