5 years ago
December 16, 2019
खेल्ने शैली र खेलमा छाड्ने प्रभाव हेर्ने हो भने सन्तोष साहुखल नेपालले पछिल्लो दशकमा पाएको उत्कृष्ट ‘नम्बर ९’ हुन् भन्नेमा सायदै दुइमत होला । नम्बर ९ अर्थात गोलकर्ता, यस्ता खेलाडी जसको काम आफ्नो टोलीका लागि मात्र र मात्र गोल गर्ने हो । विशेषगरी पेनाल्टी क्षेत्रभित्र पुगेपछि ‘नम्बर ९’ को भूमिका विशेष हुने गर्दछ । त्यहाँभित्र पुगेपछि यी खेलाडीले बिरलै पोस्टभन्दा बाहिर प्रहार गर्छन् ।
फरवार्ड सन्तोषलाई सन् १९९८ को विश्वकपमा ब्राजिलका फरवार्ड रोनाल्डोको खेलले निकै प्रभाव पार्यो । उनी जन्मे-हुर्केको भक्तपुरको मध्यपुर थिमीमा फुटबल नजान्ने कमै भेटिन्छन्, अझ विश्वकपको बेलामा त उक्त क्षेत्र उत्सवमय नै हुन्छ । त्यसबेला ब्राजिलले फाइनल यात्रा तय गर्दा रोनाल्डोको खेल्ने शैलीले सर्वत्र चर्चा बटुल्यो । तर अफसोच फाइनलमा ब्राजिल पराजित भयो र रोनाल्डो फाइनल खेलमा अनुपस्थित रहे । उनको अनुपस्थितिको कारण अझै यकिन रुपमा खुल्न सकेको छैन ।
सन् २००२ को विश्वकपमा सन्तोषले रोनाल्डोको सबै खेल हेर्न पाए । उनलाई फाइनलमा रोनाल्डोले गरेको गोल अझै याद छ । सानैदेखि रोनाल्डोको खेलले प्रभावित उनी आफ्नो खेल्ने शैलीलाई पनि त्यसै अनुसार अगाडि बढाउन थाले । उनको जर्सी नम्बरको रोजाई त ‘नम्बर ९’ हुने नै भयो । ‘सानैदेखि रोनाल्डोको खेल मनपर्ने । १९९८ र २००२ को विश्वकपमा मजाले हेर्न पाएँ । उनको कारण नै जर्सी नम्बर ९ मनपर्ने । फरवार्ड खेल्ने भएपछि त्यहि नै मेरो रोजाई बन्यो,’ सन्तोषले थपे ।
आफ्नो करीअरदौरान सन्तोषले विशेष अवस्थाबाहेक सधैं नम्बर ९ नै लगाए । थ्री स्टारबाट खेल्दा होस् या नेपालको आधुनिक फुटबलमा उनले थ्री स्टार छाडेर मनाङ जाँदा नै, जर्सी नम्बर ९ उनले छाडेनन् । उनले लगातार उक्त जर्सीको मर्म बुझ्दै न्याय पनि गरिरहे, अर्थात आफूले जुनसुकै टोलीका लागि खेले पनि गोल गर्न भने छाडेनन् ।
पछिल्लो समय सन्तोष नेपालमा छैनन् । उनी लिग फुटबल खेल्न मात्र आफ्नो व्यस्त समय मिलाएर नेपाल आउने गर्छन् । यसवर्ष भने उनको यो दोस्रो भ्रमण हो । यसअघि उनी आफू आबद्ध रहेको ‘हिरो टु हिरो’ प्रोजेक्टको कामले नेपाल आएका थिए । गत सिजनझैं उनले यसपटक पनि च्यासलबाट खेल्दैछन् । उनले आफूसँगै तीन जापानी खेलाडीलाई पनि क्लबमा ल्याएका छन् । उनको सहोदर दाजु बालगोपाल साहुखल टोलीको प्रशिक्षक छन् ।
सन्तोषले यस सिजन लिगको पहिलो खेलमा सोमबार संकटा विरुद्ध सुखद सुरुवात गरे । गत सिजन लिग उपविजेता बनेको संकटाविरुद्ध उनले २ गोल गरे । दुवै गोल ‘नम्बर ९’ ले गर्ने किसिमको नै थियो । खेलको ४१ औं मिनेटमा उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोलरक्षक विनय श्रेष्ठलाई बिट गर्दै पहिलो बारमा राम्रो फिनिस गरे । दोस्रो गोल झनै उत्कृष्ट थियो । अमिर श्रेष्ठको थ्रु बललाई उनले अफसाइड ट्रयाप बिट गर्दै पहिलो टचमा नै गोलरक्षक विनयलाई बिट गर्दै दोस्रो बारमा गोल गरे ।
सन्तोषले यससँगै ए डिभिजन लिगमा आफ्नो गोलसंख्या ९८ पुर्याएका छन् । अबको लक्ष्य उनको लागि गोलको शतक पुर्याउनु हुनेछ । अघिल्लो सिजन नै लिगमा शतक पूरा गर्ने सुरमा आएका सन्तोषले आफ्नो तालिका नमिल्दा सिमित खेल खेल्दै जापान फर्कनुपरेको थियो । यसपटक उनी जारि तालिकाअनुसार पूरै लिग खेल्ने बताउँछन् ।
उमेर बढ्दै जाँदा उनको खेलमा भने थप निखार आएको छ । शारीरिक रुपमा पनि उनी पहिलाभन्दा फिट देखिन्छन् । सोमबार भएको खेलमा राष्ट्रिय टोलीमा रहिसकेका डिफेन्डर रवी सिलवालविरुद्ध उनी पूर्णत हावी देखिए । गोलरक्षक विनयले केहि उत्कृष्ट बचाउ गर्दै सन्तोषको गोलसंख्या बढाउन बाधक बने । दाजु तथा प्रशिक्षक बालगोपालले सन्तोष खेल सुध्रिरहेको बताउँदा सन्तोष भने नेपाली लिगको स्तर खस्कँदै गएको बताइरहेका थिए ।
‘नेपालको लिग पहिला भन्दा खस्केको जस्तो लग्यो । म त अहिले यसरि गोल गरिरहेको छु,’ सन्तोषले हाँस्दै भने, ‘ मैले आफूलाई निकै फिट राखेको छु । खेलमा गम्भीर भएर लागेको छु । फिटनेसमा पनि उत्तिकै ध्यान दिन्छु । पहिला यहाँ हुँदा म यस्तो थिइनँ । अहिले पनि नेपाली खेलाडी आफ्नो खानपिन र फिटनेसमा ध्यान दिँदैनन् । यसले पनि फुटबलमा निकै असर पार्छ ।’
सन्तोषले राष्ट्रिय टोलीको पुनरागमनबारे अहिले नै सोचेका नहुन सक्छन् । तर स्तर र खेल्ने शैली हेर्ने हो भने सायदै अन्य खेलाडीले उनको पदपूर्ति गर्ने अवस्था छ । पछिल्लो पटक सन् २०१५ मा नेपालका लागि खेलेका उनले त्यसयता राष्ट्रिय टोलीको जर्सी पहिरिएका छैनन् । संयोगवश नेपालले पछिल्लो पटक दशरथ रंगशालामा खेलेको औपचारिक खेल पनि त्यहि नै हो । नेपालले उक्त खेलमा विमल घर्तीमगर र सन्तोष साहुखललाई अग्रपंक्तिको जिम्मेवारी सुम्पिएको थियो । सन्तोषले केहि आकर्षक अवसर पनि पाएका थिए, तर खेल गोलरहित बराबरीमा टुंगियो ।
नेपालले त्यसयता उक्त मैदानमा आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेको छैन । अब तीन महिनापछि हुने विश्वकप छनोट अथवा त्यसअघि सम्भावित मैत्रीपूर्ण खेलमा सन्तोष टोलीमा पर्नलायक त छन् । तर टोलीको माग र सन्तोषको इच्छाले पनि त्यसमा भर पर्छ । सन्तोष जापानमा आफैं तल्लो श्रेणीको लिग त खेल्छन् नै सँगसँगै उनले खेल जीवनपछिका लागि पनि बाटो बुनिसकेका छन् । आफू आबद्ध एनपीओमार्फत उनले नेपालमा नै स्थानीय स्तरमा उनले फुटबल विकासका परियोजना ल्याउँदै आएका छन् ।
सन्तोषले आफ्नो भविष्यबारे त सोचिसकेका छन् । तत्काल भने उनी दुई लक्ष्यमा केन्द्रित छन्, आफ्नो गोलको शतक र च्यासललाई लिगमा च्याम्पियन बनाउने । त्यसमध्य पहिलो लक्ष्यका लागि उनले अर्को खेलमा नजर राखिसकेका छन् । च्यासलले अर्को साता नै मछिन्द्रको सामना गर्दैछ । यसपटक लिगको दावेदार समेत रहेको मछिन्द्रविरुद्धको खेल जति सन्तोषलाई महत्त्वपूर्ण छ, च्यासललाई पनि । उनी दुवै लक्ष्य एकैसाथ अगाडी लाग्न तत्पर छन् ।
ए डिभिजन लिग फुटबलमा सर्वाधिक सफल फरवार्डका रुपमा सिद्ध गरिसकेका सन्तोषलाई अब शतक पूरा गर्न २ गोलआवश्यक छ । विगतभन्दा शारीरिक रुपमा बलियो र छरितो देखिएका सन्तोषलाई अर्को खेलमा आफ्ना जापानी सहकर्मीको पनि साथ मिल्ने देखिन्छ । यस्तो अवस्थामा ‘जर्सी नम्बर ९’ को शतक खासै टाढा देखिन्न । च्यासलको उपाधि लक्ष्यका लागि भने सन्तोषले गोल गर्ने शृंखला शतक पार गरेपछि पनि जारि नै राख्नुपर्छ ।
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]