default_image

4 years ago

June 11, 2020

फुटबल परिवारको सम्झनामा ललितकृष्ण

134 views

0 Bookmark

पाँचौ ललितकृष्ण श्रेष्ठ स्मृति

प्रकाश तिमल्सिना, काठमाडौं

व्यक्तिगत सम्बन्ध र भावना कुनै संस्थाको विधान जस्तो हुँदैन, निश्चित प्रक्रिया पुरा गर्नुपर्ने । यो त दुई व्यक्तिको सहजता र हार्दिकतामा भर पर्छ । संस्थागत होस् वा अन्य कुनै कारणले बनेको सम्बन्धलाई विशेष कसरी बनाउनु पर्छ भन्ने खुबी सबैमा हुँदैन । अरुको मनमा बास पाउन झन् कहाँ सजिलो होला ?

एक दिनको व्यवहारले कोहि कसैलाई विश्वास गर्न सकिन्न । निरन्तरको लगाव, बोली, व्यवहारले मात्र कुनै मान्छेको छवि बन्दै जान्छ । तर, सबैसँग समदुरीको व्यवहार गर्न ,सबैको प्रिय हुन पक्कै सजिलो काम होइन । नेपाली फुटबलमा एउटा त्यस्तै सम्बन्ध निर्वाह गर्न सक्ने व्यक्ति थिए ललितकृष्ण श्रेष्ठ ।

उक्त दुर्घटनाले नेपाली फुटबलले उनलाई गुमाएको पाँच वर्ष आज पुरा भएको छ । तर, आज पनि उनलाई नेपाली फुटबलसँग सरोकार राख्नेले ‘मिस’ गरिरहेका छन् । फुटबलसँग सरोकार राख्ने (खेलाडी, प्रशिक्षक, रेफ्री, पदाधिकारी) , खेलकुद पत्रकार, प्रायोजक अधिकांशसँग उनको व्यवासायिक सम्बन्ध त थियो नै । त्यो भन्दा माथि उठेर उनी व्यक्तिगत सम्बन्ध राख्न पनि माहिर थिए । केहिसँग छाडेर उनी व्यक्तिगत सामिप्यता राख्थे ।

नेपाली फुटबलको विकासमा समय समयमा जिम्मेवारीमा रहेका हुन् वा अहिलेका एन्फा पदाधिकारी हुन्, लतिलकृष्ण श्रेष्ठप्रति अहिले पनि समान धारणा पाइन्छ । अधिकांशको समान खालको धारणा छ ललितकृष्ण फुटबलका लागि एकदमै आवश्यक मान्छे थिए । उनी जीवित हुन्थे भने अहिले उनले एन्फाको नेतृत्व गरिरहेका हुन्थे । उनले सबैको मनमा आफ्नो कामले बेग्लै उचाई बनाएको बुझ्न सकिन्छ ।

औसत खेलाडीबाट फुटबल संग सम्बन्ध जोडेका ललितकृष्णको एन्फाको कार्यवहाक अध्यक्ष हुँदा असामयिक निधन भएको थियो । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले मंगलबजारको घर बस्न नमिल्ने अवस्था भएपछि उनी भैंसीपाटी स्थित बन्दै गरेको नयाँ घर सर्ने तयारीमा थिए । अर्को एक महिना साइत नभएपछि उनले जेठ २९ को साइतमै घर सर्ने निर्णय गरेका थिए । त्यो एक दिन बसेर फर्केर पछि सबै काम सकेर सर्ने तयारीमा उनको परिवार पुजा सकेर त्यस दिन नयाँ घरमै बस्ने तयारीमा थियो ।

छिमेकीबाट अस्थायी रुपमा बत्ति बाल्न ल्याएको तारमा बगेको करेन्ट लागेर उनको मृत्यु भएको थियो । उनको मृत्युलाई धेरैलाई विश्वास गर्न कठिन भयो । सबै भन्दा ठूलो विछोड परिवारले बेहोर्यो । श्रीमतीले जीवन साथी र छोरा छोरीले अविभावक गुमाएका थिए । अर्को तर्फ नेपाली फुटबलले एउटा पूर्णकालिन स्वयंसेवकलाई गुमाएको थियो । नेपाली फुटबलसँग सरोकार राख्ने अधिकांशको ललितकृष्णसँग स्मृति जोडिएको छ । त्यसमध्ये केहिले उनीसँगको सम्झना हाम्रो खेलकुद डटकमसँग साटेका छन् ।

कर्मा छिरिङ शेर्पा (एन्फा,अध्यक्ष)

उहाँ सुरुवात देखि नै एन्फामा सक्रिय हुनुहुन्थ्यो । म त्यति सक्रिय थिइन । त्यति बेला राम्रै सम्बन्ध थियो । पछि एन्फा नेतृत्वसँग फरक मत रहेपछि हामी अलग अलग कित्तामा रह्यो । उहाँ संस्थापनमा हुनुहुन्थ्यो, हामी एक खाले विद्रोही । तर पनि सम्बन्ध खराब भने केहिल्यै भएन । औपचारिक सम्बन्ध सधै रहिरह्यो ।

विवादका समयमा पनि उहाँले मिलाउन केहि प्रयास गर्नुभएको थियो । तर, उहाँले आफ्नो विचार भन्दा पनि आफूलाई जे भन्न लगाइएको छ त्यहि मात्र भने जस्तो लाग्थ्यो । जसले गर्दा हामी सहमतिमा पुग्ने अवस्था रहेन ।

तर, ती सबका बावजुद उहाँको फुटबल प्रतिको लगाव र आफुलाई दिएको जिम्मेवारी निर्वाह गर्ने सवालमा भने अब्बल हुनुहुन्थ्यो । दिएको जिम्मेवारीलाई जति सक्दो उत्कृष्ट ढंगले सम्पन्न गर्ने उहाँको बानी थियो । निरन्तर लाग्न सक्ने उहाँको गुण थियो । मान्छे पनि मृदुभाषी हुनुहुन्थ्यो ।

गणेश थापा (एन्फा, पूर्व अध्यक्ष)

ललितसँगको पहिलो भेट म खेलाडी हुँदा जावलाखेलमा भक्तराज कर्णिकारको पसलमा भएको हो । ललित थ्री स्टारको खेलाडी र व्यवस्थापन
थिए । त्यहिबाट मेरो चिनजान हो । उनी म भन्दा पहिला एन्फा कार्यसमितिमा रहे  । व्यक्तिगत स्वार्थ भन्दा माथि नेपाली फुटबललाई माया गर्ने, फुटबल प्रतिवद्ध र समर्पित व्यक्तिका रुपमा पाए । हामीमा मृत्यु पछि तारिफ गर्ने प्रचलन छ । तर मैले जीवित रहँदै धेरै पटक उनको तारिफ गरेको थिएँ ।

एन्फामा दिएका हरेक जिम्मेवारी, एन्फा भवन बनाउँदा होस् वा एकेडेमीको सवालमा अथवा राष्ट्रिय टोलीको व्यवस्थापन हेर्दा किन नहोस् सधैं तयार रहन्थे । क्लब फुटबलमा पनि कर्पोरेट हाउसलाई जोड्ने श्रेय उनलाई जान्छ । नेपाली फुटबलका लागि आवश्यक व्यक्ति थिए । अहिले झनै बढी आवश्यकता महसुस गरेको छु । जीवित भएको भए म पछि नेपाली फुटबललाई सहि नेतृत्व दिन सक्ने क्षमता भएको व्यक्तिका रुपमा मैले हेरेको थिएँ  ।

व्यक्तिगत रुपमा मलाई पनि एक पटक बाहेक सधैं सहयोग गरे। पत्रकारहरुसँग पनि राम्रो सम्बन्ध राख्ने क्षमता थियो । कतिपय समयमा उनले नै मिलाए । एउटा साधारण व्यक्ति भएर पनि फुटबलमा अलग पहिचान बनाए । व्यक्तिगत रुपमा मेरो लागि मित्र भन्दा बढी भाई जस्तो थिए ।

नरेन्द्र श्रेष्ठ (एन्फा, पूर्व अध्यक्ष)

ललितसँग लामो सहकार्य रह्यो । एकदमै मृदुभाषी, सबैसँग मिल्न सक्ने, सरल र सहज व्यक्तित्व थिए । हामी एउटै कार्यसमितिमा रहेर पनि काम गर्यौं । सँगै उपाध्यक्ष पनि भयौं । उनी उपाध्यक्ष हुँदा मैले महासचिवको जिम्मेवारी पनि सम्हाले । २०७० को निर्वाचनमा हामीले आउने दिनमा उसलाई नेतृत्वका रुपमा स्वीकार्ने मनस्थितिका साथ उपाध्यक्षबाट उम्मेदवारी फिर्ता लिएका थियौं ।

त्यतिबेला उपाध्यक्षमै १५-१६ जनाले उम्मेदवारी दिएको अवस्था थियो । क्लब फुटबलमा पनि उसले क्रन्तीनै ल्याएको थियो । उसकै कारण व्यावसायिकताले एउटा गति लिएको थियो । गजबको व्यक्तित्व, हरेक समस्यामा अग्रभागमा रहेर समाधानका लागि प्रयास गर्ने । एन्फामा दिएका कुनै पनि जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने । लोभ भन्ने थिएन । उसका आवश्यकता पनि ज्यादा थिएनन् ।

एकदमै सामान्य जीवन विताउन सक्ने । युवा परियोजनामा विशेष रुची थियो । मलाई लाग्छ उसको बारेमा जति भने पनि कम नै हुन्थ्यो । मृत्युपछि त सम्झना नै बाँकी रहन्छ । फुटबलमा पुर्याएको योगदानको कदर र युवा फुटबलमा उनको लगावकै कारण हामीले उनको नाममा यू १८ लिग सुरु गरेका हौं । फुटबल विकासमा उनको योगदान भुल्न सकिन्न ।

धिरेन्द्र प्रधान (एन्फा, पूर्व महासचिव)

फुटबलमा नै जिन्दगी सम्पर्ण गरे । थ्री स्टारलाई माथि ल्याए । मान्छेलाई कन्भिन्स गर्न सक्ने, रिलेसन राख्न सक्ने, आक्रामक नहुने क्षमता उनमा थियो । फुटबलका सन्दर्भमा सँग सँगै धेरै हिडयो पनि । उनी कार्यवहाक अध्यक्ष हुँदा म महासचिव थिए । सँगै अष्ट्रेलिया पनि गयौं । धेरै दिन सँगै बस्यौं । अत्यन्तै सरल स्वभाव भएको ।

खानामा चिउरा मन पराउने, प्राय हिड्दा बोकेका हुन्थे । बाहिर कतै जाँदा लोकु (लोकल कुखुरा) खानुपर्छ भन्ने । अहिले एन्फा अलि विवाद बढी भइरहेको जस्तो देखिन्छ । त्यसले पनि उनको आवश्यकता महसुस हुन्छ । उनी भएको भए सायद अध्यक्ष हुन्थे । नेपाली फुटबलको स्तर यो भन्दा पनि बढी हुन्थ्यो जस्तो लाग्छ । उनको विरोधी पनि खासै थिएनन् । समन्वयकारी मान्छे । फुटबलमा केहि गरौं भन्ने चिन्ता भएको मान्छे । गणेश थापालाई पनि व्यक्तिगत रुपमा निकै सहयोग गरेका हुन् ।

ढिला गरि उनको बच्चा भयो । जुम्ल्याहा छोरा छोरी । उनीहरुलाई लिएर भने अलि चिन्ता गर्थे । नानीबाबु सानै छैन् । म मरे भने यिनीहरुले दुःख पाउँछन् भनेर चिन्ता गर्ने । किन त्यस्तो भनेको होला जस्तो लाग्थ्यो । अहिले हाम्रो बीच ललित छैनन् भन्ने विश्वास नै लाग्दैन । आउँछन् फेरि लाग्छ ।

इन्द्रमान तुलाधर (एन्फा, महासचिव)

एन्फा जाँदा पुल्चोक, मंगलबजार हुँदै जाने । अहिले पनि त्यो बाटो हिड्दा दाईसँग भेट हुन्छ जस्तो लाग्छ । उहाँ अहिले भइदिएको भए एन्फा अध्यक्ष उहाँ नै हुनुहुन्थ्यो । हामी उहाँको नेतृत्वमा काम गरिरहेका हुन्थ्यौं । उहाँको नेतृत्वमा अहिलेको भन्दा फुटबलले अझै उन्नती गरेको हुन्थ्यो । व्यक्तिगत रुपमा पनि मेरो ठूलो दाजु जस्तो मानेको थिए ।

एन्फासँग हामी फरक मत राखेर बस्दा पनि उहाँले सम्बन्ध कहिल्यै टुटाउनु भएन । निरन्तर सम्पर्क र समन्वयकारी भूमिका खेल्ने । फुटबल विकासका लागि सबै जना एक ठाँउमा आउनुपर्छ मिल्नु पर्छ भन्ने उहाँको धारणा हुन्थ्यो । एन्फामा हामीसँगै पनि काम गरयौं । उहाँ कार्यवहाक अध्यक्ष हुँदा म प्रमुख कार्यकारी अधिकृत थिएँ ।

काम गर्न अत्यन्तै सहज र सजिलो । हरेक काममा सल्लाह लिने । काम गर्न सहज । काम गर्दा केहि गल्ति नै भएपनि सम्झाउने बानी थियो । हप्काउने उहाँको स्वभाव थिए । समग्रतामा भन्दा एउटा प्रजातान्त्रिक परिपाटीमा चल्ने उहाँको आदत थियो ।

अरुणमान जोशी (अध्यक्ष, थ्री स्टार क्लब)

झन्डै २५ वर्ष हामी सँगसँगै काम गर्यौं । मेरो नेतृत्व विकासमा उहाँको सबैभन्दा महत्त्वपूर्ण भूमिका छ । सन् १९८८ मा हामी ललितपुर लियो क्लब च्याप्टरको संस्थापक थियौं । पछि उहाँ अध्यक्ष हुनु भयो । संयोग नै भन्नुपर्छ उहाँ जहाँ जहाँ अध्यक्ष हुनु भयो उहाँ पछि मैले हुने सौभाग्य पाए । लियोमा उहाँ पछि म अध्यक्ष भए ।

त्यसपछि पाटन जुनियर जेसिजमा आवद्ध भयौं । त्यहाँ पनि ललित दाई अध्यक्ष बन्नु भयो । पछि म पनि भए । त्यसरी नै २०५१ सालमा म उहाँकै पहलमा थ्री स्टारको आजीवन सदस्य भए । उहाँ अध्यक्ष भएपनि ९ वर्ष क्लबको महासचिव भए । पछि वरिष्ठ उपाध्यक्ष भए । उहाँ एन्फाको कार्यवाहक अध्यक्ष हुँदा मलाई क्लबको कार्यवाहक अध्यक्ष बनाउनु भएको थियो ।

हरेक क्षेत्रमा मलाई सँगै लाने, सल्लाह गर्ने उहाँको बानी थियो । त्यसले गर्दा ममा उहाँको काम गर्ने केहि स्वभावको विकास भएको जस्तो लाग्छ । हर समय प्ररित गर्ने, सक्दो सहयोग गर्ने कसैलाई निराश हुन नदिने उहाँको स्वभाव थियो । सायद उहाँ हुनु भएको भए क्लब र नेपाली फुटबलले अर्को उचाई लिएको हुन्थ्यो । मेरो लागि उहाँ अविभावक हुनुहून्थ्यो । उहाँको अभाव जहिले खड्किने छ ।

सञ्जिव शिल्पकार (महासचिव, थ्री स्टार क्लब)

मेरो लागि सहोदर दाजु जस्तो हुनुहुन्थ्यो । उहाँ जत्तिको जेन्टलमेन्टल फुटबलमा सायदै कोहि छ । सबैसँग मिल्न सक्ने, सम्बन्ध बनाउने मात्र होइन निभाउनका पनि सक्ने । त्यस्तो मान्छे बिरलै पाइन्छ । अहिले फुटबलको अवस्था देख्दा उहाँ भइदिएको भए फरक परिस्थिति हुन्थ्यो लाग्छ । फुटबल विकास र विवाद समाधानका लागि उहाँलाई अहिले पनि सबैले मिस गरेको पाउँछु ।

३० वर्ष भन्दा लामो समय उहाँसँगको निकटता रह्यो । उहाँकै कारण म थ्री स्टारको सुरुमा कार्यसमितिमा र पछि महासचिवमा रहे । क्लबको समर्थक पहिले देखि नै भएपनि क्लबमा मेरो आवश्यकता उहाँले महसुस गर्नुभएको थियो । सायद ममा उहाँले क्षमता देखेरै प्रस्ताव गर्नुभएको थियो । देश भित्र वा बाहिर पनि समन्वय गर्न सक्छ भन्ने उहाँलाई म माथि विश्वास थियो ।

त्यहि विश्वासका आधारमा उहाँ मलाई क्लबको जिम्मेवारीमा लान चाहनुहुथ्यो । म खेल पत्रकारका रुपमा क्रियाशील भएकाले पनि सायद उहाँको चासो झन बढी भए जस्तो लाग्छ । पछि राष्ट्रिय फुटबल टोलीमा मिडिया अफिसर अनिवार्य राख्नुपर्ने प्रावधान सुरु भएको थियो । उहाँकै पहलमा म त्यो जिम्मेवारीमा केहि वर्ष रहे । उहाँ जस्तो व्यक्ति नेपाली फुटबलले सायदै पाउला ।

अनु लामा (पूर्व कप्तान, महिला राष्ट्रिय फुटबल टोली)

खेलाडीको लागि भनेपछि जति बेला पनि जहाँ पनि जान तयार रहने खालको हुनुहुन्थ्यो । एकदमै सकारात्मक सोच भएको, खेलाडीलाई पर्ने समस्या समाधानका लागि हर हमेसा तत्पर रहने खालेको मैले पाएको थिए । कुनै पनि प्रस्ताव लिएर उहाँका जाँदा निराश नबनाउने । खेलाडीको समस्यामा नाई भनेको मैले कहिल्यै थाहा पाइन । खेलमा पनि हरेक ठाँउमा जस्तो भेट हुन्थ्यो । अहिले नदेख्दा एकदमै मिस हुन्छ । राम्रो मान्छे हुनुहुन्थ्यो । फुटबलका कुनै प्रसंग आउँदा उहाँको याद आउँछ ।

विराज महर्जन (थ्री स्टारका पूर्व खेलाडी, कप्तान राष्ट्रिय फुटबल टोली)

म आज जहाँ पनि छु । त्यसका लागि महत्त्वपूर्ण र सहयोगी व्यक्ति मध्य ललित सर एकजना हुनुहुन्छ । उहाँलाई कहिल्यै बिर्सन्न । म एनआरटीबाट व्यावसायिक फुटबल खेल्थें । त्यहाँबाट मलाई थ्री स्टार लानु भएको थियो । म उहाँलाई आफ्नो अभिभावक जस्तै मान्थें । उहाँकै कारण अहिले पनि थ्री स्टार प्रति मेरो लगाव छ । उहाँको व्यक्तित्वबाट पनि प्रभावित थिए ।

खेलाडीलाई एकदमै माया गर्ने । बेला बेला हामीलाई एन्फा एकेडेमीमा भेट्न आउनुहुन्थ्यो । फुटबल विकासको कुरा गर्नु हुन्थ्यो र देशको फुटबललाई माथी लानुपर्छ भनेर हामीलाई मोटिभेट गर्नुहुन्थ्यो । केहि समस्या हुँदा मर्ला भन्न भन्नुहुन्थ्यो । उहाँकै निगरानीमा हामीले उमेर समूहका प्रतियोगिता खेल्यौं । केहि किट्सको खाचो, डाइटमा चित्त बुझेन भने भन भन्नुहुन्थ्यो ।

गणेश सरसँग सबै खुलेर बोल्न सक्दैन थियौं । गणेश सरले पनि ललित सरलाई भन्नु उहाँलाई थाहा हुन्छ भन्नुहुन्थ्यो । हामी त्यस्तै गथ्र्यौ । उहाँ आफ्नो कुरा राख्नका लागि एकदमै सहज । सबै खेलाडीको उहाँलाई आफ्नै अभिभावक ठान्थे । अवस्था अनुसार खेलाडी सम्झाउने, फकाउने क्षमता उहाँमा थियो । उहाँले जस्तो अर्को कसैले सम्झाउन सक्दैन थियो । उहाँ सधै मिस हुन्छ ।

लव खत्री (पूर्व फिफा रेफ्री तथा थ्री स्टारका पूर्व खेलाडी)

नेपाली फुटबलमा उहाँको योगदान अतुलनीय छ । नेपाली फुटबलले अब वहाँ जस्तो मान्छे पाउन गाह्रो छ । मैंले खेलाडीको रुपमा पनि उहाँको अभिभावकत्व पाएँ । थ्री स्टारबाट लामो समय खेलें । सधैैं सकारात्मक सोच बोक्ने मान्छे ।

रेफ्रीका रुपमा पनि वहाँले हामीलाई एक दर्शकका रुपमा हेर्नुहुन्थ्यो । क्लब र एन्फाका उच्च अोहदामा रहँदा पनि कहिल्यै प्रभावित पार्ने निर्णय गर्नुभएन । फुटबलको विकासम अनवरत लागिरहने व्यक्तित्व हुनुहुन्थ्यो । अहिले नेपाली फुटबलमा वहाँकै अभाव खड्केको छ । सायद वहाँ हुनुभएको भए अहिले फुटबलले एक किसिमको विकासको गति लिइरहेको हुन्थ्यो ।

मेघराज केसी (पूर्व प्रशिक्षक, थ्री स्टार क्लब र राष्ट्रिय टोली)

meghraj KC

मैले थ्री स्टारमा युवा प्रशिक्षकको रुपमा काम गर्दा ललित दाईकै विश्वासमा काम गरेको थिएँ । अन्य सदस्यले प्रश्न उठाउँदा पनि वहाँ मेरो मनोबल उच्च बनाउनु भएको थियो । फुटबलको लागि उहाँको सोच निकै सकारात्मक थियो ।

क्लबको प्रशिक्षक छँदाको एक घटना अझै सम्झना छ । जब एकपटक खेल मिलेमतोको ठूलो प्रस्ताव आउँदा उहाँले सम्झाएर यस्तो कदमले दीर्घकालीन असर पार्ने र टाढा रहनु पर्ने भन्नुभएको थियो ।

क्लब अध्यक्षका रुपमा उहाँले लिनुभएको निर्णय निकै महत्त्वपूर्ण रह्यो । कठिन समयमा पनि संयमतापूर्वक निर्णय लिने क्षमता वहाँसँग थियो । आफ्नो पदको वास्ता नगरी सामान्य रुपमा प्रस्तुत हुने वहाँको विशेषताले मलाई निकै प्रभावित बनाएको थियो ।

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

October 31, 2024

लिभरपुल र आर्सनलको जित

एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो ।  ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]

Success

Thank you for your time.