5 years ago
April 3, 2020
कप्तान कथन
राजुकाजि शाक्य, पूर्वकप्तान – राष्ट्रिय फुटबल टोली
धरानमा जन्मिएँ, ५८ वर्ष अघि । जहिलेदेखि केही बुझ्ने भइयो, सम्झनामा फुटबल खेलेका दिनहरु मात्रै छन् । अरु त सबै झिसमिसे देखिन्छन् ।
सुन–चाँदी व्यावसायीको छोरो भएपनि रहर फुटबल सिवाय अर्को केही भएन । बाले गहना बनाउन लगाउँदा राम्रो काम गर्न सकेको भए सम्भवतः आज फुटबलरको चिनारी समेत हुँदैन थियो होला ।
फुटबलको उर्वरभूमि मानिएको पूर्वमा जन्मन पाउनु मेरा लागि सौभाग्य बन्यो । बा–आमाले नरुचाएपनि फुटबलमा मेरो रुचि घट्न सकेन । हामी अहिलेका भाइहरु झैं व्यावसायिक खेलाडी त बन्न सकेनौं । तर, मेरो खेलाडी जीवन धरानकै छिमेकी–११ क्लबबाट सुरु भयो । त्यसपछि धरान क्लब, सगरमाथा र कोशी अंचलका लागि पनि खेलें । त्यसपछि राष्ट्रिय टोलीमा समावेस हुने मौका पाएँ । त्यसपछि जनकपुर चुरोट कारखाना र तत्कालिन शाही नेपाल वायु सेवा निगम जस्ता बलिया टोलीको सदस्य भइयो ।
१७ वर्ष निरन्तर राष्ट्रिय टोलीमा सहभागी हुन पाउनु मेरो लागि गर्व कै कुरो हो । खेलाडीका रुपमा त्यति लामो समयसम्म मुलुकको जर्सीमाथि हक जमाउन पाउँदा कहिले काहीँ घमण्ड समेत लाग्छ नै । त्यसमाथि ७ वर्ष त मुलुकको कप्तानी नै सम्हालियो । हाम्रो समयमा खेलाडीभन्दा कप्तान बन्नु अलि कठिन कार्य थियो । जिम्मेवारी अलि बढी नै हुन्थ्यो, अहिलेको तुलनामा ।
मैले कप्तानी सम्हाल्दा प्रशिक्षकको पनि सहायक बन्नु पर्थ्यो । मैदानमा कुन खेलाडीलाई कसरी पोजिसनमा राख्ने भन्ने खटन–पटन पनि गर्नु पथ्र्यो । अहिले यस्ता सारा जिम्मा प्रशिक्षकको काँधमा आउँछ । त्यसैले प्रशिक्षक हुँदा टाउको दुखाइ अलि बढी नै हुँदो रहेछ ।
मैले सात वटा दक्षिण एसियाली खेलुकदमा सहभागिता जनाएँ । सबै सहभागितामा घटीमा सेमिफाइनलसम्म त पुगियो नै । तर, ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकुदमा आफ्नो कप्तानीमा मुलुकलाई स्वर्ण पदक जिताउँदाको क्षण सम्झंदा भने गर्वले मनै फुलेर आउँछ । दक्षिण एसियाली खेलकुदको त्यो आयोजनामा नेपालले कुनै खेलमा पनि स्वर्ण पदक जित्न सकेको थिएन । स्वर्ण पदकको अन्तिम आशा हामी माथि नै थियो ।
त्यसअघि हामीले भारतसँग कोलकातामा व्यहोरेको चित्त दुख्दो पराजयको बदला पनि लिनु त थियो नै । हामी ढाकाको त्यो फाइनल प्रतिस्पर्धामाको अन्तिम समयसम्म पनि २–१ ले पछाडि थियौं । खेलाडी मात्र होइन, सारा मुलुकले आशा मार्ने बेला आइसकेको अवस्थामा मणि शाहले हानेको फ्रि किक गोलमा परिणत त भयो नै टाइब्रेकरमा हामीले नेपाललाई स्वर्ण पदक पनि दिलायौं । धन्य, दक्षिण एसियाली खेलकुदमा पहिलो पटक हामी स्वर्ण पदकबाट बंचित हुनु परेन ।
जीवनमा मैले त्यति तनावपूर्ण खेल कहिल्यै खेलिन । यद्यपि, त्यसअघि कोलकातामा सम्पन्न तेस्रो दक्षिण एसियाली खेलकुदमा अन्तिम समयमा भारतसँग व्यहोरेको पराजयले पनि कहिले काहीँ मन चसक्क पार्छ । मैले दक्षिण एसियाली खेलकुदमा खेलाडी, कप्तानका रुपमा मात्र नभएर प्रशिक्षकका रुपमा समेत मुलुकलाई स्वर्ण पदक दिलाएँ । नेपालमा जन्मिएको फुटबलरले जिन्दगीमा योभन्दा बढी उपलब्धि के नै हात पार्ला र ?
हो समयले नै गर्दा आजका खेलाडी झैं दाम कमाउन सकिएन होला । व्यावसायिक बन्न सकिएन होला तर, राष्ट्रका लागि खेल्न पाउनु नै मेरो सफलता हो । मेरो रगतमा अहिले पनि फुटबल नै बगेको छ । म फुटबलभन्दा अरु केही सोच्न सक्दिन । जीवनमा फुटबलभन्दा केही कोर्न सक्दिन । फुटबल बाहेक अरु केही सोचें भने म असफल हुन्छु । पक्का हो ।
फुटबलले मलाई धेरै दिएको छ । दिएको छैन, भन्दिन । रुपकराज शर्मा, सुरेश पन्थी, गणेश थापा, अशोक केसी जस्ता खेलाडीको संगत गर्ने मौका दियो । सन् १९८२ मा नेपाल आएका जर्मन प्रशिक्षक रुडिसँग सिक्ने मौका दियो । रुडिसँगको अनुभव पनि रोचक नै छ । उनी हामीलाई प्रशिक्षण दिन नेपाल आए लगत्तै हाम्रो खेल्न हेर्न आए । हामीले खेलेको देखेर झोंक्किदै मैदानमा छिरे । उनको त्यस बेलाको गालीले सम्भवत नेपाली फुटबलरको खेल्ने शैली नै परिवर्तन गरिदियो ।
खेलाडीलाई मैदानमा सफल बनाउन ‘मोटिभेसन’ गराउन सक्ने व्यक्तिको पनि आवश्यकता पर्दो रहेछ । मैले त्यो गुण शरदचन्द्र शाहमा देखें । मैदानमा छिर्नु अगाडि उनी हाम्रो रगतमा राष्ट्रियता भथ्र्ये । जसले हामीलाई मुलुकका लागि खेल्न उस्काउँथ्यो । हुनत प्राविधिक दृष्टिकोण र अनुशासनमा बलिया थियौं । अहिले फुटबल व्यावसायिक बन्दैछ । यो खुशीको कुरो हो । तर, अनुशासनमा कतै कमी आउन थालेको हो कि भन्ने लाग्न पनि थालेको छ ।
एउटा खेलाडीले जीवनमा धेरै कोणतिर आशाको नजरले हेर्ने गर्छ । आशा अनुरुप नहुँदा दिक्क पनि लाग्दो रहेछ । मलाई सरकारले कहिल्यै माया गरेन । किन हो ? अहिले पनि कल्पंदै छुँ । यति लामो खेलाडी तथा प्रशिक्षक जीवनमा मैले राज्यबाट कहिल्यै विभूषित हुने मौका पाइन । राखेपमा प्रशिक्षकको जागिर त पाइयो तर कहिल्यै प्रमोसन पाइएन । तरपनि, राष्ट्रप्रतिको मेरो मायामा कहिल्यै कमी आउँदैन ।
मैले जीवनमा कमाएका प्रसंसकहरुलाई फुटबलको कुनैपनि भूमिकामा रहेर निराश पार्ने छैन भन्ने विश्वास दिलाउँछु । आखिर मैले कमाएका तिनै प्रससंक हुन् । जो भोलि मेरा मलामी पनि हुन् । खेलेर जीवनमा केही गुमाइन भन्दा–भन्दै पनि पढ्न नसक्दा भने पछुतो लाग्छ । हामीलाई धरानमा कति विद्यालयहरुले पढ्न आइज, जस्तो लेखे पनि पास गराइदिन्छु भन्थ्ये । तर, भविष्य शिक्षासँगै गाँसिएको छ भन्ने हेक्का नहुँदा कतिपय अवसर गुमाएँ पनि ।
शैक्षिक प्रमाणपत्र कै आधारमा १० वर्ष खेलाडी जीवन बिताएको तत्कालिन शाही नेपाल वायु सेवा निगम (हाल नेपाल वायु सेवा निगम) मा जागिरे हुन पाइन । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धाप मारेर जागिर हुन्छ त भन्नु भयो तर, मैले जागिरलाई निरन्तरता पाउन परिक्षा उत्तीर्ण गर्न सकिन । त्यो धापले मेरो जीवन परिवर्तन गर्न सकेन । अहिले पनि दिक्क लाग्छ ।
हुनत मैले खेलाडीको उपलब्धिलाई शैक्षिक मान्यता दिनुपर्छ भनेर निकै संघर्ष गरें । तर, असफलता नै हात लाग्यो । अहिले हामीकहाँ मैदानको निकै अभाव देखिएको छ । भएको एउटा रंगशाला पनि असक्त बनेको छ । अहिलेका खेलाडी शारीरिक तथा प्राविधिकरुपमा बलिया छन् । तर, खेल्ने मैदान नै नभए के गर्ने ? कसरी प्रगति गर्ने ? बेलैमा सोच्नु पर्छ ।
साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको ३७औं […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]