default_image

3 years ago

June 14, 2021

एरिक्सन घटना र एन्फाको पूर्व तयारी

175 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

युरो कपमा शनिबार फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्य तिर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा ढले । आफू तिर आएको बलमा प्रतिक्रिया विहिन एरिक्सन लडखडाउँदै मैदानमा ढलेका थिए । कोपनहेगनमा भएको खेलमा उपस्थित दर्शक र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्ने सबै एकै पटक निशब्द भए । उनलाई के भएको भन्ने त्यहि हुनेले पनि अनुमान गर्न सकेनन् भने अरुले बुझ्ने कुरै भएन ।

लडेर अचेत भएरपछि विपक्षी र आफ्ना टोलीका खेलाडीले एरिक्सनलाई ढलेको देख्ने वित्तिकै रेफ्रीलाई स्वास्थ्य टोलीलाई बोलाउन इशारा गरे । रेफ्रीले तुरुन्तै प्रतिक्रिया दिने क्रममा स्वास्थ्य टोलीलाई मैदान बोलाए । त्यसअघि नै कप्तान सिमोन केयरले एरिक्सनको जिब्रो भित्र जान रोकेर उनलाई उत्तानो पर्न दिएनन् ।

एरिक्सनलाई मैदानमा नै स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) दिएका थिए । सिपिआर लगत्तै एइडी (अटोमेटेड एक्सटर्नल डेफीब्रिलेटर) ले गर्दा उनको मुटु पुन: चलेको थियो । झन्डै १५ मिनेट मैदानमा नै प्राथमिक उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । डेनमार्कका स्वास्थ्य टोलीका सदस्यका अनुसार एरिक्सनको मुटु चल्न छोडिसकेको अवस्थाबाट एइडीको प्रयोगपछि पुन: सुचारु भएको थियो ।

घटनापछि डेनमार्क र फिनल्यान्डका खेलाडी, अफिसियल, मैदानमा खेल हेर्न पुगेका समर्थकहरुमा सन्नटा छाउँदा सबैको गहभरि आँसु भरिएको थियो । एरिक्सनका सहकर्मी, फुटबल स्टारलगायत फुटबल प्रेमीले सामाजिक सञ्जालमार्फत एरिक्सनलाई शीघ्र स्वास्थ्य लाभको कामनाको अइरो लाग्यो ।

मेडिकल इमरजेन्सीको कारण देखाउँदै स्थगित खेल दुवै टोलीको छलफलपछि झन्डै डेढ घन्टापछि पुनः सुरु भएको थियो । एरिक्सन आफैंले अस्पतालबाट आफ्ना सहकर्मीसँग कुरा गर्दै खेल्न आग्रह गरेको डेनिस फुटबल संघले नै जनाएको थियो । युरोमा डेब्यु खेल खेलिरहेका फिनल्यान्डले डेनमार्क माथि १–० जित निकालेको थियो ।

बेल्जियन फरवार्ड रोमेलु युरोकपको समूह चरणको शनिबारको अर्को खेलमा रसियाविरुद्ध गरेको गोल आफ्नो इन्टर मिलानका सहकर्मी डेनिस खेलाडी क्रिस्टियन एरिक्सनलाई समर्पित गरेका थिए । रसियाविरुद्ध खेलको १०औं मिनेटमा पहिलो गोल गरेपछि लुकाकु कर्नर फ्ल्यागतिर गए । उनीसँगै खुसियाली मनाउन लागेका सहयात्राीलाई रोके र क्यामेरामा हेदै भने, ‘क्रिस, क्रिस आइ लभ यु!’ लुकाकुले एरिक्सनप्रति गरेको यो समर्पणको यो भिडियो फुटेज र तस्वीर अहिले सामाजिक सन्जालमा भारइरल भएको छ । उनी बेल्जियमका सर्वाधिक गोलकर्ता पनि हुन् । यस्तै इन्टरका अर्का खेलाडी अक्रफ हाकिमी, टोटेनहमका ह्युङ मिन सन र अष्ट्रेयाको टोलीले पनि उनलाई गोल समर्पित गर्यो ।

एरिक्सनलाई भएको के थियो ?

फुटबलमा त्यस्ता घटना कमै देखिन्छन् । तर, त्यसले फेरि एकपटक सबैलाई सोच्न बाध्य बनाएको छ । त्यो अवस्था हुन्छ कसरी ? सहिद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार एरिक्सनको अचानक कार्डिएक एरेष्ट (मुटुको चाल बन्द) भएको थियो । त्यस्तोमा प्राथमिक उपचारका रुपमा सिपिआर र एइडीको माध्यमबाट मुटुको चाल फर्काउने प्रयास भएको थियो ।

सिपिआरलाई सरल भाषामा दुई हातले छातीमा पटक पटक दबाइन्छ । एइडी इलोक्ट्रोनिक डिभाइस हो, जसले मुटुको अवस्थाको बारेमा जानकारी दिनुका साथै मुटुको चाल चलाउन मद्दत गर्नेछ । डा. अधिकारीले हरेक खेलाडीले व्यवसायिक जीवन सुरु गर्नुअघि नै आफ्नो मुटु जाच्नु पर्ने बताउँछन्। उनले भने, ‘व्यसायिक जीवन सुरु गर्नुअघि नै मुटु जाँच गर्दा खेल्न मिल्ने नमिल्ने थाहा हुन्छ । जसलाई मिल्दैन त्यस्तालाई खेल्नबाट रोक्नु पर्ने हुन्छ ।’

अर्को इसिजी, इकोबाट पनि मुटुको मासुको कोषहरुमा समस्या नदेखाउन पनि सक्छ । त्यस्तो अवस्थामा तत्काल समस्या देखिन्छ । जस्तो एरिक्सनलाई भएको थियो । त्यस्तो अवस्थामा तत्काल गरिने प्राथमिक उपचार भनेको सिपिआर र एइडी दुई वटा विधि हुन्छन् ।

मुटुको चाल बन्द भएपछि सिपिआर र एइडी प्रयोग गर्न ढिला गर्ने हो भने ज्याननै जान सक्ने खतरा हुने डा. अधिकारी बताउँछन् । ‘डेनमार्कको खेलाडीको अवस्था त्यस्तै थियो’, उनले भने, ‘त्यो सबै तत्काल गरिएको प्राथमिक उपचारका कारण सम्भव भएको हो । रेफ्रीले पनि एकदमै तत्काल खेलाडीको अवस्थालाई बुझ्न सके । खेल सञ्चालन गर्नेले त्यस्तोमा ध्यान दिन जरुरी छ ।’

नेपालमा के गर्न सकिन्छ ?

एरिक्सनको जस्तो घटना नेपालको औपचारिक घरेलु फुटबलमा भोग्नु परेको छैन । तर गत वर्ष काठमाडौंमा एक फुटसल प्रतियोगिताका दौरान ‘बी’ डिभिजन समेत खेलिसकेका खेलाडी कर्फु रसाइलीले ज्यान गुमाएका थिए । यस्ता घटनाले सावधानी र तयारी अवस्थामा भने रहनु पर्ने देखाएको छ । त्यसका लागि डा.अधिकारी हरेक व्यावसायिक खेलाडीले मुटुको जाँच गर्नुपर्ने सल्लाह दिन्छन् । प्रि मेडिकल एसिसमेन्टले खेलाडी मुटुको अवस्थाका बारेमा जानकारी दिन्छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र गंगालाल हृदय केन्द्रबीच फागुनमा खेलाडीको न्यूनत्तम शुल्कमा प्रि मेडिकल एसिसमेन्ट गर्ने सम्झौता भएको थियो । चैतमा स्वदेशमा भएको थ्री नेसन्स कप अघि राष्ट्रिय फुटबल टोलीका खेलाडीको प्रि मिडिकल एसेसमेन्ट गरिएको थियो । एन्फाले र गंगालाल हृदय केन्द्रबीच सबै ‘ए’ डिभिजन क्लबका खेलाडीको न्युनतम शुल्कमै प्रि मेडिकल एसेसमेन्ट गर्ने चार वर्षको सम्झौता भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

गंगालालले डा. रिजु मानन्धरको नेतृत्वमा स्पोर्टस् कार्डियोलोजी युनिट सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसैको सुरुवातका रुपमा एन्फासँग सहकार्य गरिएको कार्यकारी निर्देशक डा. अधिकारीले जानकारी दिए । डा. अधिकारी घरेलु फुटबल सञ्चालनमा आबद्ध हुने रेफ्री, पुलिस, ड्राइभर वा अन्यलाई प्राथमिक उपचारका विषयमा कम्तीमा एक वा दुई दिनको प्रशिक्षण दिनु उपयुक्त हुने बताउँछन् ।

‘त्यस्तो घटना हामी कहाँ पनि हुन सक्छ । फुटबललगायत सबै खेल सञ्चालनमा आबद्ध हुनेहरुलाई सिपिआर सम्बन्धी प्रशिक्षण दिन सकिएको खण्डमा त्यस्तो अवस्थामा खेलाडीको ज्यान जोगाउन सकिन्छ,’ उनले भने,खेलकुद क्षेत्रले त्यसको आवश्यकता महसुस गरेको खण्डमा हामी गंगालाल हृदय केन्द्रका तर्फबाट प्रशिक्षण दिन पनि तयार छौं ।’

दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय खेलका दौरान भने गंगालाल हदृय केन्द्र एक जना कार्डियोलोजिष्टलाई नै पठाउन तयार रहेको डा. अधिकारीले बताए । अन्तर्राष्ट्रिय प्रतियोगितामा फिफा र एएफसीले एइडी प्रविधि फुटबल आयोजना स्थलमा राख्न अनिवार्य गरेको छ ।

फिफाले आधिकारिक प्रतियोगितामा प्रयोग गर्न हरेक संघलाई एइडी उपकरण नि:शुल्क उपलब्ध गराएको छ । एन्फाले आयोजना गर्ने डिभिजन लिगका दौरान मेडिकल टिमसँग यो उपकरण साथमा रहने गर्दछ । यसबाहेक एन्फाले हरेक घरेलु प्रतियोगितालाई स्वीकृति दिँदा कम्तिमा एक एम्बुलेन्स र मेडिकल टोली खेलमा अनिवार्य गर्दै आएको छ ।

सन् २०१३ को साफ च्याम्पियनसिपमा अफगानिस्तानका डिफेन्डर फर्जाद घुलामलाई पनि हृदयघात भएको थियो । त्यसबेला प्रतियोगिताका डाक्टर रहेका विनम्र विष्टल फिफाले उपलब्ध गराएको एइडी उपकरण प्रयोग गर्दै उनलाई होसमा ल्याएका थिए । पछि अस्पताल लगेर उनको विस्तृत परिक्षण गरेर सामान्य रिपोर्ट आएको थियो ।

त्यस्तै सन् २०१० मा कोकाकोला कप अन्तर विद्यालय प्रतियोगिता दौरान जिग्मे ग्याल्सेन लामाको च्यासल मैदानमा खेलकै क्रममा मृत्यु भएको थियो । अस्पताल लगेपछि उनलाई हृदयघात भएको पत्ता लागेको थियो । मैदानमा प्राथमिक उपचार मात्र उपलब्ध हुँदा थप उपचारका लागि अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

एन्फा अध्यक्ष शेर्पाले ‘ए’ डिभिजन क्लबलाई पनि हरेक खेलाडीको प्रि मेडिकल एसिसमेन्टका लागि अनिवार्य गराउने बताउँछन् । ‘क्लब लाइसेन्सीङमा पनि यो अनिवार्य छ । हामीले राष्ट्रिय टोलीमा सुरु गरेका छौं । अब यसको व्यापकता आवश्यक देखियो । प्रि मेडिकल एसिसमेन्ट रिपोर्ट विना खेलाडी दर्ता गर्ने छैनौं । त्यसमा क्लबले पनि सहयोग गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अब हुने ‘ए’ डिभिजन लिगमा पनि कार्डियोलोजिस्ट पनि राख्नुपर्ने देखियो । हामी त्यसमा आवश्यक निर्णय लिनेछौं ।’

अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरका मेडिकल डाइरेक्टर सुरज भुषाल फुटबल मात्र नभई हरेक खेलका खेलाडीको प्रि मेडिकल एसिसमेन्ट गराउनुपर्नेमा जोड दिन्छन् । ‘हामी कहाँ अहिले सम्म त्यस्तो डरलाग्दो घटना नभएकोले यसलाई समान्य रुपमा लिएका पनि हुन सक्छौं’,उनले भने ।

राष्ट्रिय फुटबल टोलीका पूर्व फिजियोथेरापिष्ट समेत रहेका भुषालले भने, ‘पहिला नै खेलाडीको स्वास्थ अवस्थाका बारेमा जानकारी लिनुपर्दछ । त्यसका लागि कम्तीमा प्रि मेडिकल एसिसमेन्ट अनिवार्य गर्न सक्दा पनि त्यस्ता घटना हुने सम्भावना कम हुन्छ । खेलका दौरान त्यस्तो अवस्था आयो भने त्यसका लागि प्राथमिक उपचारका लागि पनि सबैलाई खेलसँग सम्बन्धित सबैलाई जानकारी गराइराख्न आवश्यक देखिन्छ ।’

फुटबलमा पूर्व तयारी रहँदै आएको भएपनि अन्य खेलमा भने सामान्य स्वास्थ्य टोलीको व्यवस्था गरेको कमै देखिन्छ । कतिपय अवस्थामा राष्ट्रिय संघले नै आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा पनि मेडिकल टोलीको कमी पाइन्छ । सामान्य उपचारका लागि पनि वैकल्पिक खेलाडीले स्प्रे र पानी बोकेर हिड्ने दृश्य नेपाल खेलकुदका लागि नौलो होइन ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पछिल्लो समय आफ्नो स्वास्थ्य विभागलाई थप सुदृढ बनाउँदै केहि सुधारको प्रयास भने गरेको छ । खेलाडीको स्वास्थ्य नै पहिलो प्राथमिकतामा रहनुपर्ने हुनाले यसमा सम्बन्धित सबै पक्षको ध्यान जान आवश्यक छ । अझ कोरोना महामारीका कारण स्वास्थ्य अवस्थामा बढी नै गम्भिर हुनु पर्ने देखिन्छ । खेल्नु मात्रै होइन आवश्यक सबै सुरक्षा अपनाएर खेल्नु बढी महत्वपूर्ण हुन्छ । जसले सम्भावित मानविय क्षतिलाई न्यूनिकरण गर्न मद्दत पुग्छ ।

October 22, 2024

भेट्रान्स फुटबलमा आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी दोश्रो भेट्रान्स फुटबल प्रतियोगितामा मंगलवार त्रिभुवन आर्मी फुटबल क्लब, किङकम स्पोर्टस क्लब र एनआरटी विजयी भएका छन् । थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको दिनको पहिलो खेलमा राजु तामाङ र सन्तोष नेपालीको समान २ गोलमा आर्मीले धरान सिटी एफसीलाई ५–२ ले पराजित गर्यो । आर्मीका लागि […]

October 22, 2024

नटिङघमले क्रिस्टललाई हरायो

एजेन्सी – नटिङघम फरेस्टले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसविरुद्ध जित निकालेको छ । आठौं खेलमा तेस्रो जित निकाल्ने क्रममा नटिङघमले मंगलवार बिहान भएको खेलमा क्रिस्टलमाथि १-० को जित निकाल्यो । घरेलु मैदान सिटी ग्राउन्डमा नटिङघमलाई जित दिलाउन क्रिस वुडले गरेको गोल नै निर्णायक बन्यो । वुडले खेलको ६५औं मिनेटमा निर्णायक गोल गरेका थिए । […]

October 22, 2024

नेयमारको पुनरागमन खेलमा हिलालको जित

एजेन्सी – साउदी अरबको अल-हिलालसँग साविक विजेता युएईको अल-ऐनले एसियन च्याम्पियन्स लिग एलिटमा पराजित भएको छ । ऐनको घरेलु मैदान हज्जा बिन जायद स्टेडियममा सोमवार भएको खेलमा हिलाल ५-४ ले विजयी भएको हो । अल हिलालको जितमा सलेम अल–दौसारीले ह्याट्रिक गरे भने रेनान लोदी र सर्गेज मिलिन्कोभिच साभिचले समान १ गोल गरे । घरेलु टोलीका […]

Success

Thank you for your time.