6 years ago
April 13, 2019
सुबास हुमागाईं, काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) ले वर्षको सुरुवातमै नयाँ नेतृत्व पायो । परिवर्तनको नारा लिएर झन्डै तीन वर्ष तत्कालिन संस्थापन पक्षको विरोधमा उत्रिएको समूहले कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फा प्रवेश गर्यो । अध्यक्षसहित सबै पदमा परिवर्तन चाहने समूहकै जित भयो । मैदानबाहिरको परिवर्तन भएसँगै एन्फाको कार्यशैलीले केहि हदसम्म नयाँ गति लिएको छ । तर त्यसमा विविध उतारचढाव आउने क्रम भने जारी नै छ ।
मैदानबाहिर केहि परिवर्तनको अनुभुती हुँदा नेपाली फुटबलले मैदानभित्र भने परिवर्तनको छनक कम नै पायो । महिला फुटबलमा केहि सफलता हात पारेपनि वर्ष २०७५ को अन्त्य भने सुखद रहन सकेन । पुरुषतर्फ पनि नेपालको लागि यो वर्ष बिर्सनलायक नै रहयो । महिला र पुरुष साफ च्याम्पियनसिपमा नेपालले नयाँ इतिहास कोर्न सकेन । पुरुष टोली सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै घर फर्कियो । महिला टोली भने विराटनगरमा भएको साफ च्याम्पियनसिपको फाइनलमा फेरी एकपटक भारतसँग नै पराजित भयो । आयोजनाको हिसाबमा नेपालले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेपनि नतिजाले त्यसलाई खल्लो बनायो ।
महिला टोलीले यसपटक अन्तर्राष्ट्रिय स्तरमा भने संख्यात्मक हिसाबले धेरै खेल खेल्न पायो । इतिहासमै पहिलो पटक ओलम्पिक छनोट पार गरेको नेपाली टोलीले मैत्रीपूर्ण खेलसँगै भारतमा एक आमन्त्रण प्रतियोगिता पनि खेल्यो । घरेलु लिग कमजोर रहेको अवस्थामा महिला टोलीको जिम्मेवारी पाएका प्रशिक्षक हरि खड्काले महिला टोलीलाई लामो समय प्रशिक्षणमा राखेर उनीहरुको प्रतिभा निखार्ने काम गरे । उनले भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकपमा भारतलाई पहिलो पटक हराउँदै इतिहास नै रचे । तर, त्यसले निरन्तरता भने पाउन सकेन ।
नेपाली टोलीको प्रदर्शनले दिर्घकालिन रुपमा भने महिला फुटबलको भविष्य सुखद रहेको संकेत गरेको छ । महिलाको उमेर समूहमा पनि नेपालले राम्रो प्रदर्शन गर्यो । यू-१६ उमेर समूहमा केहि फितलो देखिएपनि यू-१९ उमेर समूहले भने धेरै आशा देखाएको छ । भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपको फाइनलमा पराजित टोली एएफसी यू-१९ च्याम्पियनसिपको दोस्रो चरणमा पुग्न सफल भयो । यू-१९ मा राम्रो प्रदर्शन गरेकै आधारमा त्यो टोलीका केहि खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यू गरे ।
महिला टोलीले एकतर्फ आशा देखाउँदा पुरुषतर्फ भने उपाधि जित्ने सुनौलो अवसर गुम्यो । भदौमा बंगलादेशमा भएको प्रतियोगितामा एन्फाले बालगोपाल महर्जनलाई कार्यवाहकको रुपमा टोलीको जिम्मेवारी सुम्पियो । जापानि प्रशिक्षक ग्योतोकु कोजीको भिसा प्रक्रियामा समस्या आएर अध्यागमनले उनलाई नेपाल फर्कन नदिनुले एन्फाको नयाँ नेतृत्वको कार्यशैलीमा गम्भीर प्रश्न उठाएको थियो । एन्फामा नयाँ नेतृत्व आगमनपछि जापानी प्रशिक्षकसँग असमझदारी बढ्दै जानुले पनि यस्तो स्थिति सिर्जना गरेको थियो । जापानी प्रशिक्षकको अनुपस्थितिमा महर्जनले जिम्मेवारीलाई उचित सदुपयोग गर्न सकेनन् ।
साफ च्याम्पियनसिपको लागि टोली घोषणादेखि नै फितलो निर्णय लिएका महर्जनले बंगलादेशमा पनि त्यसलाई निरन्तरता दिए । कमजोर भुटानविरुद्ध फराकिलो जित दर्ता गर्नुबाहेक नेपालको लागि साफ बिर्सनलायक नै रहयो । भारतले दोस्रो रोजाईको टोली पठाएको अवस्थामा नेपालको लागि उपाधि जित्ने यो नै सुनौलो अवसर थियो । तर माल्दिभ्सविरुद्ध रणनीतिक रुपमा पछाडि पर्दा नेपाल सेमिफाइनलमा पराजित भयो । उनै महर्जनको नेतृत्वमा यू-२३ टोलीले कतारमा भएको एएफसी यू-२३ छनोटमा पनि लज्जास्पद प्रदर्शन गर्यो । राष्ट्रिय टोलीका अधिकांश खेलाडी सम्मिलित टोलीले उक्त प्रतियोगितामा एउटा पनि गोल गर्न सकेन ।
एन्फाले वर्षको अन्त्यतिर स्विडेनका योहान कालीनलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गर्यो । कालीनले यू-२३ टोलीमा रहेका खेलाडीविना राष्ट्रिय टोलीलाई कुवेत भ्रमणमा लगे । दुई खेलमा नेपाल १ बराबरी र १ हार बहोर्यो । राष्ट्रिय टोलीको पहिलो रोजाईका केहि नियमित खेलाडीविना पनि नेपालले गरेको प्रदर्शन प्रशंसनिय थियो । पहिलो भ्रमणमा सुखद संकेत देखाएका प्रशिक्षक कालीनलाई अब आउने वर्ष निकै महत्त्वपूर्ण हुनेछ ।
लिग संचालनका लागि एन्फाले बेग्लै कमिटि गठन गरेपनि यसपटक रेलिगेसनविना लिग आयोजना गर्नुलाई धेरैले निको मानेनन्, त्यो निको मान्ने कदम पनि थिएन । तर झन्डै ५ वर्षपछि सहिद स्मारक ए डिभिजन लिग हुँदा खेलाडीमा उत्साह छाएको थियो । एकै मैदानमा भएको लिगले दर्शक तान्न असफल रहयो । तर एन्फाको लिग समितिले यसलाई पुनः सुरुवात विन्दुको रुपमा लिएको छ । आउने वर्षमा लगातार लिग गराउने वाचासहित रेलिगेसनविना नै लिग गरिएको थियो । ए डिभिजनसँगै बी र सी डिभिजन रेलिगेसन बिनै सम्पन्न भए ।
मोफसलका प्रतियोगितालाई विशेष नियमन गर्ने एन्फाको प्रतिबद्धता कागजमै सिमित देखियो । कमजोर आयोजना र विवादबाट मोफसलको फुटबल अछुतो रहने सकेन । एन्फा सबै खाले कमजोरीमा लगभग मुकदर्शक बन्यो । आधिकारिकता नै नपाएको क्यामरुनको दाउफिन्स फुटबल क्लबले लगातार उपाधि जित्दा एन्फाले प्रश्न सोध्ने हिम्मत सम्म देखाएन । आजको दिनसम्म पनि एन्फाले यसबारे कुनै ठोस कदम चाल्न सकेको छैन, वर्षको अन्त्यसम्म आइपुग्दा एन्फाले कुनै कदम उठाउने सम्भावना पनि देखिएको छैन । एन्फा अध्यक्ष स्वयंले टोली अनधिकृत रहेको बताउँदा एन्फामा प्रत्यक्ष संलग्नता रहेका केन्द्रीय सदस्य, जिल्ला फुटबल संघले भने त्यसको बेवास्ता गरिरहे ।
एन्फामा नयाँ नेतृत्वको आगमनपछि ग्रासरुटलाई विशेष प्राथमिकतामा राखिनुलाई भने सकारात्मक मान्नुपर्दछ । यसले अहिल्यै नै नतिजा नदिएपनि दिर्घकालिन रुपमा भने यसले पक्कै देशको फुटबललाई फाइदा पुर्याउने छ । तल्लो तहदेखि नै उचित प्रशिक्षण पाउँदा स्तरीय खेलाडी उत्पादन गर्न सकिनेमा शंका छैन । एन्फाले हरेक जिल्लामा प्राथमिकताका साथ ग्रासरुट कार्यक्रम संचालन गर्नु सुखद संकेत हो । यसलाई आउने वर्षमा अझै व्यवस्थित बनाउँदै लानुपर्ने देखिन्छ । स्कुल लिग गर्न सके अझै राम्रो नतिजा आउने आशा गर्न सकिन्छ ।
नयाँ नेतृत्वले आर्थिक नियमावली र कार्यावधिसँगै कर्मचारीको लागि पनि कार्यशैली सुधार्ने प्रयास गरेको छ । एन्फाको कार्यालय मर्मतदेखि लिग संचालन र अन्य काम कारवाहीमा पनि परिवर्तन भएको छ । एन्फाको लोगो परिवर्तन गर्दै स्वरुप नै परिवर्तन गर्ने प्रयास पनि भएको छ । मैदानबाहिर एन्फाले परिवर्तन गर्ने प्रयास गरेको छ । धेरै स्थानमा यसले सकारात्मक नतिजा दिइरहेको देखिएको छ । यसले आउने दिनमा यसले निरन्तरता पाउने आशा गर्न सकिन्छ ।
कतिपय सवालमा भने एन्फा चुकेको छ । जसमा एन्फा नेतृत्वले आत्म समिक्षा गर्नु जुरुरी छ । परिवर्तनको नारासहित एन्फाको नेतृत्वमा पुगेको समूहलाई हिजो जस्तो विरोध गरेर उम्कने मौका छैन, परिवर्तन चार वर्षे कार्यकालमै गरेर देखाउनुछ । त्यसका लागि अब अहिलेको नेतृत्वसँग ३ वर्षको समय छ । सकारात्मक काम थाल्नका लागि यो समय कम पक्कै होइन । हिजोको नेतृत्वसँग बारम्बार प्रश्न गर्दै आफूलाई स्थापित गरेको नेतृत्वलाई छोटो समयमा आफुलाई प्रमाणित गर्नुपर्ने चुनौति छ । अबको तीन वर्ष यो नेतृत्वलाई आफुलाई स्थापित गराउन जति चुनौति छ त्यत्ति नै अवसर पनि ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]