5 years ago
April 24, 2020
जन्मपछि मृत्यु निश्चित छ । मृत्यु भन्ने वित्तिकै दुःख सँगै जोडिएर आउँछ नै । कति मृत्यु स्वभाविक हुन्छन् त कति अस्वभाविक । स्वभाविक मृत्युका लागि अधिकांश मानसिक रुपमा तयार भइसकेका हुन्छन् । यद्यपी ती सबै प्रकट हुँदैनन् । अर्को अस्वभाविक मृत्युलाई स्वीकार गर्न भने कठिन र बढी पीडादायी हुन्छ ।
२०७२ वैशाख १२ गतेको गएको विनाशकारी महाभूकम्पले नेपालमा झन्डै ९ हजार मानिसको ज्यान गएको थियो । मृतकका आफन्तलाई त्यो अस्वभाविक मृत्यु स्वीकार गर्नका लागि निकै कठिन परेको हुनुपर्छ । भूकम्पले मृत्यु हुने परिवारका कथा व्यथा अलग अलग छन् । एक सेकेन्डले कतिको ज्यान गएको हुनुपर्छ भने सेकेन्डकै कारण कतिको ज्यान जोगियो पनि होला ।
हामी नेपालका खेलकुद पत्रकार अझ भन्नुपर्दा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) परिवारका लागि महाभूकम्पले त्यस्तै एउटा अस्वभाविक मृत्यु पीडादायी र पत्याउनै नसकिने घटना निम्त्यायो । हामीले हाम्रा मिलनसार सहकर्मी (भाई) सुमन भोम्जनलाई त्यसै भूकम्पमा गुमाएका थियौं ।
हेटौंडामा पत्रकारिता सुरु गरेका सुमन खेलकुद पत्रकारिता गर्नकै लागि राजधानी छिरेका थिए । काठमाडौंको नेपाल एफएम हुँदै सुरु भएको उनको खेलकुद पत्रकारिता गोरखापत्रमा पुगेर अघि बढ्दै थियो । सुरुवातमा घट्टेकुलो अनि मैतीदेवी हुँदै उनी त्यसबेला वीर अस्पताल अगाडीको फलफूल गल्लीमा बस्ने गरेका थिए । भूकम्पमा उनी बसेको घर भत्कँदा उनी त्यसै घरमा परेका थिए ।
भूकम्पकै कारण सुमनको मृत्यु भएको निश्चित हुन भने एक साता लागेको थियो । एक साता न हामीसँग उनको सास थियो न त शव नै । त्यो एक साता कसरी बित्यो भन्ने हामी एनएनजेएफ परिवारसँग अलग्गै अनुभव छ । विनाशकारी भूकम्प र त्यसपछि हाम्रो पहलका बारेमा केहि पछि म चर्चा गर्ने नै छु । अहिले मैले चिनेको सुमनका बारेमा केहि लेख्ने प्रयास गर्छु ।
एनएसजेएफमा आबद्ध साथीहरुको सुमनसँग आ आफ्नै खालका सम्बन्ध र सम्झना हुनु स्वभाविक थियो । केहि सिमितसँग छाडेर उनी सबैसँग उत्तिकै मिल्थे । उनको बोल्ने शैलीले हामी सबैको भन्दा अलि फरक थियो । उमेरले गर्दा पनि होला मान्छे एकदम बिन्दास । भविष्यको बारेमा धेरै चिन्ता उनी गर्दैन थिए ।
उनको एउटा स्वभाव उमेर सकेसम्म कम भन्न पाउँदा खुसी हुने । उनले आफ्नो असली उमेर कहिल्यै बताएनन् । सधैं आफुलाई २३-२४ वर्ष भन्न रुचाउने उनको स्वभाव थियो । सिनियर सबैलाई उनी दाजु भनेर सम्बोधन गर्ने । हामी कहिले काही उनको क्यारिकेचर पनि गर्थ्यौं ।
उनीसँग मेरो पहिलो भेट ठ्याकै याद छैन । लाग्छ एनएसजेएफकै त्रिपुरेश्वस्थित कार्यलयमा भएको हुनुपर्दछ । मञ्चको मकवानपुर समन्वय शाखाको संस्थापक अध्यक्ष भएका नाताले उनलाई नभेटे पनि नामले हामी एकअर्कासँग परिचित थियौं । काठमाडौं आएको केहि समयदेखि नै उनी नियमित एनएसजेएफ कार्यालय आउनेमा पर्थे । नियमित हुने हाम्रो जमघटले घनिष्टता पनि त्यहि हिसाबले बढ्ने नै भयो ।
फिल्ड रिपोर्टिङ बाहेकका दिन हामी ११-१२ बजे मञ्च पुग्ने र साँझ आ-आफ्नो काममा जानुअघि मञ्चमै गफमा रमाउने हाम्रो दैनिकी हुन्थ्यो । अझ एनएसजेएफले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड सुरु हुनु झन्डै दुई महिनादेखिको हाम्रो व्यस्तता निकै हुन्थ्यो । त्यसमा सक्रिय हुने मध्ये सुमन एक हुन् । नेपाल एफएमबाट उनी गोरखापत्र गए पनि मञ्चमा उनको सक्रियता उस्तै थियो ।
सायद २०६८ साल तिर हुनुपर्दछ । म शारीरिक रुपमा निकै मोटो थिए । अलि होचो कदको भएपनि उनी पनि मोटै थिए । यसै सल्लाहै सल्लाहमा हामी दशरथ रंगशालामा मर्निङ वाकका लागि जाने निधो गर्यौं । अर्को सल्लाह भयो म उनलाई लिन जाने । मोटरसाइकलमा शान्तिनगरबाट घट्टेकुलो हुँदै रंगशाला पुग्ने हाम्रो दैनिकी भयो । मलाई सम्झना भएसम्म उनी र म झण्डै एक वर्ष नियमति रंगशाला गयौं ।
हेटौंडाकै बक्सिङ खेलाडी पूर्ण तामाङले मर्निङ वाक गर्दा पसिना धेरै आउने ज्याकेट बनाउँछन् भन्ने सुमनले भनेर थाहा पाए । हामीले अर्डर गरेर लगायौं, अहिले पनि बेला बेला पूर्णसँग भेट हुँदा सुमनको प्रसंग निस्किन्छ । सुमनकै कारण मैले पूर्णलाई चिनेको थिएँ । हामी दैनिक झन्डै ४५ मिनेट हिड्थ्यौं । अनि त्यसपछि दौडन्थौं । सुरु सुरुमा ५-६ राउन्ड दौडिने हामी पछि १०-१२ राउन्डसम्म दौडन थाल्यौं ।
पछि त यस्तो भयो म पनि सकेसम्म बढी दौडन खोज्ने । उनी पनि अलिक एकोहोरो, सकी नसकी मभन्दा एक दुई राउन्ड बढी दौडिनै पर्ने । सायद त्यहि देखासिकीले पनि होला हामीमा परिवर्तन देखियो । उनी निकै घटे । म पनि १५ केजीसम्म घटे । उनको प्रेसर अली कम हुने भएकाले बेला बेला गाह्रो हुन्छ भन्थे । अनि जीवनजल पानी खान्थे ।
विस्तार समयक्रमसँगै उनी घट्टेकुलोबाट मैतीदेवी सरे । उनी रंगशाला जान पातलो हुँदै गयो । म भने नियमित रुमपा गइरहन्थे । मञ्चमा भेट हुने क्रम भने छँदै थियो । खेलकुद पत्रकारितामा अझै राम्रो गर्नुपर्छ भन्नेमा उनी दृढ थिए । मागेको सल्लाह दिन्थे । तर, पछिल्लो समयतिर उनी मसँग कमै सल्लाह लिन्थे । मैले बीचमा एकपटक हप्काएपछि उनी मसँग अलि टाढा हुँदै गएका थिए ।
एनएसजेएफमा एन्फाबाट समाचार संकलनका लागि आएको एउटा कोटाका विषयमा उनलाई मैले रंगशालामै गाली गरेको थिए । एनएसजेएफले उनलाई पहिलो पटक देशबाहिर पठाउन लागेको थियो । उनले मलाई यो होइन त्यो टुर मिलाइदिनु भनेपछि मैले उनलाई भाई तिम्रो रुची हैन संस्थाको निर्णयमा हुन्छ भनेको थिए । सायद उनी त्यहँबाट मसँग अलिक टाढा भएको लाग्छ । मेरो लागि भने त्यो खासै ठूलो विषय थिएन । मञ्चको नेतृत्वमा बसेपछि सबैको चित्त बुझाउन सकिन्न भन्नेमा म थिए । समयक्रमसँगै त्यो विषय सामान्य हुने नै भयो । उनी पछि एउटा टुरमा गए पनि ।
राजधानीमा पत्रकारिता गरेपनि सुमन आफ्नो ठाँउमा भने केहि गर्न चाहन्थे । उनकै पहलमा हामीले हेटौंडामा खेलकुद पत्रकारिता र फोटो पत्रकारिताको तालिम पनि दिएका थियौं । मञ्चका निर्वतमान अध्यक्ष महेश आचार्य, मञ्चका केन्द्रिय सदस्य पवन आचार्य, नेपाल फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की र म तालिमका लागि हेटौंडा गएका थियौं । तालिमको तयारीका लागि पहिला नै त्यहाँ पुगिसेका सुमन फर्कंदा हामीसँगै फर्केका थिए ।
तालिमअघि मकावापुर मञ्चको आयोजनामा भएको प्रभातफेरीपछिको औपचारिक कार्यक्रमका लागि सुमनले भानुचोकको गाडी नै बन्द गराएका थिए । पछि पनि हामीले त्यो विषय निकालेर उनीसँग ठट्टा गर्थ्यौं । सुमनले चाहने हो भने हेटौंडा ठप्प हुन्छ भन्थौं । हाँस्दै उनको जवाफ हुन्थ्यो, ‘त्यस्तो होइन दाजु ।’ तालिमबाट फर्कनुअघि उनले हामीलाई घरमा खाना खानुपर्छ भनेकोले हामी गएका थियौं । त्यति बेला हो, सुमनको आमाबुबासँग पहिलो पटक भेट भएको ।
२०७२ वैशाख ४ गते एनएसजेएफकै हामी साथीहरु हाम्रो गाँउ (ढुंखर्क) जाने सल्लाह भयो । मैले सुमनलाई जाउँ भनेको थिएन । साथीहरुबाट उसले थाहा पाएपछि मलाई फोन गरेर जाने इच्छा व्यक्त गरे । मैले हुन्छ भनें । त्यतिबेला म कार्यरत नागरिकमा बाइक राखेर साथीहरुसँगै गाडीमा गएका थिए । केहि केहि गरिराख्नुपर्ने उनको स्वभाव । घरमा खाना पकाउने बेला उनी सघाउन अघि सरे ।
मेरो श्रीमतीले उनलाई पहिलाबाट चिन्ने भएकाले भान्सामा सघाउन थालेपछि उनलाई घरमा आमा,भाउजु, बहिनीले पनि याद गर्ने नै भए । हामीले सबैलाई एक ठाँउमा सुत्ने व्यवस्था गरेका थियौं । तर, सम्भव भएन । सुमन त्यहाँ अटेनन् । महेश दाई र म माथिल्लो तलामा सुत्न गयौ । सुमनलाई सँगै लग्यौं । खाट एउटा सानो थियो । त्यसमा सुमनलाई सुत भन्यौं हामी भूईमा सुत्यौं । भोलीपल्ट नै हामी गाँउबाट फर्केका थियौं ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि म घरै थिएँ । त्यतिबेला सबै आ-आफ्नो परिवारका बारेमा चिन्तित र अब के गर्ने भएकाले अरु धेरै सोच्ने अवस्था थिएन । सुमन सम्पर्कमा छैनन् भन्ने मैले बेलुका थाहा पाइसकेको थिएँ । तर, के गर्ने भन्ने सोचिन । सुमनले आफ्नी बहिनी नविनालाई ब्युटिसियन तालिमका लागि मेरो श्रीमतीसँग भेटाएका थिए । त्यसैले बहिनी र हाम्रो सामान्य चिनजान थियो ।
भूकम्पको भोलीपल्ट नविनाले मेरो श्रीमतीलाई अत्तालिँदै फोन गरेर दाईहरुलाई खोजिदिनु भन्न आग्रह गरिन् । त्यसपछि भने मैले मञ्चका तत्कालिन अध्यक्ष अजय फुयाल, महासचिव महेश आचार्य लगायतलाई परिस्थिति बताएँ । भोलीपल्ट भेटेर के गर्ने भन्ने सल्लाह भयो । त्यसबीचमा म र श्रीमती एक पटक सुमन बसेको एरिया एकपटक हेर्न जानु पर्यो भनेर सोच्यौं । ठ्याकै यहि बस्छन् भन्ने थाहा थिएन । गुच्चाटोलमा घुम्दै गर्दा खेलकुद पत्रकार साथी श्रीलोचन राजोपाध्यायसँग भेट पनि भएको थियो । हामी भूकम्पले मृत्यु भएकाहरुको
शव टिचिङ अस्पतालमा राखेको भन्ने सुनेपछि हामी त्यहाँ पुग्यौ । मैले गाडीमा चढाएको, सटरमा राखिएको सबै तिर हेर्यौं, तर उनी भेटिएनन् ।
सामाजिक सञ्जालमा सुमनसँग मुल्दो जुल्दो अनुहारको मान्छे फोटो आएपछि हामी (महेश दाई, मेरो श्रीमती) छाउनीस्थित आर्मी अस्पताल गएका थियौं । त्यहाँ फुटबल प्रशिक्षक राजुकाजी शाक्यसँग पनि भेट भयो । त्यहाँ पनि सुमन भेटिएनन् । सुमनलाई अस्पताल पुर्याएको छ भन्ने हामीलाई लाग्न छाड्यो । अनि खोजी अब उनी बसेको घर भत्केकै ठाँउमा केन्द्रित गराउने निधो गर्यौं । त्यसबीचमा परिवारसँग पनि म नियमित सम्पर्कमा थिए ।
सुमनका दाजु मदन (दाई) काठमाडौं आइसकेका थिए । उनी पनि हामीसँगै खोजीमा लागेका थिए । नेपाली सेनाको सहयोगमा हामीले सुमन बसेको भत्केको ठाँउमै खोज्न आग्रह गर्यो । अन्ततः वैशाख १९ गते सुमन मृत अवस्थामा फेला परे । त्यसपछि घरमा बुबाआमासँगको सल्लाह पछि हामीले उनको शव घर पठाएका थियौं ।
वैशाखकै अन्त्यतिर उनी हेटौंडामा स्पोर्टस अवार्ड आयोजना गर्ने तयारीमा थिए । हामीसँग सल्लाहपछि उनी एन्फाका तत्कालिन कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठ मुख्य अतिथि बनाउनेमा पुगेका थिए । भूकम्पपछि उनी हराउँदा खोजी गर्दा खोजीकार्यमा सहयोग गर्नेमध्य श्रेष्ठ पनि थिए । भूकम्पले सुमनको सपना मात्र लगेन उनलाई नै लिएर गयौ । त्यसको अर्को महिना उनले मुख्य अतिथि बनाउन चाहेका श्रेष्ठको पनि नयाँ घरमा सरेकै दिन करेन्ट लागेर मृत्यु भएको थियो ।
दुर्भाग्य भन्नुपर्छ हेटौंडामा रहेको उनको घर पनि भूकम्पले भत्किएको थियो । एनएसजेएफले उनको परिवारलाई सहयोग गर्ने अभियान चलाएको थियो । एआइपिएसको सहयोग र अरु सहयोगबाट हामीले हेटौंडा पुगेरै त्यो रकम हस्तान्तरण गरेका थियौं ।
कमजोरी विनाको मान्छे त कल्पना पनि गर्न सकिदैन । उनीमा पनि गुण र दोष थियो नै । तर, उनी सबैसँग मिल्न सक्ने खालका थिए । उनकै त्यहि सम्झनाले उनका बुबाआमा, दुई बहिनी (सविना र नविना) हरुसँग अहिले पनि म सम्पर्कमै छु । हरेक पल्ट हेटौंडा जाँदा हामी आमाबुबालाई भेट्न पुग्छौं । हरेक पल्ट आमा रुनुहुन्छ । त्यो देख्दा आफुलाई आँसु थाम्न गाह्रो हुन्छ । त्यसैले त हामी उनलाई सधै मिस गरिरहेका छौं । सुमन, तिम्रो आत्मालाई शान्ति मिलोस् । तिमिलाई सम्झिरहेका छौं।
January 15, 2025
हिमाल खरेल,बिर्तामोड झापा गोल्ड कप कार्यसमितिको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । त्यस्तै, सहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् । त्यस्तै, सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, […]
January 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले २-० को अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा मंगलवार अंक बाढेको छ। अन्तिम १० मिनेटमा दुई गोल फर्काउँदै ब्रेन्टफोर्डले सिटीलाई २-२ को बराबरीमा रोकेको हो । सिटीका लागि दुवै गोल फिल फोडेनले गरे। पहिलो गोल ६६ औं मिनेटमा गरेका फोडेनले अर्को ७८ औं मिनेटमा गरे। ब्रेन्टफोर्डका योआने विसाको ८२ औं मिनेटमा […]
January 15, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले नटिङघम फरेस्टसँग बराबरीमा खेलेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको नटिङघम मंगलवार लिभरपुलसँग १–१ को बराबरीमा रोकको हो। नटिङघमले खेलमा लिएको अग्रता जोगाउन सकेन। आठौं मिनेटमा क्रिस उडको गोलबाट नटिङघमले अग्रता लियो । लिभरपुलका लागि डिएगो जोटाले ६६ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि शीर्षमा लिभरपुलको छ […]