default_image

5 years ago

April 8, 2020

राकेश श्रेष्ठ – ‘नेपालका लागि खेल्नु नै अमूल्य कमाइ’

273 views

0 Bookmark

कप्तान कथन

– राकेश श्रेष्ठ, पूर्वकप्तान – नेपाल राष्ट्रिय फुटबल टोली

फुटबल खेल्न घर परिवारबाटै प्रोत्साहन पाउने भाग्यमानी मध्ये म पनि पर्छु । काठमाडौं टंगालमा जन्मे–हुर्केको मैले परिवारको विश्वासलाई भत्किन पनि दिइन जस्तो लाग्छ । टंगाल माध्यामिक विद्यालयमा पढ्दा पढ्दै महावीर क्लबबाट ‘बि’ डिभिजन लिग खेल्ने मौका पाएँ । मेरो सफल करियरका लागि त्यो अवसर आर्शीवाद बन्यो ।

हुनत त्यसपछि केही समय मनाङ मस्र्यांग्दी क्लबका लागि पनि खेलेँ । तर, २०५२ सालमा नै पुलिस क्लबसँग आबद्ध हुन पुगेँ । त्यहाँबाट लगातार १९ वर्ष खेलेर २०७१ सालमा खेलाडी जीवनबाट विश्राम लिएँ । यद्यपि, त्योभन्दा दुई वर्ष अघि नै मैले प्रहरी सेवाबाट अवकास पाइसकेको थिएँ । पुलिस  क्लबका लागि निरन्तर त्यति लामो समय खेल्न पाउनु मेरा लागि सधैं गर्वको विषय रह्यो ।

राष्ट्रिय टोलीमा सन् १९९६ मा नै छनोट भएपनि सुरुवाती समय त्यति सुखद भने रहेन । चोटका कारण छनोट भएका केही प्रतियोगितामा खेल्न नपाउँदा आत्मविश्वास मै कमी समेत आयो । सन् १९९८ मा आयोजना भएको विश्व कपको छनोट चरणमा खेल्ने २४ खेलाडीमा मेरो नाम पनि परेको थियो । त्यो सन् १९९६ को कुरा हो । तर, चोटका कारण आफैंले आत्मविश्वास गुमाउँदा जापानमा भएको छनोट खेल खेल्न नजाने निर्णय गरेँ । सन् १९९८ को दक्षिण एसियाली (साफ) च्याम्पियन पनि चोट कै कारण छाडेँ । ति दिन सम्झिंदा अहिले पनि चुकचुक लाग्छ ।

सन् १९९७ को जापान, कोरिया जस्ता मुलुकका विश्व विद्यालयको टोली सहभागी कोकाकोला कपमा भने खेलेको थिएँ । राम्रै खेलियो पनि । राष्ट्रिय टोलीबाटै भने सन् १९९८ को एशियाली खेलकुदको छनोट खेलका लागि पहिलो पटक मैदानमा उत्रिएँ । अनि त्यसपछि लगातार ३४ वटा अन्तर्राष्ट्रिय खेलमा पुरा ९० मिनेट मैदानमै बिताएँ । मैले जीवनमा गर्व गर्ने केही अवसर मध्ये ति पनि हुन् । यतिमात्र कहाँ हो र, नेपालका लागि ५० वटा अन्तर्राष्ट्रिय फुटबल खेल्दा ४८ पटक त पुरै समय मैदानमा बिताइयो ।

मैले सन् २००७ देखि २००९ सम्म झन्डै २ वर्ष राष्ट्रिय टोलीको नेतृत्व गर्ने मौका पनि पाएँ । मुलुकको नेतृत्व गरेर खेल्न पाउनु कम गर्वको विषय होइन । सोच्दा पनि गौरवान्वित भइन्छ । राष्ट्रिय टोलीको जर्सीमा सजिन पाउनु कसैका लागि पनि चानचुने सपना होइन, त्यो पनि लाखौंले खेल्ने खेलमा । तीतो सत्य, धेरैको सपनालाई कुल्चेर त्यहाँसम्म पुग्नु पर्छ । त्यसैले हरेक सफलता आफैंमा विशिष्ठ नलाग्ने त कुरै हुँदैन ।

तर, सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फाइनलमा बंगलादेशसँग नमिठो हार व्यहोरेपनि दोस्रो हुन पाउँदा भने खुशी नै लाग्यो । अनि प्रेसिडेन्ट कपमा नेपाल प्रहरीलाई दोस्रो बनाउँदा होस् वा लगातार तीन पटक शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनाउँदा । तेस्रो पटक च्याम्पियन हुँदा त म नै पुलिस क्लबको कप्तान थिएँ । जीवनमा गर्व गर्ने अनेकौं अवसर दिएको छ फुटबलले, त्यसैले अब फुटबल सिवाय अरु केही सोच्न सकिन्छ जस्तो लाग्दैन ।

हुनत उमेरका आधारमा भर्खर ४० वर्षको हुँदैछु । तर, हामीले फुटबल सिकेका दिनभन्दा अहिले धेरै परिवर्तन आइसकेको छ । मिडिया अहिले जस्तो दमदार थिएन । बाल्यवस्थामा कतिपय खेलाडीको त नाम मात्र सुनिएको थियो, भेट्न कहिल्यै पाइएको थिएन । तर, कुनै कालखण्डमा उनीहरुसँगै एउटै टोलीबाट खेल्न पाउँदा कसलाई आनन्द नलाग्ला र ? हुनत अहिले पनि नाम सुनेका पुराना कतिपय खेलाडीहरुसँग भेट्ने धोको मरिसकेको छैन । त्यो पनि समयले जुराउँला नै ।

हामीले आफूले जे जान्यौं, त्यही सिक्यौं । अहिले त सिकाउने एकेडेमीहरु खुलेका छन् । प्राविधिक रुपमा बलिया खेलाडीहरु उत्पादन भइरहेका छन् । एन्फा एकेडेमीबाट निस्किएका खेलाडीहरु त प्राविधिक रुपमा अरुभन्दा निकै आशा लाग्दा छन् । तर, उनीहरुको करियर त्यति लामो गइरहेको छैन, यो विचारणीय पक्ष भने हो ।

अर्कोतिर भौतिक पूर्वाधार शून्य झैं छ । मर्मतका नाममा भएको एउटा रंगशाला समेत ३–४ वर्षदेखि बन्द छ । यसले त फुटबलको भविष्यलाई नै मारिरहेको छ, त्यस्तै लाग्दैछ । भौतिक पूर्वाधारका आधारमा दक्षिण एसियाली मुलुकमा हामी जस्तो दरिद्र मुलुक अर्को छैन नै होला । अब राज्यले नै अग्रसरता नदेखाए फुटबलको दूर्गति रोक्न सकिन्न कि ? यस्तै लाग्न थालेको छ ।

एउटा खेलाडीको जीवन ८–९ वर्षभन्दा बढी हुँदैन । त्यसपछि खेलाडीले बाँच्न त पाउनु पर्यो नि । बाँच्ने अवस्था त जिम्मेवार निकायले नै सिर्जना गरिदिनु पर्छ । यसले खेलाडी पलायन हुने र विदेशमा भाग्ने क्रम पनि भंग हुन्छ नै । हुनत म खेलेर घर नै पाउने पहिलो खेलाडी हुँ ।

यद्यपि १० वर्षअघि मलाई दिइने वाचा गरिएको अपार्टमेन्ट अहिलेसम्म पनि निर्माण हुँदैछ । मैले खेलेर केही कमाइन भन्दिन, कमाएको छुँ । हुनसक्छ, अरु देशमा जन्मिएको भए नाम र दाम बढी कमाइन्थो होला । तर, नेपालका लागि खेलेर मैले आत्मसन्तुष्टि कमाएँ । त्यो नै मेरो अमूल्य कमाइ बनेको छ ।

साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।

समर्पण फुटबलरका अन्य लेखहरु :

गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’

बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’

अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’

राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’

दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’

उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’

बालगोपाल महर्जन – ‘खेलाडी जीवनभन्दा प्रशिक्षक बन्न कठिन’

हरि खड्का- ‘फुटबलको नशाले कहिल्यै छोड्दैन’

January 15, 2025

झापा गोल्ड कपको अध्यक्षसहित सबै पदमा सर्वसम्मत

हिमाल खरेल,बिर्तामोड झापा गोल्ड कप कार्यसमितिको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । त्यस्तै, सहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् । त्यस्तै, सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, […]

January 15, 2025

म्यानचेस्टर सिटीले अग्रता जोगाउन सकेन

एजेन्सी – म्यानचेस्टर सिटीले २-० को अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा मंगलवार अंक बाढेको छ। अन्तिम १० मिनेटमा दुई गोल फर्काउँदै ब्रेन्टफोर्डले सिटीलाई २-२ को बराबरीमा रोकेको हो । सिटीका लागि दुवै गोल फिल फोडेनले गरे। पहिलो गोल ६६ औं मिनेटमा गरेका फोडेनले अर्को ७८ औं मिनेटमा गरे। ब्रेन्टफोर्डका योआने विसाको ८२ औं मिनेटमा […]

January 15, 2025

शीर्ष टोली लिभरपुलको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले नटिङघम फरेस्टसँग बराबरीमा खेलेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको नटिङघम मंगलवार लिभरपुलसँग १–१ को बराबरीमा रोकको हो। नटिङघमले खेलमा लिएको अग्रता जोगाउन सकेन। आठौं मिनेटमा क्रिस उडको गोलबाट नटिङघमले अग्रता लियो । लिभरपुलका लागि डिएगो जोटाले ६६ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि शीर्षमा लिभरपुलको छ […]

Success

Thank you for your time.