6 years ago
June 18, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
हाम्रो देशमा फुटबलमा सहज पहुच नभएर मोजाको बल बनाएर खाली खुट्टा खेल्दै बाल्यकाल बिताउनेको संख्या ठूलो छ । तर, त्यसको अर्थ पछि सबै फुटबल खेलाडी बन्छन् वा त्यसमा सफल नै हुन्छन् भन्ने जरुरी छैन ।
सफलताका लागि मेहनतसँगै संयोग पनि जुर्दै जानुपर्छ । त्यस्तै मेहनत र संयोगले होला नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार सावित्रा भण्डारी अहिले देश भित्र मात्र होइन दक्षिण एसियाकी चर्चित र सफल खेलाडी बन्न सफल भएकी छिन् । उनी फुटबलमा लागेको धेरै समय भएको छैन , तर उनको सफलताको कथा जो कोहिका लागि पनि प्रेरणा बन्न सक्दछ । गाउँघरमा खेलकुदमा रुची भएकी एक सामान्य चेली अथक मिहिनेत र भाग्यले साथ दिँदा घरेलु फुटबल, राष्ट्रिय टोली हुँदै अन्तर्राष्ट्रिय स्तरमा नै चर्चाको शिखरमा छिन् ।
लमजुङको सामान्य परिवारमा हुर्केकी सावित्राले पछिल्लो ५ वर्षमा आफ्नो करिअरमा उल्लेख्य सफलता हासिल गरेकी छिन् । यो भन्दा गलत हुँदैन की सावित्राले आफूमात्र होइन, नेपालमा महिला फुटबलको क्रेजलाई अर्को स्तरमा पुर्याउन निर्णायक भूमिका खेलेकी छिन् । सामान्य खेलाडीका लागि सायद त्यो सम्भव पनि छैन । ग्रामिण भेगमा जसरी एउटा बालक वा बालिकाको जीवन अघि बढ्छ । उनको पनि त्यस्तै थियो । सिम्पानी गाँउमा सामान्य किसान परिवारमा जन्मेकी उनी स्कुले जीवनबाट खेलकुदमा अझै फुटबलमा आकिर्षत थिइन् । तर, उनको खेलप्रतिको रहर पुरा गर्ने परिस्थिति त्यति बेला थिएन ।
घरधन्दा र पढाईसँगै उनी खेलकुदमा रुची राख्ने भएकाले स्कुलमा केटी भन्दा केटा साथी बढी थिए । केटा साथी बनाउँदाको फाइदा खेल्न पाइने भन्ने नै थियो । स्कुल समयबाहेक घरतिर खेल्नु पर्दा मोजाको बलबाटै रहर पुरा गर्नुपथ्र्यो । बेलाबखत आफूभन्दा ठूला दाईहरु फुटबल खेल्दा बल कहिले बाहिर जाला र हानौंला भनेर प्रतीक्षा गर्थिन । तर, जुन स्कुलमा पढ्दै थिइन् त्यहाँ उनलाई खेलेर धित मरेको थिएन ।
खेलकुदको माहोल भएकै कारण उनी ९ कक्षा पुगेपछि सरस्वती निमाविबाट गणेश माविमा सरिन् । त्यहाँ पुगेपछि भने उनको रहर अलिक पुरा गर्ने मौहोल बन्दै गयो । तर, त्यहाँ फुटबल होइन, एथलेटिक्स र भलिबलबाट उनले रहर पुरा गर्नुपर्ने अवस्था बन्यो । राष्ट्रपति रनिङ शिल्डमा सय मिटरमा स्वर्ण पनि जितिन् । भलिबलतर्फ भने रजत उनको टोलीले जित्यो । त्यो सफलतामा उनलाई खासै मजा आएको थिएन । सावित्रालाई अब स्कुलमा पढाइमा ध्यान दिन भनियो, तर उनको मन त फुटबल तिर थियो । त्यसैले उनले १० कक्षा पुगेपछि अमर उमाविमा जाने निधो गरिन् ।
एसएलसी दिएर बसेको समयमा लमजुड घलेगाँउमा महिला फुटबल हुने खबरले उनलाई उत्साहित बनायो । सबैको सहयोग भयो आफैले पहल गरेर उनी घलेगाँउ पुगिन् । त्यति बेला पोखराको टोली राम्रो छ र त्यहि टोलीसँग फाइनल खेल्नुपर्ने अनुमान सावित्राको थियो । भयो पनि त्यही पोखराको टोली फाइनल पुग्यो र अर्को तिर उनको टोली पनि । फाइनलमा सावित्राले गोल पनि गरिन् र टोलीलाई जिताइन् पनि । उनले खेल अवधिभर पाएको तीन अवसरलाई सदुपयोग गर्दै ह्याट्रिक गरेकी थिइन् ।
फुटबलमा सफलताको त्यो उनको पहिलो खुड्किलो थियो । त्यहि प्रतियोगिताका दौरान राष्ट्रिय रेफ्री शुक्र लामासँग उनको भेट भयो । शुक्रले काठमाडौं आउन र विभागीय आबद्ध हुन सल्लाह दिए । त्यसै समयमा दुईजनाको सम्पर्क नम्बर साटासाट भयो । २०७१ असारमा शुक्रले सावित्रालाई एपीएफमा खेलाडीको लागि ट्राएल खुलेको जानकारी दिए । असारको महिनामा खेत रोप्ने समयमा घरको काम नसकी जाने अवस्था थिएन । उनले रोपाईं सकेर काठमाडौं जाने निधो गरिन् ।
आफ्नो निर्णय त सावित्राले सुनाइन्, तर घरमा आमालाई सम्झाउन भने उनलाई निकै कसरत गर्नुपर्यो । बुबाले अवस्था बुझेपनि गाउँलेको कुरा सुनेर आमा मलाई एक्लै काठमाडौं जान दिने पक्षमा हुनुहुन्थेन । आमालाई रुवाएर घरबाट निस्केपछि एक मन त घर फर्कौं नभएको होइन, तर उनी अडिग रहिन् र काठमाडौं लागिन् । अहिले उनलाई आफ्नो सपनाले उनलाई फर्कन नदिएको ठान्छिन् । फुटबल खेल्ने उनको सपना सायद काठमाडौं नआइ पुरा हुन्थेन ।
काठमाडौं आएपछि एपीएफको खेलकुदमय वातावरणले उनलाई निकै हौस्यायो । विस्तार घुलमिल हुँदै गइन् । पावर, स्पिड स्टामिना त उनीसँग थियो नै भन्छिन्, ‘मैले एपीएफमा आबद्ध भएपनि स्कील सिके । बेसिक कुरा धेरै सिके । एपिएफमा आबद्ध हुनु मेरो लागि अर्को टर्निङ प्वाइन्ट थियो ।’
अहिले पुराना दिन सम्झेर खुसी हुने सावित्राले सन् २०१४ मा डेब्यू खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि कुनै दिन देशका लागि सबैभन्दा बढी गोल गर्ने सपना बुनेको सुनाईन् । ‘हाम्रै एपीएफको अनु (लामा) दिदिको नाममा त्यति बेला सबैभन्दा बढी गोल थियो । अनु दिदि एकदमै राम्रो खेलाडी । उहाँको सायद २७/२८ गोल थियो । मैले परिवर्तित खेलाडीका रुपमा डेब्यू गरेर गोल गरेबाट लागेको थियो, कुनै दिन अनु दिनको कीर्तिमान तोड्छु ।’
राष्ट्रिय टोलीमा पहिलोपटक पर्दाको याद पनि उनीसँग ताजै छ । त्यसबेला राष्ट्रिय टोलीका प्रशिक्षक कुमार कटवालले उनलाई चितवनमा भएको राष्ट्रिय टोलीमा एपीएफबाट खेलेको हेरेपछि पहिलो प्रयासमै राष्ट्रिय टोलीमा समेटेका थिए । साफ च्याम्पियनसिप खेल्ने टोलीमा उनले पहिलो रोजाइमा त खेल्न पाइनन् । तर पहिलो खेलमा ८४ मिनेटमा मैदान प्रवेश गरेको दुई मिनेटमा नै उनले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरिन् ।
सावित्रा अहिले गोलसंख्याको हिसाबमा अनुको सबैभन्दा नजिक पुगिसकेकी छन् । पाँच वर्षको अवधिमा उनले २८ गोल गर्दै सर्वाधिक गोल गर्ने महिला खेलाडीको सुचिमा दोस्रो स्थानमा पुगेकी छिन् । गत चैतमा विराटनगरमा भएको साफ च्याम्पियनसिपका दौरान गोल गर्दै उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा उक्लेकी हुन् । अनुको नाममा ३५ गोल छ । उनलाई आशा छ, ‘मैले आफ्नो खेललाई अझै सुधार गर्दै जाने र फिटनेस मेन्टेन गर्ने हो भने ३५ गोलको कीर्तिमान तोड्न सक्छु । म त्यसका लागि प्रयास गर्नेछु ।’
समकालिन खेलाडीमा सबैभन्दा सफल खेलाडी सावित्रालाई चिन्ने अर्को नाम हो ‘साम्बा’ । उनै साम्बा अहिले यसै महिना आयोजना हुने पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपुल्स च्वाईस अवार्डको मनोनयमा परेकी छिन् । यति नै बेला उनी एपीएफको अन्तरिक तालिममा पनि परेकाले प्रचार प्रसारमा धेरै समय दिन नपाएको बताउँछिन् । उनले भनिन् ‘अहिले समाजिक संजालमा सक्रिय हुन पाएको छैन । जति समय पाउँछु साथीहरु र समर्थकहरुलाई भोटका लागि अनुरोध गरिरहेको छु । यसअघि पनि म अवार्डको अन्य विधामा मनोनयमा परेको छु । जित्न सकेको छैन । यसपटक आशा छ ।’
अवार्डको मनोनयमा पर्दा स्वभाविक रुपमा खुसी लाग्ने जनाउँदै सावित्राले पिपुल्स च्वाईसमा पर्नु र यो अवार्ड जित्न सके त्यसको थप महत्त्व हुने सुनाइन् । ‘पिपुल्स च्वाईस अवार्ड भनेको सफलतासँगै चर्चा पनि जोडिएर आउने अवार्ड हो । सफलतासँगै समर्थक दर्शकहरुले मेरो खेल कत्तिको मन पाराउनु हुन्न भन्ने पनि यसबाट थाहा हुन्छ,’ उनले थपिन्,‘त्यसैले मैले यो अवार्ड जितोस् भन्ने चाहानेलाई सहयोग गर्न आग्रह गर्छु ।’
सावित्रासँगै एपिएफकै भलिबल खेलाडी रेश्मा भण्डारी, क्रिकेटका सन्दीप लामाछिाने, शारीरिक सुगठनका महेश्वर महर्जन र ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयमा छन् । सबै आ आफ्नो खेलमा सफल भएकाले प्रतिस्पर्धा ज्यादै हुने साम्बाको अनुमान छ । उनी जित्नेमा आशावादी पनि छिन् । ‘हामीले पछिल्लो वर्ष निकै राम्रो खेल्यौं । ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्यौं । साफ च्याम्पियनसिप र हिरो कपको फाइनल खेल्यौं,’ उनले थपिन्,‘ ती सबैमा मैले सक्दो राम्रो प्रयास गरेको थिए । यो अवार्ड जित्न सके भने थप हौसला मिल्नेछ । त्यसैले मलाई भोट गर्न सबैलाई आग्रह गर्दछु ।’
छोटो अवधिमै सफलताको स्वाद चाख्न पाएकी सावित्राले दुई सिजन माल्दिभ्स पुगेर फुटसल खेलिन् भने यो वर्ष भारतीय महिला लिगमा पनि उनले अनुभव बटुलिन् । उनी र अनिता बस्नेत सेम्मिलित टोली सेतुले भारतीय लिग पनि जितेको थियो । ‘विदेशी क्लबबाट खेल्दा अझै कमजोरी सुधार्ने र नयाँ टेक्निक सिक्ने अवसर हुन्छ,’ सावित्राले भनिन्,‘मलाई आशा छ कुनै दिन दक्षिण एसिया भन्दा पनि बाहिर गएर खेल्नेछु । त्यसका लागि एन्फाको पनि भूमिका त्यत्तिकै हुन्छ ।’
यीनै सावित्रासँग हाम्रो खेलकुद डट कमले लिएको अन्तर्वार्ताको पूर्ण अंश :
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा वालिङ नगरपालीकाले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेको एपिएफ जितको लयलाई निरन्तरता दिन चाहान्छ । पहिलो खेलमा एपिएफले बागमती युथ क्लबलाई पराजित गरेको थियो । पहिलो खेलमा […]
January 6, 2025
एजेन्सी – सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा रोकेको छ। लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो । अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अंक दिलाएका हुन्। खेलमा अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन । […]
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]