default_image

3 years ago

October 12, 2021

एसओएस, एन्फा हुँदै जन्मभूमि कर्णालीमा गणेशको फुटबल कर्म

1725 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

एसओएसमा रहेर हुर्के बढेका विंगर गणेश खड्काले दशकअघि एन्फा एकेडेमीबाट बाहिरिने बितिक्कै ए डिभिजन लिगको शीर्ष क्लब मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्ध हुँदा सायदै सोचेका थिए, एकदिन फुटबल नभएकै कारण विदेश जानुपर्ने हुन्छ । तर नेपालमा एक समय फुटबल नै नहुने अवस्था भएपछि जीविकोपार्जनकै लागि मनाङ, हिमालयन शेर्पा, नेपाल पुलिस क्लब हुँदै झापा ११ बाट खेलेका गणेश कतार पुग्नुपर्यो । नियतिले आज उनलाई यस्तो अवस्था पुर्याएको छ, सायद गणेश नेपाली फुटबलको चारै श्रेणी खेल्ने एन्फा एकेडेमीका पहिलो खेलाडी हुन् ।

फुटबलबाहेक केहि सोच नराख्ने उनी विदेशमा केहि वर्ष काम गरेपछि पुन: नेपाल फर्किए । नेपाल फर्किएपछि उनले एकपटक आफ्नो अभिभावक (आमा/बुवा) खोज्ने प्रयास गरे । एसओएसमा रहेको कागजपत्रबाट आफ्नो काकाको ठेगाना प्राप्त गरेका उनले आफ्नो जन्मभूमि कर्णाली प्रदेश रहेको र बुवा-आमा दुवै जिउँदो रहेको पत्ता लगाए । आफ्नो जन्मभूमिप्रति केहि गर्नुपर्छ भन्ने अठोट बोकेका गणेशको एन्फा एकेडेमीका सहकर्मी रोहित चन्दको आरसी ३२ एकेडेमीसँग भेट भयो । आरसी ३२ र गणेशको लक्ष्य एकै भएपछि दुवै सँगै अघि बढ्ने लक्ष्यसाथ अघि बढे ।

यसै साता आरसी ३२ सी डिभिजन लिगको लागि छनोट भयो । आइतबार भएको छनोटको फाइनलमा टाइब्रेकरमा समाजसेवी क्लब झापालाई पराजित गर्दै आरसी ३२ ले श्रेणी फुटबलमा प्रवेश गर्यो । आफ्नो जीवन नै फुटबलमा समर्पित गणेश यस सफलताले आफू नयाँ जीवन पाएको महसुस गर्छन् । फुटबलमै भर परेको उनको जीवनले अब एउटा आधार पाएको छ । खेलाडी जीवनको उत्तरार्धमा उनले आफ्नै क्षेत्रमा फुटबल विकासका लागि काम अघि बढाउने क्षेत्र पाएको महसुस गरेका छन् ।

फाइनल खेल जितेपछि गणेशसँगै टोलीको खुसीयाली पनि हेर्न लायक थियो । डिफेन्डर विदुर रिजालले अन्तिम पेनाल्टीमा गोल गरेपछि सबै खेलाडी आफ्नो समर्थक भएतिर कुदे । जर्सी खोल्दै खुसी मनाउने क्रममा गणेशजति सायदै कोहि खुसी थियो । खेल सकिएको एक घण्टापछि उनीसँग बोल्दा पनि उनमा बेग्लै भाव झल्कन्थ्यो ।

नेपालमा फुटबल गतिविधि अस्पष्ट हुँदा व्यावसायिक जीवन अघि बढाउन नसकेका गणेशलाई व्यक्तिगत जीवनयापनमा पनि कठिनाइ भएको थियो । तर अब व्यावसायिक सफलताले उनको व्यक्तिगत समस्यालाई पनि बिर्साउने आशा राखेका छन् । आरसी ३२ बाट आफ्नो जन्मभूमिमा फुटबल विकास गर्ने लक्ष्य उनको छ । कर्णालीबाट छनोट हुने पहिलो टोली भएसँगै क्लबका पदाधिकारीभन्दा गणेश बढी खुसी देखिन्थे ।

‘सी डिभिजनमा क्लब उक्लेपछि मैले नयाँ जीवन पाएको अनुभूति गरेको छु । मैले अब आफ्नो क्षेत्रमा फुटबलबाट केहि गर्न पाउँछु । अब कर्णालीले पनि आफ्नो आवाज राख्न पाउँछौं । हाम्रो पनि फुटबलमा केहि हक अधिकार रहन्छ । हाम्रो कर्णालीमा रहेका फुटबल संघका मान्छेले आजसम्म के विकास गरे भन्ने खोज्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सुर्खेतबाट रोहित चन्द हो, अनि म पनि यहाँकै रहेछु भन्ने भर्खर थाहा हुँदैछ । रोहित एउटा स्तरमा पुग्न उसले निकै मिहिनेत गरेको छ । तर हाम्रो संघ र जिल्लाबाट यहाँ प्रतिनिधि टोली हुनुपर्छ । झापाबाट ३-४ टोलीले प्रतिस्पर्धा गर्छन् । त्यसैले फुटबल राम्रो छ । अब हाम्रो क्षेत्रमा पनि फुटबल विकास गर्नुपर्छ ।’

गणेश आफ्नो विगत सम्झंदै केहि भावुक पनि भए । बुवा-आमाले छोडेपछि उनलाई हजुरबुवाले एसओएस इटहरीमा लगेका थिए । त्यहीं हुर्के बढेका उनी आफ्नो जीवनमा एसओएसको महत्त्वबारे बताउन नसक्ने बताउँछन् । त्यसो त उनले आफ्नो शरीरमा खोपेको एसओएसका संस्थापक हर्मन माइनरकै ट्याटुले पनि उनको जीवनमा कति महत्त्वपूर्ण छ भन्ने दर्शाउँछ ।

‘मैले सानैदेखि फुटबल बाहेक केहि जानिन । एसओएसमा हुर्किएको मैले त्यहाँको अवस्थाबारे केहि भन्नु नपर्ला । म मरेको मान्छेलाई एसओएसले जोगाएको हो । एसओएसको बारेमा जति नै तारिफ गरेपनि कम हुन्छ । तर जब एन्फा एकेडेमीमा प्रवेश गरें, मैले केहि सोचेर आएको थिइनँ । ममा फुटबलको प्यासन थियो । त्यसैले फुटबल खेल्छु भन्ने थियो । यो बन्छु वा त्यो बन्छु भन्ने थिएन,’ उनले विगत सम्झिए ।

एकेडेमी छोड्ने बितिक्कै गणेशसँगै उनको ब्याचका स्टार विशाल श्रेष्ठ, जगजित श्रेष्ठ, शिव श्रेष्ठ, लगायत खेलाडीहरु मनाङ मर्स्याङ्दीमा अनुबन्धित भएका थिए । त्यसपछि हिमालयन शेर्पा, नेपाल पुलिसबाट समेत खेलेका उनी निरन्तर लिग नहुँदा विदेशिनु पर्ने अवस्था नै आयो । फुटबलबाहेक केहि नजानेको अवस्थामा गतिविधि नै नभएपछि गुजारा चलाउन बाध्य भएर विदेश जानुपरेको दुख उनले साटे ।

‘एकेडेमी छोडेपछि मनाङबाट सुरुवाती रोजाइमा नै खेलेको थिएँ । तर नेपालमा व्यवस्थापनको कमजोरीका कारण नै नेपालमा फुटबल हुन सकेन । जसरि अभिभावकले आफ्ना सन्तानलाई राम्रो बाटो देखाउनुपर्ने थियो, हाम्रो अभिभावक एन्फाले त्यसो गर्न सकेन । बाहिरि रुपमा एन्फाले केहि गरेको जस्तो देखिन्छ, तर भित्रि रुपमा हेर्दा फुटबलमा रहेका सबैलाई कति कठिन छ । हामीजस्तो फुटबलमै भर परेकाले के गर्ने ?’ उनले दुख पोखे, ‘अहिले २८-२९ वर्षमा आएर आफ्नो परिवार थाहा पाएँ । त्यसअघि ६ वर्ष लिग नहुँदा के गर्ने? एक समय राष्ट्रिय स्तरको खेलाडी भएको मान्छेलाई भाडा माझ्ने, खेति किसानी गरेर खान मनले मानेन । त्यसैले विदेश जाने निर्णयमा पुगें ।’

गणेशले विदेशबाट फर्केपछि एक समय बी डिभिजन पनि खेले । ब्वाइज युनियनको जर्सीमा उत्रेर दोस्रो श्रेणीको लिग खेल्नु उनको लागि बाध्यता थियो । आफ्नो धैर्य गर्न नसक्ने बानीले उनलाई कहिँ कतै घाटा परेको गणेश स्वीकार्छन् । तर यसै बानीले गर्दा नै आफूले जन्मभूमिबारे थाहा पाएको पनि बताउँछन् ।

‘मैले बी डिभिजनमा खेल्नु एउटा बाध्यता थियो । मैले त्यसअघि झापा फुटबल क्लब एक्कासी छोडेको थिएँ । झापा गोल्डकपको फाइनलमा आर्मीविरुद्ध खेलका लागि टोलीमा नपरेपछि मैले खेलदौरान नै मैदान छाडें । नियमित सुरुवातमा खेलिरहेको मलाई एक्कासी टिमबाहिर राख्दा एकदम नराम्रो लाग्यो । पुलिस क्लब छोडेर झापाबाट खेल्न आएको मलाई त्यस्तो गरेपछि आत्मा नै एकदम रोयो । खेल सुरु हुनेबितिक्कै मैले त्यहीं क्लब छोड्ने निर्णय गरें र निस्किएँ,’ उनले सुनाए ।

‘म त्यसबेला एकदम धैर्य गर्न नसक्ने थिएँ । मैले आफ्नो गल्ति पनि स्वीकार्नुपर्छ । म केही धैर्य गर्न सक्ने भएको भए म सायद त्यहीं हुन्थें । र सायद धैर्य गर्ने भएको भए परिवारबारे केहि थाहा पाउँदिन थिएँ,’ उनले थपे, ‘दुर्भाग्य भन्नुपर्छ त्यसपछि लिग पनि भएन । झापा छोड्ने निर्णय गर्नु र लिग पनि नहुँदा निकै कठिन भयो । अनि विदेश जानुको विकल्प पनि देखिन । त्यसैले विदेश गएँ ।’

विदेशबाट फर्किएपछि परिवार खोज्ने क्रममा उनी सुर्खेत पुगे । त्यहाँ उनको भेट आरसी ३२ र रोहितका दाइ रविन चन्दसँग भयो । ‘२८-२९ वर्षपछि मैले मेरो बुवालाई भेटें । आमालाई पनि भेटें । म कर्णाली प्रदेशको रहेछु भन्ने थाहा भयो । त्यसपछि मैले रोहित चन्दको दाई रविन चन्दले मलाइ त्यो ठाउँमा धेरै सहयोग गर्नुभयो,’ उनले भने, ‘व्यक्तिगत रुपमा निकै कठिन समय थियो । मलाई कर्णालीमा केहि गर्नु थियो र त्यसमा रविन दाइ र आरसी ३२ ले आधार दिनुभयो । त्यसको लागि म निकै आभारी छु ।’

‘त्यहाँ रहेर हामीले कर्णाली प्रदेशबाट पनि टिम एन्फाको डिभिजनमा चढाउने योजना बनायौं । त्यसपछि मलाई आफू जन्मेको भुमिलाई केहि गर्छु भन्ने भयो । आफूले जानेको फुटबलबाट नै आफू जन्मेको ठाउँलाई पहिचान दिने प्रयास गरेको छु,’ गणेशले हर्षित हुँदै सुनाए, ‘ आजको जितले केहि हदसम्म आत्मसन्तुष्टि मिलेको छ । मैले धेरै नखेलेपनि आफ्नो अनुभवले खेलाडीहरुलाई सहयोग गर्न सकें । मैले जन्मेपछि इटहरी गएर आफ्नो जन्मस्थानलाई केहि गर्न सकेको थिइनँ । आज एकदम खुसी लागेको छ ।’

नेपालमा शीर्ष क्लबबाट लिग र थुप्रै प्रतियोगिता खेलेका गणेश आरसी ३२ बाट सी डिभिजन छनोट खेल्दाको अनुभव भने फरक रहेको बताउँछन् । आरसी ३२ को कप्तानी गर्दै सी डिभिजनमा चढाउँदा गणेशले आफ्नो अनुभव टोलीलाई दिए । तर सँगसँगै धेरै कुरा सिक्ने अवसर पनि पाए ।

‘नेपालमा फुटबल केही नै छैन । जतिसक्दो खेलाडीले आफ्नो मिहिनेत गरेर खेल्ने हो । यहाँ हाम्रो टोलीमा प्रशिक्षक विष्णु गुरुङ दाइ र निशान श्रेष्ठले खेलाडीको मनोबल उच्च पार्न निकै मिहिनेत गरेका छन् । यो स्तरको फुटबलमा हाम्रा प्रशिक्षकले गरेजस्तो काम कसैले पनि गर्दैन,’ उनले सुनाए, ‘रणनीतिक होस् या मानसिक रुपमा, हामीले निकै राम्रा प्रशिक्षक पायौं । सामान्यतया बल रोक्ने र हान्ने जस्तो आधारभूत सिकाउन नै समय लाग्छ । तर हामी एकदम व्यवस्थित ढंगले फुटबल खेलेका छौं ।’

व्यक्तिगत रुपमा एक समय जीवनयापनमै गणेश कठिन अवस्थामा पुगेका थिए । तर आफ्नो नजिकका साथीभाइ र सहकर्मीबाट राम्रो साथ र सहयोगले नै उनमा नयाँ जोश पलायो । अब आरसी ३२ नै उनको लागि नयाँ आधार बनेको छ ।

‘हाम्रो रविन चन्द दाई, विशाल श्रेष्ठ, विशन गौचन, निराजन खड्का, संजिव श्रेष्ठ दाइहरुले निकै सहयोग गर्नुभएको छ । मैले यस्तो भनिरहँदा कतिलाई हाँसो लाग्ला, कतिलाई रुन आउला । म अहिले त्यस्तो अवस्थाबाट गुज्रिरहेको छु,’ फेरी टोलीको जित सम्झेर मुस्कुराउँदै भने, ‘तर आज जित्यौं नि । यो जितले म एकदम खुसी छु । अब मेरो लागि बाटो खुलेको अनुभव भएको छ । अब मेरो लागि पनि क्लबको एकेडेमीमा गएर प्रशिक्षण गर्ने आधार भएको छ । जीविकोपार्जनका लागि कमाइ गर्ने आधार पाएको छु ।’

नेपालमा फुटबल गतिविधि नै नहुँदा खेलाडीहरुलाई निकै असर परेको गणेश बताउँछन् । कम्तिमा फुटबल गतिविधि चलायमान भइरहे खेलाडीलाई सहज हुने उनको बुझाइ छ । उनी फेरीपनि आरसी ३२ को प्रशंसा गर्नथाले ।

‘अहिले कम्तिमा बी डिभिजन, सी डिभिजन भएपनि लिग त भएका छन् । म आफैं आरसी३२ बाट लिग खेलिरहेको छु । रविन दाई, हाम्रो प्रशिक्षक दिलिप अन्सारीले एउटा स्थान दिनुभएको छ,’ उनले भने, ‘यो स्तरमा पनि क्लबले निकै राम्रो पारिश्रमिक दिइरहेको छ । चौथो श्रेणीको फुटबल लिगमा यो पारिश्रमिक धेरै नै राम्रो हो । कम्तिमा खेल आयोजना भइरहने हो भने हामी बाँच्छौं नि ।’

सुर्खेतमा आउँदाको सुरुवाती दिनको स्मरण गर्दै गणेशले आफ्नो पिडाको समय सम्झिए । ‘विदेश गएर फर्केपछि पनि फुटबलबाहेक केहि सोच्न सकिन । दुई वर्ष हुँदैछ म सुर्खेतमा आएको । आफू जन्मेको ठाउँ भनेपछि बेग्लै महसुस भयो । तर त्यहाँ बसेर केहि गर्छु भनेर मात्र पनि नहुने,’ उनले भने, ‘ आफूले जानेको फुटबल अनि आरसी ३२ ले मलाई केहि गर्ने अवसर दियो । त्यसैले यसमा नै ध्यान दिएर लाग्न थालें । अब हामी माथि चढेका छौं । यो भन्दा ठूलो कुरो केहि छैन । सानैदेखि माया गरेको फुटबलमा अब केहि गर्ने अवसर आएको छ । अहिले म ३३-३४ वर्ष पुगें । मेरो जीवनमा फुटबल नै हो जानेको । अब आफ्नै प्रदेशको टिम पनि छ ।’

जीवनमा अनेक परिस्थितिको सामना गर्नुपरेका गणेशलाई कुनै पछुतो भने छैन । ‘तर जे भयो राम्रो भयो । आफू जन्मेको भूमिमा बसोबास गर्दै आएको छु । आफ्नो बुवाआमा हुनुहुन्छ भन्ने थाहा पाएको छु । जीवनको झन्डै तीन दशक अनाथ थिएँ भनेर हिडेको मान्छे, अहिले बुवाआमा हुनुहुन्छ भन्ने छ । भलै वहाँहरु आ-आफ्नो जीवनमा व्यस्त हुनुहुन्छ, मनमा आनन्द छ,’ उनले भने ।

‘सायद मैले पहिले खोजेको भए भेट्थें पनि होला तर खासै थाहा भएन । पछि विदेशबाट फर्केपछि एसओएसको कागजात हेर्दा काकाको नाम थाहा पाएँ । काकाको घर पाम्का भन्ने ठाउँ रहेछ भन्ने थाहा भएपछि आफैं गएँ । वहाँहरुलाई भेटेपछि आ-आफ्नो जीवनमा खुसी हुनुहुँदो रहेछ । ठिकै छ सबै । वहाँहरु जिउँदो हुनुहुन्छ, त्यसमा खुसी छु । गरेर खाने त आफैंले न हो । वहाँबाट केहि आशा छैन,’ उनले सुनाए ।

गणेश आफैं पनि अहिले अभिभावक भएका छन् । चार महिनाअघि छोरीको जन्म भएपछि आफ्नो भाग्य फिरेको गणेश बताउँछन् । ‘अहिले त म आफैं पनि परिवारको मान्छे । छोरी पनि छ । तर अलिकति तनावमा पनि छु । छोरी धेरै नै विमारी परिरहन्छिन् । त्यसैले पनि यो प्रतियोगिता चढ्नु मेरो लागि व्यक्तिगत रुपमा पनि निकै महत्त्वपूर्ण थियो । एकातर्फ छोरीको कारण केहि तनाव थियो, तर जसोतसो हामी सफल भयौं । म आफूलाई भाग्यमानी पनि ठान्दछु । मेरो छोरीको जन्मपछि धेरै राम्रो पनि भएको छ,’ उनले भने ।

‘विगतमा पनि म राम्रो फुटबल खेल्थें, तर सफलता खासै पाएको थिइनँ । तर अहिले छोरी आएपछि म पुरानो गणेश खड्का त होइन, तर आफूमा केहि गर्न सक्छु भन्ने आत्मविश्वास छ । छनोटमै पनि मैले धेरै समय मैदानमा बिताएको होइन, तर जब म मैदानमा छिर्छु केहि गर्छु भन्ने हुन्छ,’ उनले अनुभव सुनाए, ‘फाइनलमा पनि देख्नुभयो, अन्तिम १० मिनेट छिरेको थिएँ, राम्रो गरें । जित्न पनि सक्यौं । त्यसअघिका खेलमा पनि म प्रवेश गरेपछि जित हासिल गर्न सफल भएका थियौं । मेरो छोरी नै भाग्य बोकेर आएको जस्तो लाग्छ ।’

‘फेरी म आफैं क्रिस्टियानो रोनाल्डोको एकदम ठूलो फ्यान । उनको नाम पनि क्रिस्टिना राखेको छु । म छोरी पाएपछि आफूलाई भाग्यमानी ठानिरहेको छु,’ गणेशले भने ।

व्यावसायिक रुपमा नेपाली फुटबलको व्यवस्थापनबाट ठगिएका गणेशले त्यसको कारण व्यक्तिगत रुपमा पनि निकै कठिनाई भोगे । अब व्यक्तिगत र व्यावसायिक जीवन दुवैलाई अघि बढाउन उनले नयाँ बाटोमा अघि बढ्दैछन् ।

‘अब मेरो लक्ष्य भनेको धेरै भन्दा धेरै खेलाडी खोज्नु हो । हाम्रो स्थानीय स्तरबाट खेलाडी खोज्ने काम हो । अब रविन दाइले मलाई लगाउने नै गाउँबाट खेलाडी खोज्ने हो । मेरो आम्दानी गर्ने गर्ने आधार यहि क्लबका लागि काम गरेर अघि बढ्ने हो,’ उनले भने, ‘ अहिले पनि यो छनोट खेल्न आउँदा मैले दुई खेलाडी गाउँका प्रतियोगिताबाट नै लिएर आएको हो । अब त क्लब माथि चढेपछि एउटा सिस्टम बनाउने हो र त्यसै अनुसार आफू चल्ने हो । एकडेमीबाट खेलाडी उत्पादन गर्ने हाम्रो योजना छ ।’

आरसी ३२ का संस्थापक रविन चन्द, जो रोहितका दाइ र व्यवस्थापक पनि हुन्, उनले गणेशलाई अब क्लबको एकेडेमी र प्राविधिक पक्ष जिम्मा दिने सोच रहेको बताए । ‘गणेश र रोहित एकै ब्याचका खेलाडी, उ कस्तो खेलाडी हो भन्ने हामी सबैले देखेका छौं । नेपालमा फुटबल नहुनुको दुर्भाग्य भनौं उसले सोचेजस्तो करिअर अघि बढाउन सकेन । तर क्षमता भएको मान्छे हो,’ उनले भने,’ सुर्खेतकै भन्ने थाहा पाएपछि हामीले सहकार्य गरौं भनेका थियौं । अब क्लब माथि चढेको छ । उनलाई लिएर नै क्लब अघि बढ्नेछ ।’

२०७१ मा स्थापित भएको आरसी ३२ ले अब सुर्खेतमा नै स्थानीय स्तरको संलग्नतामा एकेडेमी संचालन गर्ने प्रयास गरिरहेको छ । यसअघि गरिएको प्रयासमा खासै साथ नपाएपनि अब भने क्लबले सी डिभिजन उक्लेपछि त्यो हासिल गर्न सकिने रविनको विश्वास छ ।

खेलाडीका रुपमा आफ्नो उच्च प्रदर्शन देखाउने ठाउँ नपाएका गणेश फुटबलभन्दा टाढा रहन सकेनन् । भाग्यवश उनको भेट आफ्नै प्रदेशको आरसी ३२ सँग भयो । दुवैको लक्ष्य एक भएकाले नै अब कर्णाली फुटबलको विकासमा आरसी ३२ ले राम्रो सारथी पाएको छ । सी डिभिजन छनोट भएसँगै अब क्लबले खेलाडी उत्पादनमा ध्यान दिने लक्ष्य राखेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा कागजमा मात्र सिमित गतिविधिलाई अब आरसी ३२ ले चलायमान बनाउने अवसर छ । कम्तिमा कर्णालीको गाउँमा रहेका केहि प्रतिभाले अब अवसर पाउने भने पक्का छ ।

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]

Success

Thank you for your time.