default_image

4 years ago

December 8, 2020

एएफसी क्लब लाइसेन्सिङ : नेपाल कहाँ चुक्यो?

179 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

जसरि सवारी साधन चलाउन एक चालकसँग लाइसेन्स हुनुपर्छ, क्लब संचालन गर्न एएफसीले निश्चित मापदण्ड तोकेर ल्याएको पद्दति हो एएफसी क्लब लाइसेन्सिङ । लाइसेन्सका लागि योग्य नभएको चालकले हाँकेको सवारी दुर्घटना हुने डर धेरै हुन्छ, त्यसैगरी एएफसीले ठूला प्रतियोगिता खेल्दा क्लबहरु दुर्घटनामा नपरुन भन्ने हेतुले यो अवधारणा अघि सारेको हो ।

एएफसीले सन् २०१६ मा क्लब लाइसेन्स सुरु गर्दै सन् २०१८ देखि अनिवार्य रुपमा यसलाई लागु गर्न पाउने नियम बनाएको थियो । एएफसी प्रतियोगिता खेल्न सन् २०१६ देखि दुई वर्ष केहि लचकता अपनाएको एएफसीले सन् २०१८ देखि भने अनिवार्य रुपमा दिइएको १८ वटा मापदण्ड पूरा गर्न भनेको थियो । नेपालमा खेल मैदान नहुँदा दशरथ रंगशाला र एन्फा कम्प्लेक्स नै मुख्य रंगशालाको रुपमा प्रस्तुत गर्ने विकल्प पनि रहेको छ ।

एएफसीले आफ्नो क्लब लाइसेन्सको मापदण्ड अघि सबै देशका संघलाई स्थानीय क्लब लाइसेन्सको लागि आवश्यक मापदण्ड तोक्न पनि सुझाव दिएको थियो । केहि देशले त्यसमा तदारुकताका साथ लाग्दा नेपालको योजना भने बोलीमा मात्र सिमित छ । लिगका ठूला क्लब एएफसीकै क्लब लाइसेन्सका लागि योग्य ठहर भएका छैनन् ।

पछिल्लो समय नेपालका क्लब एएफसीको क्लब प्रतियोगितामा खासै देखिएका छन् । सन् २०१६ को एएफसी कपमा थ्री स्टारले प्लेअफ चरण पार गरेपनि एन्फाको गल्तीका कारण दोस्रो चरणमा खेल्न पाएको थिएन । सन् २०१७ मा नेपालले सहभागिता जनाउन पत्र नै नपठाएको यस प्रतियोगितामा सन् २०१८ मा कुनै क्लबले लाइसेन्स प्राप्त गरेनन् ।

त्यसपछि सन् २०१९ मा मनाङले समूह चरणमा भारतको मिनेर्भा पन्जाब, चेन्नईयन र बंगलादेशको अबहानीसँग खेलेको थियो । मनाङ लिगका ६ खेलमा जम्मा २ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको थियो ।

अघिल्लो वर्ष एन्फाले ९ क्लबलाई एएफसी लाइसेन्सका लागि योग्य रहेको ठहर गरेको थियो । तर एएफसीले पछि सबै क्लब उक्त लाइसेन्सका लागि अयोग्य रहेको ठहर गर्दै एन्फालाई जरिवाना गरेको थियो । पहिलो गल्ति भएकाले एन्फाले १० हजार अमेरिकी डलर तिर्नुपरेको थियो । साथसाथै त्यसपछि २ वर्षमा उक्त गल्ति दोहोरिए एन्फाले थप २५ हजार डलर तिर्नुपर्ने त्यसबेला नै उल्लेख थियो ।

एन्फाले यस वर्ष केहि क्लबहरु लाइसेन्स प्राप्त गर्न योग्य देखिएपनि सबै प्रक्रिया समयमै पूरा नहुँदा एएफसीलाई सिफारिस गर्न सकेन । अघिल्लो वर्ष कारवाही भोगेको एन्फाले यसपटक भने निकै कडाइका साथ लाइसेन्सिङको मापदण्डमा जाँच गरेको थियो ।

एन्फाका क्लब लाइसेन्सिङका संयोजक युजल श्रेष्ठका अनुसार नेपालका क्लबहरुलाई लाइसेन्स प्राप्त गर्नका लागि तोकिएको समय रेखा अनुसार अघि बढ्न कठिनाइ हुने गरेको छ । ‘ वर्षभर नै क्लब लाइसेन्स प्राप्त गर्नका लागि समयरेखा हुन्छ । विभिन्न समयमा आवश्यक कागजपत्र बुझाउनुपर्छ । अहिलेको अवस्थामा हाम्रो अधिकांश क्लबहरुले अडिट रिपोर्ट दिन सकिरहेका छैनन् । साधारण सभा नै गर्न नसकेको अवस्था पनि छ,’ उनले भने ।

‘सबै क्लबले एएफसी लाइसेन्स प्राप्त गर्नुपर्छ भन्ने होइन । तर ठूला क्लबले एएफसी प्रतियोगिता खेल्न योग्य हुनका लागि यो अत्यावश्यक छ । ठूला देशमा २-३ क्लबले मात्र पाएको अवस्था छ । क्लबको फुटबल विकासका लागि लाग्ने हो भने लाइसेन्स प्राप्त गर्नु उत्तम हो । हामीले केहि मापदण्ड परिमार्जन गरेर राष्ट्रिय लाइसेन्स दिने तयारी गरिरहेका छौं ।’

यस वर्ष नेपालबाट कुनै क्लबले पनि लाइसेन्स प्राप्त गर्न सकेनन् । तर एन्फाले त्रिभुवन आर्मी क्लबलाई पूर्ण व्यावसायिक फुटबल क्लब बनाउन गरेको प्रयासको प्रशंसा गर्दै आउने दिनमा उक्त प्रयास सफल हुनेमा आशावादी रहेको जनाएको छ । आर्मीले क्लबको विधान र आवश्यक कागजी प्रक्रिया परिवर्तन गरे फुटबल क्लबलाई बेग्लै बनाएको थियो । यद्यपि एन्फाले आर्मीको कानुनी प्रक्रिया पूरा भएपछि २ वर्षे कारवाहीलाई ध्यानमा राख्दै एएफसीसामु लाइसेन्सका लागि प्रस्ताव गर्ने जनाएको छ ।

आर्मीले लाइसेन्स प्राप्त गर्नका लागि अन्य मापदण्ड भने पूरा गर्ने देखिन्छ । प्रशासनिक र कानुनि रुपमा तयार भएपछि आर्मीलाई खेल र पूर्वाधारको हकमा कुनै समस्या देखिन्न । लिग च्याम्पियन मछिन्द्र अयोग्य हुँदा आर्मीले नेपालको प्रतिनिधित्व गर्दै अर्को वर्ष एएफसी कप खेल्ने सम्भावना रहन्छ । सन् २०२० को प्रतियोगिता रद्द भएपछि सन् २०२१ मा नेपाली टोली खेल्ने सम्भावना अब आर्मीको प्रक्रियामा अडिएको छ ।

नेपालमा क्लबहरूले क्लब संचालनका लागि आवश्यक निम्न मापदण्ड पनि पूरा गर्न सकिरहेका छैनन् । विगतमा खेलाडी सम्झौता, स्वास्थ्य, पूर्वाधार लगायत विभिन्न मापदण्डमा क्लब चुक्दै आएका थिए । आर्मीको तदारुकताले भने अन्य विभागीय टोलीले पनि अब केहि सिको गर्दै अघि बढ्ने बाटो खुलेको छ । अन्य क्लबहरु खेलाडी सम्झौता जस्तो सामान्य विषयमा पनि चुक्दै आएकोमा विभागीय टोलीलाई मापदण्ड पूरा गर्न कानुनी प्रक्रिया पूरा गर्न खासै कठिनाइ हुने देखिन्न ।

एएफसीका प्रतियोगिता खेल्न चाहिने क्लब लाइसेन्स प्राप्त गर्न एएफसीले तोकेका १८ मापदण्डबारे विस्तृत विवरण :

खेल क्षेत्रको मापदण्ड :

सिनियर टोलीको प्रमुख प्रशिक्षक : क्लबले सिनियर टोलीको लागि मुख्य प्रशिक्षक नियुक्त गर्नुपर्ने हुन्छ जसले सम्पूर्ण खेल सम्बन्धि जिम्मेवारी लिनुपर्छ । प्रशिक्षकले कम्तिमा ए लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । प्रशिक्षकलाई क्लबको कार्यसमिति वा सचिवालयले नियुक्ति गरेर क्लबसँग लिखत सम्झौता गरेको हुनुपर्छ ।

युवा टोलीको निर्माण र सहभागिता : क्लबले युवा टोलीको हरेक खेलाडीको नाम, ठेगाना र जन्ममिति सहित प्रतियोगितामा खेलेको प्रमाण प्रस्तुत गर्नुपर्छ । यससँगै युवा टोलीको प्रशिक्षकको योग्यता र लिखत सम्झौता पनि पेश गर्नुपर्नेछ ।

टिम डाक्टर : क्लबले टिम डाक्टर अथवा फिजियोथेरापिस्ट नियुक्त गरेर क्लबको खेल र प्रशिक्षणमा स्वास्थ्य जिम्मेवारीसहित डोपिङ नियन्त्रणमा समेत जिम्मेवार हुनुपर्नेछ । टिम डाक्टर र फिजियोथेरापिस्टको हकमा योग्यता स्थानीय स्वास्थ्य निकायबाट स्वीकृति प्राप्त भएको हुनुपर्नेछ । साथसाथै लिग वा फुटबल संघमा पनि दर्ता भएको हुनुपर्छ ।

खेलाडीसँग लिखत सम्झौता : हरेक क्लबले खेलाडीसँग लिखत सम्झौता गरेर फिफाको खेलाडी दर्ता तथा ट्रान्सफरको नियम अनुसार संघमा दर्ता गर्नुपर्नेछ । यसका लागि राष्ट्रिय कानुन, फुटबल संघ, फिफा र एएफसीको नियम पालना गर्नुपर्नेछ ।

स्वास्थ्य सहयोग : क्लबले सबै खेलाडीलाई आवश्यक स्वास्थ्य सुविधा उप्पलाब्ध गराउनुपर्नेछ । खेलाडीले वार्षिक रुपमा स्वास्थ्य परिक्षण गराउनुपर्नेछ र कुनै समस्या आएमा क्लबले नै सम्पूर्ण उपचार खर्च बेहोर्नुपर्नेछ । क्लबले स्वास्थ्य परिक्षणपछि हरेक खेलाडी खेल्नका लागि स्वस्थ रहेको प्रमाण पेश गर्नुपर्नेछ ।

स्वीकृति प्राप्त युवा विकास कार्यक्रम : क्लबले स्वीकृत प्राप्त युवा विकास कार्यक्रम पेश गर्नुपर्नेछ जसमा क्लबको संस्था संरचना, वार्षिक प्रशिक्षण योजना र आबद्ध व्यक्तिबारे विस्तृत जानकारी हुनुपर्छ ।

खेल पूर्वाधार मापदण्ड :

खेल मैदान : क्लबले आफ्नो घरेलु मैदानको नाम र ठेगाना उपलब्ध गराउनुपर्नेछ । साथै उक्त मैदान क्लबको स्वामित्वमा रहेको प्रमाण अथवा उक्त मैदानको मालिकसँग गरिएको सम्झौताको प्रमाण पेश गर्नुपर्नेछ । उक्त मैदानमा लिगका खेलहरु हुने स्वीकृति समेत क्लबले दिनुपर्नेछ । उक्त मैदान एएफसीको मैदान नियमावलीका अनुसार खेल योजना गर्नलायक हुनुपर्छ ।

प्रशिक्षण सुविधा : क्लबले वर्षभर प्रशिक्षण सुविधाका लागि आफ्नै मैदान अथवा अन्य कुनै मैदान उपलब्ध हुने प्रमाण पेश गर्नुपर्छ ।

क्लब सचिवालय : क्लबले सचिवालयको नाम र ठेगाना पेश गर्नुपर्छ । यसका लागि क्लबको कार्यालय रहेको प्रमाण र उक्त स्थानमा क्लबले आफ्नो कार्य नियमित गर्न पाउने प्रमाण दिनुपर्नेछ । क्लबको सचिवालयबारे सम्पूर्ण जानकारी प्रस्तुत गर्नुपर्छ ।

कर्मचारी तथा प्रशासनिक मापदण्ड :

प्रबन्ध निर्देशक : क्लबले फुल टाइम सीइओ अथवा महासचिव नियुक्त गरेर क्लबको प्रशासनिक कामको मुख्य जिम्मेवारी दिनुपर्छ । उनले नै क्लबको प्रशासनिक कामहरुको व्यवस्थापन र पर्यवेक्षण गर्नेछन् । यसका लागि उनले शैक्षिक योग्यताका साथै फुटबल प्रशासनमा काम गरेको अनुभव रहेको हुनुपर्छ । क्लबको व्यवस्थापन सम्हाल्न योग्य पनि हुनुपर्छ ।

फाइनान्स अफिसर : क्लबले फुल टाइम अथवा पार्ट टाइम फाइनान्स अफिसर नियुक्त गरेर सम्पूर्ण आर्थिक र लेखासम्बन्धि जिम्मेवारी दिनुपर्नेछ । उनले आवश्यक शैक्षिक योग्यतासँगै फुटबलमा अनुभव बोकेको हुनुपर्छ ।

सुरक्षा अधिकारी : क्लबले फुल टाइम अथवा पार्ट टाइम सुरक्षा अधिकारी नियुक्त गरेर सुरक्षा समबन्धि जिम्मेवारी दिनुपर्नेछ ।

मिडिया अफिसर : क्लबले पार्ट टाइम वा फुल टाइम मिडिया अफिसर नियुअक्त गरेर मिडियासम्बन्धि जिम्मेवारी दिनुपर्नेछ । उनको आवश्यक शैक्षिक योग्यतासँगै फुटबल र मिडियाबारे ज्ञान हुनुपर्छ ।

कानुनी मापदण्ड :

कानुनी इकाइ : क्लब देशको प्रचलित कानून बमोजिम एक कानुनी संस्थाको रूपमा अधिकारसहित दर्ता हुनुपर्छ ।

क्लबको स्वामित्व र नियन्त्रण : क्लबले कानुनी रूपमा स्वामित्व, संरचना तथा क्लबको नियन्त्रण संयन्त्रको विस्तृत रूपरेखा प्रस्तुत गर्नुपर्छ ।

आर्थिक मापदण्ड :

वार्षिक बजेट : क्लबले हरेक सिजनको सुरुवातमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्छ । बजेटमा वर्षको आम्दानी र खर्च प्रक्षेपणसँगै स्रोतबारे समेत रकम खुलाएर जानकारी दिनुपर्छ ।

अडिट गरिएको वार्षिक आर्थिक प्रतिवेदन : क्लबले अघिल्लो वर्षको अडिट गरिएको आर्थिक प्रतिवेदन पेश गर्नुपर्छ ।

कर चुक्ता तथा कर्मचारीहरुलाई पूर्ण तलब भुक्तानी : क्लबले वर्तमान र पुराना कर्मचारीको पूर्ण तलब भुक्तानीका साथै स्थानीय कर तथा अन्य सम्झौता अनुसार सम्पूर्ण हिसाब चुक्ता गरेको हुनुपर्छ । कर्मचारी भन्नाले खेलाडीसँगै प्रशासन, प्राविधिक, स्वास्थ्य, सुरक्षा लगायत संघमा कार्यरत व्यक्ति बुझ्नुपर्छ ।

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.