5 years ago
March 6, 2020
सफलता मापन गर्ने हो भने विकेश कुथु नेपाली फुटबल इतिहासकै सर्वाधिक सफल गोलरक्षकमा पर्छन् । नेपाललाई दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक दिलाएका विकेश नेपालले पहिलो पटक औपचारिक उपाधिका रुपमा एएफसी सोलिडारिटी कप जित्दा पनि टोलीका सदस्य थिए ।
राष्ट्रको जर्सीमा छाएका २६ वर्षीय विकेश घरेलु फुटबलमा भने उत्कृष्ट हुनुका बाबजुद पनि ‘उत्कृष्ट’ हुन सकेका छैनन् । अर्थात घरेलु लिगमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उनलाई उत्कृष्ट छनोट गर्न भने छनोट पक्षले लगातार उपेक्षा गर्दै आएको छ । त्रिभुवन आर्मी क्लबका लागि पछिल्लो केहि वर्षयता विकेशले गोलरक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । विकेशकै आगमनपछि आर्मीले हरेक सिजन लिग उपाधिमा दाबेदारी पनि प्रस्तुत गरेको छ ।
२०७२ सालमा भएको राष्ट्रिय लिगमा विकेशले आर्मीका लागि सबै १६ खेलमा पूरै समय मैदानमा बिताए । यसक्रममा लिग अवधिभर ६ गोलमात्र खाएका उनले ११ क्लिनसिट राखेका थिए । लिगमा तथ्यांक मात्र नभएर प्रदर्शनमा पनि उनी अब्बल नै थिए । लिगको अन्तिम दिन पुरस्कार वितरण समारोहमा विकेश उत्कृष्ट गोलरक्षक बन्नेमा जति ढुक्क थिए त्योभन्दा बढी अरुले उनी उत्कृष्ट हुने अपेक्षा राखेका थिए । तर त्यसबेला रुस्लान थ्री स्टारका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट गोलरक्षकको अवार्ड पाए । त्यसबेला लिगमा जम्मा १२ खेल खेलेका किरणले ७ गोल खाएका थिए । उनले जम्मा ६ क्लिनसिट राखे ।
त्यसपछि २०७५ सालको ए डिभिजन लिगमा विकेशले आर्मीको तुलनात्मक रुपमा कमजोर प्रदर्शनमा पनि बलियो प्रदर्शन गरे । लिगमा सर्वाधिक ७ क्लिनसिट राख्ने क्रममा विकेशले प्रतियोगिता अवधिभर ८ गोलमात्र खाए । तर त्यस सिजन च्याम्पियन मनाङको यात्रामा बलियो प्रदर्शन गरेका विशालले उत्कृष्ट गोलरक्षकको उपाधि प्राप्त गरे । विशालले लिगमा ६ क्लिनसिट राख्दै ८ गोल खाएका थिए । लिगको अन्तिम खेलसम्म मनाङ अपराजित रहेका कारण पनि विशालको बलियो दावेदारी थियो ।
गत महिना सम्पन्न ए डिभिजन लिगमा लिगको अन्तिम खेलसम्म आर्मी अग्रतामा थियो । पटक पटक उत्कृष्ट गोलरक्षकको रोजाइमा नपरेका विकेश यसपटक लिग उपाधि जितेर त्यो सबै पिडा बिर्साउने लक्ष्यमा थिए । लिगको अन्तिम खेल अघोषित फाइनलका रुपमा मछिन्द्र र आर्मीबीच हुँदै थियो । खेल बराबरी गरे मात्र पनि आर्मी च्याम्पियन हुने निश्चित थियो । तर खेलको ३३ औं मिनेटमा नसोचेको घटना भयो ।
मछिन्द्रका रञ्जित धिमालले मैदानको मध्यभाग नजिकबाट प्रहार गरेको फ्रिकिक आर्मीका विकास तामाङको टाउकोमा फ्लिक हुँदै गोलमा परिणत भयो । विकासको फ्लिकले झुक्किएका विकेश बललाई बचाउन लामो डाइभ हान्ने क्रममा पोस्टमा ठोक्किन पुगे । उनको कम्मरको मांशपेशीमा चोट लाग्यो । विकेशको उभिने प्रयास त गरे सकेनन् । अझ टोलीका सहकर्मी आएर उभिन आग्रह गर्दा थप कठिन भयो । विकेशलाई स्ट्रेचरमा राखेर अस्पताल लगियो ।
अस्पताल पुगेका विकेशलाई आफ्नो चोटको पिडाभन्दा लिगकै धुन थियो । उनी मोबाइलमै खेल हेर्न व्यस्त रहे । समय बित्दै गयो तर आर्मीले गोल फर्काउन सकेन । अन्त्यमा उनी निराश भए र टोली पनि । अस्पतालबाट घर गएर उनी केहि दिन निस्कन सकेनन् । चोट गम्भीर नरहेको र केहि साता उनलाई डाक्टरले विश्राम लिने सल्लाह दिए । आफ्नो शरीरको चोटभन्दा मैदानको नतिजाले उनलाई धेरै पिडा दिएको उनले बताए ।
‘ निकै मिहिनेत गरेका थियौं । सबैको एउटै लक्ष्य थियो, आर्मीलाई पहिलोपटक ए डिभिजन लिग जिताउने । सबै योजना अनुसार चलेको पनि थियो । तर भाग्यले साथ दिएन । मलाई आफ्नो चोटभन्दा पनि नतिजाले धेरै चोट दियो । म नभएपनि जित्न सक्छ भने विश्वास थियो, तर त्यहि गोल निर्णायक बन्द थप पिडा भयो,’ विकेशले सुनाए ।
विकेशले आर्मीलाई लिगको अन्तिम दिनसम्म शीर्षस्थानमा राख्दा विशेषत: जावलाखेलविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १-० को जितमा जावलाखेलका थुप्रै आक्रमण निस्तेज पारेका थिए । त्यसो त एपीएफविरुद्ध कडा प्रतिस्पर्धामा गरेका बचाउ र थ्री स्टारविरुद्ध पेनाल्टी बचाउसहितको प्रदर्शन पनि उनले आफ्नो बलियो पक्षका रुपमा लिएका थिए ।
लिग अवधिभर आर्मीले कुल ७ गोल खायो जसमा अन्तिम दिनको गोल समेत जोडियो । यो लिगभरिकै सर्वाधिक कम गोल हो । क्लिनसिटमा चौथो स्थान हासिल गरेको मनाङका दीप कार्कीले ८ तथा मछिन्द्रका विशाल श्रेष्ठ, थ्री स्टारक प्रिसो र विकेशले ७-७ क्लिनसिट राखेका थिए । अन्त्यमा मनाङका दीप नै लिगका उत्कृष्ट गोलरक्षक चुनिए ।
विगतभन्दा फरक यसपटक टेक्निकल स्टडी ग्रुप (टिएसजी) अर्थात प्राविधिक अध्ययन समूहले मतदान गरेर उत्कृष्ट तीन खेलाडी छान्ने र एक समितिले उत्कृष्ट खेलाडी छनोट गरेको थियो । टिएसजीका प्रतिनिधि, लिग समितिका प्रतिनिधि र एन्फा कार्यसमितिका प्रतिनिधिले छनोट गरेको उत्कृष्ट खेलाडीमा विकेश पुन: एकपटक परेनन् ।
यसै समितिले छनोट गरेको उत्कृष्ट गोलरक्षक त्यसै दिन घोषित राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा भने पर्न सकेनन् । प्रशिक्षक कालिनले लिगका उत्कृष्ट खेलाडी समेटेर बनाएको ३१ खेलाडीको टोलीमा विकेशसँगै मछिन्द्रका विशाल श्रेष्ठ र च्यासलका एलन न्यौपाने टोलीमा पर्दा उत्कृष्ट घोषित दीप भने बाहिर नै रहे ।
विकेशको आफू उत्कृष्टको उपाधिको हकदार भएपनि यसपटक लिग उपाधिमा नै ध्यान रहेको बताउँछन् । ‘यसपटक हामी लिग उपाधिको लक्ष्यमा थियौं । जसरि पनि लिग जित्नुपर्छ भनेर नै डिफेन्समा बलियो प्रदर्शन गर्ने जिम्मेवारी थियो । सफल भएका पनि हौं, तर भाग्यले साथ दिएन । विगतमा अन्यभन्दा उत्कृष्ट प्रदर्शन गर्दा पनि नजितेकाले लिग उपाधि जित्नैपर्छ भन्ने थियो, तर अन्त्यमा चुक्न पुग्यौं,’ विकेशले भने ।
विकेशको आर्मीलाई लिग जिताउने सपनामा यसपटक धक्का त पुग्यो तर यसले उनलाई अर्को पाठ सिकाएको छ । विगतमा आफ्नो गल्ति सुधार्दै राम्रो प्रदर्शन गरेका उनी अर्कोपटक थप बलियो प्रदर्शन गर्ने लक्ष्यमा छन् । ‘ लिग उपाधि जित्ने सपना छ । आर्मीकै जर्सीमा उक्त सपना पूरा गर्न चाहन्छु । आफ्नो प्रदर्शनमा अब्बल हुँदै लिग जिताउँदै अर्को सपना पूरा हुने नै छ । त्यसका लागि सबै एक भएर अगाडी बढ्नेछौं,’ उनले थपे ।
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]