default_image

4 years ago

May 8, 2021

विराटनगर विरुद्ध ललितपुर : जित्ने टोली प्लेअफमा

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिबार) लिग चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।
शीर्ष चारमा पर्न विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच दिउँसो २:३० बजे तथा धनगढी र बुटवलबीच साँझ ५:३० बजे प्रतिस्पर्धा हुदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

आजको दुई खेलले शीर्ष चारमा पर्ने सबै टोलीको टुंगो लाग्नेछ । धनगढी एफसी र काठमाडौं रेजर्सले प्ले अफमा स्थान सुरक्षित गरिसक्दा पोखरा थन्डर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसी शीर्ष चारको दौडमा रहेका छन् । यि चार टोलीमध्येबाट दुई टोलीले शीर्षचारमा स्थान बनाउनेछन् । एफसी चितवन भने एक खेल बाँकी रहँदै शीर्ष चारको दौडबाट बाहिरिएको छ ।

विराटनगर र ललितपुरलाई प्लेअफमा स्थान पक्का गर्न जित बाहेकको विकल्प छैन । त्यसैले दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् । विराटनगर र ललितपुरले बराबरी खेलेर अर्को खेलमा बुटवल पराजित भएमा शीर्ष ४ मा पोखरा र विराटनगर हुनेछन् । विराटनगर र ललितपुरले बराबरी खेल्दै बुटवल लुम्बिनीले धनगढीलाई हराएको अवस्थामा भने पोखरा र बुटवल लुम्विनी शीर्ष चारमा पुग्नेछन् । विराटनगर हेड टु हेडमा पछि पर्नेछ ।

समान ८ अंक भएको अवस्थामा बुटवल लुम्विनी र पोखरा हेड टु हेडमा अघि बढ्नेछ । लिग चरणमा विराटनगर पोखरासँग १–० ले पराजित हुँदा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । यस्तै बुटवल लुम्विनीले पोखरालाई २–० ले हराएको थियो । पछिल्लो खेलमा काठमाडौं रेजर्ससँग ५–४ ले पराजित भएपछि विराटनगरको प्ले अफ यात्रामा धक्का लागेको थियो ।

रन्जित धिमालको कप्तानीमा रहेको विराटनगरसँग गोलरक्षक किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज ज्यु ठकुरी, विजय धिमाल, सन्तोष तामाङ, हेम तामाङ, सुशिल लामा, मनिष डाँगी, सुनिल खड्का र निरकुमार राई रहेका छन् । विदेशी खेलाडीको रुपमा पेड्रो मान्जी, एडेलाजा सोमिडे र अलरिच सिवे रहेका छन् । लिगमा चार गोल गरिसकेका पेड्रो मान्जी र ३ गोलगरेका सन्तोष तामाङ ललितपुरविरुद्ध टोलीका मुख्य हतियार हुनेछन् ।

यता, ललितपुर पनि विराटनगरलाई हराउँदै प्ले अफमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ । ललितपुरले पछिल्लो खेलमा बुटवल लुम्विनीलाई १–० ले हराउँदै प्ले अफ पुग्ने सम्भावना जीवित राखेको थियो ।

ललितपुरसँग मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट कमल श्रेष्ठ, प्रवेश दनुवार, एरिक विष्ट, नविन लामा, विमल राना, निरज बस्नेत, गोलरक्षक अर्पण कार्की रहँदा विदेशी खेलाडीमा नुर्लान नोभ्रुजोभ, भिलिम पोसिन्कोभिक र पिटर सेगुन छन् । यस्तै मिक्चेन तामाङ, सरोज योन्जन लामा, रन्जन विष्ट, पाल्साङ लामा, गौरव बुढाथोकी र डोना थापा पनि टोलीमा छन् ।

धनगढी एफसी र काठमाडौं रेजर्सको प्ले अफमा स्थान बनाइसकेका छन् । धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं हेड टु हेडमा दोस्रो स्थानमा छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

January 16, 2025

आर्मी र पुलिस तेस्रो पटक खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले आज एकअर्काको सामना गर्नेछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्नका लागि विभागीय डर्बीमा आर्मी र पुलिसले हरसम्भव जित […]

January 16, 2025

बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्‍वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

Success

Thank you for your time.