3 years ago
September 8, 2021
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफाको मान्यता प्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विहीबार बंगलादेशको सामना गर्दा दशरथ रंगशालामा पहिलो पटक खेल्दै हुनेछ । यसअघि उमेर समूहको राष्ट्रिय टोलीले रंगशालामा खेलिसकेपनि सिनियर टोलीले भने खेल्न पाएको थिएन ।
सन् २०१६ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमार्फत महिला टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो । साफ महिला च्याम्पियनसिप २०१६ को तयारीस्वरूप खेलिएको उक्त खेलमा नेपालले १-० को जित दर्ता गरेको थियो । त्यो खेल प्रशिक्षक कुमार थापाको पहिलो थियो । थापाले उक्त खेलमा ६ खेलाडीलाई डेब्यू दिएका थिए ।
थापाकै नेतृत्वमा नेपाली टोलीले भारतको सिलिगुडीमा भएको साफ च्याम्पियनसिपमा प्रदर्शन त सुधार्यो, तर नतिजा हेर्दा भने टोली असफल देखिन्छ । साफ च्याम्पियनसिपको इतिहासमा फाइनल पुग्न नसकेको एकमात्र प्रतियोगिता त्यहि नै बन्यो । भारत अर्को समूहबाट उपविजेता बन्दै आएपछि समूह विजेता नेपाल सेमिफाइनलमा पराजित भएको थियो ।
नेपालले सन् २०१९ मा पहिलो पटक महिला सिनियर टोलीको प्रतियोगिता आयोजना गर्ने क्रममा विराटनगरमा महिला साफ च्याम्पियनसिप आयोजना गर्यो । उपाधि यात्रामा पुन: एकपटक भारत तगारो बन्दा नेपाल उपविजेतामा सिमित भयो । त्यसपछि सन् २०१९ मा पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि नेपालले भारतलाई हराउन सकेन ।
दशरथ रंगशालामा नेपालले पहिलोपटक खेल्दा टोलीमा ७ नयाँ खेलाडी डेब्युको प्रतीक्षामा हुनेछन् । विदेशी प्रशिक्षक ग्यारी फिलिप्सले आक्रमणमा नयाँ खेलाडी उतार्ने सम्भावना प्रबल छ । टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी चोटका कारण बाहिर हुनु र अर्की फरवार्ड शर्मिला थापा टोलीमा नै नपर्नुले पनि युवा खेलाडीलाई अवसरको ढोका खुलेको छ ।
मुख्य फरवार्डको भूमिकामा प्रशिक्षक फिलिप्सले अनिता केसीलाई पनि प्रयोग गर्न सक्छन् । उनलाई साथ दिन सरु लिम्बु पनि उपलब्ध छिन् । यसबाहेक युवा फरवार्डत्रय रजनी थोकर, रश्मी घिसिङ र सविता राना डेब्युको प्रतिक्षामा रहनेछन् । तीनैजना महिला फुटबलमा नेपालको उर्वरस्थल रौतहटका हुन् । रश्मी भने गत वर्ष आर्मीमा अनुबन्धित भएकी थिइन् । मिडफिल्डर प्रिती राई पनि दोस्रो फरवार्डको रुपमा खेल्दै डेब्यु गर्ने सम्भावना रहेको छ ।
डिफेन्समा निशा थोकर, सिर्जना सिंह र विमला विक पहिलो पटक टोलीमा परेका छन् । यसबाहेक टोलीमा नियमित खेल्दै आएका गीता राना, हिरा भुजेल, पुनम जर्घा मगर, अमृता जैसी र पुजा राना आफ्नो स्थान बलियो पार्न तत्पर छन् । हिरा र गीताको स्थान पक्का जस्तै देखिन्छ ।
गोलरक्षकमा पनि टोलीमा तीव्र प्रतिस्पर्धा छ । लामो समयदेखि टोलीको पोस्ट सम्हालेकी एन्जिला तुम्बापो सुब्बालाई अन्जना राना मगर र उषा नाथले चुनौती दिइरहेका छन् । अन्जनाको घरेलु फुटबलमा उच्च प्रदर्शन रहेकोले पनि उनले स्थान बनाउन सक्छिन् । प्रशिक्षक फिलिप्सले तीनै गोलरक्षकमध्य जो पनि खेल्न सक्ने बताएका छन् ।
मिडफिल्डमा नेपालले दिपा राई र रेनुका नगरकोटेको अनुभवको सदुपयोग गर्नेछ । यी दुवै भर्खर चोटबाट फर्केकाले प्रशिक्षक फिलिप्स केहि संयम रहन सक्छन् । इन्दिरा राई यी दुईलाई केहि विश्राम दिन विकल्पका रुपमा रहनेछिन् । यसबाहेक अनिता बस्नेत, विमला चौधरी र मन्जली तामाङमध्य दुई जनाले विंगमा खेल्नेछन् ।
नेपालले आफ्नो टोलीको बलियो पक्ष अनुसार सुरुवाती एघार घोषणा गर्ने प्रशिक्षक फिलिप्सले बताएका छन् । प्रशिक्षणका दौरान र खेलअघि उनले दिएको अभिव्यक्ति सुन्दा नेपालले ४-५-१ को रणनीतिमा खेल्ने देखिन्छ । गोलरक्षकमा छनोटको तीव्र प्रतिस्पर्धा रहँदा डिफेन्समा राइट ब्याक पोजिसनमा प्रतिस्पर्धा रहेको छ ।
सरु लिम्बु यसपटक टोलीको मुख्य केन्द्रमा रहने देखिन्छ । आक्रमण र मिडफिल्ड दुवैमा खेल्न सक्ने उनलाई ‘फ्री रोल’ मा खेलाउने तयारी गरेका छन् । एपीएफबाट पनि यसै भूमिकामा तिखारिएकी सरुसामु राष्ट्रिय टोलीमा सावित्राको कमी महसुस हुन नदिन राम्रो अवसर छ । उमेर समूहमा कप्तानी गर्दै नेतृत्वदायी भूमिकामा आफूलाई अघि उभ्याएकी सरु अब राष्ट्रिय टोलीमा पनि अघि आउने अवसर छ ।
यसअघि विभागीय टोलीको वर्चस्व रहने टोलीमा यसपटक मोफसलका केहि खेलाडी पनि छन् । यी खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा कस्तो प्रदर्शन गर्छ त्यो हेर्न बाँकी छ । मोफसलका टोलीमा सिमित अवसर पाउँदा पनि सिनियर टोली यात्रा तय गरेका यी खेलाडीले आउने दिनमा गर्ने प्रदर्शनले पनि उनीहरुको भविष्यको बाटो कोर्नेछ ।
बंगलादेशविरुद्ध खेल नेपालका लागि इतिहास हेर्ने हो भने अवसर भन्दा दबाब बढी हुने देखिन्छ । सावित्राको अनुपस्थितिले यसैपनि मानसिक रुपमा केहि दबाबमा रहेको टोलीसामु बंगलादेशविरुद्ध जित हासिल गर्नुपर्ने छ । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म बंगलादेशसँग हार बेहोरेको छैन । हालसम्म खेलेका ६ खेलमा नेपालले ५ जित र १ बराबरी खेलेको छ । पछिल्ला खेलमा बंगलादेशले आफ्नो प्रदर्शन भने निकै सुधार गरेको छ ।
उमेर समूहमा बंगलादेश पछिल्लो समय नेपालमाथि हावी हुँदै आएकोले पनि बंगलादेशको महिला फुटबल सुधारिएको आँकलन गर्न कठिन छैन । अझ प्रशिक्षक गोलाम नै टोलीसँग निरन्तर काम गरिरहेका छन् । उनले उमेर समूहदेखि आफैं ल्याएका खेलाडीलाई अहिले सिनियर टोलीमा खेलाउँदै छन् । उनलाई आफ्नो टोलीबारे सम्पूर्ण जानकारी छ ।
नेपालका प्रशिक्षक ग्यारी फिलिप्स एक महिनायता टोलीसँग छन् । सिनियर टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो । उनीबिना टोलीले दुई साता प्रशिक्षण गरेको थियो । यसअघि टेक्निकल डाइरेक्टरका रुपमा टोलीमा रहेका उनीसँग सहायक प्रशिक्षकका रुपमा चेतन घिमिरे, अरुणा गुरुङ, भगवती थापा र श्रीप्रकाश वैद्य छन् । अरुणा राष्ट्रिय टोलीमा यसअघि पनि रहेकी थिइन् भने अन्य सबै पहिलो पटक राष्ट्रिय टोलीमा आएका हुन् । चेतन र भगवती भने क्लब टोलीमा रहेका थिए ।
यसअघि टोलीका प्रशिक्षक रहेर हाल महिला फुटबल विभागका प्रमुख हरि खड्काले टोलीलाई नजिकबाट साथ दिइरहेका छन् । तर नेपाली टोली उच्च लयमा हुँदा पनि खड्काको नेतृत्वमा टोली उपाधि विहिन बनेको थियो । खड्का आफैंले नतिजा दिन नसकेको भन्दै पद छोडेका थिए । उनले छाडेपछि अहिले टोलीमा निकै परिवर्तन भएको छ ।
युवा खेलाडीको बाहुल्यता रहेको टोलीले यसपटक घरेलु मैदान, अझ त्यसमाथि दशरथ रंगशालामा खेल्दैछ । एसियन कप छनोटको तयारीस्वरूप रहेको यस मैत्रीपूर्ण सिरिज खेलाडीका लागि अनुभव बटुल्ने र प्रशिक्षकका लागि खेलाडी चिन्ने अवसर हो । इतिहास रच्न लागेको यस टोलीले बंगलादेशविरुद्ध खेल एसियन छनोटको तयारी त छँदै छ, घरेलु समर्थकमाझ महिला फुटबलको अर्को युग कस्तो छ भन्ने देखाउने अवसर पनि छ ।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]