4 years ago
June 11, 2020
पाँचौ ललितकृष्ण श्रेष्ठ स्मृति
प्रकाश तिमल्सिना, काठमाडौं
साधारण मान्छेलाई पनि उसको कर्मले विशेष बनाउँछ । मृत्यु पछि पनि धेरैको स्मरणमा रहन्छन् । नेपाली फुटबलमा त्यस्तै एक व्यक्तिको नाम हो ललितकृष्ण श्रेष्ठ ।
कर्मले नै उनलाई फुटबलमा विशेष बनाएको थियो । आजको उनको पाँचौं पुण्य तिथि । पाँच वर्षअघि आफ्नै निवासमा भएको दुर्घटनामा उनले ज्यान गुमाउनु परेको थियो । फुटबलमा धेरैका मित्र, सहकर्मी, खेलाडीका अविभावक र समग्रमा उनी नेपाली फुटबलका सच्चा सारथी थिए । औसत खेलाडी र त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का विभिन्न जिम्मेवारी निर्वाह गरेका उनी तत्कालिन समयका फुटबलका सबै भन्दा क्रियासिल पात्र थिए ।
एन्फाको कार्यवहाक अध्यक्ष भएकै बखत उनको दुःखद निधन भएको थियो । घरेलु फुटबलको चर्चित र सफल मध्येको एक क्लब थ्री स्टारको लामो समय अध्यक्ष रहेर नेपाली फुटबललाई व्यावसायिकतातर्फ उन्मुख गराउन उनले पुर्याएको भूमिकालाई अहिले पनि उत्तिकै स्मरण गरिन्छ । क्लबको नाम अगाडि प्रायोजकको नाम जोडेर फुटबललाई व्यवसायिकतामा अघि बढाउन सकिन्छ भन्नेमा उनको दृढ विश्वास थियो । देशको लोकप्रिय खेलमा आबद्ध क्लबको अगाडि आफ्नो ब्रान्ड राख्न पाउनु प्रायोजकका लागि पनि प्रचारको एउटा शसक्त माध्यम थियो नै ।
२०६० सालको आसपासमा थ्री स्टार र नबिल बैंकबीचको त्यो प्रायोजन सम्झौता घरेलु फुटबलको एउटा कोसेढुंगा नै सावित भएको थियो । विश्व फुटबलमा त्यस्तो अभ्यास लामो समयदेखि भएपनि नेपालमा त्यसको सुरुवात उनै लतिलकृष्णले गराएका थिए । अहिले अधिकांश क्लब त्यहि बाटोमा छन् । नेपाली फुटबललाई नजिकबाट बुझ्ने जो कोहिले पनि उनका बारेमा थोरै भएपनि जानकारी पक्कै राख्दछन् ।
सँगै काम गरेका अधिकांश उनको सरलताबाट कायल थिए । कमजोरी विनाको मान्छेको कल्पना गर्न त सकिन्न । त्यो उनमा पनि धेरथोर थियो नै । तर, पनि फुटबलमा निस्वार्थ निरन्तरको समपर्णबाट उनी धेरैको सम्मानित पनि थिए । जति बेला उनलाई एन्फाको भावी नेतृत्वको रुपमा हेरिएको थियो । त्यति नै बेला उनले धर्ती छाडे ।
कल्पनाको धेरै अर्थ त हुँदैन, तर अहिले पनि धेरैलाई लाग्छ उनी जीवित हुन्थे भने एन्फाको मुख्य नेतृत्व उनले गरिरहेका हुन्थे । उनलाई धेरैले भावी नेतृत्वकै रुपमा हेरि रहँदा उनी आफैं भने केहि वर्ष अझै पूर्वअध्यक्ष गणेश थापाको नेतृत्व आवश्यक रहेको सुनाउँथे । सायद त्यो उनको बाध्यता पनि थियो ।
कुनै बेला थापाको नेतृत्व अस्वीकार गरेर ललितकृष्ण गीता राणाले नेतृत्व गरेको एन्फामा मिसिएका थिए । २०५८ सालमा ठूलो टोलीको नेतृत्व गर्दै उनी पुनः थापा नेतृत्वको एन्फामा फर्के । त्यसपछि जीवनको अन्तिम क्षण सम्म पनि उनले थापाको साथ छाडेनन् । त्यसपछि उनले एन्फामा विस्तारै आफ्नो समन्वयकारी छविलाई उजागर गर्दै लान सफल भए । एन्फाका पक्का सारथी बनेका उनी थापाका भने कक्षाकवच नै थिए । थापालाई पर्ने कुनै पनि संकट टार्नका लागि उनै ललितकृष्ण मोर्चाको नेतृत्व गरिरहेका हुन्थे ।
कतिपय सन्दर्भमा उनले थापाको वकालत गर्दा अपमानित पनि हुनुपरेको थियो । तर, थापाको निरन्तरतामा नै उनी नेपाल फुटबलको विकास सम्भव थियो भन्ने विश्वास गर्थे । हत्तपत्त अरुको विश्वास नगर्ने थापालाई शंका नहोस् भन्नका लागि ललितकृष्णले अलि बढी नै मेहनत गर्नुपर्नेको थियो । कतिपय सवालमा थापालाई खुसी पार्न उनले मनले नमान्दा पनि अनेक कदम चालेका थिए । खास गरि एन्फा विवाद र थापामाथि दबाब पर्दा उनी चट्टान झे उभिन्थे ।
पहिला धोका दिइसकेकोले फेरि थापाले आफुमाथि त्यस्तै शंका गर्लान् भन्नेमा उनी सचेत थिए । अनौपचारिक कुराकानीमा उनी भन्ने पनि गर्थे,’म गणेश दाईको विश्वास फेरि तोड्न चाहन्न । अब राम्रो नराम्रो जे भएपनि फुटबलमा रहँदा सम्म उहाँको साथ छाड्दिन ।’ ललितकृष्ण त्यो आफ्नो भनाईमा अडिग रहे । उनलाई थापाको छायाँ, रफु मास्टर, डमी भन्ने आरोप पनि नलागेको होइन । त्यस्ता कुनै कुराले उनलाई असर गरेन । उनी आफ्नो विश्वासमा निरन्तर अडिग रहे ।
एन्फाकै पदाधिकारी (अहिलेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा रहेको समूह) ले लेखा समितिसहित विभिन्न निकायमा दिएको उजुरी तथा फिफा एएफसीले गरेको छानबिनका कारण थापा दबाबमा थिए । त्यसैले उनी ३ महिनाका लागि एन्फा अध्यक्षको जिम्मेवारीबाट अलग बसेका थिए । त्यहि समयमा ललितकृष्णले एन्फा अध्यक्षको कार्यवहाक बनेका थिए । तर, विडम्बना उनी कार्यवहाक भएकै बखत अध्यक्षका रुपमा फिफा कंग्रेसमा जान पाएनन् ।
कागजी रुपमा थापा एन्फाको जिम्मेवारीमा नरहेपनि उनकै आदेशमा एन्फाले निर्णय गर्ने परम्परा थियो । अध्यक्षका रुपमा फिफा कंग्रेसमा जाने आफ्नो हक खोसिँदा समेत उनले सार्वजनिक रुपमा त्यसको विरोध कहिल्यै गरेनन् । त्यो विषयमा उनले भनेका थिए, ‘साथीभाईहरुले जाने इच्छा गर्नुभयो मैले हुन्न भनिन् ।’
एन्फाका निर्वतमान अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ अहिले पनि सार्वजनिक ठाँउमै भन्छन्, ‘ललितको अपुताली परेर म अध्यक्ष भएको हुँ । उ जीवित हुन्थ्यो भने एन्फा अध्यक्ष उही हुन्थ्यो ।’
नेतृत्वका हिसाबले मात्र होइन ललितकृष्ण आफूलाई दिएको जिम्मेवारी पूरा गर्न रात दिन भन्दैनथे । एन्फा अध्यक्ष शर्पासँग पछिल्लो समय उनको सम्बन्ध औपचारिक मात्र थियो । तर, उनको काम प्रतिको समपर्ण र प्रतिबद्धताको शेर्पा मुक्तकण्ठले प्रशंसा गर्छन् । ‘दिएको जिम्मेवारी पूरा गर्ने र आफ्नो काममा अविचलित भएर लाग्ने उहाँको स्वभाविक थियो । मान्छे पनि मृदुभाषी । फुटबलका लागि आवश्यक व्यक्ति हुनुहुन्थ्यो,’ शेर्पाले स्मरण गरे ।
फुटबलमा सामान्यतया खेलाडी चै चर्चा हुन्छ । देशका लागि कति गोल गरे, कति खेले , के के जिते भन्ने चर्चा हुने गर्छ । त्यसपछि चर्चा हुने भनेको सफलताका हिसाबमा प्रशिक्षकको हो । पदाधिकारीको चर्चा कम हुन्छ । तर, नेपालको सन्दर्भमा भने पदाधिकारी भएर चर्चामा रहनेमा पूर्व अध्यक्ष थापा सबैभन्दा अगाडि आउँथे । त्यसपछि चर्चामा लतिलकृष्ण नै रहे ।
ललितकृष्णले निर्वाह गर्ने समन्वयकारी भूमिकाले पनि उनलाई क्रियाशिल हुनुपर्ने बाध्यता थियो । फुटबलमा केहि वर्षको अन्तरमा आन्तरिक द्वन्द्व भइरहन्थ्यो । त्यसमा उनी पक्ष र विपक्षीका बीचमा लगातार साझा व्यक्तिका रुपमा प्रस्तुत हुन्थे । यद्दपी जस्तो संकटबाट पनि थापालाई जोगाउनु पर्छ भन्ने उनको दिमागमा सधै रहन्थ्यो । थापा जोगिंदामात्र आफू सुरक्षित हुने र भावी नेतृत्व बन्न सकिन्ने उनको बुझाई थियो ।
तत्कालिन समयमा थापाको विरुद्धमा गएर एन्फा नेतृत्वमा पुग्न सकिन्न भन्नेमा उनी प्रष्ट थिए । वर्तमान महासचिव इन्द्रमान तुलाधर र पूर्व उपाध्यक्ष विजयनारायण मानन्धरले थापाविरुद्ध आन्दोलन गर्दा ललितकृष्ण नेपाल फुटबल संघ नामक अर्को संघको अध्यक्ष बन्ने प्रस्ताव थियो । त्यसलाई उनले स्वीकारेनन् ।
त्यसअघि २०६२-०६३ को आन्दोलन पश्चात तत्कालिन नेकपा माओवादीको भातृ संगठन गणतान्त्रिक खेलकुद महासंघले पनि थापाविरुद्ध अभियान चलाएको थियो । त्यति बेला पनि थापाको बचाउको नेतृत्व एन्फाबाट ललितकृष्णले नै गरेका थिए । जहिले पनि संकटमा आफुभन्दा अगाडि उभिने भएकाले थापा उनलाई चिढाउन चाहदैन थिए । तर, थापाको स्वभावका कारण समय समयमा पर्ने खटपट र अपमानले उनी दिक्क पनि मान्थे ।
त्यसका बाबजुद निराशालाई उनी आफूमाथि हावी हुन दिदैनथे । र फुटबलको महान अभियानमा साना तिना विषयमा रोकिन्नु हुन्न भनेर अघि बढिरहे । थापाले पटक पटक भन्ने गरेका छन्, ‘ललित भइदिएको भए सायद मलाई यति संकट पर्ने थिएन । मेरो दाहिने हात थिए । नेपाली फुटबलले अति आवश्यक मान्छे गुमाएको छ ।’
ललितकृष्णलाई एन्फा भित्रै पनि केहिले रुचाउँदैन थिए । उनलाई त्यो पनि राम्ररी थाहा थियो । काममा बढी विश्वास गर्ने उनी जिल्ला वा क्लबका प्रतिनिधिसँग भने खासै सम्पर्क बनाउन जान्दैनथे । कामले नै सबैको मन जित्न सकिन्छ भन्नेमा उनको बढी विश्वास देखिन्थ्यो ।
पदाधिकारीका रुपमा मात्र होइन फिल्डमा काम गर्ने सवालमा पनि अरु भन्दा निकै अगाडि थिए । त्यसले पनि उनी अरु भन्दा फरक थिए । एन्फा कार्यालय भवन होस्, एकेडेमी निर्माण वा स्तरोन्नतीमा होस् त्यो सबैको नेतृत्व उनले नै गरेका थिए । थापाकै समयमा खर्चिलो, व्यवस्थापन गर्न कठिन भएको भन्दै एन्फा एकेडेमी बन्द गर्ने चर्चा एन्फा बैठकमै चलेको थियो । सबै लगभग त्यहि मनस्थितिमा थिए ।
यसैपनि थापाको प्रस्तावलाई हत्तपत्त काट्ने अरु कोहि हुन्थेन पनि । तर, ललिकृष्णले एन्फाको मुख्य आकषर्ण र फुटबल विकासको एउटा महत्वपूर्ण पाटो नै एकेडेमी भएको दलिल दिए । अरुले हेर्न नसके आफै व्यवस्थापनको जिम्मेवारी लिने तर एन्फा एकेडेमी बन्द गर्न नहुने ललितकृष्णको तर्कमा थापा कन्भिन्स भएका थिए । जसलाई थापा अहिले पनि स्वीकार्छन् ।
थापाले भनेका थिए, ‘सायद ललितले त्यो नभनेको भए हामी बन्द गर्ने अवस्थामा पुग्न पनि सक्थ्यौं । उनको कुरा म कन्भिन्स भए ।’ जस्तै कठिन परिस्थितिमा पनि घरेलु फुटबल बन्द हुँदा पनि एकेडेमी निरन्तर रुपमा चलेको थियो । जसले गर्दा पुरुषको उमेर समूहदेखि राष्ट्रिय टोलीमा पनि एन्फा एकेडेमीकै उत्पादनको बाहुल्यता रहन्थ्यो , अहिले पनि रहन्छ ।
एन्फा एकेडेमीका उत्पादन समेत रहेका राष्ट्रिय टोलीका कप्तान विराज महर्जन सबै खेलाडीले उनलाई अविभावकका रुपमा लिने गरेको स्मरण गर्छन् । ‘प्रत्येक खेलाडीको मानसिकता बुझ्न सक्ने र त्यहि अनुसारको बोली र व्यवहारबाट कन्भिन्स गराउन सक्ने अद्भुत क्षमता उहाँ सँग थियो । समय समयमा हामीलाई भेट्न आउनु हुन्थ्यो,’ कप्तान महर्जनले स्मरण गरे, ‘सबैलाई माया गर्ने । केहि पनि समस्या आफुलाई भन्नु भन्नुहुन्थ्यो । म मात्र होइन सबै खेलाडी उहाँलाई आफ्नो कुरा राख्न सहज मान्थे ।’ यसबाट पनि उनको सरलता र सहजता अनुमान गर्न सकिन्छ ।
विवाद समाधानसँगै व्यवस्थापनमा पनि उनी माहिर मानिन्थे । ‘प्याच अप’ उनले अत्याधिक प्रयोग गर्ने शब्द थियो । उनी सबैलाई मिलाएर लानुपर्छ सबैको भूमिकाको सम्मान गर्नुपर्छ भन्ने मान्थे । ५ रुपैयाँले २५ रुपैयाँको काम गर्नुपर्ने नेपाली फुटबलको बाध्यता हो भन्ने विश्वासका साथ अघि बढेका श्रेष्ठ आफूलाई थाहा भएको कुनै पनि विषयमा भन्थे, ‘त्यो मैले थाहा छ ।’
अघिकांश समय राष्ट्रिय टोलीको टोली नेता उनै हुन्थे । प्रशिक्षक, खेलाडी र अरुको पनि भावनाको कदर गर्ने, जस्तै संकट पर्दा पनि टार्ने उनको क्षमतालाई एन्फाले पनि राम्ररी चिनेको थियो । नेपाली टोलीले उपाधि जितेको हेर्ने उनको सपना थियो । दुर्भाग्य उनको जीवन कालमा नेपालले त्यस्तो उपलब्धी हासिल गर्न सकेन ।
सञ्चारकर्मीसँग पनि राम्रो सम्बन्ध रहेका कारण लतिलकृष्णलाई थापाले एन्फाको प्रवक्ता बनाएका थिए । अन्त्यसम्म पनि उनले त्यो भूमिका निर्वाह गरिरहे । नेपाल खेलकुद पत्रकार मञ्चसँग समय समयमा एन्फाको विवाद हुँदा पनि संस्थागत सम्बन्ध स्थापित गराउनेमा उनकै भूमिका महत्वपूर्ण हुन्थ्यो । अधिकांश समयमा उनी फुटबलमा सक्रिय हुँदा घरमा समय दिन भ्याउँदैन थिए ।
व्यक्तिगत भन्दा एन्फाको काम जहिले उनको प्राथमिकतामा पर्थ्यो । उनको बालबच्चा अलि ढिला गरि भएको थियो । छोरा र छोरी जुल्म्याहा जन्मेपछि उनी दंग थिए । व्यक्तिगत सबै व्यवसाय छाडिसकेका उनी २०७२ को भूकम्पपछि पाटनमा रहेको घर छाडेर भैंसीपाटीस्थित निर्माणाधीन घरमा सर्ने तयारीमा थिए ।
साइत हेराएर उनी जेठ २९ गते पुजा गरेर एक दिनका लागि बस्न भैंसीपाटी गएका थिए । त्यसपछि एक महिना सम्म साइत नभएकाले उनले त्यहि दिन सर्ने निधो गरेका थिए । तर, दैवको लिला । समयले अर्कै कथा लेखिरहेको थियो । छिमेकीको घरबाट अस्थायी रुपमा ल्याएको तारमा रहेको करेन्ट लागेर उनको मृत्यु भएको थियो । परिवारका लागि त त्यो बज्रपात नै थियो । परिवारले सहारा र छोरा छोरीले अभिभावक गुमाएका थिए । त्योसँगै नेपाली फुटबलले पनि एउटा सच्चा सारथी गुमाएको थियो ।
यस्तोमा एन्फाका पूर्व महासचिव धिरेन्द्र प्रधान सम्झिन्छन्, ‘नानीबाबु सानै छन्, दाई म मरे भने त तीनले दुःख पाउँछन् होला है भन्थे । किन यस्तो कुरा गर्छन् ललित भन्ने लाग्थ्यो । अहिले सम्झदा लाग्छ मान्छेलाई जेमा बढी डर हुन्छ सायद त्यहि दुर्घटना उनको जीवनमा आउँछ । मान्छेले बाचुन्जेल गरेको कामका आधारमै मलामी कमाउँछ भन्ने चलन छ । लतिलकृष्णको शव यात्रालाई सम्झने हो भने उनले फुटबलमा पुर्याएको योगदान बुझ्न सहज हुनेछ ।
फुटबल बाहेकको खेलजगतमा पनि उनले आफ्नो छवि बनाउँदै लगेका थिए । फुटबलकै कारण उनी पाटनमा साझा व्यक्तित्व बन्ने क्रममा थिए । तत्कालिन सात पार्टीको सहमतिमा उनले ललितपुर उप महानगरपालिकाबाट व्यापारिक भवन निर्माणका लागि भन्दै लगनखेलमा १३ आना जग्गा क्लबका नाममा लिजमा लिन सफल भएका थिए । यद्दपी त्यो भवन भने बन्न सकेन ।
२०७२ वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प जाँदा उनी कार्यवहाक अध्यक्ष नै थिए । मानसिक रुपमा सबै कमजोर भएको अवस्थामा पनि उनले यू १४ टोलीलाई एएफसीको प्रतियोगिता खेल्न ताजकिस्तान पठाउने चाँजो मिलाएर सफल नेतृत्वको उदाहरण प्रस्तुत गरेका थिए । उनको भनाइ थियो, खेलकुद नै यो कठिन समयमा देशलाई एकतावद्ध पार्ने कडी हो । अहिले कोरोनाले विश्व आक्रान्त छ । नेपाल पनि त्यसले अछुतो छैन । अझ त्यसमाथि एन्फा आन्तरिक विवादका कारण गतिहिन जस्तो भएको छ । यस्तो कठीन अवस्थामा नेपाली फुटबलमा उनी जस्तो सुझबुझपूर्ण नेतृत्व र संकटमोचकको अभाव झनै खड्किएको छ ।
झन्डै २ दशक भन्दा लामो समय व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबैको प्रिय बनेर फुटबलमा क्रियाशिल हुन सहज थिएन । आजको समयमा एन्फा भित्रैको गुटबन्दी हेर्दा ललितकृष्णको अभाव अभाव महसुस गरेको पाइन्छ ।। समन्वयकारी भूमिका , नेतृत्व गर्ने क्षमता , अधिकांशका प्रिय, त्यो भन्दा पनि बढी फुटबलका सच्चा सिपाही ललित (दाई) कृष्ण श्रेष्ठलाई हाम्रो खेलकुद डटकमको हार्दिक श्रद्धान्जली । सम्भवतः नेपाली फुटबलले उनलाई कहिल्यै बिर्सने छैन ।
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि १४ मध्ये १० क्लबले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन्। ३ वर्षअघिको बी लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने उनीहरुले सामूहिक रुपमा अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। मंसिर ६ गते एन्फा र क्लबका […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएई नेपप्लिज फुटबल एसोसिएसन (युएनएफए) ले नेपाली समाज मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ। युएई नेपाल पत्रकार महासंघलाई टाइब्रेकर पराजित युएनएफएले उपाधि जितेको हो। १-१ को बराबरीपछि टाइब्रेकरमा युएनएफले बाजी मारेको हो। त्यसअघि सेमिफाइनलमा युएनएफएले नेपाली दुतावास र युएई पत्रकार महासंघले एनएसयु एसोसिएसनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो। नेपाली दुतावासका सागर […]
November 25, 2024
एजेन्सी- रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार लेगानेसलाई ३-० ले हराएको छ। रियलका लागि केलियन एमबाप्पे, फेडरिको भाल्भार्डे र जुड बेलिङघमले गोल गरे । यो जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी ४ अंक भएको छ। शनिवार बार्सिलोना बराबरीमा रोकिएको थियो । एमबाप्पेले ४३ औं मिनेटमा गोल गर्दा रियलले पहिलो हाफमा १-० को अग्रता बनायो। रियलमा यो उनको […]