5 years ago
July 18, 2020
फेयर प्ले
प्रकाश तिमल्सिना,काठमाडौं
खेलकुद पत्रकारितामा म १८ वर्षयता क्रियाशील छु । २०५९ मंसिरबाट सुरु भएको मेरो खेलकुद पत्रकारिताको यात्रामा हाल हाम्रोखेलकुद डट कमको सम्पादकका रुपमा छु । यसबीचमा ६ वर्ष अन्नपूर्ण पोष्ट, २०६५ को केहि महिना दैनिकी अनलाइन, २०६५ (फागुन) देखि २०७३ (कार्तिक) सम्म झन्डै ८ वर्ष नागरिक दैनिकको खेलकुद ब्यूरोमा रहेर काम गरे ।
२०७३ पुषदेखि हाम्रो खेलकुद डटकमको सम्पादकका रुपमा काम गर्दै आएको छु । संयोगवश खेल पत्रकार बनेको केहि वर्षको अभ्यास पछि मेरो लागि यो पेशा ‘नशा’ बन्यो । खेलकुद पत्रकारितामा म रमाउन थाले । मैले यसको विकल्पको बारेमा सोचिन । पत्रकारिता अझ त्यसमा पनि खेलकुद पत्रकारिता मेरो लागि रोजी रोटीको माध्यम मात्र होइन धर्म नै हो ।
मेरो कामले कसैलाई फाइदा वा घाटा भयो होला । तर कसैलाई फाइदा वा घाटा पुर्याउने उद्देश्यले मैले पत्रकारिता गरिन र गर्दिन भन्नेमा प्रष्ट छु । तथ्यमा आधारित पत्रकारिता गर्नु बाहेक मेरो अर्को कुनै उद्देश्य छैन । त्यति हुँदा हुँदै पनि मेरो पत्रकारिता अभ्यासमाथि प्रश्न गर्ने हक पाठक सँग सुरक्षित छ । हरेक पेशामा जस्तै मानविय त्रुटी हाम्रो पेशमा पनि हुन सक्दछ । त्यसलाई सच्चाउनका लागि हामी हरदम तयार रहनुपर्दछ ।
मरो लामो पत्रकारिताको यात्रामा साउन १ को साँझ एउटा फरक अनुभव लिएर आयो । समाचार संकलनका क्रममा मैले त्यसअघि कहिल्यै त्यस्तो परिस्थितिको सामना गर्नुपरेको थिएन । केहि तितामिठा अनुभव हाम्रो पेशामा स्वभाविक पाटा हुन् । तर बिहीबारको साँझ फरक रह्यो । विषय के थियो । पछि उल्लेख हुने नै छ । हामीले तयार पार्दै गरेको समाचारको विषय अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापासँग पनि जोडिएको थियो ।
थापाले नेपाली फुटबलमा खेलाडी रुपमा पुर्याएको योगदानको म उच्च कदर गर्दछु । टोलीका पूर्व कप्तान समेत उनी आफ्नो समयको उम्दा खेलाडी थिए भन्नेमा कसैलाई शंका नहोला । त्यसपछि उनले दुई दशक भन्दा लामो समय अध्यक्षका रुपमा एन्फाको नेतृत्व गरे । उनको कार्यकाल कस्तो रह्यो भन्नेमा मेरो आफ्नै बुझाई र विश्लेषण छन् । त्यो विषयमा कुनै दिन लेखौंला । तर आज चर्चा गर्न खोजिएको प्रंसग फरक छ ।
एन्फाबाट साउन १ गतेदेखि लेखा अधिकृत मोती श्रेष्ठसहित ८ जनाले उमेर हद (५८ वर्ष) का कारण अनिवार्य अवकाश पाएका थिए । अवकाश पाउने मध्ये एक थिए शंकरनिधि पाण्डे । झन्डै डेढ दशक एन्फाका सहायक कुकको दरबन्दीमा नियुक्ती पाएका उनले सेवा अवधिको लामो समय थापाको घरमा काम गरे । पाण्डेका अनुसार उनले धेरै जसो थापाको हेटौंडास्थित घरमा बसेर काम गरे ।
‘मैले एन्फामा नियुक्ती लिएर १४/१५ वर्ष काम गरे । त्यसमध्ये ३/४ वर्षमात्र एन्फामा काम गरे’, पाण्डेले मसँगको कुराकानीमा भनेका थिए,‘ त्यसबाहेक म पूर्व अध्यक्षको घरमा हेटौंडा धेरै बसें । कहिलेकाहिँ काठमाडौंमा बसेर रेखदेख र लगाएको काम गरे ।’
लम्जुङ स्थायी घर भएका पाण्डे बाफल सितापाइलामा बस्दै आएका छन् । उनी सेनाका अवकाश प्राप्त हुन् । सेनाको जागिर हुँदा थापाको घरमा सेनाकै कर्मचारीका रुपमा उनी रहेका थिए । सेनाबाट अवकास पाएपछि पनि उनी थापाकै घरमा निरन्तर रहेको छोरा अभिषेकले बताए । थापाले नै उनलाई एन्फाका जागिर लगाइदिएको पाण्डेले बताएका छन् । एन्फाबाट नियमित पारिश्रमिक बुझ्ने पाण्डे थापाको घरमा लामो समय काम गरेको सुचना हाम्रा लागि समाचार थियो । १५ वर्ष एन्फाको दरबन्दीमा रहँदा उनी नयाँ कार्यसमितिले झिकाएपछि पछिल्लो दुई वर्ष मात्र नियमित रुपमा एन्फा गएका थिए ।
सबै प्रश्न र आलोचनाको लागि आफु तयार रहेको बताएर नथाक्ने थापाका लागि पाण्डेका विषयमा गरिएको प्रश्न पेचिलो थियो । जसलाई उनले चर्को स्वरले दबाउन खोजे । जसले कल्पनै नगरेको मोड लियो भन्ने ठान्छु । यहि समाचारका विषयमा थापाको भनाई राख्नका लागि मैले फोन गरेको थिए । समाचार तयार पार्ने क्रममा हाम्रो खेलकुदका वरिष्ठ संवाददाता सुबास हुमागाईसँगै थिए ।
थापाले फोन उठाएपछि सामान्य शिष्टाचार भयो । लकडाउन पछि घर बाहिर कत्तिको निस्कनु भएको छ दाई भनेर पनि सोधे । काम पर्दा बाहेक खासै निस्किन्न भन्ने उनको जवाफ थियो । उनले नचिने जस्तो लागेर मैले चिन्नु भएकी क्या हो पनि भने । हैन भाईलाई चिनि सके किन नचिन्नु भन्ने थापाको जवाफ थियो । त्यसपछि म पाण्डेको विषयमा प्रवेश गरे ।
उनले सुरुमा को म चिन्दिन भने। उहाँ तपाईको घरमा लामो समय बस्नु भएको सुचना पाए त्यहि विषयमा बुझ्नको लागि लागि भने । यसमा मेरो केहि छैन भने । ए ठिकै छ त्यसो भए मैले यहि भने । त्यसपछि थापा एकाएक रिसाउन थाले ।
‘मलाई सधै पेल्ने । ५८ करोडको समाचार खोइ, १७ करोडको समाचार खोइन, भ्यू भृकुटीको समाचार खोइ । म तलाई सबै प्रमाण दिन्छु समाचार लेख्छस् ?’
‘ठीक छ दाई त्यो समाचार पनि लेखौला । आज चाहिँ यो विषयमा मैले बुझ्न खोजेको हु । समाचार लेख्न मलाई नसिकाउनुस्,’ मैले यो भने ।
‘कर्माको भात खाएर समाचार लेख्छन् । ए यसले मलाई मार्न लाग्यो । म बिरामी मान्छेलाई । म पहिलाकै जस्तो हुनुपर्यो ।’
उनी त्यतिमा रोकिएनन् । ‘ए त अनलाइन चलाको छु भन्दैमा फुर्ति गर्छस् । कहाँ छस् त । मैल सब लेखेर राखेको छु । म मरे भने त्यसको जिम्मा तैले लिनुपर्छ ।’ त्यसपछि उनलाई बोल्न गाह्रो भएको महसुस गरे ।
अनि उहाँकी श्रीमतीको आवाज आउन थाल्यो । मेरो श्रीमानलाई केहि भयो भने त्यसको जिम्मा तैले लिनुपर्छ । मेरो बुढालाई मार्न खोजेको तैले । त्यसपछि फोन काटियो । उहाँहरुले बोली रहँदा सुबासले पनि सुनुन् भन्नका लागि समय समयमा मैले फोन ह्यान्ड्स फ्री पनि गरे ।
थापा एकोहोरो कराउन थालेपछि एक हिसाबले मैले कसरी रेस्पोन्स गर्ने भन्ने नै भेउ पाइन । त्यहि पनि किन यस्तो भनेको होला भन्दै हामी गफ गर्दै थियो । केहि समयमै थापाका छोरा अभिषेकको फोन आयो । मैले उठाएँ । उनी बाबुभन्दा पनि उग्र रुपमा प्रस्तुत भए ।
मेरो बुवा किन भेट्न आउनु पर्यो म आउँछु भेट्न भनेर सुरु भएका अभिषेक उग्र हुँदै गए । ‘के खोज्या तैले । मेरो बिरामी बाउलाई के गर्न फोन गर्या तैले । कहाँ छस् त भन अहिले भेट्न आउछु म । एउटा अनलाइन चलाएर ठूलो मान्छे भइस त । न्यूज लेख्न नसक्ने हात काम्ने साला न्यूज लेख्दा तेरो । ए कुकुर कहाँ छस् त ।’
मैले भाई कहाँ हो भाई भाको ठाँउमा म आउँछु भने । उनको भनाई थियो, ‘त कहाँ छस् । म त्यहि आउँछु । तिमीहरु जस्तो लुकेर हिड्ने मान्छे होइन म’ भनेपछि म थापाथलीमा छु भने । उनले सोधे थापाथली कहाँ छ्स । थापथली चोकमै हुन्छु भने पछि ल आएँ बसी राख भन्दै फोन राखे ।
उनीसँगको त्यति कुरापछि सुबास र म ब्लुबर्डको परिसरमै बस्ने भनेर निस्कियौं । बाहिर निस्किदा नै सुबासले कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख विनोद पाण्डेलाई खबर गरे । मैले नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष महेश आचार्य र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पवन आचार्यलाई खबर गरे । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई फोन गरे । फोन उठेन । कलब्याक गरे, मैले घटना बताए । एनटिभीमा समाचार पढ्ने समय भएको रहेछ । उनले समाचार सकेर आउँछु भने ।
त्यति बेला सम्म विनोद आइसकेका थिए । नेपालखबरबाट घर जान निस्किंदै गरेकी लक्ष्मी जिसीले हामीलाई त्यहि भेटिन् । त्यहिका यज्ञराज जोशीलाई खबर गरियो । त्यसपछि केहि समयमा अभिषेक आइपुगेका रहेछन् । म फोनमा कुरा गर्दै अलिक पर तिर गएको बेला उनी त्यहा पुगेका रहेछन् । गाडीबाट ओर्लने बित्तिकै सुबासलाई तेरो सम्पादक खोइ भन्दै सोधछन् । म एक छिनमा उनी भए ठाँउमा गएँ ।
त्यहाँ उनको र मेरो दोहोरो कुरा भयो । मैले समाचारका लागि फोन गरेको भने । मेरो बिरामी बाउलाई किन फोन गर्ने भन्दै सुरु भएका उनले कुन कुन समाचार आए र भन्ने बाबुकै शैलीमा सिकाउन सुरु गरे । मैले समाचार लेख्न नसिकाउ भाई भने । साथीहरुले वातावरणलाई समान्य बनाउन कोसिस गरे । त्यसपछि मञ्चका महासचिव प्रज्वल ओली, कोषाध्यक्ष अन्जन खड्का, केहि समयमा महासंघका केन्द्रिय सदस्य आचार्य , मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी आइपुगे ।
त्यसपछि मञ्चका अध्यक्ष देवेन्द्र आइपुगे । त्यतिबेला सम्म अभिषेक मथ्थर भइसकेका थिए । उनले बाबुको अवस्थाका बारेमा बताउँदै गरे । फोन नगर्न भने । मैले अब आइन्दा कल गर्दिन भने । अभिषेकले म आवेशमा आएर केहि भने त्यसमा सरि दाई भने । मैलाई जवाफ दिन पनि मन लागेन । उनले बाबुको अवस्था कमजोर रहेको पटक पटक भनेपछि हामीले अलग्गै एकछिन सल्लाह गर्यौं । मञ्चले तुरुन्त विज्ञप्ती निकाल्ने कि के गर्ने भन्ने छलफल भयो । मानविय संमेवदनालाई ख्यालमा राख्दै तत्काल विज्ञप्ती ननिकाल्ने, भोली थापालाई भेट्न जाने भन्ने विषयमा सामान्य सल्लाह भएर हामी छुट्टियौं ।
शुक्रबार १२ बजेपछि मञ्चका अध्यक्षलगायतका साथीहरु जम्मा भयौं । मैले फेरि एकपटक घटनाका बारेमा बताए । सबैले आ आफ्नो धारणा राखेपछि अन्तिममा मञ्चले विज्ञप्ती जारी गर्ने निर्णय भयो ।
थापासँग त्यसअघि फोनमा पटक पटक कुरा हुन्थे । उनी त्यसरी कहिल्यै त्यसरी प्रस्तुत भएनन् । उनी समाचारमा आफ्ना असहमती प्रष्ट राख्थे । म पनि उनलाई आफ्नो धारणा प्रष्ट बताउँथे । यत्ति हो उनको तारिफ वा आलोचना दुवैलाई मैले सामान्य लिने गरेको थिए । मलाई उनी बारम्बार व्यावसायिक धर्म निर्वाह गर्ने पत्रकार भन्थे । उनी तारिफ वा आलोचना दुवै लुकाउँदैनथे । मलाई उनको त्यो स्वभाव ठीक लाग्थ्यो ।
तर हिजो जसरी प्रस्तुत भए त्यो मेरो अनुमान भन्दा विल्कुल फरक थियो । उनले घटनाका दिन राती मञ्चका अध्यक्ष सुवेदी, पूर्व अध्यक्ष राजवंशी र मेरा सहकर्मी सुबासलाई फोन गरेका रहेछन् । उनले सबैसँगको कुराकानीमा मैले उनलाई प्रोभोक गरेको कारण रिसाउन बाध्य भएकोमा जोड दिएछन् । खासै अचम्म लागेन ।
उनलाई फोन गर्ने म एक्लो पत्रकार पनि होइन । मैले समाचारका लागि फोन गर्ने उनी एक्लो व्यक्ति पनि होइनन् । उनलाई र मलाई चिन्ने साझा खेलकर्मीले यसको मुल्याङकन गरेकै हुनुपर्दछ । खेलकुदमा उनलाई नचिन्ने कमै होलान् , धेरैलाई उनको सार्वजनिक व्यक्तित्व पनि थोरबहुत थाहा छ । निरन्तर पत्रकारितामा रहेकाले सिमित मात्र भएपनि खेलकर्मीले मलाई पनि चिन्ने भए ।
पत्रकारलाई प्यारो लाग्ने भनेको आफ्नो बाइलाइन हो । कम्तीमा समाचारको विषय बन्न पत्रकार चाहँदैन । त्यसमाथि विवादमा समाचारको विषय बन्ने रहर मलाई पटक्कै छैन । मानविय संवेदना उनको स्वास्थ अवस्थालाई ख्यालमा राख्दै थापाका श्रीमान् श्रीमतीसँगको विवादमा म चुप नै बस्नेमा थिए । मेरो बढी आपत्ती अभिषेकको व्यवहार र बोलीसँग हो ।
उमेर र मेरो पेशाप्रति सम्मान गर्न नसक्ने उनीलाई जे भने पनि मैले चुप लाग्नु पर्ने कुनै तर्क थिएन । फोनमा उनी अभद्र बोली र कार्यालय परिसरमा आएर उनको विवाद कतै पनि स्वीकार्न सकिने थिएन । हाम्रो पेशा र उमेरको समेत पनि समान्य ख्याल नगरी त्यो व्यवहार गर्ने अभिषेकले केहि वर्ष देखि पत्रकारिता गर्ने नयाँ पुस्तका साथीहरुलाई चित्त नबुझेको समाचारमा कस्तो व्यवहार गर्लान् ?
मेरो दिमागलाई सबैभन्दा बढी यहि विषयले घोचिरह्यो । जबकी उनीसँग हाम्रो काम खासै पर्दैन । हाम्रा समाचारप्रति असहमत हुन पाइन्छ । त्यसको आपत्ती गर्ने उजुरी गर्ने प्रक्रिया छ । तर जुन रुपमा उनी प्रस्तुत भए त्यो सैह्य हुने खालको थिएन ।
मञ्चको विज्ञप्तीपछि पनि थापाले आफ्नो प्रक्रिया फेसबुक स्ट्टासमार्फत राखेको देखे । उनलाई आफ्नो भनाई राख्ने क्रममा आफ्नो परिवारले गरेको सहि नै थियो भन्ने दलिल पेश गर्न प्रयास गरेका छन् । हरेकले बोली र व्यवहारबाट आफ्नो परिचय दिने हो भन्नेमा म ठान्दछु । आफ्नो व्यक्तित्व आफैंले बनाउने हो । वातावरणले त्यसमा केहि प्रभाव पर्ला अन्यथा आफ्नो व्यक्तित्व कस्तो बनाउने भन्ने धेरै आफैंमा निर्भर गर्छ ।
थापाका छोरा अभिषेकले परिसरमा आएर अन्तिमतिर आफ्नो बुवालाई फुटबलको कुनैपनि विषयमा सम्पर्क नगर्न आग्रह गरे । थापाको स्वास्थ्य पहिलोजस्तो नरहेकाले उनले गरेको आग्रहलाई हामीले सहर्ष स्वीकार्ने बतायौं । यसो हुँदा पनि थापा आफैंले त्यसै रात अन्य खेलपत्रकारलाई सम्पर्क गरेर आफ्नो धारणा भने राखे । सामाजिक संजालमा उनको प्रस्तुति सबैले देखिरहेकै छौं । यसका बाबजुद पनि परिवारले गरेको आग्रह हामीले स्वीकारेका नै छौं । दुई दशक एन्फाको अध्यक्ष पदमा रहेका उनीसँग गर्न आउने दिनमा प्रश्न धेरै हुनेछन्, तर मानवीय समवेदनालाई नजरमा राख्दै उनीसँग कोहिपनि खेल पत्रकारले अब सायदै प्रश्न गर्लान् ।
भनिन्छ हरेक मान्छेमा राम र रावण दुवै हुन्छन् । कसलाई जन्म दिने आफ्नै हातमा हुन्छ । हाम्रो पेशामाथि धावा बोल्ने कोहि कसैसँग पनि झुकिन्न र तथ्यमा आधारित पत्रकारिता गर्दा आइपर्ने परिस्थितिको सामनाका लागि पनि तयार बस्नुपर्दछ भन्ने लाग्छ । आफ्ना विरुद्धमा लेख्ने र उनलाई लागेको नलेख्ने पत्रकार थापालाई खासै मन पर्दैन । भ्रष्टाचारको अभियोगमा फिफाको १० वर्षे प्रतिबन्धमा रहेका थापा मेरो नजरमा व्यक्ति मात्र होइनन् एउटा प्रवृति हुन् ।
सामाजिक सञ्चालमा सक्रिय रहेका उनी बारम्बार सञ्चारमाध्यमेले आफ्नो छवि बिर्गादिएको भन्न छुटाउँदैनन् । आफ्नै कारण बारम्बार मुल्य चुकाउनुपर्दा पनि चेतेका रैन्छन् भन्ने अस्तिको घटनाबाट म थप प्रष्ट भएको छु । उनीहरुको व्यवहारबाट खेल पत्रकारिता निरन्तर र अझै दृढ भएर लाग्न मनोबल उचो भएको छ । हिजो थापा एन्फा नेतृत्वमा हुँदा अरुले मलाई थापाको मान्छे भन्थे । अहिले थापा मलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको निकट ठान्छन् । न म हिजो उनको थिए न आज शेर्पाको हुँ । पत्रकारिता भन्दा ठूलो खेलक्षेत्रमा मेरो लागि केहि हुन सक्दैन ।
एन्फालाई २ दशक हाँकेका थापालाई जोडेर आउने दिनमा पनि धेरै समाचार बन्लान । उनको परिवारको आग्रहमा उनलाई सम्पर्क नगर्ने कुरा छँदै छ । म व्यक्तिगत रुपमा पनि उनको स्वास्थ्य लाभको कामना गर्दछु । एन्फामा रहँदा उनीबाट राम्रा-नराम्रा दुवै काम भएका होलान् । स्वास्थ्य समस्याकै कारण सम्पर्कमा नआउने भनेका थापा सामाजिक संजालमा भने पछिल्लो समय अझै जोशका साथ देखिन्छन् । फुटबलको चिन्ता लागेकाले चुप बस्न नसक्ने बताउने उनी आफ्नो स्वभावले त नसक्लान् तर स्वास्थ्यकै लागि पनि संयम रहन सकुन् ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]