default_image

4 years ago

August 1, 2021

व्यक्तिगत ‘इगो’ मा अल्मलिएको फुटबल

193 views

0 Bookmark

फेयर प्ले

प्रकाश तिमल्सिना, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) मा विवाद नयाँ विषय होइन । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीचको असहमति सैद्धान्तिकबाट अब व्यक्तिगत तहमै पुगिसकेको छ । त्यसैले पनि एन्फामा दुई कित्ता प्रष्ट भइसकेको छ ।

एन्फा कार्यसमितिको आवधिक निर्वाचनका लागि अब एक वर्ष भन्दा कम समय छ । निर्वाचनको मिति नजिकिदै जाँदा गुटबन्दी थप प्रष्ट हुँदै जाला । पछिल्लो समय एउटा घटनाले एन्फा विवादको आगोमा घ्यू थप्ने काम गरेको छ । हेर्दा सामान्य लाग्ने विवादले ठूलो रुप मात्र लिएन त्यसले फुटबल भित्र झनै ठूलो कित्ताकाटको सम्भावना बढेर गएको छ । विवादको सुरुवात र त्यसलाई तत्काल समाधानका लागि प्रयास गर्नुको सट्टा नयाँ नयाँ कथा कहानी थपिदै जान थालेको छ । त्यसले पनि यो विवादले झनै उग्र रुप लिने सम्भावना बढेको देखिन्छ ।

देख्नका लागि दुई सञ्चारकर्मीसँग राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुवेती अब्दुल्लाह अलमुताइरीको विवादबाट घटनाक्रमको विकास भएको छ । समाचार संकलनका लागि असार ७ गते एन्फा पुगेका सञ्चारकर्मीले एन्फा कम्पाउन्डको बाहिर चुरोट तान्दै गरेका अलमुताइरीलाई प्रश्न गरे । विवादको सुरुवात त्यहिंबाट भएको थियो । उनले त्यसको जवाफ दिनुभन्दा उल्टै मलाई सोध्ने तिमी को हौं भनेर प्रतिप्रश्न गरेको भन्ने घटनाबाट माहौल तातेको थियो ।

सञ्चारकर्मीले सर्वजनिक स्थलमा चुरोट पिउने विषय सोध्न हुन्थ्यो वा हुन्थेन भन्ने विषयमा बहस गर्न सकिन्छ । तर, जसरी अलमुताइरीले झर्कदै जवाफ दिए त्यो जिम्मेवारीमा बसेका व्यक्तिका लागि शोभा दिने विषय होइन । घटनाका विषयमा दुवै पक्षका आ आफ्नै दाबी छन् । त्यसको निष्पक्ष छानबिन नहुँदा सम्म दुवैपक्षको दाबी मात्र मान्न सकिन्छ ।

दुवै पक्षले आफ्नो अपमान भएको सम्झदा त्यसलाई समाधान गर्ने विषयमा सम्बन्धित कसैको चासो पुगेको देखिन्न । झन् त्यो त बढेर लहरो तान्दा पहरो गर्जे जस्तो अवस्थामा पुग्यो । हरेक दिन घटनामा नयाँ नयाँ मोड आउन थाल्यो । आजसम्म पनि त्यो सिलसिला रोकिएको छैन । अहिलेको अवस्था हेर्दा यो विवाद सजिलै समाधान हुने देखिदैन ।

अलमुताइरीले दुर्व्यवहार गरेको घटना असार ८ गते एउटा अनलाइनमा प्रकाशित भयो । सञ्चारकर्मीमाथि गरिएको त्यो दुर्व्यवहारको खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्च देखि नेपाल पत्रकार महासंघ र एसोसोसिएट प्रदेशले समेत घटनाको विरोधमा विज्ञप्ती जारी गरे ।

असार १० गते घटनाले नयाँ मोड लियो । अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत समर्थकलाई सम्बोधन गरेर राजीनामा दिने घोषणा गरे । उनले घोषणा मात्र गरेनन् एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङमाथि गम्भिर आरोप पनि लगाए । नेपाली फुटबलमा विदेशी प्रशिक्षकले सर्वजनिक रुपमै एन्फा पदाधिकारीको बारेमा लेखेको यो नै पहिलो घटना हो ।

तीन सातादेखि आफ्नो काममा एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले बाधा पुर्याएको आरोपसहित उनले राजीनामाको घोषणा गरेका थिए । त्यसै दिन विषयमा नयाँ नयाँ मोड थपिदै गए । नेम्बाङले निर्वाचनलाई प्रभाव पार्ने गरि आफूमाथि विना आधार मुख्य प्रशिक्षकले आरोप लगाएको बताए । तीन दशक भन्दा लामो समयदेखि फुटबलमा आफूले पुर्याएको योगदानलाई सखाप पार्ने गरि षड्यन्त्र भइरहेको नेम्बाङले आशंका मात्र गरेनन् , आरोप प्रमाणित गर्न चुनौती समेत दिए । प्रमाणित भएमा आफू पदबाट राजीनामा दिने समेत बताए । सोही दिन सञ्चारकर्मीले पनि छानबिनको माग गर्दै एन्फामा निवेदन दर्ता गराइन् ।

नेम्बाङले असार ११ गते छानबिनको माग गर्दै निवेदन दर्ता गराए । अलमुताइरीले पनि असार १४ गते वरिष्ठ उपाध्यक्ष र दुई सञ्चारकर्मीले आफ्नो व्यक्तिगत स्वतन्त्रता हनन गर्दै अवान्छनीय कार्य गरेको भन्दै एन्फामा अर्को निवेदन दर्ता गराए । उनले सञ्चारकर्मीले व्यक्तिगत स्वतन्त्रता र आफ्नो गोपनीयतामाथि बाधा पुर्याएको आरोप लगाएका छन् । उनले आफ्नो निवेदनमा घटनाको विवरण, त्यसबाट आफूले भोगेको पीडा र नेम्बाङको व्यवहारका बारमो लेखेका छन् ।

आफूमाथि सञ्चारकर्मीले गरेको व्यवहारमा एन्फा पदाधिकारीले बचाउ गर्नुको सट्टा प्रोत्साहित गरेको उनको गुनासो छ । उनले छानबिन गरि सत्यतथ्य छानबिनको माग गर्नुकासाथै साउन २६ गते सम्म विषय नटुंगिएमा राजीनामा दिएर नेपाल छाड्ने पनि उल्लेख गरेका छन् । यति सबै घटना भइराख्दा पनि अलमुताइरीले लिखित राजीनामा भने बुझाएका छैनन् । एन्फाकै आग्रहमा उनले आफ्नो राजीनामा स्थगित गरेको बताएका छन् । उनी कतार फुटबल संघको सहयोगमा चैतमा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

यो विवादमा फुटबल समर्थक अलमुताइरीको पक्षमा देखिएका छन् । नेम्बाङ र सञ्चारकर्मीको भागमा गालीको वर्षा नै भएको छ । समर्थकको त्यो भावनालाई बुझेर नै अलमुताइरीले फेसबुकलाई आफ्नो बचाउको माध्यम बनाएका छन् । तर विस्तारै अलमुताइरीविरुद्ध पनि फेसबुकमा कमेन्ट आउन थालेका छन् ।

असफल एन्फा

मुख्यतः पछिल्लो विवादमा छलफल गर्न शुक्रबार एन्फा केन्द्रिय समितिको आपतकालीन बैठक बस्यो । आन्तरिक रुपमा विवाद समाधान गर्ने सम्भावना नदेखेपछि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि अनुरोध गर्ने निर्णय गर्दै बैठक टुंगियो । अब छानबिनको प्रक्रिया कसरी अघि बढ्छ र त्यसलाई सबैले स्वीकार गर्छन् गर्दैनन् त्यसका लागि केहि समय कुर्नैपर्ने हुन्छ ।

तर, के विवाद र घटनाक्रममा एन्फाले सुरुमै समाधान गर्ने प्रयास गर्यो त ? एक शब्दमा भन्ने हो भने गरेन । एन्फा त्यहि चुकेको छ । कुनै पनि घटना भइसकेपछि त्यसबाट उत्पन्न हुन सक्ने प्रति घटनालाई ध्यान दिन एन्फा नेतृत्व पूर्णत असफल भएको छ । सञ्चारकर्मी र प्रशिक्षकबीचको विवादले अन्ततः एन्फा भित्रको आन्तरिक राजनीतिमा एक अर्काको विरुद्धमा बोल्नका लागि अर्को एउटा विषय थपिएको छ ।

सुरुमा दुई पक्षबीच देखिएको विवादमा अब त्रिपक्षीय भएको छ । सञ्चारकर्मी र वरिष्ठ उपाध्यक्षले अलमुताइरीविरुद्ध तथा उनले पनि दुई पक्षविरुद्ध छानबिनको माग गरेका छन् । स्वभाविक छ घटनाको छानबिनको माग गर्ने अधिकार सबैमा हुन्छ नै । सबैले आफ्नो पक्ष राख्न पाउनुपर्दछ । वरिष्ठ उपाध्यक्ष पनि त्यहि विषयमा जोडिएपछि एन्फालाई छानबिन गर्न कठिन भएको बुझ्न गाह्रो छैन । पहिला देखि नै रहेको एन्फाको दुई कित्ता यो विषयमा पनि देखिएको छ । नेम्बाङलाई अर्का दुई उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामाले सहयोग गरिरहेका छन् । तीन पदाधिकारी र सदस्यको मोर्चा यसअघि नै विभिन्न विषयमा संस्थापनको विरोधमा खुलेर उभिएको थियो ।

केन्द्रिय समितिको बैठकमा अलमुताइरीलाई बोलाउने निर्णय एन्फाका लागि प्रत्युत्पादक बनेको छ । जबकी अनौपचारिक रुपमा नेम्बाङ र अलमुताइरीबीच सहमति गराउने त्यसअघिको पटक पटकको प्रयास असफल भइसकेको थियो । दुवै पक्ष आ आफ्नो भनाईबाट टसमस भएका थिएनन् । नेम्बाङले आफूसँग माफ माग्नु पर्ने अलमुताइरीले एन्फा पदाधिकारीसँग बताउँदै आएका थिए । नेम्बाङले पनि जसरी फेसबुकमार्फत आफूमाथि आरोप लगाउने काम भएको थियो अलमुताइरीले त्यसरी नै सरी भन्नुपर्ने सर्त राखेका थिए । दुवैलाई अर्को पक्षको प्रस्ताव मन्जुर थिएन ।

त्यसका वावजुद सबैलाई मान्य हुने निर्णय गर्न केन्द्रिय समिति असफल हुनुले एन्फा नेतृत्वमाथि प्रश्न स्वभाविक रुपमा उठ्ने नै भयो । एन्फाले विवादकै विषयलाई लिएर छलफल गर्न केन्द्रिय समिति बैठक बोलाएको थियो । सबै पक्षले निवेदन दिएका थिए । त्यहि तीन वटा निवेदनका आधारमा छानबिन गर्नका लागि एन्फाले आफैले पहल लिनुपर्नेमा त्यो हुन सकेन । एन्फा भित्रकै अनुशासन समिति, इथिक्स कमिटी वा एन्फाले नै अर्को छानबिन समिति गठन गर्ने आट गर्न सकेन ।

एन्फा अध्यक्ष शेर्पाकै आग्रहमा अलमुताइरीलाई बैठकमा बोलाउन नेम्बाङ सहमत भएका थिए । तर जब उनी बैठकमा प्रवेश गरे त्यसपछि माहौल झन बिग्रिएको बुझिन्छ । आफूविरुद्धको निवेदन पढ्ने क्रममै अलमुताइरीले एन्फाले आफ्नो बचाउ नगरेको भन्दै रिसाएर त्यहाँबाट निस्केका थिए । मौहल शान्त हुनुको सट्टा झन् गरम भयो । अलमुताइरीलाई केहि न केहि कारवाही गर्नुपर्ने प्रस्तावमा अध्यक्ष शेर्पा तयार भएनन् ।

कतार फुटबल संघसँगको सम्बन्ध बिग्रने डरले पनि उनी अलमुताइरीमाथि तत्काल कुनै कारवाही नगरी सकेसम्म मिलाउन चाहेको बुझिन्छ । वर्षौंदेखि कतार फुटबलले गर्दै आएको सहयोगका कारण पनि शेर्पा कम्तीमा आफ्नो समयमा त्यो सम्बन्ध बिगार्ने जोखिम उठाउन नचाहेको देखिन्छ । अहिले सम्म एन्फाले अलमुताइरीको विषयमा कतारसँग छलफल गरे नगरेको केहि सार्वजनिक भएको छैन ।

शेर्पामाथि अलमुताइरी हावी हुँदै गएको फुटबलबृतमा चर्चा चल्न थालेको केहि समय भइसकेको छ । अलमुताइरी पनि आफ्नो जिम्मेवारी भन्दा फुटबलका अन्य विषयमा चासो राख्न थालेको भन्दै एन्फा भित्रैबाट आलोचना हुन थालेको छ । अझ राष्ट्रिय टोलीमा रहेको कतिपय खेलाडीलाई लिगमा यो क्लबमा जानु, यति पैसा दिएमात्र सम्झौता गर्नुभन्ने सम्मको तहमा अलमुताइरी पुगिसकेको फुटबलमा केहि अघिबाट गाइगुइ सुरु भइसकेको छ । यसअघि कुनै पनि विदेशी प्रशिक्षकले फुटबलको आन्तरिक मामलामा यति धेरै चासो र हस्तक्षेप गरेको देखिएन ।

अर्को देशको फुटबल संघको सहयोगमा वा विदेशी भन्दैमा एन्फा नेतृत्वले पनि उनलाई बढी छुट दिएको देखिन्छ । जबकी उनको दायर भनेको राष्ट्रिय टोली निर्माण र त्यसको प्रदर्शनसँग मात्रै हुन्छ । उनले पनि आफ्नो दायरा नाघ्दै गएको सवालमा मौन बस्नुले पनि एन्फा नेतृत्वमाथि उनी हेपाहा शैलीमा प्रस्तुत भएको बुझ्न सकिन्छ ।

एउटा अन्तवार्ताका क्रममा उनले फुटबल विकासका लागि एन्फा पदाधिकारीले परिवर्तन हुन जरुरी छ भनेका छन् । त्यसले पनि नेम्बाङलगायतका पदाधिकारी चिढिएको बुझिन्छ । उनले एन्फा महासचिव इन्द्रमान तुलाधर र सहायक प्रशिक्षक किरण श्रेष्ठमार्फत अलमुताइरीलाई आफ्नो असन्तुष्टी जाहेर गरेकाबाट पनि विवादमा उनी परिसकेका थिए । घर झगडामा छिमेकीले कसरी खेल्न सक्छन् भन्ने एउटा उदाहारण यसलाई मान्न सकिन्छ ।

अर्को अन्तर्वार्तामा शर्पाबाहेक कोहि अध्यक्षमा निर्वाचित भएर आएको खण्डमा आफू प्रशिक्षकका रुपमा नबस्ने भन्नुले पनि एन्फाका अन्य पदाधिकारीले अपमानका रुपमा बुझ्नु स्वभाविक हुन्छ । यता बैठकमा शेर्पाको मिलाउने त्यो प्रयास सफल हुनुको सट्टा अलमुताइरीको व्यवहारले नेम्बाङ पक्षलाई बैठकबाट बाहिरिने मौका मिल्यो ।

एन्फाले खासमा जुन विषयमा छलफल गर्ने पर्ने थियो, त्यसमा झगडियालाई नराखी तीनै पक्षलाई स्वीकार हुने निर्णय गर्न सकेको भए अवस्था केहि सम्हालिन सक्थ्यो । उनकै विषयमा पनि छलफल गर्नुपर्ने भएकाले नेम्बाङलाई त्यो बैठकमा नराखी छलफल गर्नेतर्फ एन्फाको ध्यान पुग्न सकेन । यदि एन्फाले त्यो तर्क गरेको भए नेम्बाङ राजी हुन सक्थे ।

एन्फाले सर्वसम्मलितमा एउटा छानबिन समिति गठन गरेर त्यसलाई सबै पक्षले स्वीकार्नुपर्ने वातावरण तयार पार्नुको सट्टा बल आफ्नो कोर्टबाट मन्त्रालयको कार्टमा पुर्याएको छ । अनुमान गर्न गलत हुन सक्छ । तर मन्त्रालयले विभिन्न विषयमा यसअघि गरेको निर्णय हेर्दा विवाद समाधान हुने सम्भावना अझै पनि देखिन्न ।

तत्काल विवादको समाधान निस्कने सम्भावना पातलो हुँदै गइरहेको छ । यहि समयमा नेपालले साफ च्याम्पियनसिप आयोजनाका लागि पनि पहल गर्दैछ । अर्कोतर्फ राष्ट्रिय टोली साफ च्याम्पियनसिपकै तयारीमा जुटेको छ । नेपालले साफ च्याम्पियनसिप आयोजना गर्ने र त्यसमा भाग लिएर उच्च प्रदर्शन गर्ने तयारीमा जुट्न भन्दा सहायक विषयमा बढी केन्द्रित हुनु परेको छ । यो पक्कै सुखद संकेत होइन ।

विवाद समाधान गर्न सकिन्न भने अलमुताइरीलाई विदा गरेर एन्फाले अर्को प्रशिक्षकको व्यवस्था गर्न लाग्नुपर्यो । सबै पक्ष एक कदम पछि नहट्ने हो भने छानबिनबाट जे निष्कर्ष आएपछि विवाद समाधान हुने देखिन्न । अलमुताइरीले आफूले भनेकै जस्तो नहुने हो भने नबस्ने संकेत निवेदनबाट पनि गरिसकेका छन् ।

तत्काल विवाद समाधान हुने सम्भावना देखिदैन भने त्यसलाई कम्तीमा अहिलेका लागि थाती राख्नका लागि दुवै पक्षलाई एन्फाले सहमत गराउन विकल्प बारे पनि सोच्नु पर्ने देखिन्छ । फेरि पनि एकपटक आपसमा बसेर विवाद समाधानका लागि प्रयास गर्नु उपयुक्त हुन्छ । त्यसका लागि दुवै पक्षले पूर्वाग्रह छाड्न पर्ने हुन्छ । साफ च्याम्पियनसिप आयोजनाका लागि एन्फा नेतृत्व र साफ च्याम्पियनसिपमा उच्च प्रदर्शनका लागि अलमुताइरी जुट्नु पर्ने अहिलेको आवश्यकता हो ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीको तयारीमा यो विवादको असर पर्ने प्रष्ट देखिसकेको छ । एक सातादेखि मुख्य प्रशिक्षक प्रशिक्षणमा छैनन् । अर्को निर्णय नभएसम्म एन्फाले उनलाई प्रशिक्षणमा सामेल नहुन भनिसकेको छ । मन्त्रालयले कहिलेबाट प्रक्रिया अघि बढाएर विषय टुंगो लगाउछ अहिले भन्न सकिन्न । त्यसैले मिलाउन सकिन्न भने केहि समयका लागि विवाद थातीमा राखेर एन्फा पदाधिकारी र प्रशिक्षकले आ आफ्नो काममा ध्यानपुर्याउन सके नेपाली फुटबललाई थोरै पनि फाइदा पुग्नसक्छ । नेपाली फुटबल भन्दा कुनै व्यक्तिको ‘इगो’ ठूलो हुन सक्दैन । समय छँदै एकपटक विचार गरौं ।

यो पनि : यस्तो छ प्रशिक्षक अलमुताइरीले एन्फालाई लेखेको निवेदन

February 6, 2025

भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक

हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]

February 6, 2025

एनओसी कार्यसमितिबाट अहिलेसम्म ४ जनाको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]

February 6, 2025

एनआरटी एकै दिन दुई वटा गोल्ड कपमा खेल्दै

पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]

Success

Thank you for your time.