default_image

5 years ago

December 13, 2019

कारवाहीको नाममा अन्याय त भएन ?

391 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

सामाजिक संजालमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उच्च पदस्थ अधिकारीले खुलेआम संघको निर्णयविपरित र संघको प्रतिष्ठामा आंच आउने अभिव्यक्ति दिन्छन् । यहाँसम्म की एक अर्काको फेसबुक स्ट्याटसमा संघ पदाधिकारीबीच जुहारी नै चल्छ । सार्वजनिक रुपमा नै संघका निर्णय र कार्यशैलीप्रति आपत्तिजनक अभिव्यक्ति दिंदा समेत एन्फा मौन रहन्छ । र मौन रहन्छ यहाँको ‘अनुशासन समिति’ पनि ।

खेल दौरान कतिपय अवस्थामा रेफ्रीमाथि दुर्व्यवहार हुन्छ । रेफ्रीले लिखित रुपमै त्यसको जानकारी पनि दिन्छन् । तर उक्त घटनालाई अन्तरिक रुपमा नै दबाइन्छ । र यहाँ पनि अनुशासन समिति गुमनाम नै रहन्छ ।

खेलमा पराजित भएपछि क्लबका प्रशिक्षक, पदाधिकारी लगायत एन्फामै ओहोदामा रहेका व्यक्ति रेफ्रीविरुद्ध खनिन्छन् । सार्वजनिक खेल मैदानमा खुलेआम अपशब्द बोल्छन्, खेलभावना विपरित रेफ्रीमाथि खनिन्छन्, र त्यहाँ पनि अनुशासन समितिको उपस्थिति देखिंदैन ।

गत महिना राष्ट्रिय टोलीका ४ खेलाडीले अनुशासन उल्लंघन गरेको भन्दै राष्ट्रिय टोलीबाट निलम्बन गरेपछि यस समितिको अस्तित्व सतहमा आएको थियो । विमल घर्तीमगर, दिनेश राजवंशी, अन्जन विष्ट र सन्तोष तामाङ क्लोज क्याम्प छाडेर डिस्को गएको घटना बाहिरीपछि सारा राष्ट्रले नै राष्ट्रिय टोलीका यी खेलाडीमाथि के कस्तो कारवाही होला भन्ने चासो राखेका थिए । तर एक महिनापछि मात्र अनुशासन समितिले आफ्नो निर्णय गर्यो । यसबीचमा घटनाबारे समिति विचाराधीन रहेको भन्दै खेलाडीले दक्षिण एसियाली खेलकुदमा खेल्न पाएनन् ।

संघले सुरुवातमा खेलाडीलाई कारवाही बारे सूचना सार्वजनिक गर्दा आफ्नो वेबसाइटमा नोभेम्बर १३ अर्थात् घटना भएको मिति आसपासदेखि कारवाही लागु हुने जनाएको थियो । तर झन्डै ४५ मिनेट समयपछि पुन: सूचना परिवर्तन गर्दै कारवाही घोषणा भएको मितिदेखि मात्र कारवाही लागु हुने जनाएको छ । कारवाही पनि ४५ दिन र ९० दिनको सुनाइएको छ ।

एन्फाले लामो समयपछि लगातार वर्षमा लिग आयोजना गरेको छ । यसपटक लिग २ महिना चल्नेछ । विगतमा एन्फाले ६ महिने लिगको गुनगान गाउँदै आएपनि चुनावी घोषणापत्रबाट यथार्थमा आउने छाँटकाँट देखिएको छैन । २ महिना लिगको भरमा खेलाडीले कुनै क्लबसँग वर्षभरको सम्झौता गर्छन् । त्यसमा पनि लिग नहुँदा सिमित प्रतिशत तलब लिने शर्तमा ।

पुरुष राष्ट्रिय खेलाडीको तलब हाल मासिक १५ हजार रुपैयाँ रहेको छ । आश्चर्य लाग्ला तर विगत ५ महिनादेखि खेलाडीले उक्त तलब पाएका छैनन् । यस्तो अवस्थामा खेलाडीबाट ५० हजार रुपैयाँ जरिवाना गराउनु कति जायज होला ?

अब आउँ खेलाडीको कसुर । हो, खेलाडीले गल्ती गरेकै हुन् । राष्ट्रका लागि विदेशमा खेल्न जाने अघिल्लो दिन राति ‘डिस्को’ धाउनु नियम विपरित नै हो । खेलाडीहरु कारवाहीको भागीदार हुनुपर्छ । तर कारवाही के कस्तो हुने? विगतमा नजिर के कस्तो छ ? उनीहरुको गल्तीले फुटबललाई कति असर परेको छ ? यसको समिक्षा गर्न उत्तिकै जरुरि छ ।

दुई वर्षअघि एन्फाका कर्मचारीको लापरवाहीले थ्री स्टारले एएफसी कपको दोस्रो चरणको खेल खेल्न पाएन । त्यसबेला थ्री स्टारले एन्फासँग मोटो रकम क्षतिपूर्ति माग्यो । थ्री स्टारले केहि समय फुटबलबाट बाहिर रहेरै भएपनि उक्त क्षतिपूर्ति रकम लिएर छाड्यो । तर यहाँ गल्ति गर्ने कर्मचारी अथवा संयत्रलाई कारवाही नै भएन ।

एएफसीले यसपटक पनि क्लब लाइसेन्सिङमा गलत प्रक्रिया अपनाएको कारण मोटो रकम जरिवाना गरायो । त्यसमा पनि एन्फाले कुनै किसिमको कारवाही अगाडी बढाएन । यस्ता किसिमको जरिवाना र कारवाही विदेशी निकायबाट धेरै हुने गरेका छन् । धेरै अवस्थामा एन्फाले आफ्नो देशको संयत्र र स्थितिलाई कारण देखाउंदै बचाउ गर्दै आएको छ ।

हो, खेलाडीले राष्ट्रिय टोलीको लागि खेल्दा गल्ति गरेका हुन् । कारवाहीको भागिदार हुनुपर्छ । क्षमता हुँदाहुँदै राष्ट्रका लागि खेल्न नपाउनु जस्तो दुखदायी क्षण सायदै होला । अझ यी खेलाडीले भर्खर नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद खेल्न पाएनन् । उनीहरुले लामो समयपछि घरेलु मैदानमा खेल्ने अवसर त गुमाए नै, दशौं लाख बराबरको पुरस्कार र स्वर्ण पदक आफ्नो नाममा पनि गर्न पाएनन् ।

यसैपनि उक्त प्रतियोगिता गुमाएर बसेका खेलाडीको मनोबल निकै गिरेको छ । अब लिग फुटबल, एकमात्र औपचारिक प्रतियोगिता जसले खेलाडीको सालभरको जिविकोपार्जन हुन्छ, त्यसमा सहभागिता जनाउन नदिनु कतिको जायज ? फेरी खेलाडीको गल्ति खेलमा प्रत्यक्ष असर गर्ने किसिमको पनि थिएन । अनुशासन उल्लंघन भएको हो, कारवाही हुनुपर्छ । तर कारवाहीको दयारा के कस्तो हुने, त्यो न्यायोचित हुनुपर्छ ।

कारवाही सुनाइएका खेलाडी भर्खर २० औं वसन्त पारे गरेका छन् । यी खेलाडी नेपालले निकै आशा गरेका खेलाडी हुन् । नेपालले पछिल्लो समय हासिल गरेको सफलतामा निर्णायक भूमिका पनि खेल्दै आएका छन् । यस्तो अवस्थामा यी खेलाडीलाई छुट दिनुपर्छ भन्ने होइन, तर कारवाही गर्दा खेलाडीको भविष्य के कस्तो हुने भन्नेबारे पनि सोच्नु आवश्यक छ ।

संसारको कुनैपनि कसुरमा कारवाही हुँदा, कसुर गरेको मितिबाट नै सजाय सुनाइन्छ । जुनसुकै अदालतले पनि घटना घटेको मितिबाट कारवाही गर्छ । अहिलेको अवस्थामा खेलाडीलाई कारवाही सुनाइएको मितिबाट कारवाही गर्ने हो भने घटना घटेको दिनदेखि आजसम्म उनीहरुलाई खेल्न किन रोक लगाइयो? देशमा भएको दक्षिण एसियाली खेलकुद गुमाउनुको पिडामा उनीहरुको एक वर्ष जिविकोपार्जन गर्ने एकमात्र आधार लिग फुटबल खेल्न अंकुश किन ?

खेलाडीको बाहिर जाने गल्तीमा जति खेलाडीको गल्ति छ, त्यतिकै गल्ति एन्फा व्यवस्थापनको पनि । यसमा खेलाडीलाई जुन किसिमको कारवाही गरिएको छ, त्यो अत्यधिक छ । फुटबललाई नजिकबाट नियाल्न चुकेको अनुशासन समितिले के-कस्तो गल्ति भएको हो पुन: हेरेर कारवाहीलाई समायोजन गर्न जरुरि छ । खेलाडीको गल्तिको कारवाही हुनुपर्छ, तर करिअरमै प्रश्न उठ्ने कारवाही भने कुनै हदमा न्यायोचित हुँदैन ।

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

Success

Thank you for your time.