5 years ago
May 3, 2020
सुबास हुमागाईं, काठमाडौं
रुपेश तामाङ नेपाली फुटबल पछ्याउनेका लागि नयाँ नाम होइन । नेपाली फुटबलकै स्वर्णीम ब्याच मानिने विमल घर्तीमगर, अनन्त तामाङ, अन्जन विष्ट लगायत खेलाडी सम्मिलित एन्फा एकडेमी ब्याचका डिफेन्डर हुन् उनी । अहिलेको अवस्था हेर्दा उनि डिफेन्डर थिए भन्दा फरक नपर्ला, किनभने उनले प्रतिस्पर्धात्मक खेल नखेलेको ४ वर्ष बढी भइसक्यो । कारण हो लगातार चोट ।
नेपालले सन् २०१४ मा थाइल्याण्डमा एएफसी यू-१६ प्रतियोगिता खेल्दा कुवेत र उत्तर कोरियाजस्ता बलिया टोलीविरुद्ध खेल्दा उनले हाल राष्ट्रिय टोलीमा रहेका अनन्त तामाङ, दीनेश राजवंशी लगायत खेलाडीसँग डिफेन्स सम्हालेका थिए । त्यस प्रतियोगितामा नेपालको प्रदर्शनले निकै प्रशंसा बटुलेको थियो ।
त्यसअघि सन् २०१३ मा भएको यू-१६ को छनोटमा नेपालले बहराइन, इराक र तुर्कमेनिस्तान जस्ता टोलीविरुद्ध अपराजित रहँदै समूह विजेता बनेर अन्तिम चरणको यात्रा तय गरेको थियो । त्यस प्रतियोगिताको प्रदर्शनले पनि नेपाली फुटबलमा यस ब्याचले केहि राम्रो गर्छ भन्ने लख काटिएको थियो । भयो पनि त्यस्तै ।
त्यसयता अन्जन, अनन्त र विमलसँगै दीनेश राजवंशी, हेमन्त थापामगर, सुनिल बल लगायतले सिनियर टोलीबाट डेब्यु गरिसकेका छन् । अमित तामाङ, संजोक राई, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी लगायत खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेका छन् । बिडम्बना भन्नुपर्छ त्यसै ब्याचका केहि खेलाडी खेल जीवन छोडेर विदेशी सेनामा भर्ति हुन लागे । त्यसबेलाका डिफेन्डर आकाश थापा, जनोम लिगल, सुदन थापा, मिडफिल्डर विकास थापा, फरवार्ड शिव सुवेदी लगायत खेलाडी हाल विदेशी सेनामा कार्यरत छन् ।
सुरुमा घरमा फुटबलमा लाग्न केहि कठिन भएका रुपेशले यू-१६ को प्रदर्शनपछि फुटबल नै खेल्ने निर्णय लिए । उनले २०७१ सालमा राष्ट्रिय लिगमा घरेलु टोली मोरङबाट खेल्ने निधो गरे । उनलाई अन्य ए डिभिजन क्लबबाट खेल्ने प्रस्ताव आएपनि पहिलो प्रतियोगिता आफ्नो ठाउँबाट खेल्न उनको रहर थियो । उनले उक्त लिगमा ७ खेल खेले ।
२०७२ साल वैशाख १२ गतेको महाभूकम्पको दिन रुपेश मोरङ-११ को जर्सीमा राष्ट्रिय लिगको खेल खेल्दै थिए । भूकम्पका बाबजुद पनि झापा-११ विरुद्ध उक्त खेल एन्फाले जारी राख्ने निर्णय लियो । खेलमा मोरङ पराजित भयो । र दुर्भाग्य भन्नुपर्छ आजको दिनसम्म रुपेशले खेलेको अन्तिम खेल पनि त्यहि हुन पुग्यो । भूकम्पका कारण एन्फाले लिग स्थगित गर्यो ।
लिग सुचारु हुनुअघि नै साफ यू-१९ च्याम्पियनसिपका लागि प्रशिक्षण डाकियो । बालगोपाल महर्जनको प्रशिक्षणमा यू-१६ कै अधिकांश खेलाडी समेटेर सुरु भएको प्रशिक्षणमा रुपेश घाइते हुन पुगे । उनलाई लागेको थिएन चोट गम्भिर होला भनेर । उनले साफको माया मार्दै प्रशिक्षण छाड्नुको विकल्प रहेन । चोटकै कारण उनले घरेलु मैदानमा नेपालले साफ यू-१९ को उपाधि जित्दा टोलीको हिस्सा बन्न पाएनन् ।
एकातिर आफूसँगै खेलिरहेका साथिहरु लगातार सफल हुँदा उनी मैदानबाहिर बस्दा पिडा थियो नै । अर्कोतिर आफ्नो चोटको उचित उपचार नहुँदा उनमा कहिले मैदान फर्कने भने अन्यौलताले पनि सतायो । एन्फाको भर परेका उनले अन्तत आफैं उपचार गर्ने निर्णय लिए । एन्फाको आश्वासनले आजित उनले २०७२ चैत्रमा आफ्नै खर्चमा टिचिङ अस्पतालमा शल्यक्रिया गरे । देशका लागि खेलेको मान्छे आफैं उपचार गर्छु भन्दा घरमा मनाउन पनि उनलाई केहि समस्या भयो । तर एन्फाको बाटो हेरेर त्यो भन्दा पनि ढिला उपचार गर्नु उनलाई ठिक लागेन ।
‘बन्द प्रशिक्षणको समयमा लागेको चोट । प्रतियोगिता जितेर अन्य खेलाडी क्लबमा खेल्दा पनि मेरो चोटको उपचार हुन सकेन । घरमा सम्झाउन त केहि गाह्रो भयो । तर आफैं नगरी नहुने देखेपछि शल्यक्रिया गरें,’ उनले भने, ‘त्यसपछि डेढ वर्ष विश्राम र फिजियोमै बित्यो । खेलमा फर्कन्छु भन्ने आत्मविश्वास थियो ।’
चोटबाट फर्केपछि रुपेशले २०७५ सालमा भएको रेलिगेसन बिनाको लिगका लागि मनाङसँग अनुबन्धित भए । लिगको पहिलो खेल दशैंअघि खेलेपछि मनाङ सिक्किम जाने कार्यक्रम थियो । गभर्नर्स गोल्डकपका लागि टोलीले झापामा प्रशिक्षण राख्यो । त्यहीं प्रशिक्षण गर्ने क्रममा रुपेश घाइते भए । त्यसपछि उनी घर फर्किए । अनुबन्धबारे पनि उनले क्लबसँग केहि कुरा गरेनन्, न क्लबले नै उनलाई सम्पर्क गर्यो ।
पछिल्लो पटक घाइते हुँदा एन्फाको साथ नपाएका रुपेशले यसपटक नयाँ नेतृत्व आएका कारण एन्फामा केहि सहयोग पाइन्छ कि भनेर प्रयास गरे । उनले सकारात्मक जवाफ पाएपछि केहि होला भन्ने आशा पलायो । तर आश्वासनबाट अगाडि उनको प्रयासमा केहि भएन । उनले सहयोगकै आशमा केहि समय काठमाडौं बसे । पछि विराटनगरमा साफ च्याम्पियनसिप हुँदा पनि एन्फा पदाधिकारीलाई भेट्न पुगे । काठमाडौं आएर यसबारे विस्तृत छलफल गर्ने उनले अर्को आश्वासन पाए, तर फेरिपनि काठमाडौं आउनु व्यर्थ भयो ।
मैदान छाडेको झन्डै ४ वर्ष भइसकेको थियो । तर मनाङसँग प्रशिक्षण गर्दा उनले आफू अझै खेल्न सक्ने बुझेका थिए । आत्मविश्वास पनि थियो । अझ यसअघि शल्यक्रिया गर्न केहि हिच्किचाएको परिवारले यसपटक आफैं भएपनि शल्यक्रिया गर्न भन्यो ।
‘ मैले त एक समय अब फुटबल बिर्सेर अगाडि बढौं भन्ने पनि सोचेको थिएँ । तर घरमा अब यत्रो त गरियो, आफैं भएपनि अन्तिम प्रयास गरौँ भन्नुभयो । त्यसपछि थप उर्जा आयो अनि काठमाडौं आएँ । यसपटक कसैको आश नराखी आफ्नै खर्चमा केएमसीमा शल्यक्रिया भयो,’ उनले भने ।
गत माघमा शल्यक्रिया गरेका रुपेश हाल गृहनगर उर्लाबारीमा आफैं फिजियोमा व्यस्त छन् । काठमाडौंबाट राष्ट्रिय टोलीका फिजियोथेरापिस्ट रहिसकेका सुरज भुसालले दिएको निर्देशन अनुसार उनी लकडाउनमा आफैं अभ्यास गरिरहेका छन् । भुसालका अनुसार उनलाई मैदानमा रिह्याब गर्न ६ महिना र पूर्ण रुपमा मैदान फर्कन ९ देखि १० महिना लाग्छ । तर लकडाउनको समयले गर्दा उनको चोट कतिको सुधार भएको भन्ने भेउ नपाउँदा केहि कठिनाई भएको भुसालले बताए ।
रुपेश भने नियमित फिजियो गरेर अब सकेसम्म चाडो मैदानमा फर्कन चाहन्छन् । आफ्नो परिवारको लागि भएपनि उनी फेरी खेल्न चाहन्छन् । यसबीचमा उनले फुटबलमा लाग्दा रोकिएको पढाइलाई भने निरन्तरता दिन पाए । सुरुमा फुटबलमा लगेर उनको करियर परिवर्तन भएको थियो । डाक्टर बन्ने लक्ष्य राखेका रुपेशले एसएलसी सकिएपछि विज्ञान संकाय रोज्दै कलेज पढें ।
उनी ११ कक्षा पढ्दै गर्दा यू-१६ टोलीको छनोटमा भिड्दै टोलीमा परेपछि पढाइमा ध्यान दिन सकेनन् । राष्ट्रिय टोलीमै खेल्ने भएपछि पढाइ भ्याउने कुरा थिएन । उनले जसोतसो पास त भए तर डाक्टर पढ्ने सपना खेलाडी बन्ने लक्ष्यअगाडी निरिह सावित भयो । घरमा पनि राष्ट्रको जर्सी लगाएर खेल्ने अवसर पाउने हुँदा रोकतोक भएन । अहिले आएर भने त्यो निर्णयबारे सोच्न बाध्य भएको रुपेश बताउँछन् ।
‘देशको लागि भनेर डाक्टर बन्ने सपन त्यागेर फुटबलमा लगियो । परिवारले पनि देशकै लागि खेल्छ भनेर साथ दियो । मैले के पाउँछु भनेर खेलमा लागेको थिइन, तर यस्तो अवस्था हुँदापनि साथ नपाउँदा दुख लाग्ने रहेछ,’ रुपेशले सुनाए, ‘ फुटबल खेलेर देशको नाम राख्छु भन्ने थियो । केहि हदसम्म सफल भएँ, तर अझै गर्नु थियो । अझै पनि आत्मविश्वास छ, हेरौं शरीरले कति साथ दिन्छ ।’
रुपेशले चोट लागेर घर फर्केपछि ब्याचलरमा भर्ना भए । बिबिएस सकेपछि हाल उनी ग्रामिण विकासमा स्नातकोत्तर गर्दैछन् । फुटबलमा फर्केर करियरनै बनाउने प्रयास त रहनेछ नै, सँगै उनले त्यसैमा भर पर्ने अवस्था भने देखेका छैनन् ।
रुपेशले अन्तिममा भने,’मेरो त परिवारको साथ थियो र अहिलेको अवस्थामा पनि आफैं उपचार गरेको छु । फुटबलकै भरमा बाच्ने खेलाडीको हालत के होला? एन्फाले यस विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ । देशको लागि केहि दिएपछि केहि नपाएपनि दुखको बेलामा साथ खोज्नु स्वभाविक हो । मैले त परेको बेलामा साथ पाइन, तर अब अरुलाई मेरो जस्तो अवस्था नआवोस । दुर्भाग्यवास आइहाले एन्फाले उचित कदम चालोस् ।’
February 24, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जित हात पार्दै रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । आइतवार राती सम्पन्न खेलमा रियलले जिरोनामाथि २-० को जित हात पारेको हो । घरेलु मैदानमा रियलको जितमा लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । खेलको ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ८३औं मिनेटमा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]