5 years ago
May 13, 2020
एजेन्सी – बार्सिलोनाका सुरुवाती दिनका नायक लास्जलो कुबाला देखि म्याराडोना हुँदै मेस्सीसम्म, बार्सिलोनामा जर्सी नम्बर १० को इतिहास बेग्लै छ ।
बार्सिलोना र जर्सी नम्बर १० को सम्बन्ध सुरुवात देखिनै सुमधुर रहँदै आएको छ । पछिल्लो दशक लिओनेल मेस्सीले जर्सी नम्बर १० को महत्त्व बढाउँदा त्यसअघि रोनाल्डिन्होले यस जर्सीमा सजिएर क्याटलान क्लबमा प्रभाव जमाए । बार्सिलोनाका सर्वकालीन महानको सुचिमा आउने केहि खेलाडीले जर्सी नम्बर १० नै रोजे ।
स्पेनी फुटबलमा आफ्नो जादु देखाएका कुबाला, म्याराडोना, गुआर्डीओला, रोमारियो लगायत खेलाडी यसै जर्सीमा मैदान उत्रिए । विश्वचर्चित फुटबल वेबसाइट गोलले बार्सिलोनाको इतिहास कोट्याउने क्रममा सन् १९४० को दशकदेखि हालसम्म जर्सी नम्बर १० लगाउने खेलाडीको बयान गरेको छ ।
सुरुवाती युग : कुबाला, सुआरेज र एभारिस्टो
स्पेनी फुटबलमा सन् १९४७ मा जर्सी नम्बर प्रयोगमा आयो । रियल र एटलेटिकोबीचको म्याड्रिड डर्बीमा पहिलोपटक नम्बर अंकित जर्सी लगाइएको थियो । सुरुवातमा जर्सी नम्बर खेलाडीलाई नभएर मैदानमा खेल्ने पोजिसन अनुसार अंकित गरिएको थियो । सुरुवाती रोजाईमा खेल्ने खेलाडीले १ देखि ११ नम्बर जर्सी लगाउँथे ।
बार्सिलोनाका लागि पहिलो पटक १० नम्बर जर्सी अर्जेन्टिनी मिडफिल्डर फ्लोरेन्सियोले लगाएका थिए । तर क्लबमा प्रभाव जमाउन सफल खेलाडीमा भने हंगेरीका फरवार्ड लास्जलो कुबाला थिए । कुबाला सन् १९५० मा शरणार्थीका रुपमा रुसी सैनिकको भेषमा स्पेन पसेका थिए । त्यसबेला हंगेरी फुटबल महासंघले सम्झौता तोडेको आरोप लगाएपछि उनले प्रतिबन्ध पनि भोगे । रियल र बार्सिलोना दुवैले उनलाई अनुबन्ध खोजेपनि उनले बार्सिलोना रोज्दै एक वर्ष सजायपछि डेब्यु गरे ।
कुबालाले चार पटक स्पेनी उपाधि र पाँच पटक कोपा डेल जेनेरलिसिमो जिते । १९५० को दशकमा क्लब उकालो लाग्दा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो । सन् १९५० देखि १९६१ को बिचमा उनले ३ सय ५७ खेलमा २ सय ८१ गोल गरे । उनले नै हंगेरीका सान्डोर कोच्सिस र जोल्टन जिबोरलाई टोलीमा भित्र्याउन सहयोग गरे । यी दुवैले क्लबमा लामो समय रहँदै आफ्नो नाम बनाए ।
कुबालासँगै खेलेका स्पेनिस मिडफिल्डर लुइस सुआरेज र ब्राजिली फरवार्ड एभारिस्टोले पनि क्लबमा दिग्गज खेलाडीको रुपमा परिचय बनाए । दुवै खेलाडीले आफ्नो करीअरमा कुनै समय जर्सी नम्बर १० प्रयोग गरे पनि ।
सन् १९८० र १९९० को दशक : म्याराडोना स्टोइच्कोभ र रोमारियो
सन् १९६० र ७० को दशकमा जर्सी नम्बर १० प्रयोग गर्ने धेरै खेलाडी भए । रामोन भिल्लाभेर्दे, फर्नान्ड गोयाभर्त्स, ह्युगो सोटिल र जान म्यानुएल एसेन्सी सबैले यो जर्सी लगाएपनि उक्त जर्सीको प्रभावलाई भने न्याय दिन सकेनन् । त्यसपछि बार्सिलोनाले म्याराडोना अनुबन्ध गर्यो ।
अर्जेन्टिनी फरवार्ड म्याराडोना त्यसबेलाको विश्व कीर्तिमानी ५ मिलियन पाउण्डमा १९८२ विश्वकपपछि स्पेनी लिगमा आए । क्लबमा उनको लागि समय सुखद रहन नसकेपनि उनले कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि दिलाए ।
सन् १९८३ मा रियल म्याड्रिडविरुद्ध उसकै घरेलु मैदान सान्टियागो बर्नाबाउमा गरेको उत्कृष्ट प्रदर्शनपछि रियलका समर्थकले उठेर ताली नै बजाए । तर क्लबको व्यवस्थापनसँग लगातार समस्या हुँदा उनको भविष्य लामो समय बार्सिलोनामा रहेन ।
त्यसै वर्ष कप फाइनलमा एथलेटिक बिल्बाओका मिगुएल सोलासँग झगडा परेपछि उनले दोस्रो सिजनपछि नै क्लब छाड्ने निर्णय गरे । बार्सिलोनामा ५८ खेल खेल्दै ३८ गोल गरेका म्याराडोनाको लागि नेपोलीले पनि विश्व किर्तिमान रकम तिर्यो । म्याराडोनापछि उक्त जर्सी स्टिभ आर्चिबाल्ड र रोबर्ट फर्नान्डेजले लगाए ।
पप गुआर्डीओलाले पनि आफ्नो करीअरमा जर्सी नम्बर १० प्रयोग गरे । मिडफिल्डमा जमेका गुआर्डीओलाले चाडै नै जर्सी नम्बर ४ नै प्रयोग गर्ने रोजे तर उनको क्लबप्रतिको योगदानका कारण पनि उनले छोटो समय प्रयोग गरेकै भएपनि त्यसको महत्त्व उल्लेख गर्न जरुरि छ ।
त्यसपछि छोटो समयकै लागि भएपनि जर्सी नम्बर १० हृस्तो स्टोइच्कोभले लगाए । उनले सन् १९९३-९४ सिजनमा उक्त जर्सी लगाउँदै लिग र सुपर कपको दोहोरो उपाधि जिताए । आफ्नो बार्सिलोना करीअरमा स्टोइच्कोभले ५ लिग उपाधि र पहिलो पटक युरोपेली कप जिताए । उनले ३ सय ४१ खेलमा १ सय ६२ गोल पनि गरे । यद्यपि अधिकांश समय उनले जर्सी नम्बर ८ नै प्रयोग गरे ।
जर्सी नम्बर १० मा रोमारियोले पनि राम्रै प्रभाव जमाए । स्टोइच्कोभको सहकर्मी भएर खेलेका ब्राजिलियन फरवार्डले दुई सिजन क्लबमा बिताउँदै उत्कृष्ट प्रदर्शन गरे । उनले मात्र ८४ खेलमा ५३ गोल गरे । यी दुईको जोडी त्यसबेला विश्व फुटबलमै उदाहरणीय थियो ।
च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई ४-० ले पराजित गरेपछि सर एलेक्स फर्गुसनले यी दुईको प्रशंसा गर्दै भने, ‘ हामीले रोमारियो र स्टोइच्कोभको गति सम्हाल्न सकेनौं । जुन किसिमको आक्रमण उनीहरुले गरे, सायद पहिलो पटक एक्कासी यस्तो आक्रमणको सामना हामीले गर्यौं ।’
योहान क्रायफको ड्रिम टिम रहेको त्यो बार्सिलोनाले सन् १९९४ को च्याम्पियन्स लिग फाइनल खेल्यो । रोमारियो त्यस वर्ष फिफा विश्व वर्ष खेलाडी पनि घोषित भए । तर प्रशिक्षक क्रायफसँग फरक तर्क राख्दा उनी जनवरी १९९५ मा ब्राजिल फर्किए । त्यसपछि फ्लामेंगोसँग सम्झौता गरेका उनको बार्सिलोना करीअरमा पूर्णविराम लाग्यो ।
त्यसपछि केहि समय जर्सी नम्बर १० मा प्रतिभावन खेलाडी आएपनि जम्न भने सकेनन् । जर्ज हाजीले दुई सिजन बिताउँदा उल्लेखनीय योगदान गर्न सकेनन । रोजर गार्सिया, जिओभानी अनि जारि लिटमानेन पनि एक-एक सिजन भन्दा बढी टिक्न सकेनन् । फिनल्यान्डका लिटमानेनले छाडेपछि भने अर्को युगमा जर्सीको प्रभाव फेरी जाग्यो ।
आधुनिक युग : रिभाल्डो, रोनाल्डिन्हो र मेस्सी
रिभाल्डोले बार्सिलोनामा सुरुवाती तीन सिजन जर्सी नम्बर ११ प्रयोग गरे । सन् २०००-०१ सिजनमा भने उनले जर्सी नम्बर १० प्रयोग गर्ने निर्णय लिए । त्यो समय नै उनको लागि बार्सिलोनामा फलदायी सावित भयो । जर्सी नम्बर १० लगाएर उनले ५३ खेलमा ३६ गोल गरे । समग्रमा बार्सिलोनामा ५ सिजन बिताएका उनले २ सय ३५ खेलमा १ सय ३० गोल गरे ।
रिभाल्डोले दुवै लिग उपाधि जर्सी नम्बर ११ लगाउँदा नै जिते । तर उनले जर्सी परिवर्तन गरेपछि परिवर्तित रुपमा खेले । सन् २००२-०३ को सिजनमा जान रोमान रिकेल्मेले जर्सी नम्बर १० प्रयोग गरे । रिकेल्मेले एक सिजनमा खासै प्रभाव जमाउन सकेनन् र त्यसपछि अर्को युगका लागि हस्तान्तरण गरे ।
सन् २००३ मा पेरिस सेन्ट जर्मेनबाट रोनाल्डिन्हो बार्सिलोना आए । जर्सी नम्बर १० लगाउँदै उनले विश्वलाई नै फुटबल खेल्ने नयाँ शैली देखाए । मैदानभित्र विभिन्न ट्रीक, फ्लिक, बाइसाइकल किक, उपाधिहरु, बर्नाबाउमा रियलको समर्थकको वाहवाहि, र त्यो अद्भुत हाँसो – रोनाल्डिन्हो ब्राजिलको शैली र जर्सी नम्बर १० का नयाँ अनुहार बने । रोनाल्डिन्हो विश्व फुटबलका हालसम्मकै उत्कृष्ट खेलाडी हुन् भन्ने चर्चा सुरु हुने क्रममा नै थियो, जब मेस्सी आइपुगे ।
मेस्सीले बार्सिलोना करीअरभर १० नम्बर लगाएनन् । युवा खेलाडीका रुपमा टोलीमा आउँदा उनले ३० नम्बर जर्सी लगाएका थिए । त्यसपछि दुई सिजन उनले १९ नम्बर जर्सी प्रयोग गरे ।
सन् २००८-०९ मा पेप गुआर्डीओला प्रशिक्षक नियुक्त भएपछि मेस्सीले जर्सी नम्बर १० प्रयोग गर्ने निर्णय गरे । त्यो सिजन बार्सिलोनाले सम्भव भएको सबै उपाधि जित्यो । मेस्सी त्यस वर्ष वर्षको उत्कृष्ट खेलाडी भए र चाडै इतिहासकै उत्कृष्ट हुने पथमा अगाडी बढे ।
मेस्सीपछि जसले जर्सी नम्बर १० प्रयोग गर्ने हिम्मत गर्छ, उसलाई साहसी मान्नैपर्छ । मेस्सीले जे गरेम त्यसलाई दोहोर्याउन सम्भव छैन भन्ने थाहा हुनुले केहि सहज त हुन्छ नै । तर जर्सी नम्बर १० र बार्सिलोनाको जुन सम्बन्ध छ, त्यो सायदै अरुमा भेटिन्छ ।
March 19, 2025
सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । […]