5 years ago
January 15, 2020
एजेन्सी – बार्सिलोनाले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक एर्नेस्टो भालभेर्डे पदबाट बर्खास्त भए । त्यसको केहीबेरमा नै क्याटलान क्लबले किके सेटिनलाई पदभार सुम्पियो ।
सेटिन विश्व फुटबलमा खासै सफलता हासिल गरेका प्रशिक्षक होइनन् । उनी क्लबहरुको जिम्मेवारी लिएपछि प्राप्त सफलता भन्दा आफ्नो खेल्ने शैली र रणनीतिका कारण चिनिन्छन् । बार्सिलोनाले उनलाई नियुक्त गरेपछि सफलता त आशा गर्छ नै, सँगसँगै भालभेर्डेले बिर्साएको खेल्ने शैली समेत पुन: स्थापना गर्न चाहन्छ ।
सेटिन आफैंले पनि क्लबले सार्वजनिक गरेपछि पत्रकार सम्मेलनमा बोल्दै आफूले बार्सिलोनाको प्रशिक्षक हुन लायक सफलता हासिल नगरेको बताए । ‘ मेरो करीअर हेर्ने हो भने खासै जितेको केहि छैन । मसँग देखाउन लायक उपाधि नै छैन । तर मैले प्रशिक्षक बन्नु अघिदेखि नै सँगालेको फुटबल खेल्ने शैली छ । मैले हालसम्म गरेको कार्य भने आफ्नो टोलीलाई राम्रो फुटबल खेलाउनु हो,’ उनले भने, ‘ मलाई थाहा छैन की यति ठूलो क्लबका लागि मैले यो अवसर पाउनु उचित छ वा छैन ।’
सेटिनले आफ्नो प्रशिक्षक करीअर सन् २००१/०२ मा रेसिङ सान्टानडेरको जिम्मेवारी लिँदै सुरु गरेका थिए । त्यसपछि पोली एजिदो, लोग्रोनेस, लुगो, लास पाल्मास हुँदै उनी रियल बेटिस आएका थिए । उनले प्रशिक्षकका रुपमा हालसम्म ४ सय ८७ खेल खेलाइसकेका छन् ।
रेसिङ सान्टानडेर
सेटिनले आफ्नो खेलाडी करीअरको उच्च विन्दु रेसिङमा नै बिताएका थिए । जसकारण खेलाडी जीवनलाई बिट मारेपछि उनलाई पहिलो अवसर आफ्नै पूर्व क्लबबाट आयो । उनले पहिलो अवसरलाई नै सहि सदुपयोग गरे । अंक तालिकाको पुछारतिर रहेको क्लबलाई उनले बढुवा गराएका थिए ।
सेटिनले क्लबको जिम्मेवारी लिँदा क्लब १८ औं स्थानमा रहेको थियो । तर सिजनको अन्त्यमा उनले क्लबलाई दोस्रो स्थानमा पुर्याउँदै माथिल्लो श्रेणीमा बढुवा नै गराए । उनले यसक्रममा टोलीलाई १८ जित, १० बराबरी र ८ हार सहित उत्कृष्ट नतिजा दिलाएका थिए । यद्यपि उनले बढुवा गराएलगत्तै प्रशिक्षण पद छोडेर रेसिङकै प्राविधिक निर्देशकका रुपमा काम गर्न थाले ।
पोली एजिदो
प्रशिक्षकका रुपमा विश्राम लिएका सेटिनले २००२-०३ सिजन दौरान अर्को अवसर पाए । तर उनको दोस्रो प्रयास भने बिर्सनलायक नै रहयो । उनी जम्मा १३ खेलसम्म मात्र पोलीमा टिक्न सके । उनले यसक्रममा २ जित, ४ बराबरी र ७ हारको नतिजा आत्मसात गरेका थिए ।
लोग्रोनेस
खेलाडीका रुपमा समेत सेटिनले लोग्रोनेसमा केहि समय बिताएका थिए । क्लबले उनलाई स्पेनिस लिगको दोस्रो श्रेणीमा बढुवा गराउने लक्ष्यसहित भित्र्याएको थियो । तर यसमा पनि उनी सफल हुन सकेनन् ।
लोग्रोनेसमा उनले २० खेल मात्र प्रशिक्षकको भूमिका निर्वाह गर्न पाए । उनले यसक्रममा ५ जित र ६ बराबरी खेल्दा ९ हारको सामना गर्नुपर्यो । खराब नतिजाका कारण उनलाई क्लबले बर्खास्त नै गर्यो ।
लुगो
सेटिनलाई अर्को सिजन पुन: तेस्रो श्रेणीको टोली लुगोले दोस्रो श्रेणीमा उकाल्ने विश्वाससहित प्रशिक्षकको जिम्मवारी सुम्पियो । उनले लगातार तीन सिजन उत्कृष्ट प्रदर्शन र नतिजा ल्याएपनि अन्तिम समय टोलीलाई माथि उकाल्न सकेनन् । तर चौथो सिजनमा भने उनी सफल रहे ।
उनले सन् २०११/१२ सिजनमा लुगोलाई दोस्रो श्रेणीमा उकाले । त्यसपछि उनले दोस्रो श्रेणीमै रहने लक्ष्यसहित टोलीलाई थप तीन सिजन हेरे र सफल पनि रहे । एकै क्लबमा ६ सिजन बिताएपछि उनले नयाँ चुनौतीको सामना गर्ने भन्दै क्लब छाडे ।
लास पाल्मास
केहि समय विश्राम लिने निर्णय लिएका सेटिनले शीर्ष श्रेणीको टोली सम्हाल्न धेरै कुर्न परेन । लास पाल्मासले २०१५-१६ को सिजनमा खराब सुरुवात गरेसँगै पाको हरेरालाई बर्खास्त गर्यो । र उनको ठाउँमा सेटिनले जिम्मेवारी लिए ।
सेटिनले जिम्मेवारी सम्हाल्दा क्लबले ९ खेल खेल्दै अंक तालिकाको १९ औं स्थानमा रहेको थियो । सेटिनको आगमनपछि क्लबले प्रदर्शन सुधार्दै नतिजा पनि ल्यायो । सिजनको अन्त्यमा लास पाल्मास ११ औं स्थानमा रहयो । त्यसपछि अर्को सिजन लास पाल्मासले १४ औं स्थान हासिल गर्यो । क्लब पदाधिकारी सँग समस्या सुरु भएपछि उनले क्लब छाड्ने निर्णय लिए ।
रियल बेटिस
सेटिनले सन् २०१७-१८ सिजनमा रियल बेटिसको जिम्मेवारी पाए । उनले यसक्रममा बेटिसका लागि ९४ खेलमा भूमिका निर्वाह गरे । पहिलो सिजनमा नै उनले क्लबलाई छैटौं स्थान दिलाउँदै युरोपा लिगको लागि पनि छनोट गराए ।
त्यसपछिको सिजन बेटिसले १९ औं स्थानमा रहँदै लिगको अन्त्य गर्यो । सेटिनले बेटिसमा रहिरहन उपयुक्त ठानेनन् र क्लब छाडे । उनलाई यसबीचमा प्रिमियर लिग क्लब वाटफर्डले प्रस्ताव राखेपनि उनले सकेसम्म स्पेन नछाड्ने अडान लिए । बार्सिलोनाले प्रशिक्षक बन्ने प्रस्ताव राखेपछि उनले जिम्मेवारी लिएका हुन् ।
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]
March 9, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]